पोखरा । साहित्यकार माधव वियोगी (माधवप्रसाद घिमिरे)लाई ‘लीलाध्वज थापा त्रैमासिक स्रष्टा सम्मान तथा पुरस्कार’ प्रदान गरिने भएको छ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाका अनुसार नेपाली भाषा–साहित्यमा दीर्घकालीन योगदानको कदरस्वरूप वियोगीलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको हो ।
नेपाली साहित्यका विविध विधा—महाकाव्य, खण्डकाव्य, कविता, कथा, निबन्ध, समालोचना, जीवनी, गजल र गीत—मा सक्रिय वियोगीले लामो समयदेखि सिर्जनात्मक योगदान पुर्याउँदै आउनुभएकाे छ । अर्घौं कालिका, कास्कीमा जन्मिनुभएकाे वियोगी हाल पोखरा महानगरपालिका–२६ मा बसोबास गर्दै आउनुभएकाे छ । उहाँले शिक्षण, पत्रकारिता र कानुनी परामर्श क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्नुभएकाे छ ।
वियोगीले ‘छन्द बचाऊँ अभियान’, ‘महाकाव्य लेखन अभियान’, ‘गृह पुस्तकालय अभियान’ जस्ता साहित्यिक अभियानहरू सञ्चालन गर्दै आउनुभएकाे छ । उहाँका आठ महाकाव्य, आठ खण्डकाव्य, सात समालोचना कृति, दुई कवितासङ्ग्रहसहित अन्य विधाका कृतिहरू प्रकाशित छन् ।
उहाँ विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा सक्रिय रहँदै अन्तर्राष्ट्रिय नेपाल–भारत साहित्यरत्नलगायत चार दर्जनभन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएकाे छ । हाल उहाँ छन्द विश्वविद्यालय स्थापना गर्ने पहलमा जुटिरहनुभएकाे छ ।
प्रतिष्ठानले त्रैमासिक रूपमा प्रदान गर्दै आएको उक्त सम्मान अन्तर्गत नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिनेछ । सम्मान आगामी चैत २८ गते आयोजना हुने रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रममा प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिनुभयाे ।

