साहित्यपोस्ट डट कम

मनु मन्जिलको कविता वाचनसँगै सुरु भयो ‘काव्य–श्रवण’

मनु मन्जिलको कविता वाचनसँगै सुरु भयो ‘काव्य–श्रवण’

काठमाडौं । नेपालयस्थित कालिकास्थानको ‘आर’शालामा कवि मनु मन्जिलको सशुल्क एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । ‘काव्य–श्रवण’ नाम दिइएको यो कार्यक्रम अबदेखि हरेक अंग्रेजी महिनाको पहिलो शुक्रबार नियमित रूपमा आयोजना गरिने आयोजकले जनाएको छ ।

नेपालयले ‘पलेँटी’ र ‘पुस्तक’ कार्यक्रम सञ्चालन गर्दै आएकोमा अब कविता वाचन कार्यक्रम पनि थप गरिएको हो ।

कार्यक्रममा संयोजक कवि तथा आख्यानकार श्रवण मुकारुङसँग संवाद गर्दै मनु मन्जिलले आफ्नो कविता यात्राको सुरुवातबारे स्मरण गर्नुभएकाे थियाे । उहाँले स्कुल जीवनमा लेखेको कविता कतै प्रकाशित नभएपछि घरको ढोकामा टाँसेको अनुभव सुनाउँदै आफ्ना गुरुको प्रोत्साहनले आफू कवितातर्फ अघि बढेको बताउनुभयाे ।

विश्व काव्य साहित्यको अवस्थाबारे प्रश्नमा मन्जिलले पश्चिमी साहित्य संरचनागत रूपमा सबल भए पनि भावनात्मक पक्ष अपेक्षाकृत कमजोर रहेको टिप्पणी गर्नुभयाे । उहाँका अनुसार नेपालसहित दक्षिण एशियाली देशहरूमा भावनात्मक तीव्रता बलियो भए पनि संरचनागत परिष्कार आवश्यक रहेको छ ।

त्यसपछि उहाँले ‘गाउँले एक बालक सम्झेर’, ‘उनी कविता जीवनको रङले लेख्छिन्’, ‘दुस्मन’, ‘घोडा’, ‘यो सहर कसको हो ?’, ‘केटाकेटीहरू’, ‘तिमी मेरो क्यानभासमा’, ‘पहाड र पहिरो’ लगायतका कविता वाचन गर्नुभएकाे थियाे । केही कविताको रचना–प्रक्रिया (रचना गर्भ) समेत उहाँले प्रस्तुत गर्नुभएकाे थियाे ।

खचाखच दर्शकबीच सम्पन्न कार्यक्रममा कवि मन्जिलले कवितामाथि सारगर्भित टिप्पणीसहित प्रस्तुति दिनुभएकाे थियाे । प्रवेश शुल्कसहित आयोजना गरिएको कार्यक्रममा अनलाइनमार्फत टिकट काटेर आएका काव्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी साहित्यप्रेमीहरूलाई नेपालयले सञ्चालन गर्दै आएको ‘ई–कविता’ शृङ्खलाको वार्षिक सदस्यता निःशुल्क उपलब्ध गराइने जानकारी पनि दिइएको थियो । यसअन्तर्गत प्रकाशित तथा प्रसारित कविताहरू निःशुल्क पढ्न र सुन्न सकिनेछ ।

इटहरीमा प्राध्यापनमा संलग्न कवि मनु मन्जिलको ‘ल्याम्प–पोस्टबाट खसेको जून’ कविता सङ्ग्रह प्रकाशित छ ।

कार्यक्रम सञ्चालक श्रवण मुकारुङले ‘काव्य–श्रवण’ अभियानलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सहभागी दर्शक तथा श्रोताहरूलाई स्वतः सदस्य बनाउने व्यवस्था गरिएको जानकारी दिनुभयाे ।

आयोजकका अनुसार कार्यक्रमको दोस्रो शृङ्खलामा कवि स्वप्निल स्मृति प्रस्तुत हुनुहुनेछ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.