साहित्यपोस्ट डट कम

महायुग : पृथ्वीका सम्पूर्ण नारीहरूको बाँच्ने आधार (नवपुस्ता/पाठक प्रतिक्रिया)

महायुग : पृथ्वीका सम्पूर्ण नारीहरूको बाँच्ने आधार (नवपुस्ता/पाठक प्रतिक्रिया)

ओखलढुङ्गामा जन्मिएर विराटनगरलाई कर्मथलो बनाएकी सीमा आभास, विद्रोही चेतमा रहेर समाजमा सीमान्तीकृत आवाजलाई आफ्नो लेखनमा मुखरित गर्ने लेखक हुन् । महायुग उनको चौथो कृति हो भने पहिलो उपन्यास हो । भर्खरै मैले उपन्यास महायुग पढेर सकेँ । यो उपन्यास पढेलगत्तै मेरो मष्तिष्कमा हलचल मच्चिएको छ । मेरो भित्री शक्तिलाई नै जागरुक बनाइदिएको छ । यस उपन्यासमा एउटा लाइन भेटेकी थिएँ, “जिन्दगीले त सुर्तीले भन्दा बढी रिङ्गटा चलाउँछ ।” यतिबेला मलाई महायुगले नराम्रोसँग रिङ्गटा चलाइरहेको छ ।

कभरको डिजाइन नै बडो शक्तिशाली छ । हाम्रो जस्तो पुरुषप्रदान समाजमा खुलेआम, सबैले देख्ने गरी नारीलाई इङ्गित गर्ने किसिमको चित्रित कभर डिजाइन गर्न सक्नु नै लेखकमा ठूलो साहस, हिम्मत भएको देखिन्छ । यसका लागि लेखकलाई सलाम गर्न चाहन्छु । उपन्यासको कभर र नामले नै पुस्तकभित्र के छ भनेर सजिलै अनुमान लगाउन सकिन्छ । स्त्रीयुग – महायुग ।

जब कथामा प्रवेश गरेँ, गरिबीको पनि गरिबी, निरिहको पनि निरिह, असहायको पनि असहाय जीवन देख्दा आफैँभित्र निसासिन पुगेँ । खोलाको किनारमा छाप्रा हालेर बसेका एकल महिलादेखि फुटपाथमा ठेला व्यापार गरेर बसेका एकल महिलाका कथाले निकै भावुक बनायो । आफ्नो सन्तानको खुशीका लागि, आफ्नो सन्तानको सुन्दर भविष्यका लागि कतै आमाहरू आफैँलाई बेचिरहेको देखेँ, कतै आमाहरूले आफ्नो खुशी, सपना, आत्मसम्मान तिलाञ्जली दिएको देखेँ । समाजले महिलालाई जतिसुकै कमजोर देखाए पनि, निकै तल गिरेर सुन्नै नसकिने नाम, सर्वनाम, उपनाम भिराइदिए पनि चिल्ला गाडी चढ्ने मन्त्रीदेखि लिएर, मगमग अत्तर मगमगाउने धनाढ्यसम्मका पुरुषलाई एकान्तमा तिनै महिला नभई नहुने रहेछन् । खुलेआम भीड, मासमा ती महिलालाई चिन्दैनन् ती पुरुषहरू । तर चन्द्रमाको प्रकाशमा तिनै महिलाको समीपमा पुग्छन् । लोभलालचको भाषा बोकेर, डर धम्कीको भाषा लिएर पहिराइदिन्छन् महारानीको ताज । दिन्छन् प्राणको संज्ञा । मन भरेसँगै बिलाइजान्छन् रातो घामसरि ।

पैसासँग सपना किन्नेहरू, पैसासँग शरीर साट्नेहरू, पैसाकै पावरमा दुनियाँ हल्लाउनेहरू डराउँदारहेछन् स्त्रीको पाठेघरसँग । तर्सिदारहेछन् पाठेघर बोकेका स्त्रीहरूसँग । तिनीहरूलाई लाग्दो हो, “ती स्त्रीहरू आफैँमा एटम बम बोकेर हिँडिरहेका छन् ।” उनीहरूलाई डर छ कतिबेला आफैँमाथि पड्कने हो । त्यसकारण गल्ली गल्ली, चोक चोक भौँतारिहन्छन्, खोजिरहन्छन् पाठेघर बोकेका स्त्रीहरू । काठमाडौंले मान्छेका दु:ख, आँशु मात्र निल्दैन । काठमाडौंले निरीह नारीहरू निल्छ, अबोध बालबालिकाहरू निल्छ । महायुग पढिरहँदा, अझ भन्नुपर्दा “मान्छेको व्यापार ” भित्र प्रवेश गरेपछि कताकता अस्ति भर्खरै मात्र विश्व हल्लाएको, विश्वका ठूला ठूला मानिसहरू सामेल भएको काण्ड एप्स्टिन फाइलको झल्को दिलायो । एप्स्टिन काण्ड त संसारको जुनैसुकै कुनामा फस्टाएको रहेछ । स्त्रीकुचालहरू त अझै ती शक्तिशाली मानिसहरू, धनाढ्यहरू, पैसाको बन्डल बन्डलमा, आदर्शको खोल ओढ्ने नकावधारीको नशा नशामा बग्दो रहेछ । यो कुरा महायुगले छर्लङ्ग पारेको छ । महायुगले सम्पूर्ण स्त्रीहरूलाई आव्हान गरेर स्त्रीकुचालको लोभलालचमा नपर्न सतर्क गराएको छ । साथै आफूभित्र भएको शक्तिलाई चिनेर जगाउन मदत गरेको छ । यस उपन्यासले जगतका सबै नारीहरूलाई भित्रैबाट आफूलाई बलियो राख्न सन्देश प्रवाह गरेको छ । हामी नारी कहीँ कतैबाट पनि कमजोर छैनौँ भन्ने प्रमाण नै “महायुग” हो । यस उपन्यासमा खुलेर प्रकृतिको प्रशंसा गरिएको छ । वर्णात्मक प्रकृतिको सौन्दर्यले म पनि बेला बेला हराइरहेँ । यसका लागि पनि लेखकलाई हार्दिक आभार ।

उपन्यासको अन्त्यतिर आउँदा केही कुरामा चित्त बुझाउन निकै गार्हो पर्यो । सांसारिक जीवनबाट शुरु भएका वेदनाका कथाहरूले कति बेला न्याय पाउँछन् भनेर पर्खंदा पर्खंदै कथा दर्शनतिर गएर मोडियो । जुन पुरै काल्पनिक लाग्यो । कति कुराहरू पत्याउनै मुस्किल पर्यो । जति पढ्दै गएँ, उति नै कहिले विद्यालयतिर पढेको “जुजुमान” सम्झेँ, कहिले राधा सम्झेँ, कहिले महाभारत सम्झेँ, कहिले स्वस्थानी सम्झेँ । दु:ख, आँशु, पीडा समस्या तथा यस्ता भोगाइहरू यो वैज्ञानिक युगमा पनि दर्शन, तन्त्र, मन्त्रबाट समाधान गर्न सकिन्छ होला त ? यो त मनको लड्डु घ्यूसँग खाए जस्तो भएन र ! मलाई यस कुराले खुब चिमोटिरह्यो । अन्त्यमा बिट मार्ने ठाउँ धेरै हुँदा हुँदै पनि एउटै कुरालाई धेरैतिरबाट घुमाएर अर्थाइएको छ । जसले गर्दा कथालाई बिनाकारण तन्काइएको जस्तो भान भयो । कथाको मुख्य विषयवस्तुमा केन्द्रित भई कथालाई चटक्क पारी बिट मारिदिएको भए किताब केही पातलो हुन सक्थ्यो कि ! जसले गर्दा पाठकलाई पढ्नका लागि धेरै समय खर्चिनुपर्ने थिएन भन्ने लाग्यो । हुन त लेखक, पाठक अनुरूप वर्गीकरण हुनुहुँदैन । मैले आफ्नो धारणा मात्र राखेकी हुँ । समग्रमा “महायुग” निकै शक्तिशाली उपन्यासको रुपमा उभिन सफल भएको छ । “महायुग” पृथ्वीका सम्पूर्ण नारीहरूको बाँच्ने आधार बनेको छ । सुन्दर कृतिकालागि लेखक सीमा आभासलाई हृदयदेखि नै हार्दिक बधाई तथा शुभकामना छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.