ॐ नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।
एकदा महात्मा अगस्त्यमुनि कतै जाँदै हुनुहुन्थ्यो । उहाँले एकाएक एउटा अनौठो दृश्य देख्नुभयो– बाटाको छेउमा एउटा रुख छ, रुखमुनि गहिरो खाडल छ अनि त्यस रुखका हाँगामा उँधोमुण्टो लगाएर केही वृद्ध व्यक्तिहरू झुण्डिरहेका छन् । नजीक गएर हेर्दा मुनिले के थाहा पाउनुभयो भने– ती त सबै आफ्नै पितृहरू पो रहेछन् ।
उहाँले सोध्नुभयो :
हे मेरा श्रद्धेय पितृदेव, हजुरहरू यहाँ यसरी किन थरथर काम्दै, उँधोमुण्टो लगाएर झुण्डिरहनुभएको हो ?
उहाँका प्रश्न सुनेर ती वेदवादी पितृहरूले जवाफ दिए :
सन्तानपरम्पराको लोप हुने सम्भावनाका कारण हाम्रो यो दुर्दशा भएको हो । हामी तिम्रै पितृहरू हौं, सन्तानका इच्छुक भएर हामी यस खाल्डामा यसरी झुण्डिन पुगेका हौं । हे अगस्त्य, यदि तिमीले हाम्रा निम्ति उत्तम सन्तान उत्पन्न गर्यौ भनेमात्र हामी यो नरकबाट छुट्न सकौंला, तिम्रो पनि सद्गति होला, नत्र अब यस्तै हो बाबू !
आफ्ना पितृगणका कुरा सुनेर सत्यधर्मपरायण तेजस्वी मुनि अगस्त्यले भन्नुभयो :
हे पितृगण, म हजुरहरूको इच्छा अवश्य पूर्ण गर्नेछु, चिन्ता नलिइबक्सियोस् ।
ततः प्रसवसन्तानं चिन्तयन् भगवानृषिः
आत्मनः प्रसवस्यार्थे नापश्यत् सदृशीं स्त्रियम् ।
स तस्य तस्य सत्त्वस्य तत्तदङ्गमनुत्तमम्
संगृह्य तत्समैरङ्गैर्निर्ममे स्त्रियमुत्तमम् ।।
(मभा, वनपर्व, ९६ अध्याय : १९, २०)
अनि, भगवान् महर्षि अगस्त्यले सन्तानोत्पादनको चिन्ता गर्दै आफ्ना अनुरूप सन्तान गर्भमा धारण गर्नसक्ने योग्य पत्नीको खोज गर्न लाग्नुभयो, तर यस जगत्मा कतै त्यस्ती कुनै स्त्री पाउन सक्नुभएन । अनि उहाँले यस जगत्का सबै उत्तम जन्तुहरूका उत्तमोत्तम अंग भावनाद्वारा संग्रह गरेर ती सबैको संयोजन गरी एक परमसुन्दरी कन्या निर्माण गर्नुभयो ।
उता, त्यसै समयमा विदर्भदेशका नरेश सन्तानप्राप्तिका निम्ति तपस्या गरिरहेका थिए । महातपा अगस्त्यमुनिले आफूले निर्माण गरेकी ती कन्या तिनै राजालाई दिनुभयो । विदर्भराजको राजभवनमा ती कन्या बिजुलीसरि चमचमाउँदै प्रकट भइन् । तिनी दिव्य सुन्दरी थिइन् । जन्मनासाथ राजाले आफ्ना गुरुपुरोहितहरूलाई यो शुभसमाचार सुनाए । तिनले राजाको अभिनन्दन गर्दै ती कन्याको नाम जुराए : लोपामुद्रा ।
परमरूपवती ती राजकुमारी जलाशयमा फक्रिएकी कमलिनी एवं यज्ञवेदीमा प्रज्वलित शुभ्र अग्निशिखा झैं शीघ्रातिशीघ्र हुर्किन लागिन् । चाँडै नै तिनी जब यौवनवती बनिन् समुज्वल वस्त्राभरणले विभूषित सय जना सुन्दरी कन्या र सय जना दासीहरूले घेरिएर रहन लागिन् जो तिनको सेवामा हरदम दत्तचित्त रहन्थे । तिनीहरूका बीच लोपामुद्रा आकाशका बीच सूर्यप्रभा तथा नक्षत्रमालाका बीच रोहिणीका समान सुशोभित रहने गर्दथिन् । तिनी समग्र शील र सदाचारले सम्पन्न थिइन् तापनि महर्षि अगस्त्यका भयले कुनै राजकुमारले पनि तिनलाई वरण गर्ने आँट गर्न सकेन । उता विदर्भराज आफ्नी हुर्किंदै गएकी परमरूपवती छोरीका बारेमा चिन्तित रहन लागेका थिए : अब म कसलाई छोरी दिऊँ ?
यता अगस्त्य मुनिले अब ती कन्या गृहस्थाश्रममा प्रवेश गर्न योग्य भइन् भन्ने कुरा जब थाहा पाउनुभयो अनि उहाँ विदर्भराजका छेउ पुगेर भन्न लाग्नुभयो :
हे राजन्, पुत्रोत्पत्तिका निम्ति मैले विवाह गर्ने विचार गरेको छु । म तपाईंकी कन्यालाई वरण गर्न चाहन्छु, लोपामुद्रा मलाई दिनुहोस् ।
मुनिवर अगस्त्यको कुरा सुनेर विदर्भराज झन्नै मूर्च्छा परे । तिनले यो प्रस्ताव न त स्वीकार गर्न सके, न त अस्वीकार नै । उनले रानीका छेउ गएर भने :
प्रिये, यी महर्षि अगस्त्य महाशक्तिशाली व्यक्ति हुन्, यदि रिसाएर शाप दिए भने त हामीलाई भस्म पार्न पनि सक्छन् ।
आफ्ना मातापितालाई दुःखी भएको देखेर स्वयं लोपामुद्रा तिनका छेउ गइन् र समय परिस्थितिमाथि विचार गरेर भन्न लागिन् :
हजुरहरू मेरा लागि चिन्तित नहुनुहोस्, मलाई अगस्त्य ऋषिको सेवामा सुम्पिदिनुहोस् र आफ्नो रक्षा गर्नुहोस् ।
अनि, विदर्भराजले विधिवत् महर्षि अगस्त्यसँग लोपामुद्राको विवाह गराइदिए ।
लोपामुद्रालाई पत्नीका रूपमा पाउनासाथ महर्षि अगस्त्यले भन्नुभयो :
हे लोपामुद्रा, यी तिम्रा वस्त्र र आभूषणहरू अत्यन्त बहुमूल्य छन्, यिनलाई उतारिदेऊ ।
आफ्ना स्वामीको आदेश पाउनासाथ केराको थामजस्ता रसिला लोभनीय जाँघ र कमलपत्रजस्ता बान्किला नयनयुगलवाली ती परमसुन्दरी लोपामुद्राले आफ्ना बहुमूल्य रेशमी वस्त्र र सुन्दर आभूषण चटक्क उतारेर सरक्क पर सारिदिइन् र महर्षिको संकेतानुसार पुराना जीर्णशीर्ण वस्त्र तथा वल्कल एवं मृगचर्म धारण गरिन् । ती सुन्दरी बालाले आफ्ना पतिकै समान व्रत र आचारको पालना पनि गर्न लागिन् । तदनन्तर मुनिवर अगस्त्य आफ्नी अनुकूल पत्नीका साथ हरिद्वारमा आएर तपश्चर्यामा लीन रहन लाग्नुभयो । लोपामुद्रा अत्यन्त प्रसन्नता र आदरका साथ पतिदेवका सेवामा लागिरहन्थिन्, अनि शक्तिशाली महर्षि अगस्त्य पनि आफ्नी प्रियतमामाथि परमप्रेम राख्नुहुन्थ्यो ।
यसै गरी धेरै समय बित्यो । एक दिन अगस्त्यमुनिले ऋतुस्नानबाट निवृत्त बनेकी सुन्दरी पत्नी लोपामुद्रालाई देख्नुभयो, तिनी तपःपूता थिइन्, तेजस्विनी थिइन् । महर्षिले तिनको सेवा, पवित्रता, इन्द्रियसंयम, शोभा तथा रूपसौन्दर्यले प्रसन्न भएर प्रणय–समागमका लागि आफ्ना छेउ बोलाउनुभयो ।
अनि, अनुरागवती ती प्रणयिनी लोपामुद्राले किञ्चित् लजाउँदै प्रणतिपूर्वक भनिन् :
हे महर्षे, हुनता हजुरले मलाई सन्तानकै लागि ग्रहण गर्नुभएको हो, तर हजुरप्रति मेरा हृदयमा जुन प्रीति छ त्यसलाई पनि हजुरले सफल तुल्याउनु समुचित हो । हे ब्रह्मन्, म आफ्ना पिताका दरबारमा जस्तो शय्यामा विश्राम गर्ने गर्थें त्यस्तै शय्यामा हजुर मेरा साथ समागम गर्नुहोस्, म चाहन्छु कि हजुर सुन्दर हार र वस्त्राभूषणले विभूषित भएर अनि म पनि दिव्य अलंकारले अलंकृत बनेर स्वच्छन्द समागम सुखको अनुभव गर्न पाऊँ । अन्यथा म यो जीर्ण शीर्ण गेरुवा वस्त्र लगाएर समागम गर्न इच्छुक छैन । हे ब्रह्मर्षे, तपस्वीजनका निम्ति सुहाउने यी पवित्र पहिरनहरू कुनै प्रकारका सम्भोगादिद्वारा अपवित्र तुल्याउनु पनि पटक्कै उचित होइन ।
अगस्त्यले भन्नुभयो :
हे सुमध्यमे, हेर तिम्रा पिताका घरमा जस्तो धन वैभव त मसँग छैन, के गर्ने ?
लोपामुद्राले भनिन् :
हे तपोधन, यस जगत्मा जे जति धन–सम्पदा छ त्यो सबै आफ्ना तपस्याका प्रभावले हजुरले पलभरमै जुटाउन सकिबक्सिन्छ नि !
अगस्त्यले भन्नुभयो :
तिमीले ठीक भन्यौ, त्यो सबै म गर्न सक्दछु । तर तेसो गर्दा मेरो तपस्याको क्षय पनि त हुन्छ नि । हे प्रिये, अब मलाई यस्तो उपाय बताऊ, जसले मेरो तपस्या पनि क्षीण नहोस् अनि तिम्रो इच्छा पनि पूर्ण होस् ।
लोपामुद्राले भनिन् :
हे तपोधन, यस विषयमा हजुर नै चिन्तन गर्नुहोस् । अब मेरो ऋतुस्नानका लागि थोरै समय मात्र शेष छ । आफ्नो धर्मको रक्षाका साथ यस्तो उपाय गर्नुहोला कि मेरो इच्छा पनि पूर्ण होस् ।
अन्त्यमा, तथास्तु भनेर महर्षि अगस्त्य लोपामुद्रालाई समस्त धर्माचरणका साथ आश्रममा बस्दै गर्ने निर्देश दिएर अज्ञात प्रदेशतिर लाग्नुभयो ।
….
आश्रमबाट निस्किएर महर्षि अगस्त्य सरासर महाराज श्रुतपर्वाका दरबारमा पुग्नुभयो । त्यस बेला उनी अरु सबै राजाहरूभन्दा सम्पन्न मानिन्थे । महर्षिको ठूलो सम्मान र आदर सत्कार गरेर राजाले पाउकष्ट गर्नाको विशेष कारण सोधे । अगस्त्यजीले भन्नुभयो :
वित्तार्थिनमनुप्राप्तं विद्धि मां पृथिवीपते
यथाशक्त्यविहिंस्यान्यान् संविभागं प्रयच्छ मे ।
(महाभारत, वनपर्व, ९८ अध्याय, ४ श्लोक)
हे पृथिवीपते, म तपाईंकहाँ धनार्थी बनेर आएको हुँ, अरु कसैलाई पनि कष्ट, पीर–मर्का नपर्ने गरी आफ्नो सम्पत्तिबाट जे जति दिन सक्नुहुन्छ म त्यो स्वीकार गर्दछु ।
त्यसपछि राजा श्रुतपर्वाले महर्षिका सामू आफ्नो आयव्ययको समस्त विवरण निवेदन गरे र भने :
मेरो धनसम्पत्तिको सारा आय–व्यय–लेख यही हो, अब यसमध्ये हजुर जे जति उपयुक्त ठान्नुहुन्छ कृपया ग्रहण गर्नुहोस् ।
महर्षि अगस्त्यले त्यहाँ आय–व्यय दुवै बराबरी भएको देख्नुभयो र विचार गर्नुभयो :
अब यहाँबाट मैले अलिकति पनि धन लिएँ भने पनि अरुलाई मर्का पर्ने रहेछ, कष्ट हुने रहेछ । अनि उहाँले त्यहाँ केही पनि लिनुभएन ।
अनि, उहाँ राजा श्रुतपर्वालाई पनि साथमै लिएर अर्का राजा ब्रध्नश्वकहाँ पुग्नुभयो । उनी श्रुतपर्वाभन्दा पनि सम्पन्न मानिन्थे । त्यहाँ दुवैको ठूलो आदर सत्कार गरियो । राजा ब्रध्नश्वले पनि आगमनको कारण सोधे । महर्षि अगस्त्यले आफू आउनाका कारण र सारा पूर्ववृत्तान्त पनि बताउनुभयो । राजा ब्रध्नश्वले पनि राज्यको सारा आयव्यय–विवरण महर्षिका सामू राखिदिए ।
त्यहाँ पनि आय र व्यय बराबर नै देखियो । अलिकति पनि धन लिनासाथ कसै न कसैलाई मर्का परिहाल्ने स्पष्ट थियो । महर्षिले त्यहाँ पनि केही नलिने निधो गर्नुभयो ।
अब, श्रुतपर्वा र ब्रध्नश्व ती दुवै राजाका साथ अगस्त्यमुनि त्यसबेलाका महाधनी अर्का राजा त्रसदस्युका दरबारमा जानुभयो । ती इक्ष्वाकुवंशी महामना राजा त्रसदस्युले बडे बडे महाराजाहरूका साथ स्वयं महर्षि अगस्त्य सवारी भएको थाहा पाएर राज्यका सीमासम्मै पुगीकन उहाँहरुलाई बडो आदरसत्कारका साथ स्वागत गरे । भलाकुसारी सम्पन्न भइसकेपछि महर्षिले आफूहरू आउनाको कारण पूर्ववृत्तान्तसहित बताउनुभयो ।
महाराज त्रसदस्युले पनि महर्षिका सामू समग्र राज्यको आयव्यय–विवरण भएको खाता अघि सारेर देखाउनुभयो । कस्तो अचम्म, त्यहाँ पनि आय र व्यय बराबरी नै रहेको देखियो । महर्षिले त्यहाँबाट पनि एक पैसा नलिने निर्णय सुनाउनुभयो ।
अब तीनै जना राजा आपसमा मुखामुख गर्न लागे । प्रश्न थियो :
अब यस समस्याको समाधान के त ? कसरी पूज्य महर्षि अगस्त्यलाई सन्तुष्ट तुल्याउने ?
आखिरमा ती तीनै राजाहरूले सल्लाह गरेर भने :
हे ब्रह्मन्, यस समयमा समस्त पृथ्वीमा इल्वल नाम गरेको दानव सबैभन्दा धनी मानिन्छ । हामी सबै उसैका समीप जाऔं र धन मागौं ।
अनि, तीनै राजाहरूका साथ महर्षि अगस्त्य दानवराज इल्वलकहाँ पुग्नुभयो । तीन तीनजना राजाका साथ स्वयं महर्षि अगस्त्य आउनुभएको थाहा पाएर राज्यसीमामा पुगीकन दानवराज इल्वलले सबैको भव्य स्वागत गर्यो ।
… क्रमशः बाँकी अर्को हप्ता
……
महाभारत, वनपर्वमा आधृत,
२०८२ चैत्र २०गते शुक्रवार, ॐ अक्षरालयः ।

