बिहानको समय कोठामा एक्लै थिएँ । विवेक र वृक्षा अघि नै रानीवन गए । एक कल फोनले मलाई अकस्मात् आतुर बनायो । म व्यस्त भएँ । हुन त व्यस्त नै थिएँ । फुर्सदिलो हुन मन लाग्दैन । किन्तु अहिले अर्कै किसिमले व्यस्त हुनुपर्ने भयो । मसँग अब सुबिस्ताले खाना खाने समय पनि थिएन । छिट्टै सामाखुशी जानुपर्ने भयो । त्यहाँ पुङ्की (अजिताकी छोरी) र उसकी हजुरआमा मलाई पर्खिरहेका हुनेछन् । तीन चार दिन पहिले लमजुङदेखि आएकी पुङ्की र हजुरआमा भोलि घर फर्किने रे !
पाँच वर्षकी सानी पुङ्की मलाई राम्रैसँग पछ्याउँछे । यतिखेर ऊ मेरै प्रतीक्षामा छे । हिजो हस्पिटलमा भेट भएको थियो । कान दुख्ने समस्याले केही दिनदेखि पुङ्की बिरामी छे । गाउँको हस्पिटलले केही काम गरेन ।
ग्रीन सिटीले हिजो चार बजेलाई समय दिएको थियो । भरे डाक्टर नै आएनन् । प्राइवेट अस्पतालका चिकित्सक समेत किन यति गैरजिम्मेवार भएका ? हिजो डाक्टर भेट नहुँदा खासै रिस उठेको थिएन । किन्तु अहिले म एकदम रिसाइरहेको छु । सेवाग्राहीलाई किन यसरी दुःख दिइएको हो कुन्नि ? आज पनि डाक्टर नआउने भएछन् । अब चुनाव अघि उनी नआउने रे ! त्यो कुरा हिजै किन भनिएन ? बिरामीलाई समय दिने अनि आफू नआउने कति दुष्ट चिकित्सक रहेछन् ? अहिले आएर थापाथली स्थित हियरिङ एण्ड स्पिच क्लिनिकमा ‘टेम्पोनोग्राम’ गरी त्यसको रिपोर्ट विनायक हस्पिटल गोंगबु देखाउन सल्लाह दिँदैछन् ।
अहिले सुरेशको फोन त्यही कुराको लागि आएको रहेछ । आज हस्पिटलको काम सक्नुपर्ने उनले बताएका छन् । भोलि जसरी पनि पुङ्कीका हजुरआमा नातिनी घर जानुपर्छ रे !
म अहिले बालाजु नयाँबजार स्थित एउटा घरमा छु अनि पुङ्की सामाखुशी । थापाथलीमा ‘टेम्पोनोग्राम’को रिपोर्ट आउन कति समय लाग्ने हो ? फेरि त्यो रिपोर्ट ल्याएर यता विनायक हस्पिटलका सुवास आचार्यलाई देखाउनु छ बेलुका पाँच बजे । यदि विलम्ब भयो भने काम पूरा नहुन सक्छ । दिनभर व्यस्त हुँदाहुँदै पनि म अन्योलमा थिएँ । कोठामा आइपुग्दा सन्ध्या टरिसकेको थियो । अझै थाहा थिएन भोलिको दिन कस्तो हुने हो ? तैपनि फोन आइहाल्छ कि ? फोनको प्रतीक्षामा थिएँ । अहँ फोन आएन । नआएपछि सम्भावित भोलि जस्तोसुकै होस् । केही सोच्न मन लागेन र पनि मनमा कता कता आशा थियो केही खबर आइहाल्छ कि ? हिजो बेलुका केशव भट्टराईले भनेका थिए, ‘सम्भावना रहेसम्म म तपाईंलाई सम्झिनेछु ।’ उसो भए अब कुनै सम्भावना रहेन । खै त उनले फोन गरेनन् ।
घरबाट आएको भर्खर दुई हप्ता हुँदै थियो । दुई चार दिन अघिसम्म, अब लगत्तै गइँदैन लागेको थियो । बुवा आमाको पनि भीडभाडमा नहिँड्न सल्लाह थियो । किन्तु पछिल्लो परिवेशले मन फेरियो । उहाँहरूको पनि फेरिएछ । हो, त्यसै बखत मैले केशवलाई फोन गरेको थिएँ ।
वास्तवमा उनी को हुन् ? म चिन्दिनँ । दुई दिन अघि मात्रै एउटा कार्डमा उनको नम्बर भेटेको थिएँ । सँगै अर्को पनि । शुरुमा रुद्र भट्टराईलाई कल गरेँ । लागेन । फोन नलाग्ने नम्बर किन राखिएको होला ? कतै भ्रमपूर्ण सूचना गरिएको त होइन ? त्यसमा लेखिएको थियो, “काठमाडौँबाट भोट हाल्न लमजुङ जानेलाई निःशुल्क बस सेवाको व्यवस्था छ ।”
पहिलो नम्बरमा सम्पर्क नभएपछि दोस्रो नम्बरमा गरेँ । सोचेको थिएँ, शायद यसमा पनि नलाग्ला । तर त्यसो भएन । घण्टी गयो । किन्तु उठ्ला नउठ्ला सन्देह थियो । फोन उठ्यो । त्यो आवाज सुन्दा उनी त्यस्तै बीस पच्चीसको हुनुपर्छ, मैले अनुमान लगाएँ । उनले भने, “हामीसँग जम्मा दुइटा गाडी छन् तर जाने सङ्ख्या धेरै होला जस्तो छ । सीट मिलेसम्म म तपाईंलाई कल गर्नेछु ।”
म त्यही कलको पर्खाइमा थिएँ । निश्चय सीट नपुगेर कल नआएको हुनुपर्छ । तब उनलाई फोन गरेर अप्ठ्यारो नपारूँ लाग्यो । त्यसो त उनले बिर्सिएका हुन् कि भन्ने पनि लाग्यो । यस्तै द्विविधाको बीचमा उनलाई फोन गरेँ । उनी नाई भन्न नसक्ने खालका मानिस रहेछन् । उनले भने, “बालाजु स्थित भाटभटेनी अगाडि बिहान ६ बजे आइपुग्नुहोला ! सीट नपुगे प्यासेजमा बसेर भए पनि जाऊँला । यदि त्यसरी पनि सम्भव भएनछ भने पब्लिक गाडीमा जाऊँला । इन्केस त्यस्तो अवस्था आयो भने नरिसाउनुहोला अनि म पनि रिसाउने छैन ।”
भोलिका लागि बल्ल म एउटा निर्णयमा पुगेँ । जेहोस् म घर जाने भएँ । केशवले भने अनुसार निःशुल्क सवारी त शायद मिल्ला नमिल्ला । त्यही मानसिकतामा हामी तयार भयौँ । विवेक र वृक्षा डुम्रे ओर्लिएर त्यहाँदेखि दमौलीको गाडी चढ्ने छन् । केशवलाई लाग्ला हामी तीनै जना लमजुङका हौँ । यात्रुको चाप बढी भई व्यवस्थापन कठिन भएको बेला; लमजुङको गाडीमा तनहुँको मान्छे देख्दा उनीहरूले के भन्लान् ?
त्यो कुरा शुरुमै थाहा दिनुपर्छ । नत्र म अविश्वासी हुनेछु । आगामी दिनमा नराम्रो हुनेछु । उनलाई नढाँटी भनेँ । “मेरा साथमा दुई जना बाबु नानी पनि छन् तर लमजुङ जाने होइनन् । उनीहरू तनहुँका हुन् । दिदीका छोराछोरी । लमजुङको गाडीमा अर्को जिल्लाको मान्छे जान मिल्छ मिल्दैन ?” सोध्दा उनले मिल्छ भने । म त्यो कुरा बुझ्दछु उनले नकार्न नसकेर त्यसो भनेका थिए ।
बिहान साढे पाँच बजे हामीले कोठा छोड्यौँ; बालाजु भाटभटेनी पुग्न । काठमाडौँका चोक तथा गल्लीहरू सुनसान थिए । शहर ब्यूँझिसकेको थिएन । फागुनको चिसो ठिक्क थियो । मध्यम खालको कपडाले धान्ने गरी जाडो घटिसकेको थियो । मनास्लु स्कूलको गल्ली हुँदै मूल सडक निस्किँदा बल्ल अनुभूत भयो ए … हामी अहिले काठमाडौँमै छौँ ।
चौडा सडकका अगाडि पछाडि राता आँखा बालेर सवारी साधन हुइँकिरहेका थिए । त्यति धेरै त होइन नै । केही फाट्टफुट्ट मात्रै । म्हैपीको वनमा ब्यूँझिसकेका पक्षीहरूको सङ्गीत बडो प्रीतिकर सुनिन्थ्यो । मधुरो उज्यालो र त्यस्तै मधुरो अँध्यारोबीच खुल्ला सडकमा हिँड्दा हामी खुब रमायौँ । यात्रा कस्तो हुने हो ? सीट पाइन्छ पाइँदैन मनमा सन्देह थियो ।
बालाजु पुग्दा अचानक मध्याह्न भएको महसुस भयो । त्यहाँ एउटा भिन्न परिवेश निर्माण हुँदै थियो । लाग्यो, निद्रा ब्युँझिएर चेतना सल्बलाएको छ । त्यसैले त मिरमिरेमै उठेर गन्तव्य खोज्दैछन् यात्रुहरू; कहाँ कहाँ पुग्ने हुन् ? कुनै प्रेरणाले ब्युँझिएर प्रस्थान गर्न लागेका हुन् ? चोकदेखि भाटभटेनीसम्मै गाडीको पङ्क्तिबद्ध लाइन र मानिसहरूको सल्याङ्बल्याङमा केही आश्चर्य घट्न लागेको भान भयो । झोला भिरेका, नानी च्यापेका बाबु आमाहरू, युवा युवती तथा किशोर किशोरी र केही वृद्ध वृद्धाहरू । अनि नाबालक केटाकेटी सब काठमाडौँ छोड्दै थिए । लामबद्ध रहेका सवारीहरू केही गुड्दै त केही थपिँदै थिए । मान्छेको भीड, गाडीको चाप बराबर थपिने र घट्ने क्रम चलिरहेको थियो । चक्रपथका यातायात भर्खर एक दुई गुड्दै थिए । विशेषतः त्यहाँ धादिङ, गोर्खा र लमजुङ जाने रिजर्भका सवारी थिए ।
विस्फारित दृष्टि लिएर म यता उता गर्न लागेँ । “कतै आफ्नो गाडी छुटी पो हाल्छ कि ?” प्रत्येक मानिस हतारमा थिए । हरेक पार्टीका भिन्ना भिन्नै गाडी थिए अर्थात् ती गाडीले पक्षधर छुट्याउँदै थिए ।
भोलि छाडी पर्सि एउटा ऐतिहासिक दिन आउँदै थियो । सत्य र असत्य, न्याय र अन्यायबीचको द्वन्द्वात्मक स्थितिमा; चेतन र अचेतनको लडाइँ चल्दै थियो । असत्यता विरुद्ध, बेथिति अनि अव्यवस्था विरुद्ध, अझ निरङ्कुशता विरुद्ध; नि:शब्द भई विद्रोह गर्ने दिन थियो । योद्धाहरू ब्यालेटमा युद्ध लड्न जाँदै थिए । म पनि जाँदै थिएँ सङ्ग्रामी मन लिएर । हेर्दाहेर्दै यात्रु चेतनाका गोला बारुद भिरेका सिपाहीझैँ देखिए । युद्ध लड्न तत्पर सिपाहीझैँ … !
उफ् ! एकछिन त म अवाक् भएँ । हिजो अस्ति फोनमा बोलेका केशव भट्टराई के उनै हुन् ? कुन शक्ति र चेतनाले उनलाई यस खालको योद्धा बनायो ? लाग्छ अत्याचारको उत्कर्षमा, भ्रष्टाचार तथा बेथितिको चरमतामा, निरङ्कुशताको बिगबिगीमा; युवाहरू आफूलाई बलिदान गर्न समेत पछि नहट्दा रहेछन् । आहुति दिन किञ्चित फिक्री नमान्दा रहेछन् । देशको भविष्य सधैँ युवाहरूको काँधमा थामिएको हुने रहेछ । दुःखको कुरा, मुलुकको सम्भावित भविष्य निर्माण गर्ने युवाहरू प्रतिदिन निख्रिँदैछन् । अनि मुलुकलाई कसले काँध देला ? तब त केशवजस्ता युवाप्रति असीम श्रद्धा जागेर आयो ।
भर्खर बीस बाइसका देखिने उनी र उनीजस्तै युवाहरूले आफ्नो निजी खर्चमा भ्रष्टता विरुद्ध लड्न; गाडी रिजर्भ गरेका रहेछन् । बाबु आमाको खर्चमा शहर पढ्न बसेका साना भाइ बहिनीहरूले भाडा तिरेको गाडीमा; यात्रु भएर नि:शूल्क हिँड्दा मलाई शरम लागेर आयो । देशप्रति उनीहरूको कति ठूलो चिन्ता ? आफ्नो परिस्थिति अनुकूल कति ठूलो त्याग ? अनि त मैले आफैँलाई प्रश्न गरेँ, देशका लागि मैले गरेको त्याग खै कहाँ छ ? म त केवल आफ्ना लागि बाँच्दै आएको रहेछु । के मैले देशको लागि बाँच्नु पर्दैन ?
यस पहिलेका दिनमा पार्टीले रिजर्भ गरेको गाडीमा; दुई दुई पटकसम्म भोट खसाल्न लमजुङ गएको मसँग सम्झना छ । हुन त यसपालि पनि म अरूको खर्चमा जाँदैछु । तर पनि यस पटक कुनै पार्टीले खरिद नगरेको; स्वतन्त्र नागरिकको भीड भएर जाँदैछु । यस गाडीमा प्रत्येक यात्रु, व्यक्ति भएर जाँदैछ पार्टी भएर होइन ।
आफूलाई सम्झिँदा बडो उदेक लाग्छ । मजस्तो एउटा सचेत मानिस त गाडी भाडामा आफ्नो भोट बेच्न लालायित हुन्छ भने अन्यको अवस्था कस्तो होला ? बिन्ती छ जननी (नेपाल आमा) अब मजस्तो तुच्छ नागरिकलाई कहिल्यै जन्म नदिनू । बरु जन्म दिनू कुनै लोभ लालचमा नबिक्ने, स्वाभिमान नबेच्ने, चेतनामा बाँच्ने, बेथिति विरुद्ध हाँक दिने निर्भीक तथा स्वाभिमानी नागरिक । तब तिमी महान् हुनेछौ अनि पो तिम्रो प्रतिष्ठा फेरिनेछ ।
मनमा अनेक संशय खेल्न थाल्यो । लज्जित भावले शिथिल भएँ । देशको एउटा असल नागरिक हुन नसकेकोमा अन्नतः आफैँलाई धिक्कारेँ । त्यसै क्षण दृढ प्रतिज्ञासाथ भनेँ “अब म असल नागरिक भएर देशका लागि बाँच्नेछु । चेतनामा बाँच्नेछु । अन्याय अत्याचार विरुद्ध आवाज उठाएर बाँच्नेछु र अन्त्यमा इमानका साथ स्वतन्त्र नागरिक भएर बाँच्नेछु ।”
यस्तो दृढतासँगै हातको मोबाइल भारी लाग्न थाल्यो । बरु नलिऊँजस्तो झोँक चल्यो । त्यही ठीक होला । मोबाइलमा देखिने भाँती भाँतीका तमासाले रगत उम्लिने गर्छ । तब अशान्त हुन्छु ।
अहिले देशभर निर्वाचनको तयारी उत्सवझैँ भएको छ । नेता कार्यकर्ताहरू पत्यारै नलाग्ने आश्वासन बेचेर मत हत्याउन अनेक तमासा रच्दैछन् । अझै पनि उनीहरू जतनालाई भेडा बनाउन चाहन्छन् । केवल एक भोटका लागि यतिखेर जसो गर्न पनि तयार छन् । कोही भात भान्छामा काम गर्दैछन्, कोही गोठ धन्दा सघाउँदैछन्, कोही मतदाताको मन जित्न दुई चार शब्द भए पनि स्थानीय भाषा सिक्दैछन् । कोही नाचेर मन पगाल्दैछन्, कोही गाउँदैछन् । त्यस्तै कोही आत्मीयता देखाउन नागरिक सँगसँगै बसेर खोलेफाँडो खाँदैछन् । चौरासी व्यञ्जनका सौखिनहरूलाई के साँच्चै त्यस्तो खान्की रुच्तो हो ? उता कति नागरिक त्यही खोलेफाँडो समेत खान नपाएर सुदामाको जीवन बाँच्दै आएका छन्; जसको विश्वास जित्न अब केही दिन नेता कार्यकताहरूले एकछाक भए पनि नागरिकको भोकसँग आफ्नो भोक मिलाए जाति हुने । अनि थाहा पाउने थिए भोको पेट लिएर बाँच्न कति कठिन हुने रहेछ । त्यस्तै अभावको जीवन कस्तो हुँदो रहेछ ।
मलाई यस्तो लाग्छ, जनतासँग धेरै साखिल्लो भई गहिरो प्रभाव पार्न; उनीहरूले दुःखी जनताको ह्वास्स गन्ध आउने मैलोधैलो पसिनाले भिजेको, चुमुर्किएको थाउनो वस्त्र भिरे अझ ठीक हुने । त्यति गर्दा मतदाताको अरू बढी मन जित्न सकिन्थ्यो कि ? मेरो अपेक्षा छ, निर्वाचनको समयावधिभर झुत्रो वस्त्र भिरेर नेताहरू चुनाव प्रचारमा हिँडून्, आमसभाको भाषण दिऊन् । जब कि नागरिकहरूले आफू र नेता कार्यकर्ताबीच कुनै भेद नदेखून् र अन्त्यमा त्यही पहिरनमा भोट किन्न जाऊन् । तब भोटको वर्षा होला । आखिर उनीहरूलाई चाहिएको त्यही होइन र ? अझ एउटा कुरा त भन्नै बिर्सिएछ । सुखसयलमा बाँचेको सौखिन देह र झुत्रो कपडाको कम्बिनेशन नमिल्ला । घाम पानीले झिल्सिएको असहाय नागरिकजस्तै देखिन शरीरमा धुस्रोफुस्रो केही लेपन पनि लगाउनु पर्ला । बल्ल पो दुरुस्त नागरिकजस्तै भइएला !
यस जगमा किन कोही बुझ्दैन हरेक कुराको सीमा हुन्छ भन्ने कुरा ? कम्तीमा सीमा बचाउन सके पनि केही जाती हुने थियो । पराकाष्ठा नाघ्ने कत्रो दुस्साहस ? यतिखेर महामहिमहरूले त्यही दुस्साहसको अभ्यास गर्दैछन् ! त्यसो नगरे हुने । हुँदा / नहुँदा व्यर्थ आश्वासनमा भोट माग्नु भन्दा बरु “म केही गर्न सक्दिनँ र पनि भोट चाहिँ दिनूस् । तपाईंको एक भोटले मेरो भाग्य सप्रिन्छ भने आखिर नदिनु नै के छ र ? जाबो ब्यालेटमा छाप लगाउने कुरा न हो ।” यति भन्न सके बरु हाक्काकाक्की इज्जत बढ्ने थियो । जतनाले उनीहरूको त्यो सत्यलाई सम्मान गर्ने थिए । कम्तीमा उनीहरूले ढाँटेनन्, झूट्टा आश्वासन देखाएनन् भन्ने त हुन्थ्यो । उनीहरूलाई आफ्नो राजनीति टिकाउन बरु त्यही सत्य पर्याप्त थियो । उनीहरूलाई लुकीछिपी चोरेर म चोर होइन भन्नु भन्दा बरु “म चोर हुँ” भन्नु हजारौँ गुणा श्रेयष्कर हुन्छ भन्ने ज्ञान कहिले आउला खै ? चोर्नु एकदमै खराब कुरा हुँदाहुँदै पनि कम्तीमा “म चोर हुँ” भन्न सक्नु आफैँमा एक महानता हो । लाग्छ ऊ खराब नै किन नहोस् कम्तीमा सत्य बोल्न सकोस् । झूटले उसलाई जति छिटो पतन गराउँछ त्यति सत्यले गराउँदैन । किनकि सत्यमा त्यो शक्ति हुन्छ ।
चुनावी प्रचारमा दौडेका उमेद्वारहरूको मिथ्या आश्वासनमा किन किन एकदम रिस खनिएर आयो । आँखा देख्नै सकिनँ । तब त सामाजिक सञ्जालमा धमाधम तिनीहरूलाई हारको शुभकामना दिन थालेँ । अचम्म लाग्छ बारबार कसरी जनतालाई बेवकुफ बनाउने हिम्मत आएको होला ? बडो उदेकले छोप्यो । यो देशका जनता पनि कस्ता हुन् कुन्नि ? त्यस्तो अविश्वासी तमासा देखाउनेप्रतिको वाह वाही ! उफ् क्या दिक्क लाग्ने कुरा ! त्यो भीड देख्दा अकस्मात् मैले बुवाको एउटा कविता सम्झिएँ—
नाङ्गो नाच देखाउँछन् समाजमा
दर्शक सबै जनहरू
स्यावासी पाउँछन् नाङ्गा नचरिका
नाङ्गा सबै जनहरू ।
समाजमा नाच्ने, गाउने, हेर्ने सबै नाङ्गै नाङ्गा भएपछि; नाङ्गो हुनुप्रतिको लज्जा कहीँ बाँकी नहुँदो रहेछ । बाँकी त वस्त्र भिरेकै कारण हुने रहेछ; जसमाथि नाङ्गाहरूको उपेक्षा वर्षिने गर्छ ।
यो कस्तो विवशता हो ? आखिर यति लाचार जीवन किन बाँच्नु परेको छ ? चेतनाहीन अवस्थामा बाँच्नु कति दुःख लाग्दो कुरा छ । वास्तवमा हामीलाई आफ्नो विवेकमा बाँच्न किन दिइएको छैन ? अर्थात् हामी आफ्नो विवेकमा बाँच्न किन सकिरहेका छैनौँ ? साँच्चै भन्ने हो भने, हामी मदारीको बाँदरजस्तो ठीक त्यही दृष्टान्तमा छौँ । त्यसैले त माथि केन्द्रमा नेता फुट्दा हाम्रो घर फुट्छ, गाउँ फुट्छ, समाज फुट्छ । सम्बन्ध बिग्रिन्छ । मित्रता टुट्छ । आत्मीयता भाँडिन्छ । त्यति मात्र होइन तेरो पार्टी र मेरो पार्टीको बहस चल्दा द्वन्द्व मच्चिन थाल्छ । एवं रीतले सम्बन्धहरू चिसिँदै जाने क्रममा; स्वार्थ अनुकूल माथिका जुट्दा हिजोका सारा क्षुद्रता भुलेर हामी तलका पहिलेको जस्तै चल्तीफिर्तीका भइदिन्छौँ । विघटित सम्बन्ध सच्याई हितैषी भावमा गाला जोड्न थाल्छौँ । धिक्कार लाग्ने कुरा ! उनीहरू (नेता) मिल्दा मिलिदिनुपर्ने फुट्दा फुटिदिनुपर्ने यो कस्तो जीवन हो ? के हाम्रो जीवनको चाबी पार्टीको कब्जामा छ ? एकचोटि छातीमा हात राखेर भनौँ त हामी कसका लागि बाँच्दै आएका छौँ ? आफ्ना लागि या पार्टीका लागि ? कि नेताका लागि ?
हामीसँग के त्यति पनि विवेक नभएको हो ? नेताहरू लाभ हानीको हिसाबमा फुट्ने र जुट्ने गर्छन् भन्ने के थाहा नभएकै हो ? यदि थाहा नभएको हो भने थाहा नभई नभई हामी कसको पछि किन दौडिरहेका छौँ ? अनि थाहा भएको हो भने त्यो सब प्रपञ्च बुझ्दाबुझ्दै मदारीको बाँदर बन्न किन मञ्जुर छौँ ?
हिजो बेलुका कुनै एउटा चुनाव चिह्नमा छाप हाल्ने मानसिकता बनाएर सुतेको मतदाता; भोलिपल्ट उठ्दा अर्कै चिह्नमा छाप ठोक्नुपर्ने आदेशले निर्देशित हुन पुग्छ । हिजोसम्म पार्टीको प्रचारमा यस्तो र उस्तो गफ दिएको ऊ । भोलिपल्ट विरोधी मतमा भोट खसाल्नु पर्दाको विडम्बना उफ् कति चर्को ? आखिर किन त्यसो भएको छ ? अघिल्लो दिनसम्म विपक्षीको बदनाम गर्न उसले केके थोक बोल्यो ? त्यस्तै छिमेकीको पार्टी फरक पर्दा; शत्रुतापूर्ण व्यवहार गर्न कतिसम्म घटिया भयो ? अन्ततः त्यही विपक्षी दलमा अर्थात् छिमेकीको पार्टीमा मत खसाल्नु पर्दा ऊ के सोच्ने छ ? खै उसको सिद्धान्तगत अडान ? खै विचार ? खै विवेक ?
यसरी रातारात नागरिक फुटाउने र मिलाउने सौदाबाजी निरन्तर चलिरहन्छ । आवश्यक पर्दा किनिन्छ, नपर्दा बेचिन्छ । उनीहरूका लागि सबै, फ्याक्ट्रीबाट उत्पादित माल न हौँ । अरू त के नै हो र ?
बस कहीँ रोकिएन फिलिली कुदिरह्यो । निदाउनु अघि कहाँ थिएँ, ब्यूँझँदा कहाँ ? ठम्याउन मुस्किल पर्छ । अहिले कहाँ आइपुगियो ? अलमल हुन्छ । यस्तैमा एक्कैचोटि बस कुरिनटार पुगेर रोकियो भान्छाका लागि । यसअघि थोरै समय नौबिसेमा रोकिएको थियो ।
एकैछिनमा अब मुग्लिन पनि आइपुग्यो । म फेरि निदाउँदै रहेछु । तन्द्राबाट झस्याङ्ङ हुँदा आँखामा आँबुखैरेनीको चहलपहल रहेछ । दृश्यहरू तीव्र गतिमा कसरी फुत्त फुत्त कटेका । साढे बाह्रमै डुम्रे आइपुग्यो । विवेक र वृक्षा ओर्लिए । अब अर्को गाडी चढेर एकैछिनमा घर पुग्ने छन् । कति टाढा छ र दमौली, त्यहीँ त हो ।
लागेको थियो गाडी बाइसजँगार हुँदै पाउँदी भएर धमिलीकुवा निस्किने छ । होइन रहेछ, त्यो बाटो गएन । सिधै तुरतुरेबाट गिरान निस्किएर गरमबेसीको उकालो हुँदै बस तपार्एं सडक चढ्यो । बाटोको हेक्का राख्न नपाउँदै कसरी हुइँकिएको हुइँकिन पनि । पाँचभाइ आउन लाग्यो भन्दै थिएँ कति छिटो कटिसकेछ ।
काठमाडौँबाट दिउँसै घर पुगेको यो मेरो पहिलो अनुभव हो । यात्रा सुखद रह्यो । विचोर जाने केशव भाइहरू बेलुका चार बजेतिर पुग्लान् । म ओर्लिएको ठाउँ (जेठाक) बाट उनीहरूको गन्तव्य अझै दुई तीन घण्टा टाढा थियो र अप्ठ्यारो पनि । कच्ची बाटो हुँदै बोराङखोला पुगेपछि गाडी उकालै उकालो माथि चढ्नेछ । म ओर्लिएको ठाउँदेखि अलिकति उतासम्म पिच गरिएको चौडा सडक सुविधाजनक भए पनि बाँकी बाटो त्यस्तो छैन ।
निर्वाचनका लागि अब एक दिवा ढल्न बाँकी थियो । मानिस त्यसकै प्रतीक्षामा थिए । समाचार सुन्दा लाग्थ्यो; एकदम कडा सुरक्षा र उचित व्यवस्थाका साथ यस खालको निर्वाचन तयारी अघि कहिल्यै भएको थिएन । अन्तरिम सरकारले सुरक्षाको लागि सेना परिचालन गर्ने भएको छ । कतिपय ठाउँ हवाई गस्ती समेत गर्ने भनेको छ । काठमाडौँको आकाशमा त अझ तीन चार वटा ड्रोनले निगरानी गर्ने समाचार छ ।
अघि म बडो शान्त मूडमा थिएँ । अचानक कसरी क्रुद्ध भएँ ?
उफ् ! अकस्मात् मलाई के भयो ? म कहाँ छु ? अस्ति काठमाडौँदेखि गाउँ आएको होइन ? खै त आँखामा गाउँको एउटै दृश्य आउँदैन । अचानक गाउँ कसरी फेरियो ? हेर्दाहेर्दै सामुन्नेमा आतङ्कपूर्ण दृश्य नाच्न थाल्यो । गोला बारुद, भय, त्रास, रक्तपात यो कस्तो दृश्य हो ? कसरी यस्तो हुन गयो ? हिँड्दा हिँड्दै मानिसहरू भुइँमा डङ्ग्रङ् डङ्ग्रङ् ढल्न थाले । हँ के भयो ? ए … तिनीहरूको छातीमा गोली लागेको रहेछ । अँ त्यो भर्खरको केटा । उसको गिदी उछिट्टिएर टाउकै खोक्रिएछ । त्यस्तै कति रगतको आहालमा निश्चेष्ट … कति आर्तनाद स्वरमा …।
असह्य चित्कार र मृत्यु खित्काले वायुमण्डल प्रतिध्वनित भयो । रक्तरञ्जित सडकमा मुर्दा थपिँदै गए । विमूढ गतिविधि थप तीव्र हुँदै गयो । परिवेश जल्न थाल्यो; ह्वारह्वारती दन्किएको लप्काले आकाश टिपुँलाझैँ गर्यो । ती घरहरूमा प्रज्ज्वलित शक्ति भण्डारण गरिएको रहेछ कि कुन्नि ? नत्र आगोले त्यसरी टिप्नु नपर्ने । हो त रहेछ जोसिएका युवाहरू जोडजोडले कराउन थाले; उः हेर ओ केटा हो त्यहाँ त पैसैपैसा रहेछ । आफूसँग भने रासन किन्ने दाम समेत छैन यता बिटाको बिटा जल्दैछ । बीस पच्चीसको एक युवक पैसा जलेतिर खुर्र दौडियो । त्यसै बेला अर्कोले रोक्यो, पैसाको त्यो प्रचण्ड रापले तँलाई पनि जलाउन सक्छ भो नजा यार ! किन चाहियो त्यस्तो पोल्ने धन ? पछि विदेश गएर कमाइएला नि ! त्यता जानु हुँदैन त्यसले टिप्न सक्छ … ज्यूँदै जल्नुभन्दा … भोकले जल्नु ठीक छ यार ! के छ र आखिर … बानी परेपछि जाबो भोकसँग किन डराउने ?
त्यसै बेला अर्कोले भन्यो, “उः देख्यौ त्यहाँ त सुनको हात्ती पनि रहेछ । अहो ! पैसाको त के कुरा पूरा बङ्करभरि हात्ती नै हात्ती । कति होला त्यहाँ … ?” उत्सुक हुँदै अर्को बोल्यो, “खै खै … ?”
के भन्छन् यी केटाहरू ? मैले केही बुझ्न सकिनँ । उनीहरूले पैसा जल्यो भनेको ठाउँमा मैले एउटा पनि नोट जलेको देखिनँ । बरु दुःखी जनताको भोको पेट र नाङ्गो हर त्यस्तै केके जलेको देखेँ । ज्ञात अज्ञात अरू धेरै थोक देखेँ । अनि त चिच्याइचिच्याई भन्न मन लाग्यो, “ओ केटा हो तिमीहरू त्यसरी नझुक्किनू । त्यो कुनै पैसा तथा हात्ती होइन । त्यो त हाम्रै रगत पसिनाको मूल्य हो । तिमीहरूले के अझ पनि देखेनौ ? हेर त हामी बेचिँदाको मूल्य त्यस्तै देश बेचिँदाको मूल्य कसरी जलेको ? आफू जलेकोमा त्यसरी खुशी हुने होइन बरु शोक गर्न लाग … !”
कल्पनामा समेत सोच्न नसकिने कस्तो डरलाग्दो घटना ! मैले भय मुक्त हुन आँखा छोपेँ । त्यसै बखत कसैले धक्का दिएर गयो । “को हो त्यसरी धक्का दिने ? होश गरेर हिँड्नु पर्दैन ?” यसो भन्नै लाग्दा थाहा पाएँ म त निर्वाचन केन्द्रमा रहेछु । एकदम भ्रान्तिपूर्ण अवस्थामा पालो पर्खिंदै रहेछु । किन हो कुन्नि प्रायः म यस्तै भ्रान्तिपूर्ण स्थितिमा हुन्छु । त्यसो हुँदा मेरो अभिव्यक्तिमा कसैले चित्त नदुखाउनू होला । बेहोसीका कुरा गर्ने मान्छेसँग किन चित्त दुखाउनु ? अस्ति भर्खरको एउटा घटना हो । सामाजिक सञ्जालमा मेरो पोष्ट देखेर कसैले गाली गर्यो । अनि पो थाहा पाएँ, एक मित्रको द्वन्द्वकालीन कृति पढेर ती पात्रप्रति दया लाग्दा यस्तो लेखेको रहेछु—
सम्झिँदा मनमा केके कल्पना आउँछ । तिनका मनमा कस्ता अपेक्षाहरू थिए होलान् ? अनि कस्ता थिए सपनाहरू ? बिचरा तिनीहरूलाई शहीद हुनै दिइएन ! जीवन नरहे पनि कम्तीमा शहीद हुन पाएका भए; देशका लागि बलिदान दिए भनेर चित्त बुझाउने ठाउँ त रहन्थ्यो । अहँ त्यो पनि रहेन । ती जीवनहरू ‘दान न धर्म दुईतिर नाश’ भन्ने दृष्टान्तमा समाप्त भए । व्यर्थै समाप्त भए । अझ यसो भनौँ अरू कसैको उज्ज्वल भविष्यका लागि शहीद भए । बिचराहरू ! त्यसो त तिनीहरूलाई के बिचरा भन्नु छ र ? बरु हामी आफैँलाई बिचरा भन्नु परिरहेको छ ।
आखिर हामीले बाँच्न पाएकोमा के नै गौरव गर्नु छ र ? वास्तवमा हामीलाई नागरिक हुनै दिइएको छैन । खै कहाँ जीवित रहेको छ नागरिकको अस्तित्व ? खै कहाँ राखेको छ लोकतान्त्रिक सरकारले नागरिकको मर्यादा ? उसलाई आवश्यक परे हामी बेचिन तयार हुनुपर्छ । हाम्रो मूल्यले पुगेन भने कतिखेर यहाँ देश बेचिन्छ, सिमाना बेचिन्छ थाहा हुँदैन ।
मानौँ यदि हामी बेचिनु परेन भने पनि खुशी रहने ठाउँ नै कहाँ छ र ? आफू भोकै नाङ्गै रहेर पनि मठाधीशहरूको भरणपोषणमा लाग्नु पर्छ । हेर्दाहेर्दै डेढ सयको कर बढेर पच्चीस सय पुगेको छ । महँगी उस्तै छ । जनताको आधा पेटमाथि, अझ भोको पेटमाथि यहाँ हरेक दिन राजनीति चल्छ, भ्रष्टाचार हुन्छ । अरू केके थोक हुन्छ, त्यसको हिसाब छैन । तब लाग्छ क्रान्तिको नाउँमा, परिवर्तनको नाउँमा, भविष्यको नाउँमा नेताहरूका निम्ति शहीद हुनेहरू बडो भाग्यमानी रहेछन् । कम्तीमा हामीले जसरी क्षणक्षणमा उनीहरूले ज्यूँदै शहीद हुनु परेन । उफ् ! छिनछिनमा ज्यूँदै शहीद हुनु कति कठिन कुरा रहेछ । लाग्यो बरु मरेर शहीद हुनु जाती रहेछ । अनि त भूपि शेचनको कविता अनायासै सुस्केरा बनेर गुञ्जिन थाल्छ—
मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर पिउन झन् गाह्रो छ
मरेर शहीद हुनेहरू
जिएर त हेर, जिउन झन् गाह्रो छ ।
अहिले आएर ती शहीदहरूप्रति ईर्ष्या लाग्न थालेको छ । हिजोसम्म मित्रलाई भन्दै थिएँ, “हेर तिमीले ती अभागी पात्रहरूलाई पात्रत्व दिएर ठीक गरेनौँ ।” आज आएर त्यो अभिव्यक्ति सच्याउन म बाध्य भएको छु र भन्छु, “मित्र तिनीहरूलाई पात्रत्व दिएर तिमीले राम्रो काम गर्यौ । कम्तीमा तिनीहरू तिम्रो कथामा बाँच्न त पाएका छन् । तर हामी न कथामा बाँच्न सकेका छौँ न त जीवित अस्तित्वमा ।”
मेरो यस्तो फेसबुक पोष्ट पढेर ती मान्छे धुवाँ भए । भए पनि भउन् । आखिर के छ र बोल्न पनि नपाउने ? कम्तीमा दुःखी नागरिकले बोल्न सक्दासम्म बोल्न पाउनुपर्छ । अरू त उसले के नै पाएको छ र ?
आफ्नो उम्मेदवारलाई जिताउन मानिसहरू पङ्क्तिबद्ध भई पालो पर्खिरहेका थिए । सबै स्वतन्त्र थिए मनको आवाज सुन्न र मत छनोट गर्न । ब्यालेट अगाडि म स्वस्तिक छाप उठाउन के लाग्दै थिएँ अकस्मात् लगलग भएँ । धरमराएँ । कतै यस छापले फेरि अर्को निरङ्कुशता जन्माउने त होइन ? अनि फेरि अर्को बर्बरता घटाउने त होइन ? मृत्यु रोज्न नागरिक बाध्य हुने त होइन ? त्यस्तै मानवताहीन मानवको अभ्यास फेरि गरिने त होइन ? भोका, नाङ्गा, दुःखी, गरीबमाथि शक्तिसम्पन्न शासक बन्ने प्रपञ्च फेरि चल्ने त होइन ? कतै निराशा, उदासीनता र अव्यवस्थासँगै अर्को भ्रष्टाचारी शासकको उदय हुने त होइन ? ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने दृष्टान्त पुनः दोहोरिने त होइन ?
कदापि त्यस्तो नहोस् मेरो स्वस्तिक छोपले खबरदारी गर्यो । कुनै नेता होस् या शासक ऊ आफैँमा कदापि शासक हुन सक्दैन । नागरिकले शासक बनाइँदिँदा या त मानिदिँदा न ऊ शासक हुने हो । जुन कुरा हामीले कहिल्यै बुझेनौँ । अनि बुझेनौँ देश निर्माणका लागि हामीले कति ठूलो जिम्मेवारी वहन गर्नुपर्छ भनेर । त्यस्तै हामीले आफ्नो हातमा कति ठूलो शक्ति छ भन्ने पनि बुझेनौँ । हामी जहिल्यै आफूले जिताएको नेतालाई ठूलो देख्ने गर्छौं र आफू सानो हुने गर्छौं । आखिर हामीले नै होइन र उसलाई ठूलो बनाइदिएको र सत्तामा पुर्याइदिएको ? अब हामीले यस्तो अभियान ल्याउनुपर्छ जहाँ कुनै शासक या त नेता कार्यकर्ता नागरिकभन्दा माथि हुन नसकोस् । अनि बल्ल नागरिकको मर्यादा कायम रहला र मुलुकले सुनिश्चित गति लेला ।
स्वस्तिक छाप लगाउनु अघि मैले छातीमा हात राखेर कामना गरेँ, प्रभु मलाई सही विवेक देऊ । असल नेता छनोट गर्ने अन्तिम निर्णय देऊ । आफ्नो निर्णयले आफैँलाई घात गर्ने सम्भावित परिस्थितिबाट मुक्त गराइदेऊ र अब आउने शासकलाई ठूलो मानिस होइन असल मानिस हुने सद्बुद्धि देऊ । नेपाल एकीकरणदेखि आजका दिनसम्म देश र जनताका लागि जो जति बलिदान भए; तिनका अधूरा सपना पूरा गर्ने विवेकपूर्ण शासकको जन्म गराइदेऊ । तब हामी सम्पूर्ण नेपाली धन्य हुनेछौँ र अन्त्यमा प्रत्येक व्यक्तिको खोपडीमा आलोचनात्मक चेत जगाइदेऊ जब कि उसले मदारीको बाँदर बन्न नपरोस् ।
यस्तो प्रार्थनासँगै मैले स्वस्तिक छाप उठाएँ । त्यसै बखत मतपेटिकाभित्र थरी थरीका आश्चर्य लाग्दा आकृतिहरू सल्बलाइरहेका देखेँ । भोका, नाङ्गा, वृद्ध, वृद्धा अनि वनिताहरू खाली पेटमा पटुकी कस्दै गरेको देखेँ । त्यस्तै अशक्त असहायहरू उद्धारको अपेक्षामा रुँदै कराउँदै गरेको देखेँ । निकास नभेटेका युवायुवतीहरू झोक्राइरहेको देखेँ । हत्या हिंसा तथा दमनमा परेकाहरू याचना गर्दै हात जोडेको देखेँ । त्यस्तै अरू धेरै थोक देखेँ जसको वर्णन गर्न मसँग शब्द थिएन । कष्टदायी ती दृश्यहरूमा म भावविह्वल भएँ ।
हेलो महोदय !
तिमीलाई मेरो एउटा अनुरोध छ । आफ्नो चुनावचिह्नमा परेको स्वस्तिक छापको हिसाब गर्न अहिले तिमी नलाग । त्यसपहिले स्वस्तिक छापलाई एकचोटि ओल्टाइपोल्टाई हेर्ने दुस्साहस गर र भन “तिमीले त्यसमा के कस्ता दृश्यहरू देख्यौ ?” कतै स्वस्तिक छाप मात्रै पो देख्यौ कि ? त्यसो हो भने सोच्नू तिमी किञ्चित योग्य नेता हुन सक्दैनौ । तिमीलाई एउटा सन्देश छ कृपया ब्यालेटमा स्वस्तिक छाप मात्रै देख्ने धृष्टता कहिल्यै नगर्नू । भन त्यसमा तिमीले के देख्यौ ? यदि केही देखेनौ भने राजनीतिबाट सन्यास लिने तयारी गरे हुन्छ । भन के देख्यौ त्यसमा ?

