साहित्यपोस्ट डट कम

महेन्द्र नेउपानेको ‘चुनावी सेरोफेरो’ सार्वजनिक

महेन्द्र नेउपानेको ‘चुनावी सेरोफेरो’ सार्वजनिक

भक्तपुर । लघुकथाकार महेन्द्र नेउपानेको दोस्रो लघुकथासङ्ग्रह ‘चुनावी सेरोफेरो’ सार्वजनिक भएकाे छ । सिर्जना अभियान समाजद्वारा आयोजित कार्यक्रममा सभाध्यक्ष ध्रुव मधिकर्मी, प्रमुख अतिथि डा. पुष्करराज भट्ट, विशिष्ट अतिथिद्वय डा. हरिप्रसाद भण्डारी र लता के.सी. तथा कृतिकार नेउपानेले संयुक्त रूपमा कृतिको सार्वजनिक गर्नुभएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि डा. भट्टले समकालीन लघुकथाको प्रवृत्तिबारे चर्चा गर्दै एकल विषयमा आधारित कृतिको प्रकाशन बढ्दै गएको उल्लेख गर्नुभयाे । उहाँले यस्ता कृतिले समयका विविध पक्षलाई समाजमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयाे ।

कृतिमाथि समीक्षा प्रस्तुत गर्दै डा. भण्डारीले ‘चुनावी सेरोफेरो’ शीर्षक सार्थक रहेको बताउँदै निर्वाचन २०८२ को परिवेशलाई सान्दर्भिक र रोचक ढङ्गले प्रस्तुत गरिएको उल्लेख गर्नुभयाे । उहाँले कृतिमा व्यङ्ग्य, प्रतीक, स्वैरकल्पना र संवादको प्रभावकारी प्रयोग भएको धारणा राख्नुभयाे ।

विशिष्ट अतिथि लता के.सी.ले कृतिकारको लेखनशैलीप्रति प्रशंसा व्यक्त गर्दै छोटो समयमै दुई कृति प्रकाशन गर्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयाे ।

कृतिकार नेउपानेले चुनाव घोषणा देखि मतदानसम्मका घटनालाई समेटेर ५९ लघुकथामार्फत कृतिलाई दस्तावेजका रूपमा प्रस्तुत गर्ने उद्देश्य रहेको बताउनुभयाे । उहाँले पाठक तथा समीक्षकबाट प्रतिक्रिया अपेक्षा गरेको पनि उल्लेख गर्नुभयाे ।

कार्यक्रममा शान्ता तिम्सिना र प्रार्थना खनालले कृतिबाट लघुकथा वाचन गर्नुभएकाे थियाे । समापनका क्रममा सभाध्यक्ष मधिकर्मीले कृतिमा समेटिएका विषयहरू वर्तमान मात्र नभई भविष्यसँग पनि जोडिएको टिप्पणी गर्नुभयाे ।

कार्यक्रमको सञ्चालन लक्ष्मी वैद्यले गर्नुभएकाे थियाे । कार्यक्रममा विभिन्न स्रष्टा, पाठक तथा साहित्यप्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.