एक दिन कक्षा कोठामा अचानक नपढाएर उनले नाटक देखाउन थाल्छन् । हामी चकित भएर हेरिरह्यौं । नाटक बिचैमा रोकेर उनले भने, “पूरा नाटक हेर्ने हो भने टिकट काटेर हेर्न आऊ ।“ तर मेरो परिवारमा नाटक हेर्ने रुचि कम र म पनि सानै भएकोले मलाई नाटक हेर्ने अनुमति दिएनन् ।
नाटक थियो- पैचो मागेको विश्वास अनि नाटककार थिए- मनबहादुर मुखिया । यो घटना हो सन्त रोबट्स स्कुल, दार्जीलिङको कक्षा ६ को कोठामा सन् १९७७ साल । त्यस बखत् मनबहादुर मुखियाले हामीलाई अंग्रेजी पढाउँथे । अनि देउराली रुन्छ नाटकको अभूतपूर्ण सफलताले उनको प्रसिद्धि चुलिएको थियो । यता अंग्रेजी पढाउने, उता त्रिभूवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर पढिरहेको । गजबको संयोग । कक्षामा हामीलाई गीत गाउन लगाउँथे । तर अर्को वर्षदेखि मनबहादुर सर गायब हुनुभयो स्कुलबाट । हामी विद्यार्थी माझ निकै खुलदुलि भयो । तर मनबहादुर सर हराए र कहाँ गए भन्ने सूचना कतैबाट पाउन सकेनौं ।
मनबहादुर मुखिया प्रसिद्ध कवि, कथाकार तर त्यो भन्दा बढी नाटककार हुन । उनी कक्षा नौ मा पढिरहेका बखत नै सर्वप्रथम हास्य एकाङ्की ‘जिरिखिम्टेको दुर्दशा’ को रचना गरेका थिए । त्यो एकाङ्की सेन्ट रोबर्ट्स विद्यालयमा सबै कक्षामा स्पिकर मार्फत प्रसारण गरिएको थियो । उनको नाटघयात्रा चाहिँ वि.सं. २०२५ (फरवरी १९६८) को ‘धूवाँ’ पत्रिकामा प्रकाशित ‘वियोग’ एकाङ्कीबाट शुरू भएको हो । उनको आठवटा एकाङ्कीहरूको संग्रह ‘अँध्यारामा बाँच्नेहरू’ वि.सं. २०२९ मा दार्जीलिङबाट प्रकाशित भएको थियो । उनले पहिलो पूर्णाङ्की नाटक ‘अनि देवराली रुन्छ’ सन् १९७२ मा प्रथम पल्ट प्रदर्शन गरिएको थियो । ‘अनि देवराली रुन्छ’ नाटकपछि उनले वि.सं. २०३२ मा ‘फेरि इतिहास दोहोरिन्छ’ र ‘असत्य, अशिवं, असुन्दरं’ पूर्णाङ्की नाटकहरूको रचना गरे । वि.सं. २०३४ मा उनको ‘क्रसमा टाँगिएको जिन्दगी’ नामक नाटक प्रकाशित भयो । यो नाटकको केही अंश मधुपर्कको वर्ष ९, अंक १(वि.स. २०३३- सन् १९७६ मा प्रकाशित भएको थियो । उनको ‘अनि देउराली रुन्छ’ पूर्णाङ्की नाटकको प्रथम संस्करणमा ‘अनुराग’ र ‘तर क्षितिज हाँस्दैन’ दुई एकाङ्कीहरू पनि समावेश गरिएका थिए तर द्वितीय संस्करणमा यी एकाङ्कीहरू समावेश गरिएका छैनन् ।
मनबहुदर सर बेपत्ता भएको ४ दशकपछि पुनः भेट हुन्छ काठमाडौंमा । त्यसपछि भेटघाट बाक्लो हुँदै जान्छ । एकदिन समय मिलाएर एउटा अन्तर्वाता लिन्छु । मनवहादुर सर र म नाटक देखि दार्जीलिङको साहित्यिक वातावरणको कुरा गर्छौ । संयोगले मनबहादुर सर र म पढेको विद्यालय एउटै अनि कतिपय शिक्षक पनि उही ।
कुराकानीमा अतितलाई सम्झिँदै उनी भन्छन्, “गत शताब्दीअन्तर्गत साठीको दशकका अन्तिम वर्षहरूमा पूर्णाङ्की नाटकहरू रङ्गमञ्चबाट प्रायः विस्थापितझैँ भइसकेका थिए । बिच्किसकेका दर्शकलाई रङ्गमञ्चतर्फ उन्मुख गराउनु चानचुने प्रयासले पुग्दैन थियो । गीत-नाचमूलक कार्यक्रममा एकाङ्की वा लघुनाटक घुसाउनुबाहेक अर्को विकल्प थिएन । यसर्थ ‘अनुराग’ र ‘तर क्षितिज हाँस्दैन’ जस्ता एकाङ्कीहरूको मञ्चनबाट हामीले नाट्य यात्रा आरम्भगरेका थियौँ । भनौँ, पछिल्लो एकाङ्कीको आधार शिविर टेकेपछि मात्र हामीले ‘अनि देवराली रुन्छ’को आरोहणको तयारी गरेका थियौँ । त्यो समयको माहोल… नाटकको दृष्टिले भन्नुपर्ने हो भनेदेखि मलाई यो नाटकको त्यति ठूलो… जन… माया पाउला जस्तो लागेको थिएन । लोकप्रिय होला जस्तो लागेको थिएन । हामीले साधारण किसिमले गरेका हौँ । तर त्यो समयको माहोल, सम्पूर्ण दार्जीलिङ र भारतभरिको नेपालीहरूको अवस्थालाई हेर्ने हो भनेदेखि त्यतिबेला नेपालीहरू चाहिँ नेपाली भाषाले संवैधानिक मान्यता पाउनुपर्छ भनेर एउटा लडाकु… एउटा अवस्थामा थिए । त्यो अवस्थामा थियो । तर… त्यो समयमा हामीले यो नाटक गर्यौँ । तर यो नाटक गर्दाखेरि चाहिँ जुन हामीले एउटा कोसिस, प्रयास थियो, पहिलोपल्ट एउटा पूर्णाङ्की नाटक लेख्ने हाम्रो प्रयास थियो । माहोल त एक प्रकारको राम्रै माहोल थियो । सकारात्मक माहोल थियो ।“
‘अनि देवराली रून्छ’ नाटकको नाम नसुन्ने कमै होला नेपाली नाटक मन पराउनेहरूमा । नाटक मन नपराउने मेरो बुवाले हेर्नु भएको पहिलो र अन्तिम नाटक यहि थियो । त्यस नाटकको नाटककार र निर्देशक थिए मनबहादुर मुखिया अनि संगीतकार कर्म योञ्जन । यो नाटकले नेपाली रङ्गमन्चको कायापलट गरिदिए । जीवान्त प्रस्तुतीकरण, सजीव संगीत र मन छुने गीतहरूले ‘अनि देवराली रुन्छ’ मानक नाटक हुनपुगे जस्को अनुसरण पछि गएर सत्यमोहन जोशी र माधव धिमिरे गरे आफ्ना नाटकहरूमा । सन् १९७६ मा यो प्रयोगात्मक नाटक हेरेर राजा विरेन्द्रले रु एक लाख बक्सिस दिएका थिए । त्यो रकम ठूलो थियो त्यो बेला । सबै रकम गोर्खा दुःख निवारण सम्मेलन जम्मा भए तर नाटककार र कलाकारले सुक्को पाएनन् । नाटकका कलाकार थिए- निना प्रधान, मेनुका प्रधान, अल्का प्रधान, इन्दु देवान, पी. अर्जुन (अर्जुन प्रसाद), बद्री खरेल, दुर्गा खरेल, मोहन विष्ठ, विश्वमणि हिङमाङ, कालूसिंह रनपहेंली, अलका प्रसाद, मरियमीत लेप्चा, शान्ति क्षेत्री, मीना प्रधान आदि । कालान्तरमा अरू माथि उल्लेखित कलाकारहरूले नाटक, संगीत, लेखन क्षेत्रमा उल्लेखनिय प्रगति गरे । यो नाटकले उनलाई गीतकारको परिचय पनि दियो । नाटकका सबै गीतहरू सपुरहिट भए ।
हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ के
खुशी मिलनमा मनाउने हो, यहाँ विछोड भएको देख्यौ के …१
(स्वर-कुमार सुब्बा, संगीत- कर्म योञ्जन)
सारङ्गीको तारले मेरो मनको गीत गाउँछ
लेकदेखि बेसीसम्म गाइने मीत लाउँछ
(स्वर-कुमार सुब्बा, संगीत- कर्म योञ्जन)
मेरो कथा खाली खाली पिंजडामा खोज
मेरो व्यथा भत्किएको मन्दिरलाई सोध
रुँदा रुँदै हाँसिदिनु गाह्रो छ कि छैन
जली जली खाक हुने मैनबत्तिलाई सोध
नारायणगोपालको स्वर र शान्ति ठटालको संगीत रहेको उक्त गीत “मेरो कथा खाली खाली पिंजडामा खोज” गहिरो मार्मिकता र दार्शनिक चिन्तनले भरिपूर्ण छ । यस गीतका रचनाकार मुखिया नै हुन्, जो नाटककारका रूपमा बढी परिचित भए तापनि उत्कृष्ट कवि एवं गीतकार पनि हुन् ।
उनले अधिकांश गीतहरू आफ्ना नाटकहरूका निम्ति लेखे जस्ले नाटकको अन्तरङ्ग भावलाई हृदयस्पर्शी रूपमा प्रस्तुत गर्न सफल भए । गीतहरूका माध्यमबाट जीवनका कारुणिक स्पन्दन एवं मानवीय पीडाका मर्मस्पर्शी रूपमा सम्प्रेणन गर्ने खुबी उनमा देखिन्छ । सन् १९७४ मा प्रसिद्ध नाटककार तथा निर्देशक एवं गीतकार मनबहादुर मुखियाको एउटा नाटकः ‘असत्यम् अशिवम् असुन्दरम्’ अगष्ट १०, ११ र १२ को दिन दार्जीलिङको गोर्खा दुःख निवारण सम्मेलनको हलमा प्रदर्शन भएको थियो । समाजमा विद्यमान बेथिति र विकृतिलाई व्यङ्ग्यात्मक प्रहार गरिएर लेखिएको नाटकभित्र एउटा गीत थियो जसको गायक थिए कुमार सुब्बा अनि संगीतकार थिए कर्म योञ्जन । उक्त गीतको गीतकार थिए स्वंय मनबहादुर मुखियाः
“पाप गरे पुण्य हुन्छ
पुण्य गरे शून्य हुन्छ
संसारमा गुनी भन्दा
बैगुनी नै धन्य हुन्छ
माला लाउँछन् बाङ्गालाई
भाला रोप्छन् सोझालाई
इमन्दारलाई धूलो बनाई
पुजा गर्छन बेइमानलाई
मेहनत गर्ने दुःखी हुन्छ
केही नगर्ने सुखि हुन्छ
धनीहरू बाङ्गो हुन्छ
गरीब भोको नाङ्गो हुन्छ
सत्यम् शिवम् सुन्दरम् को
कही मोल छैन आज
नक्कली यो संसारमा
असली चाँहि केही छैन आज
झुटो बोले फूल फुल्छ
सत्य बोले भुल हुन्छ
पाप गर्ने ठुलो हुँदा
प्रेम गर्ने धुलो हुन्छ“
गरिब र दिनदुःखीलाई सधैँ केन्द्रमा राखेर नाटक र गीत लेख्ने मनबहादुर मुखिया यो गीतले जीवनको यथार्थ बोकेको छ । यो गीतका संगीतकार कर्म योञ्जनले आफ्नै स्वरमा पनि गाएका छन् । यस गीतले समाजको विसङ्गति, नैतिक पतन र पाखण्डलाई तीव्र व्यङ्ग्यका साथ चित्रण गरेको छ । समाजमा पाप गर्नेहरू प्रशंसित हुन्छन् भने पुण्य गर्नेहरूको उपेक्षा हुन्छ । गुणी मानिसभन्दा निर्गुणी वा बेइमान व्यक्ति नै ‘धन्य’ (प्रशंसित) मानिन्छ । यो पङ्क्तिले समाजको उल्टो नैतिक मापदण्डलाई इङ्गित गर्छ । यो गीत बाह्य समाजको क्रूर यथार्थ हो—जहाँ पाखण्ड, अन्याय र शोषणको राज्य छ ।
“रात पर्दा घाम डुब्छ
क्षितिज लुक्छ संसार लुक्छ रे
तर अभागीको दु:ख भने कहाँ लुक्छ रे
हाँसू भने हारिसकेँ जिन्दगीको जुवा
रोउँ भने सुकिसके आँखाका यी कुवा
लहरसँग मीत लाए पारी पुग्छ रे
तर किनारैमा मेरो नाऊ डुब्छ रे ।”
कर्म योञ्जको स्वर र संगीतको यो गीत अभागी, पीडित मानिसको आत्मव्यथा र नियतिप्रति विलाप हो । अँध्यारो रातमा संसार लुकेजस्तो भए पनि अभागी मानिसको पीडा कहिल्यै लुक्दैन । दुःख उसको निधारमा लेखिएको हुन्छ, जुन रातले पनि ढाक्न सक्दैन । यो गीत आन्तरिक पीडाको कथा हो—जहाँ अभागी व्यक्तिले न त हाँस्न सक्छ, न रुन, न त पारी नै पुग्न ।
मनबहादुर मुखियाले शोषित र दलित वर्गको आवाजलाई अत्यन्त मार्मिक र सशक्त शैलीमा यी गीतहरूमा उतारेका छन् । यी केवल गीत होइनन्, समाजको नाङ्गो यथार्थ हुन् ।
गुरुप्रसाद मैनालीको कथामा आधारित ‘परालको आगो’ चलचित्रको अधिकांश गीत उनले लेखेका छन् जसको संगीत शान्ति ठटालले दिएका थिए । यो चलचित्र सन् १९७८ मा प्रदर्शित भएको थियो प्रताप सुब्बाको निर्देशनमा । यस चलचित्रको सबैभन्दा लोकप्रिय गीत ‘उडी जाउँ भने म पन्छी होइन’ हो । यो गीत अरुणा लामाको स्वरमा रेकर्ड गरिएको थियो । यो गीत यति धेरै लोकप्रिय रह्यो कि सन् २०२६ मा यसलाई ‘परालको आगो’को रिमेक सिनेमामा पुनः रेकर्ड गरेर आधुनिक संस्करण बनाइएको छ, जसलाई निशु शर्माले गाएकी छन् ।
दोलखा, नेपालमा जन्मेर दार्जीलिङको चानबारीमा हुर्किएको हो मनबहादुर मुखिया ! त्यो खबत चानबारीमा गज्जबको थियो साहित्यिक माहोल । कवि अगमसिंह गिरी, उपन्यासकार ज्ञानेश्वर गिरी, उपन्यासकार मत्स्येन्द्र प्रधान, इतिहास कार-समालोचक कुमार प्रधानहरूको माझमा हुर्किए मुखिया चानबारीमा । चानबारीछेउ ऐतिहासिक दार्जीलिङको पहिलो सभागृह एनएनएसपी हल छ । यो सन् १८९०मा कोचबिहारको राजा निर्पेन्द्र नारायाणले बनाएदिएका थिए । त्यहाँ वर्षैभरि बङ्गला नाटकहरू, सांस्कृतिक कार्यक्रमहरू भइ नै रहन्थे । बेला-बेलामा नेपाली नाटकहरू पनि हुन्थे । मनबहुदर मुखिया केटाकेटी अवस्थादेखि नै त्यो बङ्गला नाटकको भाषा नबुझेता पनि त्यो ढोकाको चेपबाट चिहाएर भित्र हेर्थ्यौं । कहिलेकाहीँ मौका पर्नेबित्तिकै त्यो चोकिदारको आँखा छलेर भित्रै पसेर पनि बङ्गला नाटक खुब हेर्थे । बङ्गला नाटक हेर्दाखेरि त्यो भाषा बुझ्न अलिक गा भएपनि त्यहाँको अभिनय, त्यहाँको प्रस्तुतीकरण, यी सबै कुरा खुब मज्जा लाग्थ्यो । त्यसकारण सानैदेखि नै बङ्गला नाटक हेर्ने बानी बसेको हुनाले नाटकीय उनमा जागृत भयो ।
अनि ‘देवराली रुन्छ’ले प्रसिद्धिको चुलीमा पुराए पनि मनबहादुरको नाटक लेखन त्यो भन्दा पहिले देखिनै हो । १९७२ को अक्टोबरमा अनि देवरालीको मञ्चन भएको थियो । सन् १९६८ तिर लेखिएको ‘अँध्यारोमा बाँच्नेहरू’ एकाङ्की नाटक हो । नाटकमा उनले विभिन्न पात्रको एकल अभिनय प्रस्तुत गरेको थिए । त्योभन्दा अगाडि चाहिँ ‘वियोग’ भन्ने एकाङ्की लेखिएको हो पछि वियोग, त्रिकोण, अँध्यारोमा बाँच्नेहरू, यस्तै आठ वटा एकाङ्कीहरू संकलन गरेर ‘अँध्यारोमा बाँच्नेहरू’ भन्ने एउटा किताब नै निस्केको थियो ।
सबैभन्दा पहिलो प्रकाशित एकाङ्की उनको त्यही हो । उनको पहिलो प्रकाशित एकाङ्की ‘अँध्यारोमा बाँच्नेहरू’ हो । यस सङ्ग्रहको परिचयमा अगमसिंह गिरीले लेखेका छन्: “आफ्ना कलिला प्रयत्नहरूमा यस्ती अप्रत्याशित सफलता र प्रतिभा दुवै कम गौरवको कुरा होइन ।” यस सङ्ग्रहले भारतीय नेपाली एकाङ्की परम्परालाई नै उथलपुथल पारिदियो । यसपछि सन् १९७३ मा गोर्खा दुःख निवारक सम्मेलनको मुखपत्र ‘खोजी’ ले एकाङ्की विशेषाङ्क निकाल्यो, जसमा मुखियासहित १२ जनाका एकाङ्की प्रकाशित भए ।
‘भारतीय नेपाली एकाङ्की’ पुस्तकमा प्रसिद्ध नाटककार लक्ष्मण श्रीमल लेख्छन्, “अँध्यारोमा बाँच्नेहरू – सन् १९६४-६५ देखिनै मञ्चमा एकाङ्की प्रदर्शन गरेर, एकाङ्कीहरू प्रस्तुत गरेर अभिनय विशेषता सँगसँगै एकाङ्कीको क्षेत्रमा कलम दौडाउनमा सिद्धहस्त भइसकेका मुखियाको ‘एकाकी र एकाङ्की’को संग्रह ‘अँध्यारोमा बाँच्नेहरू’ सन् १९७२ मा श्री शिवराज शर्मा प्रकाशनले प्रकाशित गर्दछ । ‘अँध्यारोमा बाँच्नेहरू’ एकाङ्की संग्रहले भारतीय नेपाली एकाङ्की परम्परालाई अनायासै उथलपुथल पारिदिन्छ । यस संग्रहको परिचय पातामा स्व. अगम गिरी एक ठाँउ भन्दै गरेको हुनुहुन्छ – “आफ्ना कलिला प्रयत्नहरू मै यस्तरी अप्रत्याशित सफलता र प्रतिभा दुवै कम गौरवको कुरा होइन ।”
उनी यस संग्रहपछि अगम सिंह गिरीको कथनभित्र साबित भएर एकाङ्कीलाई लिएर धरहरातिर उक्लेको देखिन्छ । अँध्यारोमा बाँच्नेहरूको समीक्षामा जस योञ्जन ‘प्यासी’ लेख्छन् -“लगनशील रहिरहने एकाङ्कीकारहरूमध्ये मनबहादुर मुखियालाई उज्यालो पाउँछु ।” यसभन्दा अघि पनि दार्जीलिङबाट झन्डै ६/७ वटा एकाङ्की संग्रहका पुस्तकहरू निस्किसकेका थिए । तर अँध्यारोमा बाँच्नेहरू जति प्रसिद्ध अरू भएन । (हिमालोक) ‘अँध्यारोमा बाँच्नेहरू’ द्वारा साँच्चै एकाङ्की नाटक क्षेत्रमा एउटा क्रान्तिको उद्भवनाटकमा हुँदछ र त्यसपछिका एकाङ्की हरूलाई प्रेरणा प्रदान गरको कुरा स्पष्ट छ ।
यसपछि भारतीय नेपाली समाजमा नाटकको क्षेत्रमा सन् १९३२ साल देखिनै ऐतिहासिक भूमिका निभाउँदै आएको एक मात्र संस्था गोर्खा दुःख निवारक सम्मेलन, दार्जीलिङले आफ्नो मुखपत्र ‘खोजी’को वर्ष २ अंक १० लाई जनवरी १९७३ मा एकाङ्की नाटक विशेषाङ्क प्रस्तुत गरेर एकाङ्कीको विकाशमा महत्त्वपूर्ण योगदान प्रदान गरेको छ । यस विशेषाङ्कमा जम्मा १२ वटा एकाङ्कीहरू परेका छन् र एकाङ्कीकारहरू हुन् सर्वश्री असीत राई, उदय सुब्बा, तिलक राई, नन्द हांगखिम, श्याम बहादुर लिवांग, स्व. जी. छिरिंग, रामलाल अधिकारी, सुश्रीमालती गिरी, जस योञ्जन प्यासी, आइ. के. सिंह, मनबहादुर मुखिया र कुमार घिसिंग । यस अवधिसम्ममा मौलिक बाहेक एकाङ्कीहरू प्रदर्शनको निम्ति नेपालीमा रूपान्तरहरू भएका छन् । यसरी रूपान्तर गरिएका एकाङ्कीहरूमा कृशन चन्दरको ‘पुस्तकको कात्रो’ कुन्दन राईद्वारा नेपालीमा अनुवाद ‘खोजी’ मै प्रकाशित छ । अनि पदम अगरवालाद्वारा रूपान्तरित नन्दन सेनको ‘जीवन जिज्ञासा’ शीर्षकमा ‘दीयो’मा प्रकाशित छ । १९७३ सालमा एकाङ्की नाटकको प्रकाशनमा नेपाली साहित्य क्षेत्रका पत्र-पत्रिकाहरू निकै सक्रिय देखिन्छन् ।
युगरेखामा प्रकाशित स्व. हरिभक्त कटुवालको ‘त्यो आगो निभ्दैन’, दियालोमा प्रकाशित आइ. के. सिंहको ‘दोषी को’, चौतारामा प्रकाशित के. वी. मुखियाको ‘अन्तिम हाँसो’ साहित्य संकेतमा प्रकाशित आइ. के. सिंहकै ‘दान योगदान’, गोरेटोमा प्रकाशित धर्मलाल भूषालको ‘विद्रोह’, सम्वेदनामा प्रकाशित निर्मल ‘याद’ को ‘भनावैरी’, टिकाराम उपाध्याय निर्भीकको ‘निर्वाचन’ आदि उल्लेखनीय छन् ।
सन् १९७३ पछि पूर्णाङ्की नाटकको मोड ‘अनि देवराली रुन्छ’ले बदलाइदिए पछि एकाङ्की नाटकको प्रवाहमा ठूलो धक्का लाग्छ । तथापि श्री नन्द हांगखिमको ‘मृत्यु दिवस’ र आइ. के. सिंहको ‘चार एकाङ्की’ पुस्तकहरू भने एकाङ्कीको परम्परामा आफ्नै विशेषता र शैलीमा देखा पर्छन् ।
नयाँ प्रयोग गर्नु मुखियाको विशेषता हो । ‘सेता छायाँहरू’ भन्ने एकाङ्की यस्तै एउटा प्रयोगात्मक नाटक हो । ‘सेता छायाँहरू’ बारेमा मनबहादुर मुखिया भन्छन्, “ यो एउटा अलिखित एकाङ्की नाटक हो । त्यो स्वस्फूर्त रूपमा पात्रको मनमा जे-जे संवाद उत्पन्न हुन्छ, त्यो कुराहरू बोल्ने हो । पहिला चाहिँ यो सेता छायाँहरू भन्ने के हो, त्यसको बारेमा छोटकरीमा मैले कलाकारहरूलाई, त्यहाँका अभिनेताहरूलाई मैले जानकारी दिएको थिएँ । यो यो यो भूमिका हो भनेको थिएँ । यसमा तपाईंहरूले आफैँले इम्प्रोभाइज गरेर चाहिँ आफ्नो संवाद आफैँ तयार गर्नुहोला । तर एक-अर्कामा समन्वय हुने किसिमले, एक-अर्काको देखि बाझिने किसिमको संवाद भयो भनेदेखि एकाङ्की अगाडि बढ्दैन । त्यसकारण तपाईंहरूले एक-अर्कामा समन्वय गरेर चाहिँ यो मूल मर्मलाई, नाटकको अन्तरीयलाई बुझेर चाहिँ तपाईंहरूले संवाद बोल्नुस् भनेको थिएँ । त्यो अनुसार अब उहाँहरूले संवाद बोल्नुभयो र अलि हास्यलाग्दो भयो ।“ यो नाटक सन् १९७४ मा मञ्चन भएको थियो ।
‘फेरि इतिहास दोहोरिन्छ’ १९७४ सालमा मञ्चन भएको हो । त्यसमा चाहिँ दार्जीलिङका चियाकमानका मजदूरहरूको पीडा व्यथाहरू देखाउने कोशिश गरिएको थियो र तिनीहरूले त्यो समयको चियाबगानमा व्यवस्थापनले कुन प्रकारले अन्याय अत्याचार गरेको थियो ? उनीहरूलाई आवाज बुलन्द गर्दाखेरि कसरी गोलीको शिकार हुनुपरेको थियो ? यी कुराहरू देखाउन खोजेको थियो । त्यहाँका पीडित, त्यसमा भुक्तभोगी भएर आएका मान्छेहरूले नै आफ्नो कथा सुनाएको हुनाले त्यो कथाको आधारमा उनले लेखे ।
‘फेरि इतिहास दोहोरिन्छ’ हेरेपछि श्रीमती लक्खीदेवी सुन्दास पश्चिम बंगाल पत्रिकाको वर्ष २०, अंक ८-६ मा लेख्छिन्, “दार्जीलिङको नाटकीय क्षेत्रमा एउटा नाम घरि घरि दोहोरिएर पनि दर्शकलाई तान्छ । नाटक हुन्छ, हल खचाखच भरिन्छ, पाँच दिनसम्म पनि हेर्नहरूको भीड उस्तै छ, टिकट पाइन्न, त्यस्ता नाटककार श्री मनबहादुर मुखिया यस पटक ‘फेरि इतिहास दोहोरिन्छ’ लिएर आउनुहुन्छ । गत १४ देखि १८ जूनसम्म नाटक भीडसहित चलिरहन्छ-गो. दु. नि. स. हलमा । नाटकको कथानकलाई स्थानीय कलाकारहरूको साँचोपनाले त्यसमा प्राण भर्दछ । बौद्धिक र चिन्तनशील नाटक उसमाथि पनि जीवन र जीवनका बहुमुखी समस्यालाई लिएर-अभिनेयता र रंगमञ्चमा सफल गराउनु एउटा फलामको सुपारी चपाए जस्तै जटिल काम हो, तर विषयवस्तु र सम्वादको गहिराइबाट उत्रेर दर्शकसम्म पुग्नु त्यो नाटकीय सफलताको चरमोत्कर्ष हो । गोर्खा दुःख निवारक सम्मेलनले गत ४२ वर्षदेखि ऐतिहासिक र सामाजिक नाटकदेखि शुरू गरेर आजका यस्ता समस्यामूलक नाटकमा पनि प्रशस्त मनोरंजन दिन सक्षम भएको र मनोरंजन र गहनता वैको सामञ्जस्य राख्न सकेको छ- निर्माता नाटककार र ती प्राण भर्ने कलाकारहरू हाम्रा धेरै धेरै बधाइका पात्र हुन ।“
यो नाटकको रचना-गर्भको चर्चा गर्दै मुखिया भन्छन्, “हामी अलिकति सचेत चाहिँ थियौँ । हामीले अलिकति यो मार्क्सवादी सिद्धान्तबाट नजाने किसिमले प्रभावित भएका छौँ हामीले । त्यो टाइममा हामीले यो के रे… साइन्टिफिक सोसलिजमको फन्डामेन्टलहरू चाहिँ हामीले अलिअलि पढेका थियौँ । त्यो मार्क्सवादी सिद्धान्त अलिअलि पढेका थियौँ । र जस्तो केही कृतिहरू पनि हामीले पढ्यौँ । अँ… त्यसकारण यो सचेत रूपमा भए पनि के रे… स्वस्फूर्त रूपमा भए पनि हामीले शोषित, पीडित, दलित उन्मुख मान्छेहरूप्रति हाम्रो सहानुभूति जाने जहिले पनि । र उहाँहरूको त्यो शोषित, पीडितहरूको आवाजलाई, पीडालाई विभिन्न माध्यमबाट हामीले व्यक्त गर्ने कोसिस गर्थ्यौँ । रङ्गमञ्च पनि एउटा माध्यम भयो । त्यो माध्यमबाट हामीले यसलाई देखाउन खोजेका हौँ । तर त्यस्तो के भनेदेखि खासै एउटा कुनै दलगत् सिद्धान्तबाट चाहिँ प्रेरित भएर भएको चाहिँ होइन ।”
मनबहादुर मुखिया साहित्यमा पाइताला टेक्दा दार्जीलिङको साहित्यिक वातावरण निक्कै लोभलाग्दो थियो । एकातिर तेस्रो आयामले तहल्का मचाइरहेको थियो भने अर्कातिर अगमसिंह गिरी, वीरेन्द्र, भीम थापा, खडकसिंह राई काँडा, गुमानसिंह चामलिङ्ग, सावित्री सुन्दास, सानुमति राई कविता लेखनमा व्यस्त थिए भने कथा र उपन्यासमा शिवकुमार राई, इन्द्र सुन्दास, रविन्द्र मोक्तान, कृष्णसिंह मोक्तान, देवकुमारी थापा, वीरविक्रम गुरूङ, जी छिरिङ, प्रकाश कोविद । निबन्ध र समालोचना रामकृष्ण शर्मा, भाइचन्द प्रधान, इन्द्रबहादुर राई, राजनारायण प्रधान, कुमार प्रधान, लक्खीदेवि सुन्दास,गणेशलाल सुब्बा, जगत छेत्रीको वर्चस्व कायम थियो भने नाटकमा शिवकुमार राई, कुमार धिसिङ, नैनसिंह योञ्जन, तुलसी अपतन, मोहन थापा, मनबहादुर गुरुङ, तिलक राई सक्रिय थिए । त्यसै वातावरणमा हुर्किए मनबहादुर !
त्यस कालखण्डलाई स्मरण गर्दै मनबहादुर मुखिया भन्छन्, “सन् १९६३ मा तेस्रो आयाम आएपछि यस्ले दार्जीलिङमा तरङ्ग ल्यायो । केहीले समर्थन गरे केहीले विरोध । तर यस आन्दोलनलाई नेपालको रूपरेखा पत्रिकाको माध्यमबाट जुन प्रकारले एउटा समर्थन, लोकप्रियता पायो र एउटा आन्दोलनको रुपमा नै लियो त्यसैले गर्दा यसले स्थापित हुने अवसर पायो । त्यो दार्जीलिङमा पाएन क्या । ए, हो । किनभने दार्जीलिङमा दुई वटा धार थियो । एउटा तेस्रो आयामको प्रतिपादन गर्ने, प्रचार-प्रसार गर्ने नेपाली साहित्य परिषद, जुन चाहिँ इन्द्रबहादुर राईको नेतृत्वमा चलिराखेको थियो । उहाँहरू हुनुहुन्थ्यो । कुमार प्रधान, राजनारायण प्रधान, मत्स्येन्द्र प्रधान, यिनीहरू थिए । अर्कोतिर परम्परागत धारलाई नै समातेर बसिराखेको एउटा साहित्य सम्मेलन थियो, जसमा हाम्रो तुलसी बहादुर क्षेत्री, जगत क्षेत्री, लक्खीदेवी सुन्दास, यिनीहरू । यसरी चाहिँ एक प्रकारको अज्ञात रुपमा, अदृश्य रूपमा एउटा सत्ताधारी राजनीतिक दलहरूको एउटा समर्थन जस्तो पनि थियो एक प्रकारको । त्यो यही माहौल भित्रमा पनि एउटा अलिकति विद्रोही गरेर निस्किने गुमानसिंह चामलिङ । उहाँको फरक धार थियो । त्यो साहित्यिक वातावरण चाहिँ एकदमै सकारात्मक, रचनात्मक र एउटा पारस्परिक सहयोग गर्ने खालको वातावरण थियो क्या त्यो । साहित्यिक माहौलले पनि निकै प्रभाव पायो किनभने हामीसँगैको साथी हो मदन ओझा । हामी सँगै पढ्थ्यौं ।
हो, मदन ओझा, दलसिंह अकेल, पि अर्जुन । यिनीहरू दुई वर्ष जुनियर हो । अनि चन्द्र बानुछा अनि त्यो समयमा धेरै कविहरू थिए, धेरै लेखकहरू थिए । अनि त्यति बेला यति विभिन्न पत्रपत्रिकाहरू निस्कन्थे, प्रायः हरेक महिना नै हरेक कमानबस्तीबाट एक एक वटा पत्रिका निस्कन्थे । एकदम राम्रो वातावरण थियो है किनभने त्यो समयमा नेपाली भाषाको आन्दोलन चलिराखेको थियो ।माटिल्डा राईको त त पुरस्कार पायो टोक्लाको फूल कथामा । उहाँले पछि कथा संग्रह पनि निकाल्नुभयो टोटलाको फूल । मदन ओझाको भर्खरै एक वर्ष जति भयो नयाँ कविता संग्रह निस्केको छ । “
मनबहादुर मुखिया मूलतः कवि हुन । सन् १९६२मा ‘कलि’ नामक कविता पनि हस्तलिखित ‘प्रदर्शक’ पत्रिकामा छापिएको थियो । त्यसपछि जनदुतमा नै सन् १९६६मा पहिलो पटक ‘भानुभक्तप्रति’ कविता प्रकाशित भयो । रूपरेखा, मधुपर्क, रत्नश्री, दियालो जस्तो प्रतिष्ठित पत्रिकाहरूमा उनको कविताहरूले उचित स्थान पाएका थिए त्यसताका । उनको कवित्वको बारेमा असित राईद्वारा लिखित तथा जीवन नामदुंगद्वारा सम्पादित ‘भारतीय नेपाल साहित्यको सर्वेक्षण अनि अध्ययन’मा यसरी लेखिएको छ, “ कवि रूपमै चर्चित कवि मुखिया पछि नाटककार व्यक्तित्वले ओझेल पर्दै गए । प्रसिद्ध कविद्वय वैरागी काइँला र भूपिको संयुक्त रूपमा देखा परेका मुखिवान विद्रोह र आक्रोशको स्वर र परिवर्तनको चाहिना तीव्र देखिन्छ । यिनका कविताहरूमध्ये ‘अपरेसन असफल भएको कविता’, ‘यो परिवेशको घाउ सेप्टिक भइसकेछ’ आदिश अभिव्यक्तिगत सफल प्रयोग र वर्तमान र भविष्यप्रति अनिश्चितताको सङ्केत पाइन्छ ।”
यिनी एक प्रयोगधर्मी कवि हुन् । आफ्ना अनुभव र साधनाले परिपक्क सफलतम कविता सृजना आशा आशै रह्यो ।
यिनकै एउटै काव्य कृति पनि साहित्यमा देखा पर्नसकेन ।
‘पाइलैपिच्छे भूकम्प टेकेर हिँडेको रोगी
वर्तमान चहारिहिँड्छु
भविष्यको अनुहार अघाउन
भरखर बम बर्सिएको शहरमा
चील र गिद्धले मान्छेको सिनो चहारे जस्तो ।..’
यो परिवेशको घाउ सेप्टिक भइसकेछ ।
कविता विधामा एक क्रान्तिकारी परिवर्तन ल्याएर नयाँ धरती सृजना गर्न सक्षम वलिष्ठ कवि मनबहादुर मुखिया अचानक पलायन भएको ठूलो क्षति बोध छ ।
उनको एउटा शक्तिशाली कविता हो ‘अपरेसन असफल भएको कविता’ जुन रूपरेखाको वर्ष १३, पुर्णाङ्क १३९ मङ्सिर २०२९ प्रकाशित भएको थियो ।
आफूले आफैलाई सम्भोग गरेर
जन्माएको मेरी छोरी कवितालाई
सौता सम्झने आँखाहरूका भित्तामा
टाँसिएका हुन्छन्
पोस्टरै पोस्टर ईर्ष्या, घृणा र तिरस्कारहरूका
ती पोस्टर मलाई नङ्ग्याउन खोज्छन्
सिंहका पञ्जा भएर
ती पोस्टर मलाई छिनाल्न खोज्छन्
खुकुरीको धार भएर
ती पोस्टर मलाई लखेट्न खोज्छन्
विषा फ्ल्यास्-व्याक भएर
सन् सत्तरीको शुरूमा साहित्यमा केही गरौ भन्ने हुटहुटी जाग्यो मुखियालाई तर उनले नेपाली साहित्य सम्मेलन होइन गोर्खा दुःख निवारण सम्मेलनलाई यस्को माध्यम ठाने । उनकै नेतृत्वमा विराट नेपाली साहित्य सेमिनार आयोजना भयो । यस बारे उनी आफै भन्छ, “त्यो चाहिँ हामीले कुनै एउटा त्यस्तो सेमिनार गरौँ, जुन सेमिनारको माध्यमबाट चाहिँ हामीले दार्जीलिङमा बसोबास गर्ने जति पनि साहित्यकारहरूसँग एक अर्को भेटघाट गर्ने र दार्जीलिङ बाहिर पनि जो चाहिँ नेपाली साहित्यसँग समावेश भएर बसिराखेका छन्, सेवा गरिरहेका छन् उनीहरूसँग एकचोटि ठूलो सेमिनार गरेर हामीले अहिले नेपाली साहित्य कुन दिशातिर गइराखेको छ, भविष्यको यसको दिशाबोध कस्तो प्रकारले हुनुपर्ने हो भन्ने हामीले गर्न खोजेका थियौँ । र त्यसमा दार्जीलिङका सुप्रसिद्ध साहित्यकारहरूलाई पनि हामीले यसमा निम्त्याएका थियौँ । जसबाट उहाँहरूबाट हामीले एउटा दिशाबोध एउटा दिशाज्ञान प्राप्त गर्न सकौँ भनेर । र यसमा हामीले सकेसम्म यता आसाम, जलपाइगुडी जहाँ जहाँसम्म हामीले भ्याउन सक्यौँ, त्यहाँ त्यहाँ हामीले प्रचार गरेर हामीले बोलायौँ । अनि साथसाथै यता नजिकको भद्रपुर यतातिर पनि हामीले बोलायौँ । त्यो समय १९७२ सालमा चाहिँ नेपाली भाषाको संवैधानिक मान्यताका लागि ठूलो आन्दोलन चलिरहेको थियो । त्यस्तो प्रकारको मानसिक अवस्था नै थियो ।
र त्यसमा टेवा पुग्ने हिसाबले गरेको किनभने गोर्खा दुःख निवारण सम्मेलन एउटा सामाजिक संस्था हो । तिनीहरू एउटा साहित्यिक एउटा सेमिनार गरेर यो विषयमा चाहिँ उहाँहरूको के विचार छ ? उहाँहरूको कुन प्रकारले यस क्षेत्रमा चाहिँ योगदान हुनसक्छ, मान्यता पाउन कुन दिशामा जानु पर्ने हो, हामीले विचार बुझ्नका लागि हामीले धेरै कुरा गर्यौँ । अनि त्यसमा हामीले एक पटक पहिलो पटक प्रयास गर्दाखेरि चाहिँ विभिन्न कविहरूले, लेखकहरूले आआफ्नो रचना पाठ त गर्नुभयो तीन दिनमा । साथसाथै हामीले कतिपय किनारीकृत लेखक कविहरू जो बिर्सिएका थिए, उनीहरूलाई हामीले सम्मानित पनि गरेका थियौँ । जस्तै हर्कजङसिंह छेत्री, भाइचन्द प्रधान, सानुमती राई यस्ता धेरै लेखक कविहरू चाहिँ त्यति बेला लाइमलाइटमा आएका थिएनन् तर योगदान थियो, उनीहरूलाई सम्मान गर्ने काम भयो । अनि यो साहित्यलाई अलिकति सिस्टमाटिकल्ली अगाडि बढाउनु पर्दाखेरि के कसरी गर्दा ठिक होला भनेर त्यो समयमा दुई तिनवटा कमिटी पनि गठन भएको थियो – पत्रकार सङ्घ । अर्को एउटा नेपाली साहित्यकारको कुनै संस्था पनि भनेको एउटाको नेतृत्व चाहिँ हाम्रो भरत यादवज्यूले गर्नुभएको थियो । अर्कोको नेतृत्व रामलाल अधिकारीले गर्नुभएको थियो । तर त्यो समितिहरू गठन मात्र भयो, तर त्यसले कुनै एउटा मुर्त रूप लिएन । “
मुखियाको ओझेल परेको व्यक्तित्व हो कथाकारको । झन्डै २ दर्जन कथा लेखेका मुखियाका कथाहरू रूपरेखा, मधुपर्क, रत्नश्री, दियालो, धुँवा, दियो आदिमा प्रकाशित छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको रजत जयन्तीको अवसरमा प्रकाशित तथा डा. दयाराम श्रेष्ठद्वारा सम्पादित ‘भारतीय नेपाली कथा’मा उनको ‘मैले व्यर्थै बादल बनेर तारा टिप्न खोजेछु’ कथा समावेश छ ।
मुखियाको नाट्यकारिता माथि स्नातकोत्तर शोध गरेकी पद्मा अर्यालले ‘मनबहादुर मुखियाको नाट्यशिल्प’ नामक पुस्तक लेखेकी छिन् जुन पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले वि.स. २०५८ मा प्रकाशित गरेको थियो । उक्त पुस्तकमा मुखियाको कथाकारित माथि टिप्पणी गर्दै अर्याल लेख्छिन्, “मनबहादुर मुखियाले थुप्रै कथाको सृजना पनि गरेका छन् । कवितासँगै उनको ‘प्रेम अनि वियोग’ प्रथम कथा शीर्षकको ‘प्रदर्शक’ नामक हस्तलिखित पत्रिकामा प्रकाशित भएको थियो । सन् १९६६ को ‘जनदूत’ पत्रिकामा प्रकाशित ‘स्वतन्त्रता अनि वियोग’ शीर्षक कथाबाट उनको कथा यात्राको औपचारिक थालनी भएको थियो । त्यस बेला दार्जीलिङबाट निस्कने थुप्रै पत्रपत्रिकाहरूमा उनका प्रशस्त कथाहरू प्रकाशित भएका छन् । त्यस्तै ‘मधुपर्क’, ‘रूपरेखा’, ‘रत्नश्री’ आदि पत्रिकाहरूमा पनि उनका कथाहरू प्रकाशित भएका छन् । मनबहादुर मुखियाका ‘मैले व्यर्थै तारा बनेर आकाश छुन खोजेछु’, ‘घायल पंक्षी’, ‘पिंजराभित्र’, ‘खाडलभित्रको अन्तरकथा’, ‘अनि आँखाका दुई कचौरा’, ‘मैले तिम्रो हत्या गरें’, ‘मेरो माया नमारे है’, ‘यसरी एउटा कोपिला ओइलिन्छ’, ‘यो उसैको कथा हो’, ‘यहाँ सन्त्रासका काँडाहरू उम्रिन्छन्’, ‘विघटन एक युगको’ आदि सफल कथाहरू हुन् । यी कथाहरूमा कथ्य र शिल्पको नवीनता पाइन्छ । प्रायोगिक चेतना, मानवीय मनोभूमिका जटिल त्रास, अस्तित्व संकटको सशक्त चित्रण एवं समकालीन समाजका पीडा र कुरूपताहरूको सूक्ष्म र सघन प्रस्तुति यिनका कथाहरूको केन्द्रीय विशेषता हो । आजसम्म यिनका कथाहरूको सङ्कलन प्रकाशित भइसकेको छैन । फुटकर रूपमा विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित कथाहरूका माध्यमबाट नै उनको कथाकार व्यक्तित्व निर्माण हुन पुगेको देखिन्छ ।”
दार्जीलिङको चानबारीबाट हराएको मनबहादुर सरलाई ४ दशकपछि गौरीधाटमा भेट्दा निकै परिवर्तन भइसकेको पाए । लामो कपाल, बेलिबटम प्यान्ट लगाउने सरलाई अब बुढेसकालले छोएछ । ४ कोरी पुग्न एक वर्ष मात्र बाँकी छ अब । नेपाली नाटकमा आधुनिकता भित्राउने मनबहादुर मुखिया नयाँ पुस्ताले उनलाई आधुनिक नेपाली नाटकको दिर्गाबाट बाहिर राख्दा चित्त दुखाउँछ । दार्जीलिङका कनिष्ट कलाकार र साहित्यकार माझ एमबी दाजुबाट परिचित मनबहादुर मुखिया सन् सत्तरीको अन्त तिर पुनः नेपाल प्रवेश गर्छ । तर नेपाल पसेपछि गाँस, बास र कपासको जोहो गर्ने धुनमा साहित्य उनको प्राथमिकताको लिस्टबाट बाहिरिन्छ । केही नाटक र टेलिसिरिलय लेखे अनि अभिनय गरे पनि तर सन् सत्तरीको जस्तो क्रेज समाउन सकेनन् । शायद समय र सन्दर्भ निक्कै परिवर्तन भएसकेको थियो । कुनै समय उत्पीडितको पक्षमा नाटक लेख्ने मनबहादुर नेपाली नाटक र साहित्यमा आफै उत्पिडित भए । अहिले मनबहादुर मुखिया दार्जीलिङमा खासै चर्चा छैन । अनि देवराली रून्छ नाटकले स्वर्ण जयन्ती बनाउँदा पनि गोर्खा दुःख निवारण सम्मेलनले एउटा कार्यक्रम सम्म गरेनन् । उनको यो नाटक र अरू नाटकले गोर्खा दुःभ निवारण सम्मेलनलाई आर्थिक रूपले निक्कै सबल बनाएको थियो । नयाँ पुस्ताले उनको योगदानलाई बिर्सिसके ।

