साहित्यपोस्ट डट कम

‘मनका उद्गार’ लोकार्पण तथा विमर्श

‘मनका उद्गार’ लोकार्पण तथा विमर्श

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित कृति ‘मनका उद्गार’ को विमोचन तथा समीक्षा कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा आयोजित कार्यक्रम राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा पुरुषोत्तम खनाल र प्रा. डा. लेखनाथ आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरू तथा अन्य अतिथिहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार पदमप्रसाद शर्माले कृतिमाथि समीक्षा प्रस्तुत गर्दै ‘मनका उद्गार’ लाई लेखकको जीवनभोगाइ, पारिवारिक इतिहास, वंशपरम्परा, सामाजिक अनुभव र भावनात्मक अभिव्यक्तिको दस्तावेजका रूपमा चित्रण गर्नुभयो । उहाँका अनुसार कृतिको पहिलो खण्डमा धौलु वंशको इतिहास, पिता बलभद्र उपाध्यायको जीवनी, मावली पक्षको परिचय तथा वंशवृक्षसम्बन्धी सामग्री समावेश छन् भने दोस्रो खण्डमा रहेका २५ कविताले पारिवारिक मूल्य, मातृभूमिप्रेम, प्रकृतिप्रेम, शिक्षा, राष्ट्रियता, स्वाभिमान र मानवीय संवेदनाका विविध पक्षलाई उजागर गरेका छन् ।

समीक्षक शर्माले माधवप्रसाद न्यौपानेलाई कर्मशील, निष्ठावान र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा उल्लेख गर्दै शिक्षण, सामाजिक आन्दोलन तथा राजनीतिक चेतनाका क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको चर्चा गर्नुभयो ।

कृतिकार माधवप्रसाद न्यौपानेले पुस्तक प्रकाशनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आफ्ना दिवङ्गत पिता–माताप्रतिको श्रद्धा र सम्मान नै कृति लेखनको मुख्य प्रेरणा बनेको बताउनुभयो । उहाँले जीवनका अनुभव, पारिवारिक इतिहास र सामाजिक गतिविधिलाई समेटेर पुस्तक तयार पारिएको उल्लेख गर्नुभयो ।

प्रमुख अतिथि नारायणप्रसाद शर्माले पूर्वीय सभ्यताको आधार नै पुर्खा, परिवार र संस्कृतिप्रतिको सम्मान भएको उल्लेख गर्दै ‘मनका उद्गार’ ले ती मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको धारणा राख्नुभयो । उहाँले भौतिक विकाससँगै मानवीय मूल्य र नैतिकतालाई पनि जोगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष यम रेग्मीले राप्ती साहित्य परिषद्ले नियमित रूपमा कृति विमोचन, समीक्षा, एकल रचना वाचन तथा अन्य साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले ‘मनका उद्गार’ ले परिवार, संस्कार, शिक्षा र सामाजिक मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गर्दै नयाँ पुस्तालाई सकारात्मक सन्देश दिएको बताएका थिए ।

राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन परिषद्की कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.