साहित्यपोस्ट डट कम

माधव वियोगी स्रष्टा सम्मानबाट सम्मानित

माधव वियोगी स्रष्टा सम्मानबाट सम्मानित

काठमाडौँ । लीलाध्वज थापा साहित्य प्रतिष्ठान, काठमाडौँको आयोजनामा सम्पन्न त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रममा काव्यकार माधव वियोगी (माधवप्रसाद घिमिरे) लाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ प्रदान गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले नगद १० हजार रुपैयाँसहित उक्त सम्मान अर्पण गर्नुभएको हो । नेपाली मौलिक सामाजिक उपन्यास विधामा मदन पुरस्कार प्राप्त यशस्वी स्रष्टा लीलाध्वज थापाको नाममा स्थापना गरिएको प्रतिष्ठानमार्फत यो सम्मान प्रदान गरिएको हो ।

काव्यकार वियोगी नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको स्रष्टा हुनुहुन्छ । उहाँका ८ महाकाव्य, ८ खण्डकाव्य, ७ समालोचना कृति, २ कविता संग्रहसहित कविता, कथा, निबन्ध, जीवनी, गजल तथा गीत विधाका कृतिहरू प्रकाशित छन् ।

कास्कीको अर्घौ कालिका, झाँझरमारेमा जन्मिनुभएका वियोगी हाल पोखरा महानगरपालिका–२६ मा बसोबास गर्दै आउनुभएको छ । उहाँले एम.ए., बी.ए. र बी.एड. अध्ययन पूरा गर्नुभएको छ भने जनप्रिय बहुमुखी क्याम्पसका प्रमुखका रूपमा कार्य गर्दै शैक्षिक क्षेत्रमा समेत योगदान पुर्‍याउनुभएको छ ।

वियोगी छन्द बचाउ अभियान, महाकाव्य लेखन अभियान, गृह पुस्तकालय अभियान तथा छन्द प्रशिक्षणलगायतका गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ । साथै पत्रकारिता, कानूनी परामर्श सेवा र शिक्षण पेशासँग आबद्ध रहँदै तीन दर्जनभन्दा बढी साहित्यिक तथा सामाजिक संस्थामा संलग्न हुनुहुन्छ । उहाँले अन्तर्राष्ट्रिय नेपाल–भारत साहित्यरत्नसहित चार दर्जनभन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।

सम्मान ग्रहण गर्दै वियोगीले २०४१ सालतिर “छन्द मरिसक्यो” भन्ने धारणा सुनेपछि “छन्द कसरी मर्छ?” भन्ने प्रश्नसहित आफूले छन्द बचाउ अभियान सुरु गरेको स्मरण गर्नुभयो । उहाँका अनुसार हाल वैशाख ८ गते ‘छन्द दिवस’ का रूपमा मनाइँदै आएको छ । उहाँले सम्मानका लागि प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रा. डा. गोविन्दमानसिंह कार्की, प्रा. डा. भागवत ढकाल, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, मदनराज थापा, बमबहादुर थापा ‘जिताली’ तथा रामप्रसाद पन्तलगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले वियोगीको साहित्यिक योगदानको चर्चा गर्दै प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा विभिन्न स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गर्नुभएकाे थियाे । दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन स्रष्टा उत्तम विचारले गर्नुभएको थियो ।

समारोहको अन्त्यमा अध्यक्ष विजयध्वज थापाले वियोगीको योगदानको प्रशंसा गर्दै यस्तो सम्मान प्रदान गर्न पाउनु संस्था र आफ्नो लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो । प्रतिष्ठानले हालसम्म ८४ जना स्रष्टालाई स्रष्टा सम्मान, ८ जनालाई साहित्य सम्मान तथा ५ सय भन्दा बढीलाई कदरपत्र प्रदान गरिसकेको जानकारी पनि उहाँले दिनुभयो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.