साहित्यपोस्ट डट कम

महर्षि अगस्त्य : २

महर्षि अगस्त्य : २

दितिपुत्र दानवराज इल्वल मणिमती नगरीमा बस्दथ्यो । उसको भाइ थियो वातापि ।

एकपल्ट इल्वलले एक जना तपस्वी ब्राह्मणलाई भन्यो : हे ब्राह्मण महाराज, मलाई एक यस्तो पुत्र दिनुहोस् जो इन्द्रसमान पराक्रमी होस् ।

ती ब्राह्मणदेवले दुष्टस्वभाव भएको दानवलाई त्यस्तो वरदान दिन इन्कार गरे । अनि त त्यो दानव इल्वल तिनीमाथि अत्यधिक कुपित भयो । त्यति मात्र कहाँ हो र ? समस्त ब्राह्मणजातिको नै ऊ दुश्मन हुन पुग्यो र सबैको क्रूरतापूर्वक हत्या गर्न लाग्यो ।

उसको क्रूरताको नमूना पनि अनौठो नै थियो । ऊ मायावी दानव थियो । आह्ना मायाको प्रयोग गरेर ऊ आफ्नो भाइ वातापिलाई पलभरमै भेडो/बाख्रो बनाइदिन्थ्यो । अनि त्यसको वध गरेर, त्यसको मासु पकाएर अतिथि ब्राह्मणहरूलाई खान दिन्थ्यो । सबैले भोजन गरिसकेपछि भन्थ्यो : भाइ वातापि, बाहिर आऊ !

दानवराज इल्वलमा एउटो अचम्मको सिद्धि थियो : ऊ मरेर गइसकेका प्राणीलाई पनि जब बोलाउँथ्यो त्यो प्राणी फेरि पुनर्जीवित भई शरीर धारण गरेर त्यहाँ प्रकट हुन्थ्यो । त्यही सिद्धिका बलले जब ऊ भाइलाई बोलाउँथ्यो अनि, ती ब्राह्मणहरूको भुँडी फोरेर पलभरमै ‘हजुर दाजु !’ भन्दै वातापि प्रकट भइहाल्दथ्यो । यसरी बडो क्रूरतापूर्वक इल्वलले धेरै ब्राह्मणहरूको हत्या गरिसकेको थियो ।

….

अहिले त्यही दैत्यराज इल्वलका अतिथि बन्न आइपुग्नुभएको थियो स्वयं महर्षि अगस्त्य, र उहाँका साथमा थिए तीन राजा : श्रुतपर्वा, ब्रह्मध्न र त्रसदस्यु । आफ्नो नानीदेखि लागेको बानी अनुसार इल्वलले यी सबैलाई एकै पटकमा सखाप पार्न भनेर आफ्नो भाइ वातापिलाई भेडो बनाइदियो, अनि त्यसैको वध गरेर तैयार पारिएको स्वादिष्ट व्यञ्जन आफ्ना पूजनीय अतिथिगणका सामू पस्किदियो र आदरका साथ मुस्कुराउँदै भान्सा तयार भयो भनेर खान आग्रह गर्न लाग्यो । यो सबै बीभत्स दृश्य प्रत्यक्षदर्शी बनेर टुलुटुलु हेरिरहेका अतिथि राजाहरू घीनले बेहोशै भइसकेका थिए । तर महर्षि अगस्त्यले तिनलाई आश्वस्त तुल्याउँदै भन्नुभयो : चिन्ता नगर, चूपचाप हेर्दै जाऊ ।

अनि उहाँ मुसुमुसु हाँस्दै मुख्य आसनमा पलेंटी कसेर बस्नुभयो र त्यो सारा कुत्सित पदार्थ एक्लै डकारिदिनुभयो । अनि, अब यी महर्षिलाई सिध्याउनुपर्‍यो भनेर त्यस क्रू दानव इल्वलले टेढो मुख लाएर मुसुक्क हाँस्दै लेग्रो पसारेर पहिले पहिलेजस्तै भाइलाई बोलाउँदै भन्यो : भाइ वातापि, बाहिर आऊ त !

त्यसै बेला महात्मा महर्षि अगस्त्यको गुदद्वारबाट मेघ गर्जिएजस्तो ठूलो आवाजका साथ अपानवायु छुट्यो । तर वातापिले ‘हजुर !‘ भनेन । अब इल्वलको मुखमुद्रा विरूप भयो, केही चिन्ताका साथ आत्तिएको स्वरमा भन्यो : भाइ वातापि, छिटै बाहिर आऊ न !

तैपनि वातापिले कुनै उत्तर दिएन, न त बाहिर नै आयो । अनि सातोपुत्लो उडेको स्वरमा इल्वल आर्तनाद गरे जसरी बारबार भाइलाई बोलाउनलाग्यो : वातापि, वातापि, छिटो बाहिर आऊ न !

तर, तैपनि वातापिले न त हजुर भन्यो, न त बाहिर आयो ।

अनि मुसुमुसु हाँस्दै महर्षि अगस्त्यले भन्नुभयो : अब त्यसले सुन्दैन, अब त्यो कहिल्यै आउँदैन पनि इल्वल, किनभने मैले त्यसलाई लोकहितका लागि खाएर पचाइदिइसकें ।

इल्वलको सारा तुजुक समाप्त भयो । डरले कालोनीलो हुँदै भन्यो : हजुर, यहाँहरूको म के सेवा गरुँ ?

महर्षि अगस्त्यले मुस्कुराउँदै भन्नुभयो : हे दानवराज इल्वल, हामी सबै तिमीलाई शक्तिशाली शासक र अपार धनशाली पनि मान्दछौं । यी तीनै जना राजाहरू पर्याप्त धनवान् छैनन्, तर मलाई धेरै धनको आवश्यकता परेको छ । अतः अरु कसैलाई पनि कष्ट नहुने गरी, मर्का नपर्ने गरी आफ्ना धनबाट तिमी जे जति सक्छौ मलाई देऊ ।

इल्वलले फेरि बठ्याइँ देखाउँदै महर्षिलाई प्रणाम गरेर भन्यो : हजुर त अन्तर्यामी हुनुहुन्छ, म हजुरलाई कति धन दिन चाहन्छु भन्ने कुरा थाहा पाउनुहोस् न त, अनि म हजुरलाई त्यति नै धन अवश्य दिउँला ।

महर्षि अगस्त्यले उद्घोष गर्नुभयो : हे दानवराज, तिमी यी राजाहरूलाई दश दश हजार गाई र त्यति नै स्वर्णमुद्रा दिन चाहन्छौ । अनि, मलाई चाहिं यसको दुई गुना गाई र स्वर्णमुद्रा दिन चाहन्छौ । यसबाहेक तिमी मलाई एउटा स्वर्णमय रथ पनि दिन चाहन्छौ, जसमा मनजत्तिकै तीव्रगामी शक्तिशाली घोडाहरू जोतिएका हुनेछन् ।

आफ्ना मनका सबै कुरा सजिलै थाहा पाएको बुझेर इल्वल पहिले त छक्क पर्‍यो । तैपनि अलिकति प्रतिवाद गर्दै भन्यो : हे महर्षि, हजुरले भनेको सबै कुरा त सत्य नै हो, तर रथका बारेमा अलिकति सन्देह छ, मैले दिन लागेको रथ वास्तवमा सुनको रथ होइन ।

अगस्त्यजीले भन्नुभयो : हे दानवराज, मेरा मुखबाट आजसम्म कुनै असत्यवाणी प्रकट भएकी छैनन् । तिमी चाँडै आफैं पत्ता लगाऊ त, त्यो रथ अवश्य स्वर्णमय नै छ ।

नभन्दै तुरुन्तै पत्ता लागिहाल्यो, इल्वलले महर्षिलाई दिने विचार गरेको रथ त सुनले नै बनेको रहेछ ।

यो कुरा थाहा पाएर आफ्नो प्रिय भाइलाई गुमाएर दुःखित बनेको इल्वल झन् बढी दुःखित भयो । व्यथित हुँदै मन नलागी नलागी उसले चिताएको सबै धन अतिथिहरूलाई दियो ।

त्यस स्वर्णमय रथमा विराव र सुराव नाम गरेका घोडाहरू जोतिएका थिए । ती घोडाहरूले आँखा झिमिक्क पनि पार्न नपाउँदैमा सारा धनसम्पत्ति र तीनै राजासहित महर्षिलाई मिलिक्कै अगस्त्याश्रममा पुर्‍याइहाले ।

रीसले खपिनसक्नु भएको दानवराज इल्वलले उडेर आउँदै अगस्त्यजीलाई समाप्त पार्ने इच्छाले आक्रमण गर्न उद्यत मात्र के भएको थियो, महातेजस्वी अगस्त्यमुनिले एक हुँकारले नै त्यसलाई डढाएर खरानीको थुप्रोमा परिणत गरिदिनुभयो ।

…..

आश्रममा आएपछि तीनै जना राजाहरू महर्षिलाई श्रद्धाका साथ प्रणाम गरेर आ–आफ्ना राजधानीतिर लागे । महर्षि अगस्त्यले पनि प्राणप्रिया लोपामुद्राका सारा इच्छाहरू परिपूर्ण गरिदिनुभयो ।

अनि लोपामुद्राले भनिन् : हे भगवन्, मेरा सारा इच्छा आकांक्षाहरू हजुरले पूर्ण गरिदिनुभयो । अब मबाट एक शक्तिशाली पुत्र उत्पन्न गर्नुहोस् ।

महर्षिले भन्नुभयो : हे शोभने, तिम्रो प्रेम र सद्व्यवहारले म सन्तुष्ट छु, पुत्रका सम्बन्धमा तिम्रा सामू मेरो विचार प्रकट गर्दैछु, ध्यानपूर्वक सुन । तिमी के चाहन्छौ भन : तिम्रा गर्भबाट एक हजार पुत्र जन्मिऊन्, वा एक सय ? जो दश पुत्रकै समान हुन्, अथवा दश पुत्र जन्मिऊन् जो एक सय पुत्रकै समान हुन् ? अथवा केवल एउटै पुत्र जन्मियोस् जो हजारौंलाई एक्लै जित्न सक्ने होस् ?

लोपामुद्राले भनिन् :

सहस्रसम्मितः पुत्र एकोप्यस्तु तपोधन !

एको हि बहुभिः श्रेयान् विद्वान् साधुरसाधुभिः ।।

(महाभारत, वनपर्व, अध्याय ९९, श्लोक २२)

हे तपोधन, मैले हजारौं पुत्रका समान एउटै श्रेष्ठ पुत्र पाउन सकूँ, किनभने धेरै अयोग्य पुत्रभन्दा एउटै विद्वान् र श्रेष्ठ पुत्र नै उत्तम मानिएको छ ।

अनि, तथास्तु भनेर लोपामुद्राको इच्छालाई सम्मान गर्दै महर्षि अगस्त्यले उत्तम शीलस्वभावले सम्पना प्रियतमा लोपामुद्रासँग यथाकाल समागम गर्नुभयो ।

गर्भाधान सम्पन्न गरेर अगस्त्यजी वन जानुभयो र तपोरत रहन लाग्नुभयो । एवंप्रकार सात वर्ष बित्यो, लोपामुद्राको सन्तान गर्भमै बढ्दै गयो, जन्मिएन । सातौं वर्ष पूरा भएपछि गर्भस्थ शिशु अत्यन्त तेजस्वी र प्रतापी स्वरूपमा जन्मियो । कालान्तरमा तिनै बालक महाविद्वान् दृढदस्युका नाममा लोकविख्यात भए ।

महर्षि अगस्त्यका ती पुत्रले जन्मैदेखि उपनिषद्सहित समग्र वेदको स्वाध्याय गरिरहेको भान हुन्थ्यो । दृढदस्यु समस्त ब्राह्मणवर्गमा सर्वोपरि महान् थिए । पिताका घरमा रहँदा तिनी बाल्यकालदेखि नै इध्म अर्थात् समिधाको भार वहन गर्ने गर्थे त्यसैले तिनी इध्मवाहका नामले विख्यात भए । आफ्नो पुत्र सदा स्वाध्यायरत एवं समिधाऽऽनयनमा तत्पर रहेको देखेर पिता अगस्त्यजीको मन प्रसन्न रहने गर्दथ्यो ।

पुत्र जन्मिएपछि अगस्त्यजीका सबै पितृहरूको पनि उद्धार भयो । तिनै अगस्त्यजीका आश्रममा वनवासकालमा पाण्डुपुत्रहरूले धेरै समय बिताएका थिए ।

…..

महाभारत, वनपर्वमा आधृत,

२०८२ साल चैत्र २७ गते शुकवार ।

ॐअक्षरालयः ।

साझा गर्नुहोस्:
डा. सनतकुमार वस्ती

लेखकको बारेमा

डा. सनतकुमार वस्ती

भाषासेवी तथा साहित्यकार

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.