पोखरा । पोखरेली स्रष्टा माधव वियोगीलाई ‘डायमनशमशेर प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको छ ।
ललितपुरस्थित डायमनशमशेर प्रतिष्ठानले प्रा.डा. गोविन्दराज भट्टराईको संयोजकत्वमा गठित पुरस्कारयोग्य प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै वियोगीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
महाकाव्य, खण्डकाव्य, कविता, कथा, निबन्ध, समालोचना, जीवनी, गजल र गीतलगायत विविध विधामा ४२ वटा पुस्तक प्रकाशित गर्नुका साथै नेपाली भाषाको श्रीवृद्धिका लागि संस्थागत रूपमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याएकाले वियोगीलाई पुरस्कारका लागि छनोट गरिएको प्रतिष्ठानले जनाएको छ ।
नेपाली मौलिक सामाजिक उपन्यासका उपन्यासकार डायमनशमशेर राणाको नाममा स्थापित उक्त प्रतिष्ठानले विगत वर्षदेखि उनको नाममा पुरस्कार प्रदान गर्दै आएको छ । राणाविरोधी राणाका रूपमा समेत चिनिने डायमनशमशेरलाई केन्द्रमा राखेर वियोगीले ‘डायमनश्री’ शीर्षकको महाकाव्यसमेत रचना गरेका छन् ।
जनप्रिय बहुमुखी क्याम्पसका पूर्वप्रमुख वियोगी छन्द बचाऊँ अभियान र महाकाव्य लेखन अभियानका सञ्चालक हुन् । उनी गृह पुस्तकालय अभियानका गण्डकी प्रदेश संयोजकसमेत रहेका छन् भने छन्द विश्वविद्यालय स्थापनाको अभियानमा पनि सक्रिय छन् ।
यसअघि वियोगी दुई दर्जनभन्दा बढी पुरस्कार तथा सम्मानबाट विभूषित भइसकेका छन् । प्रतिष्ठानका अनुसार पुरस्कार असार २१ गते काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिनेछ ।

