साहित्यपोस्ट डट कम

‘मन’भित्र ‘गीता’का कुरा

‘मन’भित्र ‘गीता’का कुरा

यो ‘मन’ हामीभित्र साम्राज्य नै लिएर बसेको एक निरंकुश शासकसरह छ । हामीलाई, हाम्रा इन्द्रियलाई अलिकति पनि स्वतन्त्रता दिन खोज्दैन ।

“कहाँ छ जानू, कुन साथ लिइकन ?

तँलाई मालूम छ कि यो कुरा मन ??”

मनलाई नै प्रश्न सोधेका छन् कवि शिरोमणि लेखनाथले । आफ्नो बारेमा धेरै कुरा मनलाई मात्र थाहा हुन्छ भन्ने बुझेर नै त होला, यी दार्शनिक कविले यस्ता नितान्त निजात्मक प्रश्न मनसित नै गरेका !

म पनि प्रायः यस्तै नै त गर्छु । मनमनै गम्छु, चिन्तन गर्छु आफैभित्र, अनि सोध्छु आफ्नै मनलाई । मलाई लाग्दछ, शायद मनले त ढाँट्दैन होला आफूलाई …..। कहिलेकाहीं त सोच्छु, ‘मन’ जस्तो आफ्नो निजी साथी त अरु को नै पो हुन सक्ला र ?

विज्ञानले अझै भौतिक रूपमा भेट्टाउन अनि आँखैले (अथवा आफ्ना ज्ञानेन्द्रियको सहाराले) खुट्याउन सकेको छैन मनलाई । तर त्यसको अस्तित्व मान्न भने बाध्य छ ऊ । नत्र त म जस्तो मनोचिकित्सकले कसरी आफ्नो पेशा धान्ने ?

त्यसैले त “देखिने कुरो मात्र सत्य हुन्छ, अनि प्रमाणित गर्न सके मात्र कुनै पनि सिद्धान्त प्रतिपादित हुन्छ” भन्ने भौतिकवादी दर्शन स्थापित गर्न समेत गाह्रो पर्दछ विज्ञानलाई यदाकदा…. । अनि सहारा लिनैपर्ने हुन्छ पूर्वीय भनिने गरिएको हाम्रो सनातन दर्शनको ।

जतिसुकै ठूला भौतिकवादी वैज्ञानिक भए तापनि यदि तिनको मनभित्र जिज्ञासाको उठान नहुँदो हो त, त्यस जिज्ञासाको समाधान हेतु मनमै तीव्र इच्छा प्रष्फुटित नहुँदो हो त, कसरी आविष्कृत हुने थिए होलान् यावत् भौतिक वस्तु ?

त्यसैले, सधैंभरि गणितीय सूत्र पनि मेल खाने गर्दैनन् । महाकवि देवकोटाले त घोषणा नै गरिदिएका हुन्, “मेरो गणितमा त एकबाट एक नै झिकिदिएमा पनि एकै बाँकी रहन्छ…”, त्यसका लागि “म पागल नै हुँ” भनेरै पनि ठोकिदिए उनले… ।

कवि—नाटककार सम पनि प्रारम्भमा भौतिक या अनिश्वरवादी कहलाइएका थिए । “मेरो र तेरो द्यौतामा आकाश—जमीनको फरक छ” भन्दै जोगी (अध्यात्मको प्रतीक) लाई खुलेआम चुनौती दिने ती कवि अन्ततः ‘ज्ञानविज्ञानको हात जोड्नुपर्दछ कर्ममा’ भन्दै ‘नियमित आकस्मिकता’को ऐलान नै गर्न पुगेका थिए ।

त, मन त्यस्तो वस्तु हो हामीभित्रको जसलाई हामीले “नाक, कान, हातखुट्टा, पेट” आदि शरीरबाहिरका अंगलाई झैं प्रदर्शन गर्न सक्दैनौं, न त “मुटु, कलेजो, फोक्सो, फियो” जस्ता आन्तरिक अंगलाई झैं प्रणालीबद्ध नै गर्न सक्दछौं ।

साहित्यमा ‘ह्रदय’ भनिए तापनि यो ‘मुटु’ होइन । अंग्रेजी भाषाले ‘माइण्ड’ भने तापनि यो ‘मस्तिष्क’ नै चाहिँ होइन । बरु मस्तिष्कभित्रका नसा अनि अवयवलाई केलाई केलाई नै हेरिसक्यो शरीररचना विज्ञान (एनेटोमी) ले, अनि रगतमा बग्ने रसायन तौलिन—जोख्न समेत सक्षम भइसके वैज्ञानिक प्रयोगशाला, तर ‘मन’ अझै पनि विज्ञानको क्षेत्रमा अनतिक्रमणीय नै छ । तर ‘मन’ भने छ, यो चिन्तनीय छ, मननीय छ, भावनामय छ, बोधगम्य छ । अनि, ईश्वरकृत जीवमध्येको एक ‘मान्छे’लाई सामाजिक प्राणी एवं मानव बनाएको छ, यही ‘मन’ले नै ।

‘श्रीमद्भगवद्गीता’ नै एक मात्र त्यस्तो सनातन ग्रन्थ हो, जसले यो ‘मन’को विषद् व्याख्या गरेको छ । हारेको अनि विषादमा परेको अर्जुन ‘मन’लाई मनोवैज्ञानिक पद्धतिद्वारा उपचार गर्दै श्रीकृष्णले अन्ततः उनलाई विजेता नै बनाइदिएका हुन् । अतः सातसय श्लोकमा लिपिबद्ध त्यो प्रश्नोत्तरलाई अठाह्र अध्यायमा बाँधेर व्यासले हाम्रासामु एउटा उदाहरण नै पेश गरेका छन् ‘मन’को शक्तिको ।

विचार गरौं त, कुरुक्षेत्ररूपी युद्ध मैदानबाट भाग्न या पलायन हुन दुष्प्रेरणा दिने पनि त्यही ‘मन’, अनि भीष्म—द्रोण—कर्णजस्ता महारथीलाई ढाल्ने सत्प्रेरणा शक्ति प्रदान गर्ने पनि त्यही ‘मन’… !

कसरी मनले मानवरूपी हामीलाई नियन्त्रित गरिरहेको रहेछ त ? उपनिषद्मा त्यसै भनिएको होइन,

“मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः”

हाम्रो दैनिक विधिव्यवहारमा नै हेरौं न !

“मन लागेको” समय हामी आफ्ना काम कसरी द्रूत गतिमा नै सुसम्पन्न गर्न सक्दछौं ? जस्तोसुकै कठीन गणितका प्रश्न पनि हामी हल गर्न सक्दछौं । जस्तासुकै किताबका ठेली पनि हामी अध्ययन गर्न सक्दछौं । कति मीठा गीत गाउँछौं हामी ? अनि जस्तासुकै दुरुह ठानिएका समस्या पनि सुल्झाउन सक्दछौं हामी… तर मनले भने संकल्प गरेकै हुनुपर्दछ ।

तर, “मन नलागेका” बेलामा भने हामीलाई ओछ्यानबाटै उठ्नसमेत गाह्रो पर्दछ हामीलाई । जस्तोसुकै सजिला कामसमेत हामी पन्छ्याइदिन्छौं हामी । सानो निहुँमा समेत ठूला विवाद खडा हुन सक्दछन् त्यस्तो बेलामा… मनै ठेगानमा रहेको हुँदैन ती क्षण ।

“मन परेमा” कुनै पनि वस्तु या व्यक्ति कति प्यारो हुन्छ हामीलाई ? उसका सब अवगुण बिर्सेर खालि गुणका मात्र चर्चा गर्ने गर्दछौं । मन परेका मानिसलाई कति सजिलै भनिदिन्छौं – कस्तो “मज्जाको” मान्छे ? यसरी देवत्वकरण हुन्छ उसको ।

तर, “मन नपरेमा” भने जस्तोसुकै गुणी व्यक्ति पनि घृणाको पात्र बन्दछ, अवहेलना गर्दछौं उसको । यसरी दानवीकरण हुने गर्दछ मन नपरेका मानिसको … ।

यी सबै भावनामा, दृष्टिकोणमा ‘मन’ नै त आउँछ । अतः ‘मन’ नामविशेष मात्र नरहेर विशेषण या क्रियाविशेषणका रूपमा नै अगाडि आउने गर्दछ ।

त्यसैले , ‘गीता’मा मनलाई शरीररूपी रथका इन्द्रियरूपी घोडा बाँध्ने लगामका रूपमा दर्शाइएको छ । मनको नियन्त्रणमा नै इन्द्रिय रहेका हुन्छन् । अर्थात्, शरीर नै मनको अधीन भइरहेको हुन्छ ।

मन खुशी छ भने आँखाले देख्ने दृश्य सुन्दर हुन्छन्, कानले सुन्ने शब्द आनन्ददायक हुन्छन्, नाकले सुगन्ध पाउँछ, जिभ्रोको स्वाद मीठो हुन्छ अनि स्पर्श उल्लासमय रहन्छ ।

मन दुःखी भएमा भने सबै कुरा उल्टो । दृश्य नराम्रो या भयानक, शब्द पीडादायक, वातावरण दुर्गन्धमय, भोजन नमीठो, अनि स्पर्श नमज्जाको … ।

भनिन्छ नै, “फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार”… तर कुनै पनि वस्तु (परिस्थिति) लाई ‘फूल (फूलबारी)’ या ‘काँडा (काँडाघारी)’ का रूपमा दर्शाउने या स्वीकार्ने नायक या निर्देशक भने मन नै हो ।

वास्तवमा, यो ‘मन’ हामीभित्र साम्राज्य नै लिएर बसेको एक निरंकुश शासकसरह छ । हामीलाई, हाम्रा इन्द्रियलाई अलिकति पनि स्वतन्त्रता दिन खोज्दैन ।

हाम्रा दैनिक विधिव्यवहार सब नियन्त्रण गर्ने त्यही ‘मन’; हाम्रा भावना, चेतना, कल्पना सबैलाई डोर्याउने उही ‘मन’ । मन नभई मनन् गर्न सक्दैनौं हामी केही, तर ऊ लुकेर बस्दछ कता कता ? भित्र या बाहिर कहाँ कहाँ ? तर छ अत्यन्तै शक्तिशाली ।

मनभित्रकै प्रेरणाले नै महामूर्ख कालीयलाई महाकवि कालिदास बनाइदिन्छ, डाँकू रत्नाकरलाई बाल्मीकि बनेर रामायणको रचना गर्न लगाउँदछ । त्यस्तै राजकुमार सिद्धार्थलाई गौतम बुद्धका रूपमा उत्थान गराइदिने पनि मनभित्रकै त्यही जिज्ञासा–कौतुहल अनि ज्ञानको भोक । एउटा सिपाही नेपोलियनलाई सम्राट बनाइदिने पनि त्यही मनभित्र पलाएको तीव्र उत्प्रेरणा, अनि बेरोजगार लिंकनलाई राष्ट्रपति अब्राहम लिंकनका रूपमा पदस्थापन गराउने पनि त्यही मनभित्रकै हुटहुटी ।

देवकोटाले “उद्देश्य के छ लिनू ? उडी छुनू चन्द्र एक” भनेर मानसिक उद्घोष नील आर्मस्ट्रङ्गको एपोलो–११ को अभियान शुरु हुनुअघि नै गरिदिएका थिए ।

हामी हाम्रो निजी सवारीमा कार्यालय पुग्नुभन्दा निकै अगाडि नै हाम्रो मन त्यहाँ उपस्थित भइसक्छ । चाहे बसबाट होस् या हवाइजहाजबाट नै, हामी पोखरा–विराटनगर जाऔं या बेलायत–अमेरिका, हाम्रो मन त्यहाँका ताल, पोखरी, सडक भवन आदिमा पहिल्यै उपस्थित भई नै सक्दछ, अनि मात्र हामी भौतिक रूपमा त्यहाँ पुगेका हुन्छौं ।

देख्यौं त, भौतिक पदार्थ या भौतिक शक्तिका श्रोत–ध्वनि, प्रकाश या वायुभन्दा पनि तीव्र गतिमा हिंड्छ यो मन । त्यसैले त भनिएको छ नि, “जहाँ पुग्दैन रवि, त्यहाँ पुग्दछ कवि” । किनकि कविका सृजना, कल्पना, अनि संवेदना सब स्वच्छन्द मनले नै बोकेर अघि अघि हिँड्छ । रवि विचरा त प्रकृतिको नियममा बाँधिएको, जकडिएको छ । उसले समयचक्रमा नै उदाउने–अस्ताउने गर्नुपर्दछ, तैपनि पृथ्वीको दुवै गोलार्ध उसले एकसाथ भ्याउनै सक्दैन ।

त्यसैले, जीवनमा केही हासिल गर्नुछ भने मनरूपी सम्राटलाई आध्यात्मिक विधानअन्तर्गत राखेर निरंकुश हुनबाट रोक्नुपर्दछ । किनकि मन नियन्त्रण नभई इन्द्रिय आफ्नो काबूमा कदापि आउन सक्दैनन् । चञ्चल यो मनलाई आध्यात्मिक अभ्यास अनि वैराग्यले मात्र निग्रह गर्न सकिन्छ भनेर गीतामा उद्घोष गरेका छन् योगेश्वर कृष्णजीले ।

अचम्म लाग्दछ मलाई, जब जब म ‘मन’को कुरो गर्न थाल्दछु, तब तब त्यहीं ‘कृष्णजी’ अगाडि आउँछन्, अनि उनकै ‘गीता’लाई नै सम्झन पुग्दछु ।

किन होला ? फेरि पनि उही नै प्रश्न – “तँलाई मालूम छ कि यो कुरा मन ?”

साझा गर्नुहोस्:
प्रा.डा. अजय रिसाल

लेखकको बारेमा

प्रा.डा. अजय रिसाल

काठमाडौं विश्वविद्यालयअन्तर्गत धुलिखेल अस्पताल, मनोचिकित्सा विभागमा प्रध्यापनरत् मनोचिकित्यक प्रा.डा. अजय रिसल साहित्यपोस्टका स्तम्भकार हुन् । उनको गैरआख्यान विधामा मनोपचार सम्बन्धी कृति 'गीतामा मनका कुरा' प्रकाशित छ ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.