वरुणदेवको निवासस्थान महासमुद्रमा लुकेर कालकेय नामक दैत्यगण समस्त त्रिलोकीको विनाश गर्ने धन्दामा लिप्त रहन लाग्यो । ती निशाचर दैत्यहरू दिनभरि अगाध जलराशिमा लुकेर बस्दथे, जब मध्यरात भयो अनि मदोन्मत्त हुँदै बाहिर निस्कन्थे र तपोवनस्थित मुनि आश्रममा यकायक हुरी बतास झैं पस्दथे । ती तपोपूत सरलस्वभाव निरीह मुनिहरूको क्रूरतापूर्वक भक्षण गर्दथे । हुँदाहुँदा यसैगरी ती दुष्टात्मा नरभक्षी दानवहरूले महर्षि वशिष्ठका आश्रममा निवास गरेका एक सय अठ्ठासी ब्राह्मण र नौ जना अन्य तपस्वीहरूलाई आफ्नो आहार बनाइसकेका थिए । उता च्यवन मुनि–आश्रमका सय जना र भारद्वाज–आश्रमवासी बीस जना मुनिहरूको पनि भक्षण गरिसकेका थिए ।
यज्ञस्थलमा टुटेफुटेका कलश र स्रुवा एवं अग्निहोत्रका सामग्रीहरूको राश लाग्न थालेको थियो । स्वाध्याय र वषट्कार बन्द हुन लागेका थिए, समस्त यज्ञकर्महरू ठप्प भएका थिए । अब त ऋषिमुनिहरू ज्यान जोगाउन भनेर आश्रम छोडी गुफा कन्दराहरूतिर लुक्न लागेका थिए । केही साहसी वीरहरूले ती नरभक्षी दानवहरूलाई धुईंपत्ताल गरेर खोज्न लागे, तर कसैले तिनको गन्ध पनि भेट्न सकेनन्, सकून् पनि कसरी ? ती त अगाध समुद्रमा चूपचाप लुकेर बस्दथे । सर्वत्र हाहाकार मचियो । समस्त मानवजाति त्राहि माम् गर्न लाग्यो ।
यज्ञकर्म सम्पन्न हुन छोडेपछि देवताहरूका पनि कान ठाडा भए । यसरी त समस्त जगत् नै विनष्ट हुने भयो– भनी चिन्तित हुँदै स्वर्गसम्राट् इन्द्रका साथ सकल देवगण मिलेर वैकुण्ठनाथ भगवान् नारायणका शरणमा पुगे र यो विकट परिस्थितिको यथार्थ वृत्तान्त सुनाउँदै यसबाट त्राणका लागि बिन्ती बिसाए । भगवान् नारायणले पनि अभयदान गर्दै ध्यानदृष्टिले हेरेर सकल देवतागणलाई महर्षि अगस्त्यको शरणमा जाने आदेश दिनुभयो र भन्नुभयो :
यस विकट परिस्थितिबाट तिमीहरूलाई जोगाउन सक्ने सामर्थ्य भएका महापुरुष यस जगत्मा महर्षि अगस्त्य मात्र हुनुहुन्छ । उहाँले महासमुद्रको समस्त जलराशि तनन्नै पिइदिनुहुनेछ र त्यहाँ लुकेका समस्त दानवहरूको उठिबास हुनेछ । तथास्तु !
….
महर्षि अगस्त्यका पराक्रमको किस्सा पहिले नै मशहूर भइसकेको थियो । उहाँले उठ्दै गरेको महापर्वत विन्ध्याचललाई आफ्ना प्रतापले सहसा स्तम्भित गरिदिनुभएको थियो, बढ्नबाट ठप्पै रोकिदिनुभएको थियो । कसरी ?
पुराकालको वृत्तान्त हो । भगवान् जगच्चक्षु सूर्यनारायण सुवर्णमय महान् सुमेरुपर्वतलाई उदय र अस्तकालमा परिक्रमा गर्ने गर्नुहुन्थ्यो । यो देखेर ईर्ष्याग्रस्त बनेको विन्ध्यपर्वतले भन्यो :
हे सूर्यदेव, जसरी तपाईं प्रतिदिन मेरुपर्वतको परिक्रमा गर्नुहुन्छ त्यसैगरी अब उप्रान्त मेरो पनि परिक्रमा गर्ने गर्नुहोला है !
यस्तो वाहियात कुरा सुनेर सूर्यदेवले विन्ध्यलाई भन्नुभयो :
हे गिरिश्रेष्ठ, म आफ्नो इच्छाले मेरुपर्वतको परिक्रमा कहाँ गर्छु र ? जगत्स्रष्टा विधाताले मेरा निम्ति जुन मार्ग सुनिश्चित गरिदिनुभएको छ, म त लुरुलुरु त्यतैबाट सदा हिंडिरहन्छु ।
यस्ता कुरा सुनेर विन्ध्याचलको तुजुक बढ्यो । उसले यसलाई आफ्नो अपमान भएको भन्ठानेर क्रुद्ध हुँदै सूर्य र चन्द्रको समेत बाटो छेकी गतिरोध गर्न भनेर एकायए माथि उठ्न थाल्यो । घाम र जूनको बाटो छेकिन थाल्यो । दिनरात अन्धकारमय बन्न थाल्यो । त्रिलोकीमा हाहाकार मचियो । सकल देवगण मिलेर विन्ध्यपर्वतको क्रोधनिवारणका लागि नाना उपायले विन्ती बिसाउन थाले, तर उसले कसैलाई टेरपुच्छर लाएन । अनि समस्त देवगण मिलेर महापराक्रमी लोकहितकारी महर्षि अगस्त्यका आश्रममा गए अनि सारा समस्याको बेलिविस्तार लाएर भने :
हजुरबाहेक यस उपद्रवको निवारण गर्ने सामर्थ्य कसैमा छैन, प्रभो ! लोकहितार्थ हजुरले त्यस उत्ताउलो विन्ध्यपर्वतलाई तह लगाइदिनुपर्यो ।
तथास्तु ! भनेर करुणालय महात्मा अगस्त्य जुरुक्क उठ्नुभयो र आफ्नी सहधर्मिणी लोपामुद्राका साथ सरासर विन्ध्यपर्वतका समीप पुगेर भन्नुभयो :
हे पर्वतश्रेष्ठ, म एउटा जरूरी काम सम्पन्न गर्न दक्षिण दिशातिर जान लाग्दैछु, खै अलिकति मलाई बाटो देउ त ! अनि, जबसम्म म फर्किएर आउन्न तबसम्म मेरो प्रतीक्षा गर । हलचल नगरी बस है । पछि फेरि आफ्ना इच्छानुसार बढ्दै गरौंला ।
परमप्रतापी महर्षि अगस्त्यका आगे बिचरो विन्ध्याचल लुरुक्क परिहाल्यो र हवस् हजुर, भनेर एकाएक झुकेर होचो बन्यो । त्यसपछि आजसम्म उही रूपमा झुकेरै बसेको छ, किनभने महात्मा अगस्त्य आजसम्म पनि उता दक्षिणदिशाबाट फर्केर आउनुभएको छैन । विन्ध्याचल भने पर्खेर बस्या बस्यै छ ।
…..
यस विस्मयकारी पुरातन घटनाको स्मरण गर्दै, नारायणको आज्ञा शिरोपर गरेर समस्त देवगण मित्रावरुणनन्दन महर्षि अगस्त्यका सामू पुग्यो । उहाँको विनम्र वन्दना गरिसकेपछि देवराज इन्द्र अगि सरेर विन्ती बिसाए :
एवं त्वयेच्छाम कृतं हि कार्यं
महार्णवं पीयमानं महात्मन् ।
ततो वधिष्याम सहानुबन्धान्
कालेयसंज्ञान् सुरविद्विषस्तान् ।। (मभा, वन. १०४÷१८)
हे महात्मन्, हजुरले कृपापूर्वक समस्त देवगणको कल्याणार्थ यो महासागरको जल पिइदिनुपर्यो प्रभो ! त्यसपछि समुद्रका पींधमा लुकेर बस्ने आततायी देवद्रोही ती कालकेय गणको सकल वंशविनाश गर्नेछौं ।
देवगणको यस्तो सविनय निवेदन सुनेपछि महर्षि अगस्त्यले सहर्ष भन्नुभयो :
तथास्तु ! लोककल्याणार्थ म तपाईंहरूको यो मनोरथ अवश्य पूर्ण गर्नेछु ।
तदनन्तर सकल देवगणका साथ परमतेजस्वी तपोपूत महर्षि अगस्त्य सरासर महासागरका निकट पुग्नुभयो । परमकौतूहलका साथ त्यहाँ मनुष्य, नाग, गन्धर्व, यक्ष र किन्नरगण एक परमविस्मयकारी घटनाको साक्षी बन्न उहाँका पछि पछि लागेर आयो ।
त्यहाँ भयंकर स्वरले गर्जिरहेको, उत्ताल तंरगले उन्मत्तवत् नाचिरहेको, वेगवान् वायुको साहचर्यले अनेक ज्वारभाटामा हाम्फालिरहेको, पर्वताकार फिँजको बहानामा खित्खिताइरहेको, तटवर्ती कुनाकन्दरामा टकराइरहेको महासागर अगाध जलराशिका साथ घनघोर स्वरूपमा विराजमान थियो । त्यहाँ नानाविध जलचर प्राणघाती जलजन्तु र पशुपक्षीगणको साम्राज्य थियो । महर्षि अगस्त्यका पछि लागेर सकल देवगणका साथ विशाल प्राणीगण त्यसै महासागरको उदार तटमा समुपस्थित भयो । अनि महर्षि अगस्त्यले सकल देवगणलाई सम्बोधन गर्दै भन्नुभयो :
अहं लोकहितार्थं वै पिबामि वरुणालयम्
भवद्भिर्यदनुष्ठेयं तच्छीघ्रं संविधीयताम् ।। (मभा, वन, १०५÷२)
हे देवगण, म सकल लोकको हितका निम्ति समुद्रको समग्र जलराशि अब पिइदिन्छु । अनि, तपाईंहरूले जे काम गर्नुपर्ने हो शीघ्रमेव सम्पन्न गर्नुहोला ।
आफ्नो मर्यादामा कहिल्यै नचुक्ने मित्रावरुणनन्दन महर्षि अगस्त्यजीले सकलजनले हेर्दाहेर्दै क्रोधपूर्वक समुद्रको जल तननन पिउन थाल्नुभयो । उहाँको यस विस्मयकारी समुद्रपानलाई समादर गर्दै देवगण उहाँको स्तुति गर्न लाग्यो :
हे लोकभावन महर्षे, हजुर नै हाम्रा रक्षक हुनुहुन्छ, समस्त लोकका विधाता हुनुहुन्छ । हजुरको परमकृपाले नै हाम्रो सततः रक्षा हुनेछ, समस्त जगत्को कल्याण हुनेछ ।
यसरी देवगण उहाँको स्तुतिगान गरिरहेथ्यो, गन्धर्वगण सुमधुर वाद्यधुनले उहाँको अभिनन्दन गरिरहेको थियो, गगनलोक उहाँमाथि पुष्पवृष्टि भइरहेथ्यो, यसैबीच हेर्दाहेर्दै समग्र त्रिलोकीलाई आश्चर्यचकित तुल्याउँदै ब्रह्मतेजोमय महात्मा महर्षि अगस्त्यजीले तनननन पिएर समग्र महासागरलाई जलशून्य तुल्याउनुभयो ।
त्यो महासमुद्र निर्जल भएको देखेर देवगण खुशीका मारे नाच्न थाल्यो । परम उत्साह र तीव्र वेगका साथ सिंहगर्जना गर्दै त्यहाँ लुकेर बसेको कालकेयगणमाथि खनियो । देवताहरूका अमोघ शस्त्रास्त्रको प्राणान्तक प्रहारले रन्थनिएका दानवहरू देवतामाथि प्रत्याक्रमण गर्न थाले । दुई घडीसम्म घमासान युद्ध चल्यो । देवताको दैवी शक्तिका अगि तिनको केही लागेन । अन्त्यमा सकल दानवगण सोत्तर भयो । सुनका माला, सुनका कुण्डल, सुनकै केयूरादिले झकिझकाउ भएका ती दानवहरूको प्राणान्त भएपछि त्यहाँ लटरम्म फुलेका पलाशको वनको जस्तो शोभा पो देखिन लाग्यो । केही कसैगरी ज्यान जोगाउन सफल भएका दानवहरू भने धरती विदीर्ण गरेर पाताललोकतिर प्रवेश गरे ।
अन्त्यमा समस्त देवगण अगस्त्य ऋषिको स्तुति गाउन लाग्यो :
हे महाभाग, हजुरका कृपाले आज समस्त त्रिलोकीले त्राण पाएको छ । परमआनन्द उदित भएको छ । क्रूर कालकेय गण हजुरका तेजले दग्ध भएको छ । हे महामुने ! हे महाबाहो !! हजुर नवीन जगत्को सृष्टि गर्न पनि समर्थ हुनुहुन्छ । अब हजुरले पुनः यस समुद्रलाई अगम्य जलराशिले कृपापूर्वक परिपूर्ण गरिदिनुहोस् । हजुरले पिएको समस्त जलराशि पुनः यहीं छोडिदिनुहोस् ।
देवगणका यस्तो विन्ती सुनेपछि मुनिप्रवर अगस्त्यले तिनलाई भन्नुभयो :
जीर्णं तद्धि मया तोयमुपायोन्यः प्रचिन्त्यताम्
पूरणार्थं समुद्रस्य भवद्भिर्यत्नमास्थितैः ।।
हे देवगण, यो जल त मैले पिएर पचाइ पनि सकें । अतः समुद्रलाई पुनः परिपूर्ण तुल्याउन सततः प्रयत्नशील रहेर तपाईंहरू अरु कुनै उपाय सोच्नुहोस् ।
महर्षिका कुरा सुनेर एकातिर देवताहरू परमविस्मित भए भने अर्कातिर उनका मनमा खिन्नता पनि छायो, विषाद र चिन्ताको रेखा पनि सल्बलायो : अब परेन के फसाद ! सुकेको समुद्रमा कसरी फेरि पानी भर्ने ?
तर, तत्काल चाहिं परमपूजनीय महर्षि अगस्त्यलाई शिर झुकाएर नमन गर्दै, ती लुरुलुरु त्यहाँबाट फर्किए जहाँ पहिले विराट् जलराशिले परिपूर्ण पारावार महासागर थियो अनि अहिले त्यही ठाउँमा समस्त जलराशि सिनित्त सुकेर अनन्त बालुबाराशि फैलिएको थियो ।
…
प्रिय पाठक बन्धु,
प्रश्न उठ्दछ : त्यसो भए अहिलेको महासागरचाहिं फेरि कहाँबाट प्रकट भयो त ?
त्यो कथा आगामी प्रकरणमा ।
……..
महाभारत, वनपर्वमा आधृत ।
२०८३ वैशाख ११ गते शुक्रवार, ॐ अक्षरालयः।

