केही समय अगाडि ‘मर्नु अघि’ उपन्यास हात पर्यो । साहित्यकार जमुना भट्टराईद्वारा लेखिएको उक्त उपन्यासको कभरमा रातो र पहेँलो मसीले लेखिएको पुस्तकको नाम नै ‘मर्नुअघि’ देख्नासाथै लामो स्वास फेरेँ । थाहा छैन किन हो आफैँ आयो त्यो लामो स्वासको लहरो । किन यस्तो शीर्षक राखियो होला भनेर कौतुहलको हुण्डरीले हृदय हल्लाइरह्यो । बेस्सरी हल्लिएको हृदयले लामो समयसम्म स्थिर हुन मानेन । पुस्तक पल्टाएर गुदी खोतल्ने साहस पनि आएन । लेखक जमुना भट्टराई प्राणघातक रोग क्यान्सरसँग लडिरहेकी छन् भन्ने कुरा मैले सुनेकी थिएँ, त्यसैले पनि धेरै कुराको सोचाइले मथिङ्गल हल्लाइरह्यो । लेखकको जिन्दगीसँग यो शीर्षकले कत्ति पनि मेल नखाओस् है भगवान् भन्ने कामना गर्दै पुस्तकका पाना पल्टाउन थालेँ ।
अन्य सामाग्री बाहेक उपन्यासको विषय मात्रै ३४७ पृष्ठमा तयार भएको प्रस्तुत पुस्तक पढ्न अलि गाह्रो हुने हो कि भनेर सोचेँ, किनकी मेरा आँखा उपचारका क्रममा रहेकाले अलि समय आँखालाई विश्राम लिनु भन्ने डाक्टरको सल्लाह छ । फेरि यो पुस्तकको शीर्षकले नै गुदी छाम्न हतारो लगाइरहेको छ । डाक्टरको सल्लाह उलङ्घन गर्दै म पुस्तक पल्टाउन थालेँ । सामाजिक सञ्जालको महत्त्व दर्साउँदै लेखन शुरु गरिएको ‘मर्नुअघि’ उपन्यासमा दीपा र राज पात्रको संवाद छ । यी दुई पात्रको संवादका क्रममा कथाक्रम लम्बिँदै जाँदा अन्य पात्रहरू पनि जोडिँदै जान्छन् । दीपा पात्रले राज पात्रसँग आफ्नो जिन्दगीको भोगाइ सुनाएको कथा नै प्रस्तुत पुस्तकको कथावस्तु रहेको छ । सो कथाले प्रायः आम नेपाली महिलाको जीवन भोगाइको प्रतिनिधित्व गरेको छ ।
नेपाली समाज पितृसत्तात्मक समाज भएको हुनाले यसभित्र नारीहरू कसरी नारकीय जीवन गुजारिरहेका छन् भन्ने तीतो सत्य पुस्तकमा ओकलिएको छ । मान्छे आदर्शको कुरा गर्छ तर उसको यथार्थ भोगाइ अर्कै हुनसक्छ । यहाँ त्यही यथार्थ भाव खोतल्ने जमर्काे गरिएको छ । हाम्रो समाजमा बलेको आगो सबैले ताप्ने तर निभ्न लागेको आगोमा झन पानी खन्याइदिने जो प्रचलन छ, त्यसको सचित्र चित्रण गरिएको छ । आधुनिक भनिएकी, कर्मले खारिएकी तर भाग्यले ठगिएकी एक नेपाली नारीको यथार्थ भोगाइमा आधारित कारूणिक जीवनगाथा हो यो पुस्तक ।
वर्तमान समय आधुनिक युग भनिए तापनि यो युगमा बाँचिरहेका धेरै नारीहरूले आफ्ना स्वासप्रश्वास आफैँले आफ्नो आवश्यकताका आधारमा मापन गरेर फेर्न अझै पाइरहेका छैनन् । नारीका हरेक पाइला पारीवारिक दबाबमा चाल्नुपर्दछ । अनुभवले खारिएकी, आत्मनिर्णय गर्न सामर्थ्य राख्ने नारीलाई समेत त्यो अधिकार प्रयोगबाट वञ्चित गरिएको, नारीको आत्माशक्तिलाई नजरअन्दाज गरिएको, विश्वास नगरिएको जस्तो सत्यभाव ‘मर्नुअघि’ उपन्यासको मुख्य भाव हो ।
आफूले नचाहँदा नचाहँदै पारीवारिक दबाबमा दीपा पात्रको सुदर्शनसँग भएको जबरजस्त विवाह, त्यस सम्बन्धले निम्त्याएको परिवारिक र सामाजिक प्रताडनाको स्वरूप हो यो उपन्यास । सुदर्शन नेपाली समाजको एउटा यस्तो पुरुष प्रतिनिधि पात्र हो, जसले दीपाको अस्तित्व स्वीकार्न जान्दैन, आफ्नै यौनेच्छा पूरा गर्नका लागि मात्र दीपालाई उपभोग गरिरहेको हुन्छ । हाम्रो जस्तो नेपाली समाजमा इज्जत नामको पगरी नारीको शिरमा मात्र गुथिएको छ । जन्मघर र कर्मघर दुवै घर र थर आफ्नो हुन गाह्रो मान्छन् र पनि ती दुवै घर र थरको इज्जत नारीले नै थेग्नु पर्दछ भन्ने मान्यताले समाजमा बलियो जरा गाडेको छ । घर, परिवार र समाजको इज्जत बचाउन सेकेण्ड सेकेण्डमा आफ्नै अस्तित्व मारिरहेका आम नेपाली नारीको कथा बोकेकी प्रतिनिधि नारी पात्र हुन् दीपा ।
नारी भएकै कारण जीवनमा आएका अनेक अवरोधलाई इच्छाशक्तिको हतियारले चिर्दै अगाडि बढेकी दीपाको कर्मबाट पाठकलाई समेत कर्मशील बन्ने ऊर्जा प्रवाह हुन्छ । आर्थिक विपन्नता र रूपका कारण तिरस्कृत हुनुपरेको तीतो यथार्थ पढ्दा समाजमा भएको वर्गविभेदको झट्का लाग्छ । आफूले फिटिक्कै मन नपराएको केटासँग पारिवारिक दबाबमा विवाह हुनु, रहरमा नभइ कहरमा सुहागरात कटाउनु, जसको छाया नै मन पर्दैन उसैलाई सिङ्गो जीवन समर्पण गर्नुपर्ने बाध्यतामा पर्नु जस्ता नियतिहरू अहिलेका युगका नारीले भोगिरहेका छन् । त्यही मध्येकी एउटी पात्र हो दीपा । मादक पदार्थको नसामा लठ्ठिँदै पोर्न भिडियो हेरेर आशक्तिको उन्मादले उम्लिएको सुदर्शन हरेक रात दीपामाथि बाघले भनौँ या गिद्धले झैँ झम्टिएको दृश्य पढ्दा लाग्छ पुरुषको नाममा राक्षस हो ऊ, कलङ्क हो । हरेक रात सुदर्शन हाँस्ने, दीपा रुने, सुदर्शन बाँच्ने, दीपा मर्ने प्रसङ्गले ‘मेरो शरीर मेरो अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नाराको धज्जी उडाइरहेको झैँ लाग्छ । पढे लेखेका र शिक्षित भनिएका महिलाहरू नै अझै पनि यो हदसम्मको चित्कार सहन बाध्य छन् भने सर्वसाधारण महिलाको अवस्था कस्तो होला भनेर पुस्तक पढ्दा पढ्दै मथिङ्गल हल्लिन्छ, शरीर ढक्क फुल्छ, स्वासप्रश्वास अवरुद्ध हुन्छ । हुन त यौन सम्पर्क, यौन चाहना मानव जीवनमा मात्र नभएर आम प्राणीजगतमा अनिवार्य आवश्यकताभित्र पर्दछ । मन मिलेर भएको यौन सम्बन्धले तन मन दुवैलाई रिफ्रेस गराउँछ तर प्रेम बेगर आशक्तिले मात्र झम्टिएको यौन सम्बन्धले लास बनाउँछ भन्ने भाव प्रस्तुत पुस्तकभित्र यत्रतत्र पढ्न पाइन्छ । हरेक रात सुदर्शनको कामुक झम्टाइलाई लास भएर सहिदिनुपर्ने बाध्यताले दीपा आफ्नै वैवाहिक जीवनलाई हिटलरको ग्याँस च्याम्बरझैँ कष्टकर सम्झन्छे ।
एउटी नारीलाई प्रसव पीडाको आहालमा डुबिरहेका बेला यस्तो नराम्रो बच्चा जन्मिएछ भनेर आफन्तीहरूले नै कुरा काटिरहेको तीतो सत्य पढ्दै गर्दा मुटु छियाछिया हुन्छ । एक पटक जुनी फेरेर सन्तान जन्माएकी आमालाई रगतको पोखरीमा पौडिरहेकै बेला, यस्ता वचन सुन्नुपर्दा हृदयमा कस्तो बज्र बज्रिन्छ होला भन्ने समेत नसोच्ने हाम्रो समाजको अमानवीय चरित्र चित्रण छ यहाँ । आफ्नै रहरमा आमा समेत बन्न नपाउने नेपाली नारीको मर्म पोखिएको छ । अलि निर्णायक भूमिकामा उभियो भने वा अलि धेरै खटेर, डटेर कार्यसम्पादन गर्न सफल भयो भने महिलालाई पनि पुरुषजस्तो भनेर सम्बोधन गर्ने हाम्रो समाजले महिलालाई सदैव कमजोरभन्दा माथि देख्न जान्दैन भन्ने तीतो यथार्थ छ । सम्भोग गर्दा श्रीमती सक्रिय नभएपछि मदिरापान गराएर मातेर ढलेको शरीरमाथि मनलाग्दी खेल्ने कतिपय हिंस्रक पुरुषको चरित्र छर्लङ्गै देखाइएको छ यहाँ । हरेक रात सुदर्शनको भोग्या हुन नसके कुटाइ खानुपर्ने हुनाले त्यो भन्दा त जबरजस्त बलात्कृत हुन मञ्जुर जनाउनका लागि रक्सीको सहारा लिएकी दीपाको जीवनकथा पढ्दा पढ्दै हिक्क हिक्क हुन्छ ।
उपन्यास पढ्दै गर्दा अरूलाई सहयोग गर्नेहरू आफैँ कसरी फस्छन् भन्ने घटनाले धर्म गर्ने जमाना छैन भन्ने सन्देश दिन्छ । जेठाजु साइनोले बुहारी दीपामाथि आइलागेको हर्कत पढ्दा चिथोर्न मन लाग्छ । आफ्ना सन्तानका खातिर एउटी आमा कसरी हाँसी हाँसी मृत्यु स्वीकार्छे भन्ने भाव सुदर्शनको त्यो पाश्विक र क्रूर यातना सहँदै जीवन घिसारिरहेकी दीपाको कथाले प्रष्ट पार्छ । आफूले आगो निलेर भए पनि माइतीको शिरमा गङ्गा खन्याउनु छोरीचेलीको कर्तव्य सम्झने र एउटी आमा आफ्ना सन्तानका लागि हार्न मात्रै त के मर्न पनि तयार हुन्छे भन्ने प्रसङ्गले नेपाली समाजको चित्र सर्लक्कै उतारेको छ ।
प्रस्तुत ‘मर्नुअघि’ उपन्यासमा नारीमाथि पितृसत्तात्मक मानसिकता बोकेका पुरुषहरूले गर्ने थिचोमिचो, विवाहलाई लाइसेन्स बनाएर हररात गरिने वैवाहिक बलत्कार, दासलाई झैँ गरिने क्रूर शासन, श्रीमती हुनु भनेको दासी हुनु हो भन्ने पुरुष मानसिकताको उजागर गरिएको छ । लेखक स्वयंले आफ्नै भोगाइ केही अंश र केही अंश चाहिँ आफ्नै वरपर समाजमा घटेका सत्य घटनालाई लिएर तयार पारिएको प्रस्तुत उपन्यास कहालीलाग्दो छ । एउटै व्यक्तिलाई नियतिले पनि कतिसम्म लखेट्न सक्दो रहेछ भन्ने आभाष हुन्छ । आफूले हजार कष्ट बेहोरेर पनि अरूलाई नबिझाउनु सहनशीलताको धरोहर हो । त्यही धरोहर भएर निर्भीक उभिएकी छ दीपा पात्र । सुदर्शन र रघु जस्ता पुरुष पात्रले उपन्यासभरी नारीलाई गिजोलेर नै आफू रमाएका छन् । यस्ता नरपिचासको अहंकारी आगोमा पिल्सिँदा पोलेको पीडा सहेर पनि प्रतिकारमा नउभिएर अस्मिता बचाउने नाममा जीवनयापन गरेकी दीपाको चरित्रले अहिलेका छोरी बुहारी पुस्तालाई कस्तो सन्देश देला त्यो सोचनीय विषय बनेको छ । एउटा मानव हृदय भएको स्वअस्तित्वमा बाँच्न मन पराउने व्यक्तिले यो हदसम्मको सहन सह्य हुन्छ कि हुँदैन एउटा खरो प्रश्न पाठक अगाडि ठिङ्ग उभिन्छ । हरेक रात आफ्नै लोग्नेबाट बलात्कृत हुँदाको पीडा सहन रक्सीलाई दबाई अपनाउनु, आत्मसम्मानको चेत हुँदाहुँदै पनि तत्काल विद्रोह गर्न नसक्नु हाम्रो समाजका नारीले भोग्दै आएका यथार्थ भोगाइ हुन् ।
अन्त्यमा प्रस्तुत उपन्यासले नारीलाई जीवन संघर्षको दौरानमा अनेक कार्य गर्न उत्प्रेरित गर्दछ । पितृसत्ताको बुढो तथा जीर्ण रुखको छहारीमा हुर्किएको विभेदकारी समाजमा बाँच्ने क्रममा अनेक अप्ठ्याराहरू आइपर्न सक्छन्, कमजोर चेतना र नकारात्मक सोच भएका पात्र अझै छन् समाजमा भन्ने सन्देश महसुस हुन्छ । दीपा पात्रको भूमिका नियाल्दा आफ्नो अस्मितामाथि आँच आउँदा पनि नारी किन बोल्न सक्दैनन् या पाउँदैनन् ?, पुरुषवादी सत्तामा उभिएको हाम्रो समाजले नारीलाई पखेटा काटेको गिद्धको रूपमा किन राख्न चाहन्छन् ? जस्ता प्रश्नहरू खडा गरेको छ । त्यसैगरी संघर्षशील महिलाका लागि संघर्ष नै सौन्दर्य हो भन्न खोजिएको पनि छ ।
उपन्यासभरि नारीका आँसु, पीडा, व्यथा, वेदना, सङ्घर्ष र त्यागको चित्रण गरिएको छ । पुरुष र महिलाबिचको असन्तुलित शक्तिसम्बन्ध निर्माण हुनुमा पितृसत्ताकै प्रभुत्वको उपज हो र लैङ्गिक विभेदको मूल जरो हो, जग र शक्ति हो भन्ने यथार्थ बुझ्न यो उपन्यास पढ्दा गाह्रो हुँदैन । पितृसत्ताको कोलमा पेलिएर रस निकाल्दै फालिएका खोस्टाका रूपमा छरपस्ट छरिएका समकालिन समाजको यथार्थ प्रतिबिम्ब झल्को दिन्छ यस उपन्यासले । उपन्यासमा नारी उत्पीडन र शरीर राजनीति छताछुल्ल पोखिएको छ ।
पितृसत्तात्मक समाजमा नारी वा छोरीमाथि आस्था, विश्वास, आड र भरोसाको अवस्थालाई कहिले स्वीकार गर्लान् त भनेर सोच्न बाध्य बनाउँछ । उपन्यासभरि नै दीपाको जीवन भोगाइ, अनुभव र अनुभूतिको सूक्ष्म चित्रण गरिएको छ । सामाजिक, सांस्कृतिक मूल्यद्वारा महिलामाथि हुने विभेदको यथार्थलाई परिवारभित्र नै खोज्नुपर्ने दिशानिर्देश पनि गरेको छ । महिलामाथि सामाजिक, सांस्कृतिक, आर्थिक राजनीतिक, यौनिक जस्ता कुरामा पुरुषले हैकम जमाउने सामन्ती समाजको चित्र उतारिएको छ । आफूलाई चाहना नहुँदा नहुँदै पनि श्रीमानको इच्छालाई जबरजस्ती पूरा गर्नुपर्ने बाध्यताको उजागर गरेबाट यो समाजमा महिलाहरू यौनहिंसा, वैवाहिक बलत्कार आदिबाट प्रताडित हुनुपरेको तीतो सत्य छ यहाँ । यौन यातना, बलत्कार, गर्भपतन, धार्मिक, साँस्कृतिक आधारमा गरिने शोषण, मानसिक यातना सहँदै श्रीमानको यौनचाहना परिपूर्ति गर्न बाध्य भएका महिलाको हृदयविदारक कथा छ यहाँ । शक्तिशाली शरीरले कमजोर शरीरमाथि कसरी शोषण एवम् शासन गर्दछ भन्ने शरीर राजनीतिको विचित्रको चित्रण गरिएको छ । महिलाहरूलाई आफ्नो अस्तित्व र स्वतन्त्रताको बलि चढाउन कसरी बाध्य पारिएका छन् भन्ने डरलाग्दो रहस्य छ ।
महिलाहरूलाई भोग्याको रूपमा हेर्ने गरेको महिलाको शरीर वा यौन पनि पुरुषकै निजी सम्पत्तिका रूपमा रूपान्तरण हुने धारणा प्रस्तुत भएको छ । मातृप्रेम, पितृप्रेम, सन्तानप्रेम, कर्तव्यबोध, इमानबोध, संघर्ष, साहस, धैर्यलाई उपन्यासमा प्राथमिकतामा राखिएको हुँदा दीपाको आत्मनिर्णय गर्ने शक्ति गौण देखिएको छ । सरल, सरस भाषाशैलीका माध्यमबाट जीवनका कठोर भोगाइ समाजको वास्तविक चित्र, नारीका अनुभूति, मानवीय संवेदना र समाजको दृश्यबिम्ब उतारिएको प्रस्तुत ‘मर्नुअघि’ उपन्यास आँसुको महासागरझैँ लाग्छ । त्यही आँसुलाई शक्तिमा बदलेर अगाडि बढ्न किन नसकेको होला भनेर जिज्ञासा पलाइरहन्छ । धेरै ठाउँमा एउटै प्रसङ्ग दोहोरिएको कुरा हटाउन अझै एक पटक सम्पादन गर्न पाएको भए हुन्थ्यो भन्ने पनि लागिरहन्छ । सत्य घटनामा आधारित कथा भएको हुनाले होला उपन्यासभरि कतिपय नेपाली महिलाले अझै पनि समाजमा यस्तोसम्म नारकीय जीवन भोग्न बाध्य छन् भन्ने तीतो सत्य त छर्लङ्ग्याइएको छ, तर के महिला भनेका यतिका लागि मात्रै जन्मेका हुन् त ! भन्ने जिज्ञासाले लखेटिरहन्छ ।
समाजको यथार्थ चित्रण गरिएको हुनाले यस उपन्यासलाई सामाजिक यथार्थवादी उपन्यास भन्न सकिन्छ । आफ्नै आँखाले नदेखेका र नभोगेका पाठकलाई यी सबै मनगढन्ते कुरा लाग्लान् तर अझै पनि नेपाली समाजको तीतो यथार्थ यही छ । कोही बोल्छन्, कोही बोल्दैनन् फरक यत्ति हो । मानवीय अस्तित्व चेत भएका मान्छेले यसरी सत्य ओकल्न सामर्थ्य गर्ने हो । यो सामर्थ्यका लागि लेखकलाई ससम्मान बधाई एवम् कृति सफलताको हार्दिक शुभकामनाका शब्दगुच्छा समर्पण गर्दछु । लेखकको हातले समाएको कलमले यस्तै चुनौतिसँग सामना गर्दै समानताको खोजी गर्न सामर्थ्य राखिराखोस् भन्ने पनि कामना गर्दछु ।

