रुविना राना
ललितपुर । महालक्ष्मी साहित्य समाज, ललितपुरको आयोजनामा ‘महालक्ष्मी साहित्य उत्सव तथा स्रष्टा सम्मान कार्यक्रम–२०८३’ ट्रिबोन्स रिसोर्ट, लामाटारमा सम्पन्न भएको छ ।
महालक्ष्मी नगरपालिका वडा नं. ९ को सहआयोजनामा तथा ‘फोटोज बाइ चेल्सी’को मिडिया पार्टनरशिपमा आयोजित कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन प्रमुख अतिथिका रूपमा सहभागी भइ दीप प्रज्वलन गर्दै उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख महर्जनले जीवनका अनुभव र सङ्घर्ष समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताउँदै समाज परिवर्तनमा कवि तथा साहित्यकारहरूको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । सो अवसरमा संस्थापक अध्यक्ष श्रीराम पौडेललगायत स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।
विशिष्ट अतिथि वडा नं. ९ का अध्यक्ष जयकृष्ण बोगटीले साहित्यकारहरू समाजका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै भौतिक विकाससँगै मानसिक र बौद्धिक विकासमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेलले गजल वाचन गर्नुभयो भने प्राज्ञ अगि बनेपाली, चेतनाथ धमला र पञ्चकुमारी परियारले मनतव्यसहित कविता प्रस्तुत गर्नुभयो । चलचित्र लेखक रामशरण पाठक, कवि भक्तबहादुर पण्डित तथा कलाकार नरेन्द्र थापाले पनि आफ्ना धारणा राख्नुभयो ।
त्यसैगरी कवि तथा आख्यानकार प्रोल्लास सिन्धुलीय र कवि रञ्जु दाहालले कविता वाचन गर्नुभयो । कार्यक्रममा गोविन्दबहादुर खड्का, राजेशमान केसी, तारा केसी, विभरा किराती, कैलाशकुमार मल्ल, रविन्द्रकुमार थापा, शेखर आचार्य, नारायण सिलवाल, बिर्खे अञ्जान, वसन्त ओली ‘वसन्ती’, माधव विडारी ‘चेतनपथ’, सुनिता चौलागाईं, विकास केसी, सञ्जय सोती, लक्ष्मी दास महर्जन, चन्दा सुनार, चन्द्रलाल तामाङ, लीलाराज दाहाल, बसुन्धरा चौहान, नानीराम बस्नेत, रोमा लम्साल, एकता केसी, रमेश बलामी, आवेश मिश्र, भद्रध्वज गौतम र त्रिपुरा पौडेललगायत स्रष्टाहरूले आफ्ना रचना प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा बाँसुरीवादक मातृकाप्रसाद सङ्गौलाले नाकबाट बाँसुरी धुन प्रस्तुत गर्दै विशेष आकर्षण थप्नुभयो ।
समाजका संस्थापक सदस्य तथा महालक्ष्मी–९ का पूर्व अध्यक्ष बासु गौतमले संस्थाको परिचय दिनुका साथै कविता वाचन गर्नुभयो भने सदस्य विष्णु थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा महालक्ष्मी साहित्य समाजका अध्यक्ष विनोद खत्री ‘आकाश’ले गजल वाचन गर्दै कार्यक्रमको समापन गर्नुभयो भने उद्घोषण समाजका उपाध्यक्ष जुमन किरणले गर्नुभएको थियो ।
उत्सवमा विभिन्न जिल्लाबाट आएका स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

