साहित्यपोस्ट डट कम

मैले चिनेको कलाकार बुद्धि थापा

मैले चिनेको कलाकार बुद्धि थापा

समय कति बलवान् छ ! जसका कलाकृतिहरूबारे मैले ‘गोरखापत्र’ मा लामो लेख लेखेको थिएँ, २२ वर्षपछि उहाँसँगको जम्काभेटले मन निकै भावुक बनायो ।

भारतको नागाल्याण्डबाट आएर नेपाली कलाक्षेत्रमा आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड व्यतीत गर्नुभएका सिद्धहस्त कलाकार बुद्धि थापा आज अगाडि हुँदा पुराना दिनहरू फिल्मको रिलझैँ घुम्न थाले ।

खुसीसँगै एउटा पीडा पनि मिसिएर आयो– २०७२ सालको भूकम्पले नेपाल ललितकला संस्था (नाफा) को भवनसँगै उहाँले त्यहाँ छोडेर जानुभएका कैयौँ अनमोल चित्रहरू पनि सधैँका लागि सायद अस्ताएछन् । एउटा स्रष्टाका लागि आफ्ना सिर्जनाहरू यसरी गुम्नुको पीडा कति गहिरो हुन्छ, यी कुरा उहाँको मलिन अनुहारले बोलिरहेको थियो ।

तर, स्रष्टा जहाँ पुगे पनि उसको सिर्जना र सम्बन्ध कहिल्यै नमर्ने रहेछ । हाल आफ्नो जन्मभूमि नागाल्याण्डमा रहेर पनि कला साधना गरिरहनुभएका थापाजीसँगको यतिका वर्षपछिको यो भेट एउटा संयोग मात्र होइन, यो त रङ र शब्दहरूको एउटा पुनर्मिलन पनि हो ।

यो अत्यन्तै सुखद संयोग रहेछ । दुई दशकअगाडिको त्यो स्मृति र विशेषगरी २०६० सालको ‘आमा प्रकृति’ प्रदर्शनीको ऐतिहासिक पक्षलाई अहिले म कलाकार बुद्धि थापासँगको भेट र भलाकुसारीका पाटोलाई यहाँ उतार्दैछु ।

‘आमा प्रकृति’ शीर्षकमा उहाँले सिर्जना गर्नुभएका क्यानभासभित्र हराएका र भेटिएका रङहरू अनुभूतिका दस्तावेजहरू हुन् । समय एउटा यस्तो नदी हो, जसले कहिले मानिसलाई टाढा किनारमा पु¥याउँछ त कहिले स्मृतिहरूलाई बगाएर पुनः वर्तमानको आँगनमा ल्याइदिन्छ । करिब २२ वर्षअगाडि, २०६०।११।२३ मा जब कलाकार बुद्धि थापाले ‘आमा प्रकृति’ शीर्षकमा आफ्नो एकल कलाप्रदर्शनी गर्नुभएको थियो, सायद कसैले सोचेको थिएन— ती रङहरूले यति लामो समयपछि फेरि एउटा भावनात्मक पुलको काम गर्नेछन् ।

स्मृतिको दराजमा सुरक्षित एउटा ‘कटिङ’ र उहाँसँग यतिका वर्षपछिको अचानकको जम्काभेटले ती दिनतिर मलाई पु¥याउँछन् । नेपाल ललितकला संस्थाको स्टुडियोमा रातदिन नभनी उहाँ कुनै परम्परागत जातीय पहिरन लगाएकी ‘मोडेल’ लाई सामुन्ने राखेर कलाकर्ममा मग्न हुनुहुन्थ्यो । तर त्यो मोडेलबाट सिर्जित चित्रले परम्परा र आधुनिक कलाको मिठास चखाउँथ्यो । त्यही चित्र उहाँले आमा प्रकृतिमा समावेश गर्नुभएको थियो ।

धेरै समयपछि उहाँसँगको संवाद र त्यो पुरानो गोरखापत्रको ‘शनिबारीय’ अङ्कको कटिङ फेला पर्नु एउटा कागजको टुक्रा भेटिनु मात्र होइन, बरु एउटा सिङ्गो कालखण्डलाई पुनः जीवित तुल्याउनु हो । त्यतिबेला मैले उहाँका कलाकृतिहरूको गहिराइलाई शब्दमा उतार्दा जुन उत्साह थियो, आज त्यो कटिङ हेर्दा त्यही ऊर्जा पुनः फर्किएको महसुस हुन्छ । २०६० को त्यो समय, जब उहाँ नेपालमा कलाकर्मको उचाइमा हुनुहुन्थ्यो, ‘आमा प्रकृति’ मार्फत उहाँले प्रकृति र जननीबीचको जुन अटुट सम्बन्ध क्यानभासमा उतार्नुभएको थियो, त्यो आज पनि उत्तिकै सान्दर्भिक लाग्छ ।

हुन त कलाकार थापा विगत दुई दशकदेखि आफ्नो जन्मभूमि नागाल्याण्डमा हुनुहुन्छ, तर उहाँको कलाको एउटा ठूलो हिस्सा अझै पनि नेपाली माटोमा सुगन्धित छ । नेपालमा बसेर उहाँले गर्नुभएका ती पटक–पटकका एकल प्रदर्शनीहरूले नेपाली आधुनिक कलाको इतिहासमा एउटा इँटा थप्ने काम गरेका थिए । जन्मभूमिले मानिसलाई प्राण दिन्छ भने कर्मभूमिले पहिचान । उहाँको हकमा नेपाल त्यो कर्मभूमि थियो, जहाँ उहाँको कुचीले आफ्नो श्रेष्ठता प्रमाणित ग¥यो ।

‘स्रष्टा जहाँ पुगे पनि उसको सिर्जनाको जरो आफूले पसिना बगाएको माटोमै गाडिएको हुन्छ ।’ भन्ने तथ्य उहाँका कामले पुष्टि गर्दै आएका छन् । यसैबिच विनाशले मेटाउन नसकेको सम्बन्ध यहाँ तीतो सत्यको रूपमा पोखिन्छ । २०७२ सालको भूकम्पले ललितकला संस्थाको त्यो ऐतिहासिक भवन ध्वस्त पार्दा बुद्धिजीका कैयौँ अनमोल चित्रहरू पनि माटोमा मिसिए। कलाकारका लागि यो एउटा अपूरणीय क्षति हो । तर आज जब उहाँसँग कुराकानी हुन्छ र ती पुराना लेखहरू फेला पर्छन्, तब महसुस हुन्छ– भौतिक चित्रहरू नष्ट भए पनि स्रष्टाको विचार र उहाँले समाजलाई दिनुभएको योगदान कहिल्यै नष्ट हुँदैन ।

‘आमा प्रकृति’ शीर्षक आफैँमा एउटा दर्शन थियो । आज उहाँ आफ्नै जन्मभूमिको काखमा रहँदा, उहाँका तिनै ‘प्रकृति’ का रङहरूले हामीलाई विगतको त्यो स्वर्णिम समयसँग जोडेका छन् । २०८३ साल बैशाख १५ गते मंगलबार बिहानको त्यो कुराकानी र यो प्राप्त समाचारको अंशले एउटा कुरा प्रष्ट पारेको छः कला मर्छ भन्नु भ्रम मात्र हो; कला रूप बदल्छ र सम्झनाका माध्यमबाट सधैँ बाँचिरहन्छ ।

कलाकार बुद्धि थापालाई नागाल्याण्डको आँगनमा सम्झिरहँदा, उहाँले नेपाली कलालाई दिनुभएको त्यो अतुलनीय समय र २०६० को त्यो ‘आमा प्रकृति’ को प्रदर्शनी सधैँ एउटा मार्गदर्शक भएर रहनेछ । इतिहासका यी पानाहरूले भविष्यका कलाकारहरूलाई पनि यो सिकाउनेछन् कि– साँचो साधना कहिल्यै व्यर्थ जाँदैन ।

वास्तवमाकला भनेको सौन्दर्यको सुन्दर अभिव्यक्ति हो । कलाले आत्मा मात्र होइन, सिंगो समाजको हृदयलाई पनि उद्देलित गर्ने सामथ्र्य राख्छ। यी कलाका माध्यमद्वारा मान्छेले आन्तरिक मनको भावना पोख्ने गर्छ । वास्तवमा कलाले मानव जीवनलाई अनुभूति प्रदान गर्छ । कलाकारहरूले विभिन्न माध्यमबाट आफैँभित्र रहेको कौशललाई प्रकट गर्ने गर्छन् । यही प्रकटीकरणस्वरूप चित्रकलाको विकास र विस्तार भएको हो भन्ने कुरामा दुईमत छैन । हाम्रो देशको सन्दर्भमा हेर्दा पनि धेरै पुराना कलाका माध्यमहरूले ऐतिहासिक गरिमालाई जोगाउँदै आएका छन् ।

कलाकार बुद्धि थापाको पछिल्लो एक दशक कला प्रदर्शनतिर पनि रह्यो । भारतका विशेषतः नयाँदिल्लीमा उहाँले थुप्रै कलाप्रदर्शनी गर्ने अवसर पाउनुभयो । कलाकार्यशालामा सहभागीसमेत हुनुभयो । उहाँका चित्रकला सुन्दरताका साथै जीवन–दर्शनका विविध पक्षहरूले सुसज्जित हुने गर्छन् । उहाँ अध्यात्ममा पनि विश्वास गर्नुहुन्छ । फलतः उहाँका कलाले सौन्दर्यमय प्रस्तुतिको उपस्थिति जनाउने गर्छ । काममा उहाँको समर्पण हुँदा त्यसमा रङ, रेखा र भावनाको सन्तुलन निकै कलात्मक किसिमले समेटिएको हुन्छ ।

सौन्दर्य चिन्तनका साथ अनुभव सँगाल्दै आएका उहाँमा अनन्त सिर्जनाका दृश्यहरू उब्जनु स्वाभाविक हो । आफ्नो कलायात्राको करिब २१ वर्षको समयभित्र सिर्जना गरेका ५६ वटा भन्दा बढी कलाकृतिहरूको प्रदर्शनी दुई दशकअघि नै उहाँले नेपाल ललितकला संस्था, नेपाल आर्ट काउन्सिल ग्यालरीमा भएको थियो । धेरै नै मनमोहक र सुन्दर शैलीमा रहेका यी सिर्जनाहरूले धेरैको मन जित्न सफल भएका थिए । उहाँ कलाका माध्यमद्वारा बौद्धिक भावनाका वाणीहरू सार्वजनिक गर्ने गर्नुहुन्छ । कलामा यथार्थवादी शैलीका परिचय र शिल्पकलाको विशिष्टता भएका थुप्रै कलाहरू उहाँले सिर्जना गर्नुहुन्छ ।

प्रदर्शनीमा रहेका कलाहरू बुद्धि थापाका आफ्नै जीवनका जीवन्त अनुभूतिहरूका प्रतिविम्बहरू हुन् । कहिलेकाहीँ उहाँ मनभित्रको जीवन कल्पेर अनौठो शैलीमा ती सिर्जनालाई अघि सार्ने गर्नुहुन्छ । वास्तवमा नै उहाँ आफ्नो कल्पनामा फरक स्वभावका हुनुहुन्छ । उहाँ सानैदेखि कलाप्रति रुचि राख्ने र सिर्जनामा नै मन रमाउन चाहनुहुन्थ्यो । यही कारण उहाँ आज यसक्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँले आफ्नो सिर्जनाबाट हरेक क्षेत्रलाई प्रस्ट्याउन खोज्नुभएको छ । हरेक ठाउँ र हरेक कामका भित्री पक्षका गहिराइलाई केलाउने उहाँको चेष्टा सुन्दर लाग्छ । उहाँले रचना गर्नुभएका थुप्रै सिर्जनाहरूले जीवनका दर्शनलाई बुझाउने प्रयास गर्छन् । माध्यमका रूपमा उहाँ आफ्नो एउटै शैली र पद्धतिमा रम्ने गर्नुहुन्न । उहाँले आफ्ना कैयौँ कलाहरूमा फरक धार पनि खोजिरहनुभएको हुन्छ । जुन कुरा उहाँका हालैका सिर्जनाहरूमा स्पष्ट रूपमा पाउन सकिन्छ ।

वास्तवमा सिर्जना भनेको मानिसको कला र सोचाइको संयोजन हो । उहाँका कलाप्रदर्शनी उद्घाटन पनि निकै नै रोचक र भव्य रहेको थियो । कलाप्रति रुचि राख्ने धेरै व्यक्तित्वहरूको उपस्थितिमा यो कार्यक्रम सम्पन्न भएको थियो । यसले उहाँको आयस्रोत जुटाउन पनि मद्दत गरेको थियो ।

कलाकार बुद्धि थापाको कलामा एक खालको सौम्य र आध्यात्मिक अनुभूतिको आस्वादन गर्न पाइन्छ । यी बुद्ध, गणेश र महिला विषयक चित्रहरूमा र कतिपय अरू चित्रमा पनि शान्ति, सिर्जना र सौन्दर्यको संयोजन प्रस्टै देखिन्छ । केही चित्रहरू प्रकृति र दृश्यको पनि छ जसमा कलाकारको मिहिनेत झल्किन्छ । रङहरूको संयोजनमा उहाँ निकै पोख्त हुनुहुन्छ । आकृतिको संरचनामा पनि उहाँ निकै सिपालु देखिनुहुन्छ । कलाकारले हरेक सिर्जनामा आफ्नो आत्मशक्ति भरेका हुन्छन् । उहाँले आफ्नो सिर्जनामा शान्ति, माया र ममतालाई समेट्दै आउनुभएको छ ।

कलामा रङको प्रयोग विधि र आकृति संरचना नै सबैभन्दा महत्वपूर्ण पक्ष हो । कलाकार थापाले चित्रमा आफ्नै मौलिकता र सिर्जनशीलता देखाउन सफलता पाउनुभएको छ । रङको माध्यमबाट उहाँले जीवन र जगतलाई सुन्दर तरिकाले प्रस्तुत गर्नुहुन्छ । उहाँका सिर्जनामा रहेका विभिन्न पक्षहरूले दर्शकलाई एउटा छुट्टै संसारको अनुभूति दिलाउँछन् । कलाकार बुद्धि थापाको यो कला यात्रा अझै परिष्कृत र फलदायी हुँदै जाओस् भन्ने शुभकामना छ ।

यतिका वर्षपछिको भेट र भलाकुसारीमा मैले चिनको बुद्धि थापा उही र उस्तै स्वभावका हुनुहुन्थ्यो । तर उमेरले केही उकालो सिँढी चढाउँदा पहिलेको जस्तो मोडेल राखेर पोट्रेट बनाउन अब नसक्ने उहाँले बताउनुभयो । भित्तामा सजिएका आफ्ना चित्रतिर देखाउँदै उहाँले भन्नुभयो– “थकाल्नी, नेवार्नी, गुरुङ्नी, मगर्नी आदि महिलालाई उनीहरूकै पोशाक र गरगहनामा सजाएर लाइभ चित्र बनाउन अब म सक्दिनँ ।”

कलाकार बुद्धि थापाजीसँगको यो भेट मेरा लागि एउटा साहित्यिक र कलात्मक ऊर्जाको स्रोत बनेको छ । समयले उहाँका पुराना चित्रहरू खोसेर लगे पनि, उहाँको प्रतिभा र हाम्रो आत्मीयतालाई अझ प्रगाढ बनाएको छ । उहाँको आगामी कलायात्रा अझै मजबुत बनोस् र उहाँका कुचीहरूले फेरि नयाँ आशाका रङहरू छरिरहून् । उहाँप्रति यही मेरो हार्दिक शुभेच्छा छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.