साहित्यपोस्ट डट कम

मदन पुरस्कार विजेता नीलम कार्की निहारिकाको नयाँ उपन्यास ‘राजमाता’ लोकार्पण

मदन पुरस्कार विजेता नीलम कार्की निहारिकाको नयाँ उपन्यास ‘राजमाता’ लोकार्पण

काठमाडौं । मदन पुरस्कार विजेता उपन्यासकार नीलम कार्की निहारिकाको नयाँ कृति ‘राजमाता’ सार्वजनिक भएको छ । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृतिविद् वीणा पौड्याल र लेखक निहारिकाले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएकाे हाे ।

कार्यक्रममा बोल्दै पौड्यालले ‘राजमाता’ लाई इतिहासमा आधारित सशक्त औपन्यासिक कृति भन्दै यसको अनुसन्धानात्मक गहिराइको प्रशंसा गर्नुभयाे । इतिहासलाई आधार बनाएर लेख्ने महिला साहित्यकार कम रहेको उल्लेख गर्दै उहाँले उक्त कृतिले एक कालखण्डको सामाजिक, सांस्कृतिक र राजनीतिक यथार्थलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको बताउनुभयाे ।

लेखक निहारिकाले सन् २०१९ देखि लेखन सुरु गरेको उपन्यास कोरोना महामारीका कारण केही समय रोकिएको स्मरण गर्दै अन्ततः कृति प्रकाशन गर्न पाउँदा विशेष सन्तोष प्राप्त भएको बताउनुभयाे । उहाँले लेखन यात्रामा आएका मानसिक द्वन्द्वका बाबजुद उपन्यास पूरा गर्न सफल भएको अनुभव पनि साट्नुभयाे ।

उपन्यास ‘राजमाता’ इतिहासका पानामा उल्लेख भए पनि पर्याप्त रूपमा उजागर नभएका वीरप्रसू नारीहरूको कथालाई केन्द्रमा राखेर लेखिएको कृति हो, जसले विभिन्न कालखण्डका राज्य, सत्ता र सामाजिक संरचनाको चित्रण प्रस्तुत गर्छ ।

नेपाली साहित्यमा विद्यावारिधि गर्नुभएकाे निहारिका २०४१ सालदेखि साहित्यमा सक्रिय हुनुहुन्छ । उहाँका ‘चीरहरण’, ‘योगमाया’ र ‘द्रौपदी अवशेष’ जस्ता कृतिहरूले क्रमशः पद्मश्री साहित्य पुरस्कार, मदन पुरस्कार र अन्य महत्वपूर्ण सम्मान प्राप्त गरेका छन् । उहाँका सिर्जनाहरू विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययन सामग्रीका रूपमा समेत समावेश छन् । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.