साहित्यपोस्ट डट कम

मणिकुमार श्रेष्ठ सिजनकाे दुई कविता

मणिकुमार श्रेष्ठ सिजनकाे दुई कविता

१ . अक्षरका बिस्कुन

न हिउँद, न गर्मी

जताततै अक्षरका बिस्कुनहरूले

भरिएका छन् इन्टरनेटका पानाहर।

केही सुकिला बिस्कुन, केही मुकिला बिस्कुन

पारिलो घाममा तातेर पड्किनै लागेको

मकैको ठेट्नाझैँ राजनीतिका बिस्कुन !

मिडिया भनौँ या सामाजिक सञ्जाल

जहाँ पनि आरोप–प्रत्यारोपको रापले थिलथिलो पारिएका

पढ्दा कुनै राग नजाग्ने अक्षरका बिस्कुन ।

कहाँबाट सुरु गर्ने पढ्न ?

विचारभन्दा माथि ‘वाद’ ले लादिदिएको मेरो समाज ।

कहिले समाजवादको नाममा ठगियो

कहिले साम्राज्यबादको नाममा ठगियो

कहिले सामन्तवाद, कहिले पुँजीवाद

कहिले साम्यवाद, कहिले मार्क्सवाद

कहिले लेनिनवाद, कहिले माओवाद

कहिले चे–वाद, कहिले चाओ–वाद

कहिले दक्षिणपन्थी नवसंशोधनवाद

अहिले कुलमानवाद, हर्कवाद, बालेनवाद

कहिल्यै नटुङ्गिने जिन–जीवाद !

साहित्यकार ‘इच्छुक’ ले आफ्ना कवितामा भनेका थिए

“हजार माइलको बाटो एक पाइलाबाट सुरु हुनेछ ।”

तर अक्षरका बिस्कुनहरूको परिभाषा परिपक्व हुन नपाउँदै

नयाँ-नयाँ शब्दजालहरूले समाजलाई पछाडि धकेलिरहेको छ।

सामाजिक विकृति र विसङ्गतिको राप-तापले

मानव मस्तिष्कलाई कुण्ठित बनाइरहेको छ।

कुरीति-कुसंस्कारको खाडलमा हेलिएका प्रथा–परम्पराहरूले

हामीलाई दास-युगतर्फ धकेलिरहेका छन्

यी शब्दका बिस्कुनहरू मार्फत ।

२. रुपान्तरण

समय बलवान् हो या परिस्थिति बलियो ?

यही समयले हामीलाई रुपान्तरणको पाठ सिकाएको छ।

सम्पदा जले पनि हाम्रो विश्वास जलेको छैन

संरचनाका धरोहरहरू जलेका छन्

तर हाम्रो आस्था जलेको छैन।

संकल्प गलेको छैन

रुपान्तरणको अठोट बलेको छैन

यो पुननिर्माणको समय हो

युग बदल्ने समय हो ।

परिवर्तनका यात्रामा सयौँ बाधा-अड्चनहरू आउँछन्

तिनै बाधाहरू पन्छाउँदै रुपान्तरणको राँको बाल्नु छ ।

जलेका मनहरूमा, जलेका आस्थाहरूमा, गलेका तनहरूमा

उठाउनु छ हामीले अब तिनै संरचनाहरूलाई

युगान्तकारी रुपान्तरणको माध्यमबाट ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.