साहित्यपोस्ट डट कम

महर्षि दधीचको हड्डी : देवराज इन्द्रको वज्र

महर्षि दधीचको हड्डी : देवराज इन्द्रको वज्र

ॐ नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।

देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।

सत्ययुगको कुरो हो । त्यस बखत दैत्यगणका धेरै भयंकर दलहरू कालिकेयका नामले कुख्यात थिए । ती अत्यन्त क्रूर स्वभावका थिए, मदोन्मत्त भएर लडाईं गर्दथे । ती सबै मिलेर एकपल्ट दानवाधिपति वृत्रासुरको सेनापतित्वमा स्वर्गका राजा इन्द्रसँग लडाईं गर्न तम्तयार भए र सकल देवगणमाथि एक्कासि चारैतिरबाट खनिन थाले । वृत्रासुर जब्बर बलियो, अपार राक्षसी शक्तिले मन्मत्त, प्रचण्ड प्रहारक थियो, उसका आगे देवताहरूको केही जोर चल्नेवाला थिएन । उसले घातक प्रहार गरेर देवताहरूलाई सोत्तर पार्न थाल्यो । आखिर सकल देवगण भयभीत भएर त्राहि माम् ! गर्दै देवराज इन्द्रलाई अगुवा बनाएर ब्रह्माजीका शरणमा पुगे र शिर निहुराएर चूपचाप खडा भए ।

जगत् सृष्टिकर्ता अन्तर्यामी ब्रह्माजीले भन्नुभयो :

तिमीहरू यहाँ किन आएका हौ भन्ने कुरा मैले राम्ररी बुझेको छु । म तिमीहरूलाई एउटा यस्तो उपाय बताउँछु जसले तिमीहरूको काम फत्ते हुनेछ, अर्थात् वृत्रासुरको इतिश्री हुनेछ । तिमीहरू यहाँबाट सोझै दधीच नाम भएका अत्यन्त उदारमना विख्यात महर्षिकहाँ जाओ र एकसाथ वर माग । जब उहाँ वर दिन तत्पर हुनुहुनेछ, अनि तिमीहरूले एकस्वरमा भन्नू :

हे महात्मन्, तीनै लोकको हितका लागि हजुरले आफ्नो शरीरको हड्डी प्रदान गर्नुहोस् । तिमीहरूले मागिसकेपछि उहाँले लोककल्याणार्थ आफ्नो शरीरको त्यागपूर्वक तिमीहरूलाई हड्डी दिनुहुनेछ । त्यसबाट तिमीहरूले अत्यन्त कठोर एवं घातक भयंकर वज्रको निर्माण गर्नू । त्यसको आकृति षट्कोणयुक्त हुनेछ, त्यो घनघोर शत्रुनाशक अस्त्रबाट भयंकर गडगडाहट प्रकट हुनेछ । त्यसै वज्रको प्रहारद्वारा देवराज इन्द्रले वृत्रासुरको वध गर्नेछन् । ल, अब झट्टै गइहाल !

लोकपिता ब्रह्माजीको आज्ञा शिरोपर गरी सकल देवगण भगवान् नारायणलाई अघि लगाएर दधीच ऋषिको आश्रममा पुगे ।

त्यो रमणीय आश्रम सरस्वती नदीको पारिपट्टि थियो । प्रशस्त हरितिमा–सम्पन्न परिपूर्ण लताकुञ्ज एवं विशाल वृक्षावलीले घेरिएको सो आश्रममा परिमल–सम्पुष्ट फलफूलहरूका वरिपरि घुम्ने भ्रमरदलको भुनुनुनु यसरी गुँजिरहेको थियो यस्तो लाग्दथ्यो– त्यहाँ सामगानमा कुशल ब्राह्मणवटुहरूले सस्वर सामवेद गाइरहेका पो हुन् कि ? मादक स्वरले सम्पन्न कोइलीका कुहूँ कुहूँ कलरवले कूजित र आश्रमवासी वन्यजन्तुहरूका विविध आवाजहरूले परिपूर्ण त्यो आश्रम अत्यन्त सजीव लाग्दथ्यो । जंगली अर्ना, वराह, बालमृग र चौरी गाईहरू सिंह, बाघ, भालुहरूदेखि निर्भय भएर त्यस आश्रमपरिसरमा विचरण गरिरहेका थिए । वास्तवमा दधीच ऋषिका महान् तपका प्रभावले त्यहाँ क्रूर र घातक स्वभावका पशुहरूमा पनि वैरभाव हराइसकेको थियो । उन्मत्त गण्डस्थलबाट मदजल–धाराप्रवाह छुटिरहेका गजराज र तिनका ढोईहरू विशाल सरोवरमा डुबुल्की मारिरहेका थिए जसले आश्रममा एक किसिमको कोलाहल जस्तो पनि सुनिन्थ्यो जो नितान्त प्राकृतिक थियो । पर्वतका गुफाहरूमा सुतिरहेका, झाडीहरूमा र वनमा घुमिरहेका सिंह र बाघहरूका गर्जनाले त्यो आश्रम गुञ्जायमान थियो । प्रकृति–सम्पदाले सुसम्पन्न एवं विराट् फल–पुष्प–सम्पदाले अत्यन्त मनोरम सो आश्रम स्वर्गको नन्दन वनतुल्य प्रतीत हुन्थ्यो ।

भगवान् विष्णुको अनुगमन गर्दै सकल देवताहरू त्यहाँ आइपुगे र देखे : महर्षि दधीच स्वयं मरीचिमाली सूर्यसमान तेजःपुञ्जले प्रकाशित एवं दिव्य वपुःकान्तिले देदीप्यमान हुनुहुन्छ । उहाँका सामू पुगेर समस्त देवगणले चरणमा प्रणाम गरिसकेपछि ब्रह्माजीले सिकाएअनुसार वर मागे । तिनका कुरा सुनेर प्रसन्नात्मा महर्षि दधीचले भन्नुभयो :

ततो दधीचः परमप्रतीतः

सुरोत्तमांस्तानिदमभ्युवाच ।

करोमि यद् वो हितमद्य देवाः

स्वं चापि देहं स्वयमुत्सृजामि ।। (महाभारत, वनपर्व, १००/२१)

हे देवगण ! आज म त्यही कर्म गर्दछु जसले तपाईंहरूको हित होस् । यस विनश्वर शरीरलाई म स्वयं परित्याग गर्दछु ।

स एवमुक्त्वा द्विपदां वरिष्ठ

प्राणान् वशी स्वान् सहसोत्ससर्ज ।

ततः सुरास्ते जगृहुः परासो–

रस्थीनि तस्याथ यथोपदेशम् ।। (अध्याय १००/२२ श्लोक)

यति भनिसकेर मानवोत्तम जितेन्द्रिय तपोमूर्ति महर्षि दधीचले समाधिद्वारा सहसा आफ्ना प्राणगणलाई त्याग गरी तेजोमय आत्मस्वरूपलाई परमात्मामा एकीभूत गर्नुभयो । देवगणले पनि ब्रह्माजीका निर्देशानुसार नै महर्षि दधीचका हड्डीहरू ग्रहण गरी सहर्ष प्रस्थान गर्‍यो ।

विजयाकांक्षी देवगण सोझै त्वष्टा प्रजापतिसमक्ष पुग्यो र आफ्नो प्रयोजन स्पष्ट गर्‍यो । देवगणको कल्याणार्थ एकाग्रचित्त बनी यत्नपूर्वक त्वष्टाले पूर्ववर्णित भयंकर वज्रको निर्माण गरे र अन्त्यमा देवराज इन्द्रलाई सम्बोधन गर्दै भने :

हे देवराज, लु, यो उत्तम वज्र तैयार भयो । अब झट्ट गएर त्यस भयंकर देवद्रोही उन्मत्त दानव वृत्रासुरलाई वज्रप्रहारद्वारा भस्म गराउनुहोस् र आफ्ना उग्र शत्रुलाई संहार गरेर समस्त देवगणका साथ ढुक्कसँग स्वर्गको साम्राज्यसुख हासिल गर्नुहोस् ।

प्रसन्नतासाथ इन्द्रले त्यो वज्र हातमा लिए र समस्त देवगणको घेरामा सुरक्षित भएर सरासर त्यस दानवाधिपति वृत्रासुरका समक्ष पुगे, जो समस्त भूलोकका साथ अन्तरिक्षलोक समेत कब्जा गरेर खडा भएको थियो । कालकेय नामको विशालाकार दैत्यगण हातमा घातक हतियार लिएर पर्वताकार बनी वरिपरि घेरा हालेर बसेको थियो ।

इन्द्रलाई देख्नासाथ सकल दानवगण देवगणमाथि खनियो । दुवैपक्षको घमासान युद्ध दुई घडीसम्म यस्तरी चल्यो– जसले तीनै लोकमा त्राहि माम् मचियो । एक अर्काले प्रहार गरेका हतियारहरू आपसमा टकराएर चूर चूर हुन्थे जसबाट उठेको भयानक आवाजले तीनै लोक थर्किन्थ्यो । दुवै पक्षका योद्धाहरूका काटिएर उछिट्टिएका शिरहरू यस्ता लाग्दथे मानौं अग्लो रुखबाट खसेका तालका फलहरू पो हुन् कि ! तिनको विकट वर्षाले रणभूमि आच्छन्न भयो । कालकेयगण स्वर्णकवच पहिरिएर सुशोभित देवगणमाथि जब धावा गर्न थाल्यो, त्यसवेला दानवगण दावानलले ग्रस्त पर्वतजस्तो प्रतीत हुन्थ्यो । मदोन्मत्त दानवगणको असह्य वेगलाई थाम्न नसकेर देवगणका योद्धाहरू चारैतिर कुलेलम ठोक्न थाले । यसरी रणमैदान छोडेर जताततै कुद्न लागेका देवताहरू देखेर सहस्रनेत्र देवराज इन्द्रको होश हराउन थाल्यो । अन्त्यमा झट्ट गएर भगवान् विष्णुका शरणमा उनी पुगे । इन्द्रले हरेस खाएको देखेर भगवान् विष्णुले उनीमाथि आफ्नो दिव्यतेज स्थापित गरिदिनुभयो । समस्त देवगणले देवराज इन्द्र विष्णुतेजद्वारा आलोकित देखे । तत्पश्चात् शुद्ध अन्तःकरण भएका ब्रह्मर्षिगणले पनि आ–आफ्नो तेजोराशिले इन्द्रलाई प्रदान गरे । सारा देवगणको तेजोबल प्राप्त गरी देवराज इन्द्र अत्यन्त बलशाली एवम् तेजोमय बन्न पुगे ।

अचानक इन्द्र बलशाली बनेको देखेर क्रोधले आगो बनेको वृत्रासुरले भयंकर सिंहनाद गर्न लाग्यो । त्यसको भयानक आवाजले तीनै लोक थरर्र काम्न लाग्यो । देवराज इन्द्रको मन पनि डावाँडोल भयो, खपिनसक्नु उत्पात हुन लागेपछि इन्द्रले त्वरित गतिका साथ आत्तिँदै उही भयंकर घातक महान् वज्र जोडका साथ वृत्रासुरमाथि प्रहार गरे । असह्य तेजले देदीप्यमान त्यो घातक वज्र वृत्रासुरमाथि भयंकर आवाजका साथ वज्रिन पुग्यो । स्वर्णमालाधारी त्यो घनघोर वृत्रासुर वज्र लाग्नासाथ पुराकालमा विष्णुका हातबाट छुटेको महान् पर्वत मन्दराचल लडे झैं भयंकर आवाजका डङ्रग जमिनमाथि लड्न पुग्यो । उसको प्राणपखेरु तत्काल उडिगयो ।

महादैत्य वृत्रासुर मारिएपछि पनि डरका मारे इन्द्र महाराज ज्यान जोगाउन भनी विशाल सरोवरमा हाम्फाल्न भनी दौडिन लागका थिए । वृत्रासुरका डरले उनलाई होशै भएनछ कि कहिले उनका हातबाट वज्र हुत्तियो र कहिले वृत्रासुरको प्राणपखेरु उड्यो । पछि सारा देवगणले हर्षोल्लासका साथ जयकार गर्न थालेपछि पो उनलाई होश आयो, अनि बल्ल हाम्रो जीत भएछ ! भनी उनी आश्वस्त भए ।

सबै देवगण मिलेर हर्षोल्लासका साथ देवराज इन्द्रको स्तुतिगान गर्न थाले । त्यसपछि सेनापति मारिएर तितर बितर बनेका वृत्रासुरका अनुगामी सैन्यदलमा रहेका समस्त दानवगणलाई सकल देवताहरू मिलेर ध्वस्त पारे । बाँकी रहेका दानवगण भयातुर हुँदै समुद्रमा हामफालेर ज्यान जोगाउन थाल्यो ।

….

यसरी समस्त देवगणको भयंकर शत्रु असुरराज वृत्रासुरको अन्त्य त भयो, तैपनि समस्याको पूर्ण समाधान भने अझै भइसकेको थिएन । किनभने दानवहरू निमिट्यान्न भएका थिएनन् । तिनले ज्यान जोगाएका थिए र फेरि अर्को उत्पात मच्चाउने धन्दामा लागेका थिए । विशालाकार मत्स्यगण र डरलाग्दा गोहीहरूले व्याप्त महासागरमा प्रवेश गरेका ती दानवहरू अब यस पराजयको कसरी बदला चुकाउने, कसरी पुनः त्रिलोकीलाई त्राहि माम् पार्ने भनेर गम्भीर रूपले सरसल्लाह गर्न लागका थिए । उत्ताल तरंगले परिपूर्ण वरुणदेवको निवासस्थल रत्नाकर महासमुद्ररूपी सुरक्षित वासस्थान पाएर दानवहरू त्यसैगरी ढुक्क परेका थिए जसरी बलियो किल्ला बनाएर बसेको सैन्यसमूह ढुक्क परेको हुन्छ ।

….

महाभारतको वनपर्वमा आधृत

मातातीर्थ अमावस्या, २०८३ वैशाख ४ गते शुक्रवार

ॐ अक्षरालयः ।

साझा गर्नुहोस्:
डा. सनतकुमार वस्ती

लेखकको बारेमा

डा. सनतकुमार वस्ती

भाषासेवी तथा साहित्यकार

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.