साहित्यपोस्ट डट कम

मामाको लाल किताब

मामाको लाल किताब

मेरा मामा माओवादी थिए । पूर्वतिर माउवादी भन्छन् । अँ, त्यही थिए । अझै छन् । आजभोलि त धेरै कुरा हुन्न तर बेलाबखत चुनाव खारेज गर् ! भ्रष्ट सरकार ! एमसिसी हामीलाई चाहिँदैन ! झोले सबै साइड लाग् ! भन्दै फेसबुकमा नारा लगाउँदै भाषण गरेको आक्कल झुक्कल देख्छु । भाषण मीठो गर्छन् । मामा सारै असल मान्छे थिए, हामी भान्जाभान्जीलाई माया गर्थे । नाम “बादल” । हामीचाहिँ मामा मात्र भनेर बोलाउँथ्यौँ । अझै त्यही भन्छौं । मेरा एक मात्र मामा । आमा पछाडिका मामा ।

मामा सम्झिँदा एउटा रातो किताब सम्झिन्छु । म सानै थिएँ । बुझ्ने बेला भइसकेको थिएन । हामी केटा केटीलाई खेल्न खान पाए पुगिहाल्थ्यो । मेरो मामाघर मोरङको बाहुनी भन्ने ठाउँमा पर्छ । घरबाट मामाघर हिँडेर २ घण्टाको दूरीमा थियो । मेरो सानो साइकल थियो । खेतान ब्रान्डको । धेरै वर्ष टिक्यो । त्यो साइकल पछिसम्म चलाएँ । खुब प्रिय थियो मलाई मेरो खेतान साइकल । सानो साइकलमा चढेर खुरुरु कहिले दूध लिन, कहिले बिस्कुट लिन बजार कुब चहारिन्थ्यो । साइकल नहुने केटाकेटीहरू थुक निल्थे । त्यही साइकल पालैपालो चलाउँदै मेरो भाइ र म, मामाघर जान्थ्यौँ । मम्मी हिँड्नुहुन्थ्यो । भाइले साइकल चलाउँदा म मम्मीसँग हिँड्थेँ ।

एक साँझको कुरा हो । मम्मी धरानको पिण्डेश्वरी बोलबम जानुभयो । पूर्वतिर श्रावणमा बोलबम जाने चलन थियो । अझै छ । मलाई मामाघरमा केही दिनका लागि राखिदिनुभयो । मामाघरमा सानो किराना पसल थियो । पसलमा मामा बस्थे । मामासँगै म पनि बस्थेँ । बिस्कुट, चकलेट, मामा भुजिया के के जाति पाइन्थ्यो पसलमा । तर मलाईचाहीँ पसलमा बसेर सुर्ती बेच्न औधी रमाइलो लाग्थ्यो । पसलको एक कुनामा सुर्तीको बोरा राखिएको हुन्थ्यो, किन्न आउनेलाई फलामको तराजुमा नाप्ने अनि दिने । पैसा गल्लामा राख्ने । म पनि मामाघर बसुञ्जेल साहुनी हुने मौका पाउँथे । सुर्ती साहुनी । सुर्ती किन्न आउनेले मेरै अगाडि बिडीमा सुर्ती भर्थे । चुरोटको आकार बनाई बटार्थे अनि त्यसको पुच्छरमा आगो लगाएर धुवा उडाउँथे । सुर्ती किन्न कोही आयो कि, म कुदेर नाप्न गैहाल्थेँ । साह्रै फूर्ती !

तराईको घर, काठले बनेको भित्ता, छानामाथि टिन । छेउमा बडेमानको बरको रुख । कहिलेकाहीँ राती सुतेको बेला बरको रुखबाट बिया, टिनमा झर्दा ठूलो आवाज आउँथ्यो । भुइँचालो नै पो आयो कि भनेर उठिन्थ्यो । अरुलाई उठाइन्थ्यो । गाली खाइन्थ्यो । २ तल्ला घर थियो, माथि सुत्ने, तल पकाउने । बीचमा, काठको भर्‍याङ थियो । प्रत्येक चोटी मामाघर जाँदा भर्‍याङ बेग्लै ठाउँमा सारेको हुन्थ्यो । कहिले दायाँ कहिले बायाँ । त्यो पाली बीचमा सरेको रैछ । साथै, पसल राख्ने घुम्ती पनि सर्थ्यो । खै किन सर्थ्यो मैले अहिलेसम्म बुझेको छैन । मामाघर जाँदा बाटोभरि “यो पाली भर्‍याङ कता होला ?” सोच्दै जान्थें ।

त्यो साँझ, मम्मीले मामाघरमा छोडेर गएपछि म चुपचाप भर्‍याङ नजिकै बसेर बाहिर हेर्दै थिएँ । अरू कोही थिएन । त्यही बेला, भर्‍याङ नजिकै रहेको भकारीको छेउमा एउटा रातो किताब भेटेँ । किताब पातलो र निक्खर रातो थियो । गाताको बीचमा ठूलो हँसिया, हथौडाको चिह्न थियो । मैले किताब कसको होला भन्ने विचार गरेँ । जान्ने इच्छाले किताबका पाना पाना हेरेँ । हरफ हरफ हेरेँ । कुनैमा चित्र थिएनन् । अक्षर मात्र थिए । अलिअलि पढेँ । थोरै बुझेँ, धेरै बुझिनँ । पढ्दै थिएँ, एक्कासी माथिबाट मामा हतारिएर आए अनि त्यो लाल किताब खोसेर लगे । मलाई पढेर चित्त बुझेकै थिएन । खोसे मामाले । तर रिसाएनन् । मामा खुशी पनि भएनन् । मामाको आँखामा एउटा अनौठो भाव थियो । मामा डराएका जस्ता पनि देखिए । यस्तो लाग्यो, मामाको एउटा गोप्य रहस्य थाहा पाउने पहिलो मान्छे सानी भान्जी बनेकी छे । म ट्वाल्ल परेँ । अलि पछि बिस्तारै थाहा पाएँ मैले, मामा त लाल किताब पढेर माउवादी भइसकेछन् ।

मामा खुब पढ्थे । म कोठामा गएर मामाको काँधमा चढ्थेँ, घरी किताब खोस्न जान्थेँ । घरी जिस्किन्थेँ । मामा कहिल्यै रिसाएनन् । कहिले कराएनन् । बरु डोर्याएर भर्‍याङ तल पुर्‍याउँथे, आफू माथि जान्थे र चुकुल लगाएर फेरि लाल किताब पढ्थे । मलाई खपिनसक्नु हुन्थ्यो । लुकाएकाले होला, मलाई पनि लाल किताब पढ्ने ठूलो इच्छा भयो । तर त्यस बेला, त्यो इच्छामै सीमित रह्यो ।

दिन बिते, रात पनि बिते । महिना, वर्ष सबै बिते । म ठूली हुँदै गएँ । अलि बुझ्ने भएँ । लाल किताब बिर्सिएँ, लालको सट्टा रङ्गीचङ्गी किताबहरू बाउले ल्याइदिए । बाउ उपन्यास पढ्थे, मधुपर्क, साप्ताहिक, कान्तिपुर पढ्थे । हामीलाई त्यही पढाए । तर बाउ माउवादी मन पराउँदैनथे । यी सब खाउबादी हुन् भन्थे । हामी पत्याउँथ्यौँ । पछि भाई र मैले कथा, कविता, लेख खुब पढ्यौँ । आहा ! मन यतै रमायो ।

उता मामा कट्टर माउवादी बने । मामाघरमा बूढी हजुरआमालाई हप्काई दप्काई गर्न दिनरात शाही सेना आउँथे । मैले धेरैपटक आफ्नै आँखाले देखेँ । हजुरआमालाई छोरा बचाउने चिन्ता । मम्मीलाई आमाको चिन्ता ।

मामालाई खोज्न सेनाले कति चोटि मामाघर घेर्‍यो तर भेटिएनन् । मामा ज्यान जोगाउन कहाँ कहाँ लुकी हिँड्थे । सेनाले लाल किताब पनि खोज्यो । अहँ, केही पनि भेटेन । मामा बाठा मान्छे रहेछन्, लुके । हाम्रो भाग्य रहेछ, मामा बाँचे ।

मेरी आमाका कति ओटा तिहार मामालाई कुर्दै बितेको सम्झिन्छु । भाइ जिउँदै छ कि छैन भन्ने थाहा नपाई आमा कतिचोटि रोएको पनि याद आउँछ । आमा धेरै रोइन्, मामा फर्केनन् । धेरै वर्ष फर्केनन् ।

हाम्रो घरमा धेरै पछि मामा आए । दुब्लाएका थिए । मामा देखेर म औधी खुशी भएँ । उनले ठूलो झोला भिरेका थिए । झोला हेर्न दिएनन् । त्यति बेला जनआन्दोलन शिखरमा रहेछ । मान्छे मरेको खबर दिनदिनै आउँथ्यो । एम्बुस पड्केको खबर सामान्य जस्तो थियो । सेना, गाउँ गाउँमा आउँथे । माउवादी पनि त्यस्तै छ्याप्छ्याप्ती । कति चोटी आमाले खाना पकाएर एक दुईजना माउवादीलाई खुवाएको पनि सम्झना आउँछ ।

त्यस साँझ आफ्नो भाइ भेट्दा मम्मी खुशी हुनु भएन । खुब डराउनुभयो । हतार हतार खाना दिनुभयो अनि मामालाई लुक्न लगाउनुभयो । हामीले घरको ढोका चुकुल सबै लगायौँ । अनि भाइ र मैले मामालाई सुपर मारियोको गेम देखाउन थाल्यौँ । हामीलाई के मतलब । बल्ल बल्ल आएका मामा, लु भिडियो गेम खेलौँ भन्ने भयो । मामाले खेलेनन् । हाम्रो आँखा छलेर मामाले बिस्तारै कम्मरबाट केही निकाले । भारी भएछ क्यारे । कि घाउ थियो म भन्न सक्दिनँ । त्यस साँझ भाइ र मैले पहिलो पटक बन्दुक देख्यौँ । फलामको बन्दुक । जुन सानो थियो । मामाले हतार हतार झोलामा हाले । खेल्ने बन्दुक हो भनेर हामीलाई झुक्याए । हामीले पत्याएनौँ ।

मामाका कति मिल्ने साथीहरूलाई सेनाले ठाउँको ठाउँ पार्‍यो । हाम्रो भाग्य रहेछ, मामा बाँचे । मामाले बाँचेर आएपछि हामीलाई युद्धका कथा सुनाए । मलाई धेरै याद छैन, २ वटा कथाचाहिँ झल्झली याद आउँछ । आज सुनाउँछु । सुन्नेलाई सुनको माला । भन्नेलाई फूलको माला । भो, मलाई मालाचाहिँ चाहिँदैन । कथा यस प्रकार छ:

पूर्वमा चिसाङ खोला प्राय सबै लाई थाहा हुन्छ । मोरङ वरिपरि बग्छ चिसाङ । चिसाङको बगर, माउवादी लुक्ने सुरक्षित ठाउँ । एक रात मामा र मामाका बटालियन चिसाङमा सेन्ट्री बसेका थिए रे । सेनाले थाहा पाएर धेरै सङ्ख्यामा टोली परिचालन गरेछ । माओवादीको सङ्ख्या थोरै । घेरिहालेछ । गोली चल्न थालेछ । डुंग डुंग डुंग.. माओवादीको केही नलागेपछि सबै तितर बितर भागेछन् । मामासँग बन्दुक थियो रे गोली भरेको । अलिकति आँट आएछ । आयो कि ठोक्छु भन्ने सोचेर मामा अँध्यारोमा भाग्दै थिए रे । साथीभाइ कता छुटे छुटे। मामा एक्लै भएछन् । भाग्दा भाग्दै थाकेर, एउटा रुखको बुटोमा अडेस लागेर बसेछन् । त्यही बेला, अलि परबाट घोडा कुदेको आवाज आयो रे । गट् गट् गट् गट् । मामा चनाखो भएछन् । बन्दुक तयार । आवाज शून्य । घोडाको आवाज अझै नजिक आयो रे । अँध्यारो रात । एक्लो मान्छे । फेरी गट् गट् गट् गट् !

घोडा अझै नजिक आउँदा, मामाले पल्याक पुलुक हेरेछन् । केही छैन । कोही छैन । हुँदा हुँदा घोडाको पाइला कान नजिक आयो रे । अझै, केही पनि छैन । भूत, प्रेत, देवता, दानव केही नमान्ने कम्युनिस्ट मामालाई अबचाहिँ डर लागेछ । मुटुले झण्डै ठाउँ छोड्यो रे । आफ्नै मुटुको ढक् ढक् आवाज सुनेर बीचरा मामा झण्डै बेहोस भएछन् । अब के गर्ने ? भूत हो कि ? कि चुडेल हो ? मामा थुरथुर । डरले पिसाब फेरेको कुरा चाहिँ भनेनन् । तर मलाई शङ्का छ । पक्का, मामाले …….भैगो, त्यता नजाऊँ । धन्य गोजीमा चुरोट खान राखेको सलाई थियो रे। के गरूँ गरूँ भएर हत्तपत्त सलाइको काँटी बालेछन् । भर्र आगो बल्दा खुर्र कुदेर मामा टाप कसेछन्। धन्य हाम्रो भाग्य रहेछ, मामा बाँचेछन् ।

अर्को घटना, जुम्लातिरको । हामी त पक्का पूर्वेली पर्‍यौँ, मामाले पश्चिमको कुरा गर्दा खुब मजा आउँथ्यो । मामा भीर, पाखा, चौरी, ढाक्रे सबैका कुरा गर्थे । कथा सुन्न “डुसु” भन्ने राई मामा दौडँदै आउँथे । डुसु मामाको दाह्री जुँगा कहिल्यै देखिनँ । सधैँ क्लिन सेभ्ड । हँसिला थिए, फत्फताउँदै बोल्थे । आएर कथा सुन्न थपक्क बस्थे । त्यही बेला लिम्बु काका पनि टुप्लुक्क देखा पर्थे । हामी “आदाङ्बे आदाम्बासे सेवारो है काका” टक्र्याउँथ्यौँ । काका ले लु लु भन्दै २ वटा गोली मिठाई दिन्थे । अहिलेको रफाइलोले के को जित्थ्यो ? त्यति मीठो गोली मिठाई । काका पनि बस्थे मामाको कहानी सुन्न । हामी मिठाई कुप्लुक्क मुखमा हाल्थ्यौँ ।

एक दिन जुम्लाको कुनै विकट गाउँमा थिए रे एक हुल माओवादी । मामा हुने नै भए । युद्ध माथि युद्ध, डर माथि डर । खाना नपाएको कति दिन भएको थियो रे। भोकले सबै प्याक प्याक। केही पनि खानेकुरा नभेटेर सबै चुपचाप बसेका थिए रे । उपाय नभएपछि के गर्नु ? अनि त्यही बेला, अगाडिबाट एउटा रातो गोरु टुप्लुक्क टप्किएछ । मान्छेलाई भनेको होइन है, गाईकै गोरु । गोरु मोरालाई सबैले मुखामुख गरेर हेरेछन् । मामा त बाहुनको छोरो । तर सबैभन्दा शुरुमा मामाले नै भनेछन् , हान्दिऊँ साथी हो । जे पर्छ पर्छ । बाँचियो भने पछि मनदेखि माफी मागौँला । कुरा खत्तम । गोरु खत्तम । टोलीले पार्टी गरेछन् त्यो दिन । अनि बाँकीका दिन पनि । मैले गोरुको कथा सुनेर टुच्च मुख बिगारेकी थिएँ । अहिले सम्झिन्छु मामा सरल नै मान्छे हुन्, खाएछन् । हाम्रो भाग्य नि, गोरु खाएर पनि मामा बाँचेछन् ।

जनआन्दोलनभन्दा अगाडि मामा फुक्का थिए । घुम्तीमा बसेर घाम ताप्थे । मामाको न्वारनको नाम दीनानाथ हो रे । दीनानाथ भनेको भगवानको नाम । मम्मीले भनेर सुनेको । एक दिन छिमेकी काकीको बुढासँग झगडा परेछ । काकी घर बाहिर निस्केर, “हे दीनानाथ, मेरो रक्षा गर !” भन्दै कराउँदै रैछिन् । मामाले घुम्तीबाटै “तथास्तु” भनिदिएछन् । कति हाँस्नु ! मामा रमाइला मान्छे । आफू पनि हाँस्थे, अरुलाई पनि हसाउँथे ।

मामाले पछि घरबार गरे । माइजू पनि माउवादी नै बिहे गरे । माइजू पनि असल छिन् । मामाको बिहे, मामाघरको त्यो सरिरहने भर्‍याङमुनि जग्गे बनाएर सेनासँग लुकेर गरेको अहिले सम्झिँदा रमाइलो लाग्छ । कतै सेना आइ पो हाल्छ कि भनेर, ४ तिर बाटोमा ४ जना सेन्ट्री बसेका थिए, एउटा सेन्ट्री मै थिएँ । कहिले चुर साहुनी भइयो, कहिले सेन्ट्री गार्ड !! जे गर्नु मामाले गरे ।

सेना आएन । बिहे भो । केही वर्षपछि माइजू माउवादीबाट २ छोराकी माउ भइन् । अहिले त मामा पनि बूढा भए । मामा अझै विद्रोह गर्छन् रे । अझै उठाउँछन् रे आवाज अन्यायविरुद्ध । मामा अझै थाकेका छैनन् । भन्नेले भन्दा हुन्, खै के नापियो आन्दोलन गरेर ? न धन छ न जागिर । तर, मामा खुशी छन् । यत्तिका वर्षसम्म पनि थाक्दै नथाकी आफ्नो सिद्धान्त अनि आवाज बुलन्द बनाउँदै हिँडेकोमा म मामालाई सलाम गर्छु । मामा कर्मयोगी मान्छे थिए, अझै कर्म गर्दै छन् । फलको आशा पनि मारेका छैनन् । भनेँ नि, मामा सरल मान्छे थिए । अझै सरल छन् ।

हाम्रो भाग्य रहेछ, मामा युद्धलाई जितेर बाँचे । म चाहन्छु, उनी जुग जुग बाँचुन् । म मामालाई घरी घरी सम्झिरहन्छु । लाल किताबलाई त अझै बढी सम्झिन्छु !

ट्याग: ऋचा गौतम
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.