काठमाडौं । नई प्रकाशनद्वारा प्रा. डा. ताराकान्त पाण्डेयलाई मरणोपरान्त ‘नइ पुरस्कार’ प्रदान गरिने समाचार सार्वजनिक भएसँगै उहाँकी जीवनसङ्गिनी, प्रगतिवादी कवि तथा आख्यानकार शीला योगीले उक्त पुरस्कार अस्वीकार गर्ने घोषणा गर्नुभएको छ।
वक्तव्यमा योगीले “नई प्रकाशन संस्थाद्वारा प्रा.डा. ताराकान्त पाण्डेयलाई मरणोपरान्त नई पुरस्कारबाट सम्मानित गरिने भन्ने समाचारले म, मेरो परिवार तथा उहाँ सम्बद्ध सङ्घ–संस्थाहरू आश्चर्यचकित भएका छौं” उल्लेख गर्नुभएको छ।
वक्तव्यमा प्रा. डा. ताराकान्त पाण्डेय जीवनभर मार्क्सवादी साहित्य–कला तथा सांस्कृतिक चिन्तनमा सक्रिय रहेको जनाउँदै यस प्रकारको पुरस्कारले उहाँको व्यक्तित्वको अपमान हुने दाबी गरिएको छ। वक्तव्यमा भनिएको छ कि पाण्डेय कम्युनिस्ट तथा गणतान्त्रिक आन्दोलन, सांस्कृतिक–वैचारिक रूपान्तरण र प्राज्ञिक अनुसन्धानमा सक्रिय, जनवादी तथा वैज्ञानिक समाजवादी आस्थामा दृढ व्यक्तित्व हुनुहुन्थ्यो। “त्यसखाले पुरस्कारद्वारा दुषित गरिनु उहाँको अपमान हुन्छ भन्ने हामीलाई लागेको हुनाले म र मेरो परिवार उक्त पुरस्कार अस्वीकार गर्ने जानकारी गराउँछौं,” वक्तव्यमा उल्लेख छ।
यस विषयमा प्रतिक्रिया दिँदै इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय संयोजक हिरामणि दुःखीले परिवार वा सम्बन्धित संस्थासँग परामर्श नगरी गरिएको निर्णय आपत्तिजनक भएको बताउनुभयो। उहाँका अनुसार, “यदि हामीसँग वा शीलाजीसँग पहिले सोधिएको भए त्यतिबेलै अस्वीकार गर्ने थियौँ। नई प्रकाशन संस्था र हाम्रो वैचारिक धारा विपरीत ध्रुवजस्तै हुन्।”
दुःखीले सच्चा कम्युनिस्ट क्रान्तिकारीले यस्ता पुरस्कार स्वीकार नगर्ने दाबी गर्दै नई प्रकाशनलाई भविष्यमा यस्ता निर्णय नगर्न सचेत गराउनुभएको छ।
यस विषयमा नई प्रकाशनको औपचारिक प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन।

