तपाईंलाई थाहा छ, हाम्रा मनमा वेदनाका घाउ अनगिन्ती उम्रिन्छन् । टुसा हाल्छन्, मौलाएर बढ्न खोज्छन् । तिनलाई कसरी पुर्ने ? भावनाका गुम्फनभित्र कोपरेर परेका भावनात्मक घाउ बल्झिन सक्छन् । तिनलाई कसरी निको पार्ने ? जीवनमा दुःखका बग्रेल्ती भीड भेला हुन्छन्, ती भीड कसरी पन्छाउने ? अथवा तिनको नामोनिसान कसरी मेटाउने ? मान्छे न हो । अभाव हुन्छ । अभावका झोलाहरू बोकेर हिँड्दा एउटै ध्याउन्न हुन्छ, त्यो झोला भरेर अभाव पूर्ति कसरी गर्ने ? साँच्चै चक्कर लाग्छ । साइरन बज्छ जहिल्यै–वेदना, दुःख,अभाव,पीडा र दर्दहरूको । यस्तै कुराले आतंकित हुन्छ हरदम मन । हरपल भयभित हुन्छ र हरक्षण डराउँदै तर्सिरहन्छ ।
के म चरित्रवान् नभएर यस्तो डर त्रास, छटपटी भएको हो ? किमार्थ होइन । के मैलै कसैलाई दुःख दिएँ र यस्तो भएको हो ? म अरुलाई नराम्रो बोल्ने दुष्प्रयास त कहिल्यै गर्दिन भने अरुलाई दुःख दिनु झन् मेरो विषयमै पर्दैन । संवेदनहीन छैन मेरो मन । मनभरि संवेदनाका ज्वार चल्छन् हरपल । मेरो मनले अरुलाई नेता जस्तो फोस्रो आश्वासन दिनै सक्दैन । एउटा अटल निष्ठा र इमान्दारीमा विश्वास राख्छ । त्यो विश्वास जोगाएर राख्छ । यही भएर त मेरो मन सङ्लो छ । मन भएकै कारण सुख दु:ख महसुस गर्दछ । नि:स्वार्थ भावले अरुको भलो सोच्छ । अरुको दु:खमा दु:खी हुन्छ । प्रतिशोध जान्दैन । स्वार्थ र छलकपट गर्दैन । ठोकुवा गरेर भन्छु ठगी त परको कुरा मेरो मनको कल्पनामा झुठ पनि वर्जित छ तर आफ्नो जीवनचर्यासँग आफैँलाई नरमाइलो नलागेको चाहिँ होइन । यसमा मनले असन्तुष्टि जाहेर नगरेको पनि होइन तर चाहे जस्तो नहुने रहेछ ।
गरिबीले थिल्थिलो पारेको शरीर छ । अनिदा दुई आँखाले आराम गर्न खोज्छन् । सक्दैनन्– झिम झिम गर्न बाहेक । जाडोमा आङ ढाक्ने न्यानो कपडा खोज्छ शरीर–कहाँ पाउनु ? अभाव छ । जिब्रो स्वाद फेर्न खोज्छ तर कसले व्यवस्था गरिदिने –सुस्वादु खान्की ? हेर्न मन लाग्छ तर निरीह छन् –आँखा । पटक पटक रुन्छ उसको मन । मन रोएको बेला हर चिज रोएको देखिँदो रहेछ । अनि मन रुनु भनेको हृदय उजाड हुनुको अनुभूति रहेछ । हृदयले यातना पाउनु रहेछ । थाहा छ ? यसो हुनु भनेको अभिशप्त जीवन बाँच्नु पो रहेछ । काँप्दै मन रुनु भनेको अभावले चिसिनु रहेछ । मन काँप्नु भनेको त कैय्यन पीडामा पिल्सिनु पो रहेछ । अझै भन्ने हो भने मन भत्किएपछि जोडिन गाह्रो हुने रहेछ । मान्छेहरू भन्थे मन कठोर बनाऊ पत्थर जस्तै । तर कहाँ हुन्थ्यो र त्यस्तो ! मन त अभावमा झन् नौनीझैं नरम भएर पग्लिँदो रहेछ । अनि आँशु बनेर आँखाबाट बग्दो रहेछ ।
कहिलेकाहिँ मन उड्न खोज्छ, स्वच्छन्द रूपले । तर त्यसबेला बादल र कुहिरोभित्र कता कता रुमल्लिएर हराउँछ । अनि फेरि खोज्दै जाँदा कता कता घाइते भएर विक्षिप्त रुपले बसेको मन पाइन्छ । कस्तो है यो मन पनि ! तर किमार्थ सान्त्वना पाउँदैन मनले । किन यस्तो हुन्छ होला ? कसरी छिचोल्ने होला यी सबका सब । कसरी पार पाउने होला । यस्तै अनेकानेक कुराहरूले हृदयमा ज्वारभाटा चल्ने गर्छ ।
मलाई पनि त प्रसिद्धिको रहर जाग्दो हो । चर्चाको शिखर चढ्न मन लाग्दो हो । सम्भावनाका ढोकाहरू खोल्न प्रयास नगरेको पनि होइन । तर सकिएन त म के गरुँ ? सत्य र यथार्थमा आकाश र जमिनको अन्तर छ । मेरो वशमा सब कुरा छैनन् । नत्र मलाई पनि थाहा थियो नि ! अभाव मेरो मनको वरिपरि विचरण गरिरहेर पो । बेमौसममा भटाभट हुर्केर बढिरहेको झार जस्तो अभाव थपिँदै गएर पो पीडा भएको । नत्र मैले पनि जानेको थिएँ । मुटु कमाउने जस्तो अभावको चिसो सिरेटो चलेर पो जिन्दगीमा–नत्र जानेको थिएँ नि ! गरिबीको कालो बादलले जिन्दगीको वरिपरि घुम्ने स्थान बनाएर पो असमर्थता जाहेर गरेको । नत्र किन गर्थें र आनाकानी ।
संयम अपनाउँदा अपनाउँदै पनि मनमा कहिलेकाहीँ स्वार्थ खाएर स्वार्थ नै डकार्नेहरूप्रति असीम घृणाको ज्वारभाटा उर्लन्छ । किनकी मेरो मनलाई मन पर्दैन । त्यस्ता कुराहरूबाट प्रभावहीन छ मन । तर पनि जमाना यो मामलामा निक्कै अध्याँरो छ । अझ भनूँ स्वार्थको दुर्गन्ध जताततै । पद र प्रतिष्ठा आर्जन गर्न पैसाको खोला बग्ने जमाना यो । जता हेर्यो धमिलो पानीमा माछा मार्नेकै भीड । सबका सब छरपष्ट छन् तर सबैले अन्देखा गर्दछन् । सुन्दा त नमिठो गन्ध, देख्दा र बेहोर्न पर्नेलाई कस्तो उकुसमुकुस भएको होला ! मेरो मनचाहिँ सहन गर्न सक्दैन यी कुरा । त्यसैले होला बोनसाई जस्तै साँघुरो भएर बसेको छ मेरो मन ।
नियाल्छ मन चारैतिर । आफू अनुकुल कहीँ केही देख्दैन र त एक्लै टोलाउँछ । घरी झस्किन्छ । घरी के के सोची बस्छ । मनको आँखाबाट दृष्टि फ्याँक्छ यत्रतत्र दुख्छ उसलाई । कोमल हृदय चहर्याउँछ । पोल्छ उस्तै भतभति । यही अभावका कारण मनका अनेक सपना क्षतविक्षत भएर भाँचिएका छन् । टहटह लाग्ने जूनको ठीक मुन्तिर बसेर अभावको त्रासदीमा पिल्सिँदाका पीडा एक्लै पोखिएका छन् । जागृत दुई नयनहरूले टुलुटुलु हेर्न सिवाय केही गर्न नसकेकोमा अफसोच मान्दै भुइँमान्छे हुनुको बिडम्बना मौनतामै व्यक्तिएका पलहरू धेरै गुजारेका छन् । हुन त म गरिबीको गहिरो दहमा जहिल्यै डुबुल्की मार्ने मान्छे–खुशीको पहाड कसरी चढूँ । अभावको पोखरीमा खुशी खोज्ने मान्छे– भरिपूर्ण मैदान कहाँ मिलोस् मलाई । अँध्यारो पोतिएको जिन्दगीमा एक टुक्रा उज्यालोको खोजी गर्ने मान्छे– कहाँ खुल्छ उसै पर्दा खुशीको ।
मन विचलित हुँदाको परिस्थितिमा पनि बाँच्नु कम्ती गाह्रो हुन्छ र ! तर पनि मान्छे बाँचिरहेको छ । शायद यही होला यस्ता मान्छेको हैसियतको असलियत । खुशीहरू अन्धकारमय पीडामा बदलिएर ओझेल पर्दा कस्ता हुन्छ ? मुटु भक्कानो पारेर जिउनुपर्दा मुस्कान कहाँ लुक्छ ? के, नियाल्नुभएको छ कसैले ? सुखका चन्द्रमासँग लुकामारी खेल्न सबैलाई मन नहुँदो होला त ? कसलाई मन होला तिनलाई त्यागेर काला औँसीका नीरव रातजस्तो जीवन मनाउन ? चिन्ताका गह्रुङ्गा भारी बोकेर को बसिरहन्छ र जिन्दगीमा ? यी सबै प्रश्नहरू भन्दा पर सबैको एउटै रहर हुन्छ, सपना हुन्छ । अनि चाहना हुन्छ –सुखी जीवन बाँचू । खुशी जीवन बाँचू । आफू मात्र होइन आफ्नालाई पनि त्यस्तै जिन्दगी बाँच्ने परिस्थिति सिर्जना गरूँ– कसको रहर नहोला र ! गरिबीको सौन्दर्य पनि आफ्नै खालको छ के ! एउटा निरीह आँखा आफ्नै भावमा बोल्न खोज्छ –शायद यसभित्र अशक्तता बुझ्न सकिन्छ । यो आफूसँग आफैँ अतालिन्छ कहिलेकाहीँ । यसको गाम्भीर्यको अलग्गै पहिचान छ । यसको उदासी मुद्रा उसको असमर्थताको उपज हो । यस्तो मनमा संवेदनाको अपेक्षा हुन्छ । हुन त अपेक्षा गर्नै पर्दैन । यहाँ त अश्रु मिश्रित भाव र स्वतः द्रवित भएर बग्ने आँशु दुवैले आफैँ अर्थ्याउँछ मनको व्यथा ।
दुःखका बादलले सुखका घाम छेलिदिएपछिको अवस्थामा मान्छे ओसिन्छ दु:खैदु:खमा । अभावका गहिरा खाडल नियतिले खनिदिएपछि परिन्छ नि ! अनि कसलाई हुन्न र त्यो पहाड ढाल्ने इच्छा ! दुःखका पहाड कसलाई चढ्न रहर हुन्छ र ! सकेसम्म ढालिदिन पाए हुन्थ्यो भन्ने आभाष हुन्छ । सुखका तालीहरू परर बजाउन पाए को नबजाउलान् ? तर खुशीको उज्यालो भुइँमा नखस्दै निभिहाल्छ र दु:खको अध्याँरोले गल्र्याम्म अँगालो हालिहाल्छ । दुःख आगोको लप्का जसरी दन्दनी जलेपछि सुखको पानी नहाली हुन्छ त ? हाल्न पर्छ ।
रनभुल्ल पर्न जरुरी छैन । मिहिनेत गरेर लगाएका सुखका फसल पाक्न नपाउँदै असिनाले चुटिदियो भने कसको मन नरोला । तर गुनासो गरेर मात्र हुँदैन हजुर । प्रयास, फेरि प्रयास अनि फेरि प्रयास । सफलताको सूत्र यही त हो ।

