केही दिनअघि बहिनी निर्मला धिताललाई भेट्न उनको निवासमा गएको थिएँ । टेबलमा दुईवटा पुस्तक रहेछन् —लक्ष्मी न्यौपानेको ‘ती चार दिन’ र मदन पुरस्कार विजेता राधा पौडेलको ‘अपवित्र रगत‘ । पल्टाएर हेरेको दुवै पुस्तक महिनावारीसँग सम्बन्धित विषयमा केन्द्रित रहेछन् । राधा पौडेलको नाम पहिलेदेखि सुनिरहेकाले ‘अपवित्र रगत’ प्रति मेरो विशेष ध्यान गयो । पुस्तक किन्नुपर्ला भन्ने सोच्दै गर्दा निर्मलाले आफूसँग दुई प्रति भएको भन्दै एउटा मलाई नै दिइन् । यसरी किन्नै नपरी पुस्तक पढ्ने अवसर मिल्यो र एकैदिनमा पढेर सकेँ पनि ।
२०५ पृष्ठको यस पुस्तकमा २८ वटा उपशीर्षकमार्फत महिनावारीसँग सम्बन्धित सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक पक्षहरूलाई उठाइएको छ । शुरूमा पुस्तक कुनै गैर सरकारी संस्थाको परियोजनामूलक अभियानको प्रभावमा लेखिएको हो कि भन्ने लागेको थियो । तर पढ्दै जाँदा विषय गहिरो, संवेदनशील र विचारोत्तेजक लाग्यो । उपन्यास जस्तै रोचक शैलीमा लेखिएको यस कृतिले पाठकलाई अन्तिम पृष्ठसम्म बाँधिराख्छ ।
राधा पौडेल महिनावारीका नाममा महिलामाथि गरिने विभेद र छुवाछुतविरुद्ध लामो समयदेखि सक्रिय अभियन्ता हुन् । अपवित्र रगत मूलतः त्यही अभियानको अनुभव, अध्ययन र अनुसन्धानको परिणाम हो । सबैले थाहा पाइरहेको भए पनि पुरुषहरूले प्रत्यक्ष अनुभव नगरेको र समाजले पर्याप्त रूपमा नबुझेको महिनावारीको विषयलाई उनले केन्द्रमा राखेकी छन् । महिनावारीप्रतिको भ्रमपूर्ण दृष्टिकोणका कारण महिलाहरूले युगौँदेखि भोग्दै आएका अपमान, विभेद र अवहेलनाका अनेक उदाहरण पुस्तकमा समेटिएका छन् ।
नर्सिङ विषयमा अध्ययन गरेकी लेखिकाले मानव शरीरको जैविक संरचना, प्रजनन प्रक्रिया र महिनावारीको वैज्ञानिक पक्षलाई सरल भाषामा व्याख्या गरेकी छन् । गर्भधारण, भ्रुण विकास र मातृत्वसँग प्रत्यक्ष सम्बन्ध रहेको महिनावारीलाई अपवित्र ठान्ने सामाजिक मान्यतामाथि उनले गम्भीर प्रश्न उठाएकी छन् । जीवनको आधार बन्ने प्रक्रियालाई अपवित्र भन्नु स्वयंमा विरोधाभासपूर्ण सोच भएको उनको तर्क छ ।
लेखिकाका अनुसार महिनावारीका बेला महिलाले छुन नहुने कुनै वैज्ञानिक, भौतिक वा आध्यात्मिक आधार छैन । धार्मिक ग्रन्थहरूमा समेत देवी पार्वती, सीता वा सावित्रीलाई महिनावारीका कारण बहिष्कार गरेको कतै उल्लेख नभएको तथ्य प्रस्तुत गर्दै उनले प्रचलित मान्यतामाथि प्रश्न गरेकी छन् । यस विभेदलाई निरन्तरता दिन पुरुष मात्र होइन, महिलाहरू स्वयंले पनि पुस्तौँदेखि यसलाई पापको परिणामका रूपमा स्वीकार्दै आएको मनोविज्ञान जिम्मेवार रहेको उनको निष्कर्ष छ ।
पुस्तकमा लेखिकाको व्यक्तिगत जीवन, परिवार र समाजका अनुभवहरूका साथै देशका विभिन्न समुदायमा विद्यमान महिनावारी सम्बन्धी अभ्यासहरूको चित्रण गरिएको छ । पहिलो पटक महिनावारी हुँदा आफू, आफ्नी दिदीहरू र अन्य किशोरीहरूले भोग्नुपरेको मानसिक तनाव, अपमान र सामाजिक अलगावका प्रसङ्ग मार्मिक छन् । पश्चिम नेपालका छाउपडी गोठमा ज्यान गुमाएका महिलाहरू, गुफा वा गोठमा बस्न बाध्य हुँदा हिंसा र यौन दुर्व्यवहारको शिकार भएका घटनाहरूले समस्या कति गम्भीर छ भन्ने देखाउँछन् ।
पुस्तक पढ्दै जाँदा महिनावारीका कारण हाम्रा हजुरआमा, आमा, दिदीबहिनी, श्रीमती र छोरीहरूले भोगेका पीडाका अनेक रूपहरू देखिन्छन् । समाजको आधा हिस्साले भोगिरहेको यस्तो विभेदले समग्र समाजलाई नै कमजोर बनाइरहेको छ भन्ने लेखिकाको दाबी विचारणीय छ ।
पुस्तक पढिसकेपछि मलाई लाग्यो— मानव समाजको निरन्तरताका लागि प्रकृतिले महिलालाई दिएको महिनावारी जस्तो महत्त्वपूर्ण जैविक प्रक्रियालाई हामीले गलत सामाजिक अवधारणा र अन्धविश्वासका कारण अभिशाप जस्तो बनाएका रहेछौँ । आज पनि धेरै समुदायमा महिनावारी भएकी महिलालाई अछुत सरह व्यवहार गरिन्छ । पानी, भान्सा, पूजा, मन्दिर, संस्कार र सामाजिक गतिविधिबाट टाढा राख्ने अभ्यास विभिन्न रूपहरूमा अझै जीवित छ ।
महिनावारीलाई प्राकृतिक, नियमित र सकारात्मक जैविक प्रक्रियाका रूपमा बुझ्नुपर्ने आवश्यकता पुस्तकले जोडदार रूपमा उठाएको छ । महिलाहरू पछाडि पर्नुका अनेक कारणमध्ये महिनावारीसँग जोडिएको विभेद पनि एउटा महत्त्वपूर्ण कारण हुन सक्छ । यद्यपि यो परम्परालाई टिकाइराख्न महिलाहरू स्वयंको भूमिका समेत रहेको लेखिकाको विश्लेषण यथार्थपरक लाग्छ । त्यसैले, परिवर्तनका लागि महिलाहरू आफैँ सचेत हुनु आवश्यक छ भन्ने उनको सुझाव सान्दर्भिक छ ।
यद्यपि, यस अभियानमा पुरुषहरूको भूमिका अझ प्रभावकारी रूपमा जोड्न सकिएको भए पुस्तक थप सशक्त बन्ने थियो भन्ने लाग्छ । समाजको आधा हिस्सा पुरुष रहेको अवस्थामा उनीहरूलाई सहयात्री नबनाई दीर्घकालीन सामाजिक परिवर्तन सम्भव हुँदैन । लेखिकाले केही ठाउँमा पुरुषको भूमिकाबारे चर्चा गरेकी भए पनि त्यो पक्ष अझ बिस्तार हुन सक्थ्यो ।
यी सीमित पक्षहरूका बाबजुद ‘अपवित्र रगत‘ समस्या पहिचान गर्न, त्यसको ऐतिहासिक र सामाजिक पृष्ठभूमि बुझाउन तथा बहसको वातावरण निर्माण गर्न सफल पुस्तक हो । यो सबैले एकपटक पढ्नैपर्ने कृति हो ।
इतिहास हेर्दा सतीप्रथा, दासप्रथा, जातीय छुवाछुत र विधवामाथिका विभेदहरूको अन्त्यका क्रममा समाजमा ठूलो विरोध र तरङ्ग उत्पन्न भएको थियो । तर आज ती अभ्यासहरू अन्यायपूर्ण थिए भन्ने कुरा समाज र राज्य दुवैले स्वीकार गरिसकेका छन् । महिनावारी सम्बन्धी छुवाछुतका विषयमा पनि अहिले विवाद र प्रतिरोध देखिएला, तर ढिलोचाँडो समाजले यसलाई परित्याग गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।
हामीले परम्परागत मान्यतालाई विवेक र तर्कको कसीमा परीक्षण गर्न सिक्नुपर्छ । अन्धविश्वास र अवैज्ञानिक सोचले समाजलाई पछाडि धकेल्छ । वैज्ञानिक चेतना, तार्किक सोच र मानवीय दृष्टिकोणको विकासका लागि यस्ता विषयहरूमा खुला बहस आवश्यक छ । महिनावारी सम्बन्धी बहस पनि त्यही दिशातर्फको महत्त्वपूर्ण कदम हो ।
विशेष गरी पुरुषहरूका लागि यो पुस्तक पढ्नु भनेको जीवनको एउटा महत्त्वपूर्ण पक्ष बुझ्नु हो । समाजको आधा हिस्साले भोगिरहेको यथार्थप्रति संवेदनशील बन्नु हो । त्यसैले म महिला, पुरुष, युवा र वृद्ध सबैलाई यो पुस्तक एकपटक अवश्य पढ्न आग्रह गर्दछु । यस्तो महत्त्वपूर्ण विषयलाई साहसपूर्वक उठाएर समाजलाई सोच्न बाध्य बनाएकोमा लेखिका राधा पौडेललाई हार्दिक बधाई ।

