काठमाडौं । नेपालयको ‘आर’शालामा आयोजित सांगीतिक शृंखला पलेँटी मा दार्जिलिङका चर्चित गायक पवन गोले र संगीतकार रमेश गुरुङ को प्रस्तुति सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार साँझ सम्पन्न कार्यक्रममा दर्शकले मधुर धुन र विविध शैलीका गीतहरू सुन्ने अवसर पाउनुभयाे ।
कार्यक्रममा गायक पवन गोले ले नयाँ–पुराना गरी १६ वटा गीत प्रस्तुत गर्नुभयाे भने तीमध्ये आठ गीतमा रमेश गुरुङ का एकल धुन समावेश थियाे । कार्यक्रममा बोल्दै पवनले १४ वर्षअघि पहिलोपटक पलेँटीमा प्रस्तुत भएको सम्झना गर्नुभयाे भने रमेश गुरुङले पनि करिब दुई दशकअघि यही मञ्चसँग जोडिएको अनुभव सुनाउनुभयाे । कार्यक्रमको सुरुवात कवि तथा गीतकार दिनेश अधिकारी को ‘माटो मात्र देश होइन’ बोलको गीतबाट गरिएको थियो, जसमा दिवंगत संगीतकार दिव्य खालिङ को धुन रहेको थियो ।
सधैँझैँ कार्यक्रमको सञ्चालन पलेँटीका संयोजक आभास ले गर्दै कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा रमेश गुरुङ का धुनमा आधारित गीतहरू प्रस्तुत गरिएका थिए, जसमा मधुकर बल, नरदेन रुम्बा, संजय बान्तवा, संजय बिष्ट, पुरन गिरी, कालुसिंह रनपहेली, जस योञ्जन प्यासी, नगेन्द्र खड्का र जितेन्द्र बर्देवा का शब्दहरू समेटिएकाे थियाे ।
दोस्रो चरणमा पवन गोले का लोकप्रिय गीतहरूसँगै केही नयाँ सिर्जनाहरू पनि प्रस्तुत गरिएका थिए । यस क्रममा संगीतकार सुवर्ण लिम्बु का धुनहरू विशेष रूपमा समावेश थिए । ‘छाडी जाने मायालु’ बोलको गीतका गीतकार ओम विक्रम बिष्ट रहेको जानकारी पवनले दिनुभएकाे थियाे ।
त्यसैगरी अरुण तिवारी को ‘मलाई थाहा छैन’ सहित ‘कहीँ तिमीलाई’, ‘कति संगालेँ’, ‘भत्किएको महल’ र ‘कहाँ दिन खुल्छ’ जस्ता गीतहरू प्रस्तुत भए, जसमा क्रमशः नरदेन रुम्बा, अशोक गुरुङ, पारस गजमेर र प्रमोद स्नेही का शब्द रहेकाे थियाे ।
कार्यक्रमको समापन पवन गोलेको लोकप्रिय गीत ‘हावासँगै बगुँ भन्छ’ बाट गरिएको थियो, जसमा संगीत सुवर्ण लिम्बु र शब्द शिवशंकर थापा का रहेकाे छ ।
आयोजकका अनुसार आगामी महिनाको पलेँटीमा गीतकार शिवशंकर थापा लाई निम्त्याइएको छ । कार्यक्रममा वाद्यवादनतर्फ हार्मोनियममा रमेश गुरुङ, किबोर्डमा सुनील सिंह नेपाली, बाँसुरीमा मिलन घिमिरे, तालवाद्यमा मिलेश तण्डुकार र सुन्दरकुमार महर्जन, रिदम गिटारमा प्रवीण पुलामी मगर तथा बेस गिटारमा कृपेश लोहनी ले साथ दिनुभएकाे थियाे ।

