साहित्यपोस्ट डट कम

माम्बाका गोही

माम्बाका गोही

नैरोबी शहरको एउटा कुना तर शहरबाट अलि टाढा माम्बा गाउँ छ । गाउँ भनेर मानव बस्तीवाला गाउँ भने होइन । यो गाउँमा गोही, अष्ट्रिच तथा कछुवाको उत्पादनको कार्य तथा यिनीहरूको पालनपोषण, संरक्षण तथा उत्पादन कार्यहरू गरेर पर्यटकलाई देखाउनेगरि व्यावसायिक रूपमै जमेको रहेछ । विशेष गरेर गोही उत्पादनमा प्रसिद्धि कमाइसकेको रहेछ । बजारदेखि केही टाढा भएकाले माम्बा गाउँसम्म पुग्नका लागि कच्ची बाटोमात्र बनेको रहेछ । निकै अग्लो पर्खालले घेरिएकाले ढोकामै नपुगेसम्म कता गइरहेकाछौँ भनेर थाहै हुन्न । प्रवेश गर्ने ढोका निकै पुरानो शैलीको थियो ।

भित्र प्रवेश गरेपछि खुल्ला चौरमा कतै घाँस छ त कतै छैन । कतै उबडखाबड र ढुङ्गै ढुङ्गा छन् । समथर मिलेको जमिन कतै छैन । जे छ, सबै प्राकृतिक । पर्खालबाहेक केही कृत्रिम छैन । गाडी पार्क जता गरे पनि हुन्छ । एउटा कुनातिर प्रवेशद्वार देखिन्छ । प्रवेशद्वारकै दाहिनेपट्टि टिकट काट्ने काउन्टर थियो । अर्कोतिर ठूलो ढुङ्गामा गोहीकै चित्र कुँदिएको र त्यसको माथि र तल ‘वेलकम टु माम्बा भिलेज’ भनेर लेखिएको थियो ।

एक जनाको एक हजार सिलिङ प्रवेश शुल्क । टिकट लिएर हामी ढोकातिर लाग्यौँ । सेक्युरिटीका लागि तीन–चार जना मान्छे तयार भएर बसेका थिए । हाम्रो हाते ब्यागको समेत जाँचपडताल गरे । मेशिनले हाम्रो शरीरपनि जाँच गरेर हामीलाई भित्र पस्ने अनुमति मिल्यो । वेस्टगेट मलमा सन् २०१३ को सेप्टेम्बर २१ मा आतङ्ककारीको आक्रमणबाट ६७ जनाको निर्मम हत्या तथा १७५ जनाभन्दा बढी मान्छेलाई घाइते गराएपछि केन्याको नैरोबीमा धेरैतिर यस्तै कडा जाँचपडताल गर्ने व्यवस्था बढेको रहेछ । यो व्यवस्था हामीलाई राम्रै लाग्यो सुरक्षाको हिसाबमा ।

जाँदाजाँदै गोही फार्म जाने बाटो, अष्ट्रिच फार्म जाने बाटो देखाइएको तीरयुक्त चिह्न देखिए । हाम्रो जत्था पहिले गोहीतिरै लाग्यो । गोही पनि एउटा विचित्रकै प्राणी रहेछ । जाबो सानो अण्डाबाट निक्लिएर मान्छे तथा अन्य बलिया–बलिया प्राणीहरूलाई समेत आतङ्कित गराउने सक्ने । पानीमा पनि बाँच्न सक्ने, जमीनमा पनि हिँड्न सक्ने । घन्टौंसम्म आँखा झिमिक्कसमेत नगरी, नचल्मलाइ बस्न सक्ने धैर्यशाली प्राणी । यिनीहरू चिसो क्षेत्रमा भने कमै देखिने रहेछन् । यहाँ गोही उत्पादनका लागि विभिन्न साइजका पोखरीहरू बनाइएका छन् ।

कुनै पोखरीमा साना–साना र भरखरै फुलबाट निस्किएका, कुनैमा एक–दुई हप्ता भएका गोहीहरू र कुनैमा ठूला र वयस्क । अग्लो ढुङ्गे पर्खालभित्रको बीचभागमा पोखरी छ । पोखरीको वरिपरि तारबार लगाइएको छ । पर्यटक भित्र जान नसक्ने र गोहीले पनि नजिक आएका मान्छेलाई आक्रमण गर्न नसक्नेगरि बनाइएको छ । पोखरीमा केही गोही शान्तसँग पर्यटकको आगमन तथा बहिर्गमन नियालिरहेका छन् भने केही गोही पानी बाहिरै बसेर त्यसरी नै हामीलाई हेरिरहेका छन् । मरेको हो कि जिउँदै छन्, थाहै नहुने गरी सुतिरहे जस्तो देखिन्छन्, तर आँखाको सानो भाग खुल्लै राखेर अगाडिको दृश्यमाथि सतर्कता अपनाइरहेका । वास्तवमा उनीहरूको जीवन पनि कैदी जीवनै त हो । आफ्नो प्राकृतिक बासस्थानबाट अलग्ग भएर मानवीय बन्देजभित्र जीवन गुजारा गरिरहेका ।

उनीहरूको गतिविधि हामीलाई देखाउन गोही–गाइडले केही माछाहरू पोखरीको पानीमा फालिदियो । गोही माछाका लागि एक–आपसमा घम्साघम्सी गर्न थालिहाल्थे । कुनै माछा गोहीकै मुखमा पस्थे भने कोही मुख बाहिर । बाहिर पर्नेका लागि सबै गोहीबीच जातीय सङ्घर्ष शुरु भइहाल्थ्यो ।

साना–साना माछाहरू गोहीको मुखभित्र एकैछिनमा बिलाइहाले । सङ्घर्षको बीउकै अन्त्य भइसकेपछि सङ्घर्षको औचित्य नै बाँकी रहेन । गोही अर्को माछाको खोजीतिर दौडिए । यो दृश्य पनि रमाइलै भयो हामीलाई । त्यसपछि सानो पोखरीमा गएर हामीलाई करीब अढाई फिट जतिको बेबी गोहीलाई छुने र उचाल्न पाउने अनुमति मिल्यो ।

हामीलाई गोहीहरू खेलिरहने र बसिरहने ठाउँमा जानका लागि भने अनुमति थिएन । गोही गाइडले नै बेबी गोहीको मुखमा साधारण रबरले बाँधेर हामीलाई उचाल्न र खेलाउन दियो । भर्खर जन्मेको गोहीको बच्चादेखि पनि मान्छे डराउनुपर्ने ! कस्तो बल, कस्तो आतङ्ककारी जीव ! हामीले रमाएरै उचाल्यौँ, फोटो पनि खिचायौँ । हाम्रो गोहीसँगको स्पर्श रोबोटसङ्गको जस्तो भयो । शायद गोहीको डरले होला । न गोहीप्रति हाम्रो स्नेह बढ्यो न घृणा । गोहीको शरीर चिसो थियो । शायद उनीहरूमा जठराग्नि हुन्न कि ? जीवित प्राणीजस्तो अनुभव नै नहुने । हामीसँगै जानुभएको शरदभाइलाई भने गोही छुन र उचाल्न मनै थिएन । तर, हामी सबैको करकापले बल्ल–बल्ल अमिलो अनुहार लगाएर उचाल्नुभयो ।

त्यहाँबाट हामी कछुवाको क्षेत्रतिर गयौँ । कछुवा त हिन्दूहरूका लागि सधैँ पूजनीय छ । विष्णु भगवानका एक अवतारका रूपमा लिइन्छ यसलाई । क्षीरसागर मन्थनका अवसरमा मन्दराचल पर्वत घुमाउनका लागि अड्याउने आधार बनेको थियो कछुवा । विभिन्न साइजका कछुवा थिए यहाँ । कछुवालाई पनि बोकेर फोटो खिचियो ।

त्यसपछि हामी अष्ट्रिच फार्मतिर लाग्यौँ । अष्ट्रिचको बारेमा सुनेकी मात्रै थिएँ, देखेकी थिइनँ । पृथ्वीमा सबैभन्दा ठूलो अण्डा (फुल) पार्ने र सबैभन्दा छिटो दौडने पन्छीका रूपमा अष्ट्रिचको नाम सुनेकी थिएँ । केही दिनअगाडि मसाइमारा निकुञ्जमा परैबाट जङ्गली अष्ट्रिच देखेकी थिएँ । नजिकबाट देख्न पाएकी थिइनँ । यी चराहरूको आहार घाँसपात र कीराहरू रहेछन् । विशेष गरेर बाँस र निगालाका पात यिनीहरूलाई खुब मनपर्ने खाना रहेछ । २ देखि ३ फीटजति अग्ला त खुट्टा मात्र हुँदा रहेछन्, घाँटीदेखि टाउकोसम्म त्यस्तै ३–४ फीटै अग्ला होलान् । बीचको शरीर भने २ देखि ३ फीटसम्म लामो होला । भालेको रङ्ग कालो र सेतो तथा पोथीको रङ्ग खैरो भएर एक–आपसमा छुट्टिने रहेछन् । अष्ट्रिचको प्वाँख र छाला र मासुको बिक्री–वितरण विश्वभरि नै रहेछ । एउटा अण्डाको खबटोको मूल्य दुई हजार सिलिङ (बीस अमेरिकी डलर) बाट चुनदाम घटेन । सुभेनियर राख्नका लागि पनि महँगो जस्तो लाग्यो । बिल नदिने भएकाले एयरपोर्टमा झन्झट होला भनेर हामीले किन्ने आँट गरेनौँ । आजभोलि नेपालमा पनि यसको खेती गरिन थालेको छ रे भन्ने कुरा मैले पछि मात्र थाहा पाएँ । त्यसलाई पनि कुखुरापालनकै हिसाबमा हेरिने व्यवसाय भएको रहेछ ।

गोही फार्म र अष्ट्रिच फार्मको बीचमा एउटा ठूलो ताल रहेछ । तालको चारैतिर अफ्रिका महादेशका तटीय मुलुकहरूको नाम लेख्दै ती देशको नक्सा टिनको बोर्डमा राखिएको छ । टिनको बोर्डमा नक्साको आकृतिलाई प्वाल पारिएको छ, बोर्ड खुल्ला छ तर फलानो देश भनेर नक्साबाट थाहा पाउन र चिन्न सकिन्छ । अलि अग्लो ठाउँमा बसेर तालको आकृति हेरिसकेपछि बल्ल थाहा भयो त्यो ताल त अफ्रिका महादेशकै नक्सा पो रहेछ । पर्यटकलाई आकर्षित गर्ने यो कृत्रिम तालको सोचाइका बारेमा केन्यनहरूको प्रशंसा नगरी मनैले मानेन । माम्बा गाउँको छोटो घुमाइलाई बिट मार्दै हामी नैरोबीतिरै लाग्यौं ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.