साहित्यपोस्ट डट कम

मनोविद् डा. सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो’ सार्वजनिक

मनोविद् डा. सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो’ सार्वजनिक

काठमाडौं । मनोविद् तथा साहित्यकार डा. सुमाया राईको आत्मकथात्मक कृति ‘जिन्दगी फूल सम्झे फूलै हो’ जीवनयात्रा सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित समारोहमा प्रा.डा. गोविन्दराज भट्टराई, पूर्वसांसद प्रमिला राई, अधिकारकर्मी बमकुमारी बुढा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्वउपाध्यक्ष जितपाल किरात, किरात राई यायोक्खाका कार्यवाहक अध्यक्ष युवराज राई तथा लेखक राईले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएको हो।

वि.सं. २०१९ जेठ २४ गते सिरहाको लहानमा जन्मिनुभएकी डा. राई त्रिभुवन विश्वविद्यालयकी पूर्व–उपप्राध्यापक तथा किरात राई यायोक्खाकी पहिलो महिला अध्यक्ष हुन्। उहाँले व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनका अनुभवलाई समेट्दै ‘जिन्दगी फूल सम्झे फूलै हो’ जीवनयात्रा कृति तयार गर्नुभएको हो।

लेखककै रचना, डीआर अटुको संगीत र राजेशपायल राईको स्वरमा रहेको ‘जिन्दगी फूल सम्झे फूलै हो’ बोलको गीतबाट कृतिको शीर्षक राखिएको बताइएको छ।

कृतिबारे डा. शान्तिमाया गिरी र कैलाश राईले समीक्षा प्रस्तुत गर्नुभएको थियो। करिब साढे पाँच सय पृष्ठमा फैलिएको पुस्तकमा प्रथम, मध्य र उत्तर चरण गरी एक सय १३ शीर्षकअन्तर्गत लेखहरू समेटिएका छन्। साथै लेखकको वंशवृक्ष, चिनारुको दृष्टिकोण, अनुसूची तथा तस्बिरहरू पनि समावेश गरिएको छ।

यो डा. राईको पाँचौं कृति हो। यसअघि उहाँका ‘तातो हावा’ (गीति एल्बम, २०७१), ‘अव्यक्त अभिव्यक्ति’ (कविता संग्रह, २०७२), ‘छाम सुनाखरी’ (गीत संग्रह, २०७२) र ‘मेरो अन्तिम इच्छापत्र’ (कविता तथा गीत संग्रह, २०७५) प्रकाशित भइसकेका छन्। ती कृतिहरूले नेपाली भाषा, किराती संस्कृति, इतिहास तथा पहिचानलाई उजागर गरेको समीक्षक वक्ताहरूको भनाइ थियो।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.