काठमाडौं । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियानअन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार सञ्चालन हुँदै आएको मासिक कथावाचन कार्यक्रमको ३२औँ शृङ्खला शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमको प्रारम्भमा अभियानका परिकल्पनाकार कथाकार तथा नियात्राकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरूलाई स्वागत गर्दै अभियानका उद्देश्यबारे प्रकाश पार्नुभयो । उहाँले विभिन्न पुस्ताका कथाकारलाई एउटै मञ्चमा ल्याई आपसी परिचय र सुसम्बन्ध विस्तार गर्ने, कथावाचनमार्फत नेपाली कथाको विकासक्रम, विषयवस्तु, भाषा, शैली र प्रयोगबारे जानकारी गराउने तथा कथा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो ।
अभियानको परम्पराअनुसार दिवङ्गत कथाकारको सम्मानस्वरूप यसपटक साहित्यकार कृष्णबम मल्लको ‘गुलाब’ कथा वाचन गरिएको थियो । पुष्कर लोहनीको निजी पुस्तकालयमा सङ्गृहीत ऐतिहासिक साहित्यिक पत्रिका शारदा (वर्ष ११, सङ्ख्या ६–७–८, वि.सं. २००२) मा प्रकाशित उक्त कथा साहित्यकार इल्या भट्टराईले वाचन गर्नुभएको थियो ।
त्यसपछि कथाकार निर्मोही व्यासले आफ्नै कथासङ्ग्रह ‘स्वयम्भूका आँखाहरू’ (२०४७) मा सङ्गृहीत ‘रोल नम्बर चार’ शीर्षकको कथा वाचन गर्नुभयो । कथाकार शारदा पराजुलीले विनयकुमार शर्मा नेपालको सम्पादनमा प्रकाशित कथासङ्ग्रह ‘कथावाटिका’ (२०६८) बाट ‘अपराधबोध’ शीर्षकको कथा वाचन गर्नुभयो ।
कथावाचनपछि प्रा. डा. मुकेशकुमार चालिसेले निर्मोही व्यासको कथामाथि समीक्षात्मक टिप्पणी गर्नुभयो भने डा. अम्बिका अर्यालले शारदा पराजुलीको कथामाथि टिप्पणी प्रस्तुत गर्नुभयो ।
कार्यक्रमको समापनमा अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथासाहित्यको विकासक्रमबारे चर्चा गर्दै कथा विधामाथि चिन्तन, छलफल र अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले कार्यक्रमले तीन वर्ष पूरा गरेकोमा खुशी व्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद दिनुभयो ।
उपन्यासकार शुकदेव उपाध्यायले सञ्चालन गर्नुभएको कार्यक्रममा वाचन गरिएका कथामाथि कहिले समीक्षात्मक टिप्पणी र कहिले श्रोतासँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने अभ्यास गरिएको जानकारी दिनुभयो ।
दुई घण्टासम्म सञ्चालन भएको कार्यक्रममा ९६ वर्षीय साहित्यकार माधवप्रसाद गौतमसहित विभिन्न पुस्ताका कथाकार तथा कथाप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
मासिक कथावाचन कार्यक्रम साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार–घट्टेकुलो, काठमाडौंमा नियमित रूपमा सञ्चालन हुँदै आएको छ । २०७९ चैत वा सोअघि प्रकाशित आफ्ना कथा वाचन गर्न इच्छुक कथाकारले आयोजकसँग अग्रिम नाम दर्ता गराउनुपर्ने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

