काठमाडौं । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साल साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार नियमित रूपमा आयोजना हुँदै आएको मासिक कथावाचन कार्यक्रमको छब्बीसौँ शृङ्खला २०८२ साल पुस २५ गते शुक्रबार सम्पन्न भएको छ।
परम्पराअनुसार दिवंगत स्रष्टाप्रति सम्मान प्रकट गर्दै कार्यक्रमको आरम्भ गरिएको थियो। यस क्रममा दिवंगत कथाकार गजेन्द्रबहादुर शाहको कथा ‘बिर्सेको कुरा’ कथाकार समिना खनाल पृथाले ऐतिहासिक साहित्यिक पत्रिका शारदा (सङ्ख्या ९, सन् १९९२) बाट वाचन गर्नुभयो।
त्यसपछि २०३० देखि २०७० को दशकसम्म प्रकाशित विभिन्न कालखण्डका चार चर्चित कथाहरू स्रष्टाकै मुखबाट वाचन गरिएकाे थियाे । कथाकार राजवले २०३३ सालमा प्रकाशित ‘हाफ क्याबि’ वाचन गर्नुभयो भने कथाकार सीता पाण्डेले २०५६ सालको ‘सिँडी’ प्रस्तुत गर्नुभयो। त्यसैगरी कथाकार दीपक लोहनीले २०६७ सालमा प्रकाशित ‘मनकी मैजु’ र कथावाचनको अन्त्यमा कथाकार रुकु कार्कीले २०६९ सालको ‘जीवनको मोडमा’ वाचन गर्नुभएको थियो।
वाचन गरिएका कथामाथि समीक्षात्मक टिप्पणीसमेत प्रस्तुत गरिएको थियो। कथाकार राजव र सीता पाण्डेद्वारा वाचित कथाहरूको समीक्षा प्रा. डा. भरतकुमार भट्टराईले गर्नुभयो भने दीपक लोहनी र रुकु कार्कीका कथामाथि साहित्यकार पवित्रा अधिकारीले समीक्षा गर्नुभयो।
कार्यक्रमको प्रारम्भमा प्रतिष्ठित कथाकार तथा साहित्यिक अभियन्ता इन्दिरा प्रसाईले आयोजकको तर्फबाट अतिथिहरूलाई स्वागत गर्दै, दिवंगत स्रष्टाका कथा वाचन गरेर कार्यक्रम सुरु गर्ने यो अभ्यास अत्यन्त अर्थपूर्ण र दीर्घकालीन प्रभाव पार्ने खालको रहेको बताउनुभयो। उहाँले यस्तो मौलिक सोच र अभियानका परिकल्पनाकार पुष्कर लोहनी र चन्द्रप्रसाद भट्टराईप्रति उच्च प्रशंसा व्यक्त गर्नुभयो।
अन्त्यमा अभियानका परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथासाहित्यको विकासक्रममाथि संक्षिप्त चर्चा गर्दै विभिन्न दशकका कथाहरू एउटै मञ्चमा प्रस्तुत गरिनु नै यस अभियानको विशेष उपलब्धि रहेको उल्लेख गर्नुभयो। हालसम्म प्राप्त सफलताप्रति सन्तोष व्यक्त गर्दै अभियानको निरन्तरतामा जोड दिनुभयो।
यस पटक पनि उपन्यासकार शुकदेव उपाध्यायले कार्यक्रमलाई परिपक्व र आकर्षक शैलीमा सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा शैलेन्द्र साकार, निर्मोही व्यास, शेखर गिरी, हिरण्यकुमारी पाठकलगायत प्रतिष्ठित साहित्यकार तथा कथाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम सुरुआतदेखि नै साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार–घट्टेकुलो, काठमाडौंमा आयोजना हुँदै आएको छ। पूर्वप्रकाशित कथा वाचन गर्न इच्छुक कथाकारहरूलाई नाम दर्ता गरी सहभागी हुन आयोजकले आव्हान गर्दै आएको छ।

