काठमाडौं । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियानअन्तर्गत २०८० साउनदेखि सञ्चालन हुँदै आएको मासिक कथावाचन कार्यक्रमको अठ्ठाइसौँ शृङ्खला २०८२ फागुन २९ गते सम्पन्न भएको छ । यस महिनाको कार्यक्रम नेपाली साहित्यका यशस्वी साधक विजय मल्लको शतवार्षिकीका अवसरमा विशेष रूपमा उहाँकै चर्चित कथा ‘कालो चस्मा’माथि केन्द्रित गरिएको थियो।
कार्यक्रम दिवंगत स्रष्टा विजय मल्लको तस्वीरमा माल्यार्पणबाट सुरु गरिएको थियो। कार्यक्रमको आरम्भमा पुनर्जागरण अभियानका परिकल्पनाकार पुष्कर लोहनीले ‘कालो चस्मा’ कथाको पृष्ठभूमिबारे चर्चा गर्दै यो कथा फ्रान्सेली साहित्यकार गि द मोपासाँका मनोवैज्ञानिक कथाबाट प्रभावित भएर लेखिएको उल्लेख गर्नुभयाे । उहाँले २०१७ सालमा नेपाली छात्र परिषद (पटना)को वार्षिक मुखपत्र उकालोको दोस्रो अङ्कमा उक्त कथा प्रकाशित भएको जानकारी दिनुभयाे।
कार्यक्रममा कथाकार इन्दिरा प्रसाईले ‘कालो चस्मा’ कथा वाचन गर्नुभएकाे थियाे। त्यसपछि अनुसन्धानकर्ता समिना खनाल पृथा र पवित्रा अधिकारीले २०१८ सालमा साहित्यिक पत्रिका बगैंचामा प्रकाशित समालोचक तारानाथ शर्मा र बामदेव पहाडीका समालोचनात्मक लेखहरू वाचन गर्नुभएकाे थियाे।
त्यसपछि समालोचक भरतकुमार भट्टराई र प्रमोद प्रधानले कथा तथा पुराना समालोचनात्मक लेखहरूमाथि समसामयिक दृष्टिकोणबाट टिप्पणी गर्नुभएकाे थियाे । भट्टराईले कथाकार विजय मल्लले कथाको प्रारम्भमै पात्रको मनोवैज्ञानिक द्वन्द्वको संकेत दिएको उल्लेख गर्दै कथा गहिरो चिन्तनशील पात्रको मनस्थितिमाथि केन्द्रित रहेको बताउनुभयाे ।
समालोचक प्रमोद प्रधानले नेपाली साहित्यमा यौन मनोविज्ञानमा आधारित कथा निकै पहिलेदेखि लेखिए पनि यस्ता कथाका सङ्ग्रह भने २०५४ सालपछि मात्रै प्रकाशित हुन थालेको बताउनुभयाे । उहाँले पुराना समालोचनात्मक लेखहरूबाट त्यस समयको साहित्यिक बहस र आलोचनात्मक संस्कृतिको झलक पाइने टिप्पणी गर्नुभयाे ।
कार्यक्रमको समापन गर्दै पुनर्जागरण अभियानका अर्का परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले विजय मल्लको शतवार्षिकीका अवसरमा नयाँ ढङ्गको कार्यक्रम गर्ने उद्देश्यले एउटा कालजयी कथामाथि केन्द्रित भएर कार्यक्रम आयोजना गरिएको बताउनुभयाे । उहाँले कथा विधाप्रति समर्पित यस अभियानले नेपाली कथामा पुनर्जागरणको लहर सिर्जना गरिरहेको अनुभव व्यक्त गर्नुभयाे ।
कार्यक्रममा कथाकारहरू शैलेन्द्र साकार, बाबा न्यौपाने, मञ्जु काँचुली, हिरण्यकुमारी पाठक, अमरकुमार श्रेष्ठ, तेजप्रकाश श्रेष्ठ, रासा, दीपक लोहनी, हरिश कल्पित, बिन्दु अधिकारी ढकाल, प्रमोद प्याकुरेल, रवि प्राञ्जल, विष्णुप्रसाद शर्मालगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
मासिक कथावाचन कार्यक्रम साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार–घट्टेकुलो, काठमाडौंमा नियमित रूपमा आयोजना हुँदै आएको छ। २०७० को दशकसम्म पत्रपत्रिका वा पुस्तकमा प्रकाशित आफ्ना कथा वाचन गर्न इच्छुक स्रष्टाहरूले अग्रिम रूपमा आयोजकसँग सम्पर्क गरी नाम दर्ता गराउनुपर्ने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

