साहित्यपोस्ट डट कम

महाँकाल कला–साहित्य महोत्सव सम्पन्न, सात कृति एकैसाथ विमोचन

महाँकाल कला–साहित्य महोत्सव सम्पन्न, सात कृति एकैसाथ विमोचन

ललितपुर । महाँकाल गाउँपालिकामा गठित महाँकाल प्रज्ञा प्रतिष्ठानले दुई दिने महाँकाल कला–साहित्य महोत्सव सम्पन्न गरेको छ । जेठ १५ र १६ गते आयोजित महोत्सवमा सातवटा कृतिको एकैसाथ विमोचन गरिएको थियो ।

प्रतिष्ठानका कुलपति गणेशबहादुर केसीको सभापतित्व तथा जिल्ला समन्वय प्रमुख ऋषिदेव फुयालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा. डा. कृष्णप्रसाद दाहाल र प्रा. डा. देवी नेपाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

महोत्सवमा ‘महाँकाल प्रज्ञा दर्पण’, ‘महाँकाल प्रज्ञा कोष’, ‘सुनगाभा’ अर्धवार्षिक पत्रिका सहित गोविन्द पराजुलीको ‘प्रेम’ खण्डकाव्य, कमलप्रसाद तिमल्सिनाको ‘समयका पाइला’ कविता सङ्ग्रह, रामेश गौतम (सरद शोभा) को ‘भुइँ कुहिरो’ कविता सङ्ग्रह तथा हिमरत्न अनुरागको ‘तुइनको देश’ गजल सङ्ग्रह विमोचन गरिएको थियो ।

कार्यक्रममा विभिन्न भाषा, संस्कृति र परम्परा झल्कने सांस्कृतिक प्रस्तुति, झाँक्री नाच, खैँजडी भजन, कविता वाचन तथा परिसंवाद आयोजना गरिएको थियो । परिसंवादमा प्रा. डा. देवी नेपाल, साहित्यकार गोपाल सञ्जेल, कुलपति गणेशबहादुर केसी तथा गाउँपालिका उपाध्यक्ष डोल्मामाया गोले सहभागी हुनुभएको थियो ।

महोत्सवको विशेष आकर्षण बराम समुदायको सांस्कृतिक नृत्य, तामाङ समुदायको झाँक्री नाच तथा खैँजडी भजन रहेको थियो । कार्यक्रममा स्थानीय स्रष्टाहरूलाई सम्मान गरिएको थियो भने विभिन्न क्षेत्रबाट सहभागी साहित्यकारहरूले रचना वाचन गरेका थिए ।

प्रज्ञा परिषद् सदस्य भूमिनन्द घिमिरे र रत्नविरही घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा कवि असिम सागर, चिरञ्जीवी सिग्देल, सिकारुराम, कवयित्री सावित्री न्यौपाने, कवि बुद्धराम थिङ, सचितानन्द घिमिरे, गजलकार कुमार अविरल तथा भूमिका सापकोटालगायतले रचना वाचन गर्नुभएको थियो ।

तीन सयभन्दा बढी कला–साहित्यप्रेमीको उपस्थितिमा महोत्सव सम्पन्न भएको आयोजकले जनाएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.