साहित्यपोस्ट डट कम

मञ्जुललाई ‘प्रतीक ढकाल नियात्रा सौरभ–२०८३’ समर्पण

मञ्जुललाई ‘प्रतीक ढकाल नियात्रा सौरभ–२०८३’ समर्पण

काठमाडौँ । पर्वतीय साहित्य समाजले साहित्यकार मञ्जुललाई ‘प्रतीक ढकाल नियात्रा सौरभ–२०८३’ समर्पण गरेको छ । जयन्ता–पवित्रा ढकाल स्मृति कोषद्वारा स्थापित उक्त पुरस्कार मञ्जुल निवासमै आयोजित समारोहमा समर्पण गरिएको हो ।

कार्यक्रममा पर्वतीय साहित्य समाजका अध्यक्ष प्रतीक ढकाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीका पूर्वअध्यक्ष तथा साहित्यकार गीता खत्री, नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईं, समाजकी सचिव भवानी खतिवडा, साहित्यकार डा. रजनी ढकाललगायत स्रष्टा तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो । सो अवसरमा गीता खत्री, मोहन चापागाईं र प्रतीक ढकालले संयुक्त रूपमा ५१ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गर्नुभएकाे थियाे ।

कार्यक्रम सञ्चालन गर्दै सचिव भवानी खतिवडाले प्रतीक ढकालले आफ्नो दैनिक कमाइबाट बचत गर्दै स्थापना गरेको उक्त पुरस्कारको भावनात्मक पक्षबारे जानकारी दिनुभएकाे थियाे । कार्यक्रममा बोल्दै नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईंले मञ्जुलजस्ता साहित्य, सङ्गीत र कलाका साधकलाई सम्मान गर्न पाउँदा स्वयं संस्था नै सम्मानित भएको अनुभूति व्यक्त गर्नुभयाे ।

त्यसैगरी साहित्यकार डा. रजनी ढकालले अग्रज स्रष्टालाई गरिएको सम्मानले आफूलाई पनि गौरवान्वित बनाएको बताउनुभयाे भने गीता खत्रीले नेपाली साहित्यमा मञ्जुलको योगदानको चर्चा गर्दै उहाँको सक्रिय जीवनको कामना गर्नुभयाे ।

संरक्षक तथा पुरस्कारदाता प्रतीक ढकालले मञ्जुलको प्रेरणाबाट आफू साहित्यिक क्षेत्रमा लाग्न सकेको स्मरण गर्दै आफ्नै अग्रजलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयाे ।

सम्मानित स्रष्टा मञ्जुलले पनि भावुक हुँदै यस्तो सम्मानले आफूलाई अझ सिर्जनशील कार्यमा लाग्न प्रेरणा मिलेको प्रतिक्रिया दिनुभएकाे थियाे ।

ट्याग: मञ्जुल
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.