साहित्यपोस्ट डट कम

मरुभूमिको महँगो मौनता र सगरमाथाको सस्तो कोलाहल

मरुभूमिको महँगो मौनता र सगरमाथाको सस्तो कोलाहल

दुबईको यो आधुनिक कार्यकक्ष । बाहिर सिसाको एउटा पारदर्शी पर्खाल छ, जसले मरुभूमिको ५० डिग्रीको राप र भित्रको १६ डिग्रीको एसीलाई छुट्याएको छ । झ्यालबाट बाहिर हेर्दा लाग्छ- बुर्ज खालिफाका यी अजङ्ग स्टिलका पिलरहरू भवन नभएर मान्छेका असीमित महत्त्वाकांक्षाका कंकाल हुन् । बाहिरको तातो हावा ती पिलरहरूसँग ठोक्किएर यसरी सुसाइरहेको छ, मानौँ कुनै घायल प्रेमीले मरुभूमिको बालुवामा अन्तिम सास फेरिरहेको छ । यहाँ एउटा महँगो मौनता छ; जहाँ मेसिनहरू बोल्छन्, मान्छेहरू चुप छन् ।

मेरो अगाडि केही इमिराती नागरिकहरू छन् । उनीहरूको कन्दुराको सेतो रङ यति चम्किलो देखिन्छ कि लाग्छ- संसारको कुनै पनि हिलो वा धुलोले यसलाई छुनै सक्दैन । उनीहरूको कन्दुरामा एउटा पनि मुजा हुँदैन जसरी उनीहरूको अनुहारमा रत्तिभर चिन्ताको धर्का देखिँदैन । तीमध्ये केही मेरा सहकर्मी छन् । कार्यस्थलमा उनीहरू हप्ताको तीन दिन मात्र झुल्किन्छन् । आफ्नो कार्यकक्षमा स्वेच्छाले तीन-चार घण्टा बस्छन्, मन्द मुस्कानका साथ केही फाइलमा कलम चोप्छन् र आलिशान कारमा धुलो उडाउँदै ओझेल पर्छन् ।

​तुलना नै गर्ने हो भने, उनीहरूको हप्ताभरिको कूल उपस्थिति भनेको मेरो दैनिक उपस्थिति हो । अर्थात्, म दिनहुँ नौ घन्टा आफ्नो रगतको तापक्रमले यो चिसो कोठालाई तताइरहन्छु । यसरी, उनीहरूका लागि काम एक प्रकारको विश्राम जस्तै हो, मेरा लागि भने यो अस्तित्वको प्रयोगशाला हो । वास्तवमा, उनीहरू मभन्दा प्राविधिक रूपमा सक्षम भएर वा मभन्दा बढी बौद्धिक भएर यो सुविधा पाएका होइनन् । उनीहरूले त आफ्नो राज्यको बलियो अभिभावकत्व पाएका मात्र हुन् ।

​यहाँको सिस्टमले आफ्ना नागरिकका लागि यति शक्तिशाली सुरक्षाकवच बनाएको छ कि निजी कर्पोरेट कम्पनीहरूले पनि उनीहरूलाई मालिक सरहको व्यवहार गर्न र सुविधा दिन बाध्य छन् । उनीहरूका पछाडि ढाल बनेर उभिने राज्य छ, मेरो पछाडि मलाई नै लुट्न तयार दलाल राज्य र बेखबर दूतावास मात्र छ । राज्यले आफ्ना नागरिकलाई अभिभावकत्व दिन नसक्दा, आज मरुभूमिको यो चिसो कोठामा मेरो योग्यताको अवमूल्यन भइरहेको छ । साँझ पर्दा यो कम्पनीको प्रगतिको जस उनीहरूकै सेतो कन्दुरामा टाँसिन्छ । म त एउटा यस्तो अदृश्य छायाँ बनेको छु, जो घाम अस्ताएपछि आफैँ हराएर जान्छ । यो मेरो मात्र कथा होइन, घरदेश छोडेर परदेशमा आफ्नो जवानीको बलि दिइरहेका ४० लाख नेपालीको साझा पीडाको बकपत्र हो ।

​शून्य राजनीति: समृद्धिको गर्भ

​युएईभित्र एउटा अनौठो अनि तितो सत्य छ- यहाँ राजनीति मर्दछ, र समृद्धि जन्मन्छ । यहाँ चुनावको सरगर्मी हुँदैन तर नागरिक केन्द्रित नतिजाको उत्सव मनाउन पाइन्छ । यहाँका नागरिकलाई “अर्को प्रधानमन्त्री को बन्ला ?” अथवा “कुन पार्टीले सत्ता ढाल्ला ?” भन्ने तनावले सताउँदैन । किनभने, राज्यले उनीहरूको आत्मसम्मानलाई नागरिकताको रङसँगै घोलेर सुरक्षित गरिदिएको छ । जब एकाबिहानै उठ्दा ग्यासको सिलिन्डर रित्तो हुने डर हुँदैन, जब बच्चाको शिक्षा र आमाको उपचारको चिन्ता राज्यले आफ्नो काँधमा बोकिदिन्छ, तब नागरिकलाई सडकमा झण्डा बोकेर हिँड्ने फुर्सद हुँदैन, आवश्यकता नै पर्दैन ।

​नेपालमा भने राजनीति हरेक नागरिकको रगतमा क्यान्सर जस्तै फैलिएको छ । चिया पसलदेखि चौतारीसम्म, अस्पतालको शैय्यादेखि मलामीको लामसम्म राजनीति मात्रै छ । हामीलाई राजनीतिमा चासो हुनु हाम्रो रहर होइन, हाम्रो अस्तित्व बचाउने अन्तिम लडाइँ हो । अस्पतालमा एउटा बेड पाउन, खेतमा एक बोरा मल पाउन वा आफू यो देशको नागरिक भएको प्रमाण जुटाउन पनि यहाँ कुनै न कुनै झण्डाको ओत लाग्नैपर्छ । युएईको नागरिक सुखले राजनीति बिर्सन्छ, नेपाली नागरिक दुःखले राजनीतिमा पिल्सिरहन्छ ।

​फागुन २१: भ्रमको अर्को खेती र पुस्तान्तरणको धोका

​काठमाडौंका भित्ताहरूमा फेरि चुनावका रङ्गीन सपनाहरू टाँसिन थालेका छन् । फागुन २१ का लागि निर्वाचनको नयाँ बाँसुरी बजाइँदैछ । गगनहरू ‘सिस्टम रिफर्म’का कुरा गर्लान्, बालेन र रविहरू ‘नयाँ लहर’का कथा बुन्लान्, प्रचण्डहरू अझै पनि ‘सामाजिक रुपान्तरण’का नारा घन्काउलान् । यता, मरुभूमिको यो शान्तिमा बसेर सोच्दा मलाई लाग्छ- चुनाव त केवल एउटा भ्रम रहेछ, जसले हरेक पटक हामीलाई आशाको अफीम खुवाएर सुताइदिन्छ ।

​यदि चुनावले नै देश फेरिने भए, ७० वर्षमा सातवटा संविधान फेरिँदा पनि हाम्रो नियति किन फेरिएन ? हाम्रा बाबुबाजेले मतपत्रमा छाप लगाएरै मरे, हामी पनि त्यही गर्दैछौँ । तर परिणाम ? निराशा ! हामीले सँधै केवल पात्र फेर्यौँ, प्रवृत्ति फेर्नै सकेनौँ । प्रविधिले संसार नै कायापलट गराइरहेको समयमा पनि, सामान्य आयआर्जनका लागि समेत विदेशिन बाध्य लाखौं नेपालीलाई भोटको अधिकार दिन नसक्ने यो चुनाव जनताको इच्छा होइन; नेताहरूको हिस्सा मिलाउने एउटा नाटक मात्र बन्दैछ- हेर्नै मन नलागेको तर नागरिक भएको नाताले हेर्नै पर्ने एउटा जुगुप्सालाग्दो दृश्य । आज नयाँ भनिएकाहरू पनि तिनै पुराना दलका कार्यकर्ताका फोटोकपी जस्ता देखिन्छन् । आज नेपालबासीले पाउँदै गरेको मताधिकार ठीक प्रणाली निर्माणको माध्यम होइन, यो त हामीलाई नै थुन्न तम्तयार नयाँ खोरको ढोका मात्र हो ।

शासकको विरासत र हाम्रो दृष्टिहीनता

​हामी भन्छौं- नेपाललाई एउटा अदृश्य शक्तिले वर्षौँदेखि चलाइरहेको छ । मलाई लाग्छ, त्यो शक्ति अरू कोही होइन, हाम्रै शासकहरूको दृष्टिहीनता हो । युएईमा शासकले आफ्नो देश बनाउने सपना देख्छन् किनकि उनीहरूलाई आफ्नो नाम र वंशको विरासत जोगाउनु छ । उनीहरूलाई अर्को चुनाव कसरी जित्ने भन्ने हतास छैन- हतार हुँदैन । त्यसैले उनीहरूलाई देश कसरी बनाउने भन्ने फुर्सद छ, स्पष्ट भिजन हुन्छ । उनीहरू बालुवामाथि शहर बनाउँछन्, हामी बनेको शहरलाई बालुवा बनाउँछौँ ।

हाम्रा नेताहरूलाई कुर्सी जोगाउँदैमा भ्याइनभ्याई छ । उनीहरूलाई एकपछि अर्को चुनावका लागि करोडौँ पैसा चाहिन्छ- त्यो पैसाका लागि उनीहरूले हाम्रो भविष्य नै लिलाम गरिदिन्छन् । यदि युएईका शेखले जस्तै हाम्रा नेताले पनि “आफ्ना नागरिकलाई संसारकै सुखी बनाउँछु” भन्ने एउटा मात्र अठोट लिएको भए, आज म यो मरुभूमिमा अर्काको ‘अपजस’ खानलाई घोटिनु पर्ने थिएन । हामीले अरूको मरुभूमिलाई स्वर्ग बनायौँ, तर आफ्नै स्वर्ग जस्तो देशलाई किन मरुभूमि बनायौँ ? यसको जवाफ कुनै पनि पार्टीको घोषणापत्रमा भेटिँदैन ।

मेरिटोक्रेसीको हत्या र आर्थिक भेन्टिलेटर

नेपालको अर्थतन्त्र आज भेन्टिलेटरमा छ, जसको अक्सिजन यहाँको मरुभूमिबाट पठाइएको रेमिट्यान्स हो । युएईको आर्थिक नीतिले आफ्ना नागरिकलाई मालिकको कुर्सी दियो । हाम्रो नीतिले हामीलाई विदेशको टिकट दियो । यहाँ योग्यताको पूजा हुन्छ । संसारका उत्कृष्ट दिमागहरू यहाँ भित्र्याइन्छ । नेपालमा चाहिँ योग्यताको घाँटी रेटेर विदेशी भूमिमा हुत्याइँन्छ । अयोग्यलाई चाकरीको माला उनेर भिराइन्छ । फलस्वरूप, ‘पसिना’को अभावले मलिलो माटो जर्जर हुन्छ, फाट्छ र उत्पादन शून्य हुन्छ । यसरी, ‘विकास’को बजेट लेख्न देशलाई विदेशी अनुदानको खाल्डोमा जाकिन्छ ।

​तपाईं सोच्नुहोस् त- यदि युएईमा जस्तै नेपालमा पनि योग्यताको कदर हुन्थ्यो भने, के महावीर पुनहरूले सडकमा भौँतारिनु पर्थ्यो ? हिँड्दाहिँड्दै थाकेर अन्तरिम सरकारको मन्त्री बन्न जानुपर्थ्यो ? के कुलमान घिसिङहरूले राजनीतिक खिचातानीको शिकार हुनु पर्थ्यो ? काम गर्न छोडेर राजनीतिमा गफ छाँट्न आउनुपर्थ्यो ? युएईले संसारभरका विज्ञलाई पुज्छ, हामीले आफ्नो पार्टीका कार्यकर्तालाई मात्र पुज्छौँ । यही नै हाम्रो विनाशको मुख्य सूत्र हो । हामीले रगत साटेर डलर ल्यायौँ, तर धूर्त राज्यले त्यो डलर साटेर नेताका लागि चिल्ला गाडी किन्यो । हाम्रो रगत-पसिनाको मूल्यले काठमाडौंका टावरहरू अग्ला भए होलान्, तर ती टावरभित्र बस्नेहरूको विवेक भने दिन प्रतिदिन होचो हुँदै गएको छ ।

​सामाजिक मूल्य र पासपोर्टको पीडा

हामीले रेमिट्यान्सको तथ्याङ्क त हेर्यौँ; त्यसले भत्काएको सामाजिक संरचना कहिल्यै हेरेनौँ । लाखौँ युवा विदेशिदा नेपालका गाउँहरू वृद्धाश्रम बनेका छन् । बालबच्चाले बाबुआमाको अनुहार मोबाइल फोनको स्क्रिनमा मात्र देख्न पाउँछन् । यो कस्तो विडम्बना हो ? हामीले घर बनाउनलाई जवानी बेच्यौँ । जब घर बन्यो, जवानी नै बाँकी रहेन ।

हरेक साँझ कोठामा फर्किँदा, मेरो हातमा भएको त्यो रातो पासपोर्टले मलाई गिज्याइरहेको जस्तो लाग्छ । एयरपोर्टको इमिग्रेसनमा जब कुनै सुरक्षाकर्मीले हाम्रो पासपोर्ट हेरेर ‘सस्तो मजदुर’को नजरले हेर्छ, तब सगरमाथाको उचाइले फूलेको गर्विलो छाती एक्कासि खुम्चिन्छ । जबसम्म एउटा नेपालीले आफ्नो पासपोर्ट देखाउँदा कुनै अन्तर्राष्ट्रिय एयरपोर्टमा सम्मान पाउँदैन, तबसम्म सगरमाथाको शिर जतिसुकै अग्लो भए पनि हाम्रो शिर भने निहुरिरहनेछ ।

निष्कर्ष: अबको निकास र हाम्रो मौन क्रान्ति

मेरो चुनावसँग कुनै व्यक्तिगत दुश्मनी छैन । यद्यपि, म त्यही विरक्तिलाग्दो दोहोरिने चक्रसँग डराउँछु । यदि यो चुनावले फेरि पनि तिनै दलालहरूको अनुहारमा नयाँ रङ मात्र पोत्ने हो भने मलाई यो लोकतान्त्रिक कर्मकाण्डमा कुनै रुचि छैन । मलाई मतपत्रमा छाप लगाउने एकछिनको भ्रम होइन, आफ्नै माटोमा पसिना बगाउँदा पाइने जिन्दगीको मूल्य चाहिएको छ ।

​म यस्तो बिहानीको तिर्खामा छु, जहाँ आफ्नै देशको कुनै सानो अफिसमा १० घण्टा घोटिँदा पनि मेरो आत्मसम्मान ती इमिरातीहरूको जस्तै चहकिलो होस् ।

अबको खास निकास चुनावमा होइन, ‘सिस्टमको रिसेट’मा छ । हामीलाई नयाँ नेता होइन, नयाँ नीति र त्यसलाई कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति चाहिएको छ । युएईले मरुभूमिलाई ‘स्वर्ग’ बनाउन सक्यो भने हामीले स्वर्ग जस्तो देशलाई ‘मरुभूमि’ किन बनायौँ ? यो प्रश्नको उत्तर नखोजेसम्म कुनै पनि चुनावले हाम्रो भाग्य बदल्ने छैन । वीर गोर्खालीका सन्तान हौँ भनेर जति नै नाक फुलाए पनि सगरमाथाको व्यग्र कोलाहल भन्दा मरुभूमिको यो चीर मौनता धेरै गुणा शक्तिशाली र अर्थपूर्ण छ ।

अन्त्यमा, मरुभूमिले मलाई सिकाएको एउटै कुरा छ- बालुवालाई पनि पगालेर पारदर्शी सिसा बनाउन सकिन्छ, यदि शासकसँग भिजन र नागरिकसँग धीरता छ भने । नेपाल बालुवा होइन, यो त सुनको टुक्रा हो । मात्र यसलाई दलाल राजनीतिक व्यवस्थाले बारम्बार जलाएर कोइला बनाउने काम बन्द गरिनुपर्छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.