साहित्यपोस्ट डट कम

माणिकबाबु ग्वंगःको ‘व्यथा लिएर जन्मेका कथाका मान्छेहरू’ कवितासङ्ग्रह सार्वजनिक

माणिकबाबु ग्वंगःको ‘व्यथा लिएर जन्मेका कथाका मान्छेहरू’ कवितासङ्ग्रह सार्वजनिक

भक्तपुर । नेपाली र नेपालभाषामा समान रूपमा काव्यलेखन गर्दै आउनुभएकाे कवि माणिकबाबु ग्वंगःको नयाँ कवितासङ्ग्रह ‘व्यथा लिएर जन्मेका कथाका मान्छेहरू’ भक्तपुरमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

कवि ग्वंगःको वैवाहिक जीवनको पचासौँ वर्षको अवसरमा आयोजित विशेष समारोहमा उक्त कृति सार्वजनिक गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तिलक प्रकाशले कृति लोकार्पण गर्दै कवि ग्वंगःका कविताहरू पठनीय र संवेदनशील रहेको बताउनुभयाे ।

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै कथाकार ध्रुव मधिकर्मीले कविता विचारको अभिव्यक्ति मात्र नभई जीवनका भोगाइ र समसामयिक यथार्थलाई उजागर गर्ने माध्यम भएको उल्लेख गर्नुभयाे । उहाँले कृतिमा मानवीय अनुभूतिका शाश्वत पक्षहरू सरल र प्रभावकारी ढङ्गले प्रस्तुत भएकाले कविताहरू सम्प्रेषणीय बनेको बताउनुभयाे ।

अर्का समीक्षक अगीव बनेपालीले कवितामा जीवनका विभिन्न समस्यासँगै समाधानका सम्भावनातर्फ पनि स्रष्टाले ध्यान दिएको टिप्पणी गर्नुभयाे ।

स्रष्टा माणिकबाबु ग्वंगःले आफूले किशोर अवस्थादेखि कविता लेखन सुरु गरे पनि धेरैपछि मात्र कृति प्रकाशन गर्न सकेको बताउँदै लेखन यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभयाे ।

स्रष्टापुत्री रीनाबाबा ग्वंगःको उद्घोषणमा सम्पन्न कार्यक्रममा कवि सुदीप हाडाले स्रष्टा ग्वंगःको साहित्यिक योगदान र परिचय प्रस्तुत गर्नुभएकाे थियाे । रोजीबाबा ग्वंगःले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने सुवर्णकेशरी ग्वंगःले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।

कार्यक्रममा साहित्यिक संस्थाहरूका तर्फबाट उतमनारायण मल्ल, महेन्द्रगोपाल कर्माचार्य, राजुराम मुनंकर्मी र संजीव ग्वंगःलगायतले स्रष्टालाई सम्मान तथा शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

सुवर्णकेशी मुनंकर्मी ग्वंगः प्रकाशक रहेको ‘व्यथा लिएर जन्मेका कथाका मान्छेहरू’ कवितासङ्ग्रहमा समसामयिक जीवनका विविध अनुभूतिमाथि लेखिएका ५० वटा कविताहरू समेटिएका छन्।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.