साहित्यपोस्ट डट कम

मणिपुरमा ‘आमाछोराको संवाद’ लोकार्पण,

मणिपुरमा ‘आमाछोराको संवाद’ लोकार्पण,

मणिपुर । मणिपुरको नेपाली साहित्य क्षेत्रमा एक महत्वपूर्ण कृति थपिँदै हर्कबहादुर लामगादे ‘रोहित’ कृत ‘आमाछोराको संवाद’ पुस्तकको लोकार्पण कार्यक्रम चारहजारे, मणिपुरमा सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाली साहित्य परिषद्, मणिपुरको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली साहित्य परिषद्, मणिपुरका पूर्व अध्यक्ष तथा साहित्य अकादेमी अनुवाद पुरस्कार प्राप्तकर्ता भवानी अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। यस्तै, मणिपुर दमाई समाजका पूर्व अध्यक्ष भद्रलाल शिवा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमको अध्यक्षता नेपाली साहित्य परिषद्, मणिपुरकी अध्यक्ष सीतादेवी छेत्रीले गर्नुभएको थियो भने सञ्चालन परिषद्का उपाध्यक्ष दीपक पन्थले गर्नुभएको थियो।

कार्यक्रममा प्रा. डा. देवी नेपालले भर्चुअल सन्देशमार्फत लेखक तथा कृतिको साहित्यिक महत्त्वमाथि प्रकाश पार्नुभएको थियो। साथै प्रवीण नेपालले कविता वाचन गर्दै कार्यक्रमलाई साहित्यिक तथा भावनात्मक उचाइ प्रदान गर्नुभएको थियो।

पुस्तकको परिचय साहित्यकार, कवि तथा लघुकथाकार देवी थापा ‘मामा’ले प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार ‘आमाछोराको संवाद’ कृतिमा लेखकले आमाछोराबीचको भावनात्मक सम्बन्ध, सामाजिक यथार्थ र जीवनका सूक्ष्म अनुभूतिहरूलाई संवादात्मक शैलीमा सशक्त रूपमा अभिव्यक्त गर्नुभएको छ।

कार्यक्रममा उपस्थित साहित्यप्रेमी, लेखक, पाठक तथा अतिथिहरूले कृतिको प्रशंसा गर्दै यसलाई समकालीन नेपाली साहित्यको एक महत्वपूर्ण उपलब्धिका रूपमा मूल्याङ्कन गर्नुभएकाे थियाे ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.