मूल: डी. एच. लरेन्स्
नेपाली अनुवादः गिजीविषा श्रेष्ठ
एकजना सुन्दरी स्त्री सम्पूर्ण सुखसयलमा हुर्किइन् तर उनको जीवन सुखद् भएन । प्रेम पाउनको लागि उनले विवाह गरिन् र त्यो प्रेम पनि सफल भएन । उनका हृष्टपुष्ट छोराछोरी थिए, तर पनि उनले आफूमाथि उनीहरूलाई लादिएको महसूस गरिन् र उनले उनीहरूलाई प्रेम गर्न सकिनन् । उनीहरूले उनमा कुनै गल्ती नै भेट्टाए झैं गरी उनलाई निर्दयी भावले हेर्दथे । अनि आफूमा रहेको कुनै गल्तीलाई ढाक्नुपर्दथ्यो भन्ने भाव उनमा तुरुन्तै जाग्दथ्यो । तर उनले ढाक्नुपर्ने कुरा के थियो भन्ने उनलाई कहिल्यै पनि थाहा भएन । तथापि, उनका छोराछोरीको अगाडि, उनले आफ्नो हृदय कठोर भएको सदैव महसूस गर्दथिन् । यसले उनलाई विचलित बनाउँदथ्यो, र उनी व्यवहारमा आफ्ना छोराछोरीप्रति झन् बढी नम्र र व्यग्र हुन्थिन्, उनले छोराछोरीलाई अति नै प्रेम गरेझैं गर्थिन् । उनको हृदय त प्रेम महसूस गर्नै नसक्ने एउटा सानो ठाउँ थियो भन्ने मात्र उनको मनलाई थाहा थियो, तर सबैप्रति त होइन । अरू सबैले उनको बारेमा यसो भन्दथे, “उनी अति असल आमा हुन् । उनले आफ्ना छोराछोरीलाई अति महत्त्व गर्दछिन् ।” त्यो कुरा सही थिएन भनी उनी स्वयंलाई र उनका छोराछोरीहरूलाई मात्र थाहा थियो । उनीहरूले यो कुरा एकअर्काका आँखामा नै देख्दथे ।
उनका एकजना छोरा र दुईजना साना छोरीहरू थिए । उनीहरू सानो फूलबारी भएको सुन्दर घरमा बस्दथे । उनीहरूका धेरैजना नोकरहरू थिए र उनीहरूले आफूलाई छिमेकीहरूभन्दा धनाढ्य ठान्दथे ।
उनीहरूको जीवन उच्चकोटीको भए तापनि, घरमा सदैव चिन्तित हुन्थे । पैसाले कहिल्यै पुग्दैनथ्यो । आमाको कमाइ थोरै थियो, र बुबाको कमाइ पनि थोरै थियो, तर तिनीहरूले धान्नुपर्ने सामाजिक ओहोदाको लागि त कदापि पुग्दैनथ्यो । बुबाचाहिँ नगरको कुनै कार्यालयमा काम गर्दथे । तर उनले असल प्रयासहरू गरे तापनि, ती कहिल्यै सफल भएनन् । घरमा सदैव पैसाको ठूलो अभाव हुन्थ्यो, यद्यपि उनीहरूको जीवनशैली भने सदैव कायम रहन्थ्यो ।
अन्तिममा आमाले भनिन्ः “म अरू पनि केही गर्न सक्दछु नि ।” तर कहाँबाट शुरू गर्ने भन्ने उनलाई थाहै थिएन । उनले दिमाग घुमाइन् र अनेक प्रयासहरू गरिन्, तर कुनै पनि कुरामा सफलता पाउन सकिनन् । त्यो असफलताले उनको अनुहार नै चाउरी पारिदियो । उनका छोराछोरी हुर्किरहेका थिए । उनीहरू विद्यालय जानुपर्ने थियो । थप पैसा जुट्नु नै पर्दथ्यो, थप पैसा जुट्नु नै पर्दथ्यो । बुबाचाहिँ अति सुन्दर र खानामा मिठासे थिए, तर उनले कुनै महत्त्वपूर्ण काम कहिल्यै गर्न सक्दैनन् जस्तो देखिन्थ्यो । अनि आफैमाथि अति विश्वास गर्ने आमाचाहिँ पनि उसरी नै असफल भइन् र उनको जिब्रो पनि स्वादे थियो ।
त्यसपछि त्यो घर यो अज्ञात वाक्यांशले आक्रान्त भयोः थप पैसा जुट्नु नै पर्दछ ! थप पैसा जुट्नु नै पर्दछ ! ती छोराछोरीले यो वाक्यांश सदैव सुन्न सक्दथे, यद्यपि कसैले पनि यसलाई चर्को गरी भन्दैनथ्यो । उनीहरूले यो वाक्यांश ख्रीष्टमसमा सुने, जति बेला महङ्गा र आकर्षक खेलौनाहरूले छोराछोरीको कोठा भरिदिए । चम्किलो आधुनिक मच्चिने घोडाको पछिल्तिर, खेलौनाको आकर्षक घरको पछिल्तिर, एउटा आवाज फुसफुसाउन थाल्योः “थप पैसा जुट्नु नै पर्दछ ! थप पैसा जुट्नु नै पर्दछ !” अनि त्यो सुन्नको लागि छोराछोरी एकैछिन खेल्न नै छोड्दथे । उनीहरू सबैले सुने भन्ने कुरा निश्चित गर्न उनीहरूले एकअर्काको आँखामा हेर्दथे । अनि हरेकले अरू दुईजनाको आँखामा यो कुरा देख्दथ्यो कि उनीहरूले पनि सुनेका थिए । “थप पैसा जुट्नु नै पर्दछ ! थप पैसा जुट्नु नै पर्दछ !”
मच्चिने घोडाका स्प्रिङहरूबाट त्यो आवाज फुसफुसायो, र त्यो घोडाले पनि आफ्नो काठको, चुइँकिने टाउको बटार्दै त्यो वाक्यांश सुन्यो । नयाँ गड्डीमा डाहले भरिएर बसेकी ठूलो गुडियाले पनि अत्यन्त प्रष्ट रूपमा त्यो वाक्यांश सुनी, र यसकै कारण ऊ डाहले झन् बढी भरिएकी जस्तो देखियो । भालूको ठाउँमा बसेको मूर्ख छाउरो पनि असाधारण रूपमा झन् मूर्ख देखिनुको एक मात्र कारण यही थियो कि उसले त्यो गोप्य फुसफुसाहट घरभरि सुनेको थियोः “थप पैसा जुट्नु नै पर्दछ !”
तैपनि कसैले त्यो कुरा चर्को गरी कहिल्यै भनेन । त्यो जताततै गुञ्जिएको थियो, र त्यसकारण कसैले पनि त्यो उच्चारण गरेन । जसरी कसैले कहिल्यै यसो भन्दैनः “हामीले स्वास फेरिरहेका छौं !” यद्यपि स्वास सदैव आइरहेको र गइरहेको हुन्छ ।
“आमा,” छोरा पावलले एक दिन भन्यो, “हामी आफ्नै गाडी किनौं न ? किन हामी सधैं मामाको गाडी चलाउँछौं, वा ट्याक्सी चढ्छौं ?”
“किनभने हामी परिवारका गरीब सदस्यहरू हौं,” आमाले भनिन् ।
“तर किन हामी गरीब, आमा ?”
“अँ – शायद,” उनले बिस्तारै र मन दुखाउँदै भनिन्, “किनभने तिम्रो बुबाको भाग्य नै छैन ।”
केटा केही समय चूप लाग्यो ।
“भाग्य भनेको पैसा हो, आमा ?” उसले डराउँदै सोध्यो ।
“होइन, पावल ! त्यस्तो त होइन । बरु यसले पैसा कमाउन सहायता गर्दछ ।”
“ए !” पावलले मधुरो स्वरमा भन्यो । “ओस्कार मामाले हातको मैला भन्नुहुँदा, पैसालाई जनाउनुभएको भन्ने मलाई लाग्यो ।”
“हातको मैला भनेको पैसा नै हो,” आमाले भनिन्, “तर त्यो मैला हो, भाग्य होइन ।”
“ए !” केटाले भन्यो, “त्यसो भए भाग्य भनेको के हो, आमा ?”
“यो त्यो कुरा हो जसले पैसा कमाउन सहायता गर्दछ । भाग्यमानी भइयो भने पैसा आउँछ । त्यसैकारण धनीभन्दा भाग्यमानी भएर जन्मिनु उत्तम हुन्छ । हामी धनी छौं भने पैसा सिद्धिन पनि सक्छ । तर भाग्यमानी भइयो भने सधैं धेरै पैसा आउनेछ ।”
“ए ! त्यसो पो ? अनि हाम्रो बुबा भाग्यमानी हुनुहुन्न ?”
“एकदमै अभागी,” उनले मन दुखाउँदै भनिन् ।
केटाले अलमलिँदै उनलाई नियाल्यो ।
“किन ?” उसले सोध्यो ।
“मलाई थाहा छैन । कोही भाग्यमानी हुने र कोही भाग्यमानी नहुने कारण कहिल्यै कसैलाई थाहा हुँदैन ।”
“हो र ? साँच्चै ? कसैलाई पनि थाहा नहुने ?”
“शायद परमेश्वरलाई थाहा होला । तर उहाँले कहिल्यै बताउनुहुन्न ।”
“त्यसो भए, उहाँले बताउनुपर्दछ । अनि तपाईं पनि भाग्यमानी हुनुहुन्न र, आमा ?”
“म हुनै सक्दिनँ, किनकि मैले अभागी पतिसँग विवाह गरेँ ।”
“तर तपाईं आफै भाग्यमानी हुनुहुन्न र ?”
“विवाह गर्नुभन्दा पहिला त म आफूलाई भाग्यमानी ठान्थेँ । अहिले त म आफूलाई अत्यन्त अभागी ठान्दछु ।”
“किन ?”
“ह्या – भो छोडिदेऊ यी कुरा ! शायद म साँच्चै भाग्यमानी छैन,” उनले भनिन् ।
उनले साँच्चै भनेकी हुन् कि होइनन् भनी हेर्न बच्चाले उनलाई हेर्यो । तर उसले उनको मुखका भावहरूमा देख्यो कि उनले त उदेखि कुनै कुरा लुकाउने प्रयास पो गरिरहेकी थिइन् ।
“अँ, जे होस्,” उसले ढुक्क तालमा भन्यो, “म त भाग्यमानी मानिस हुँ ।”
“किन ?” उसकी आमाले हलुका हाँस्दै भनिन् ।
पावलले उनलाई एकटकले हेर्यो । उसले किन त्यो कुरा भनेको थियो भन्ने नै आमालाई थाहा थिएन ।
“परमेश्वरले मलाई भन्नुभयो,” पावलले लाज पचाउँदै जोर दियो ।
“उहाँले नै भन्नुभयो भनी म आशा गर्दछु, भुन्टे !”, उनले फेरि उदासी हाँसोका साथ भनिन् ।
“हो, आमा !”
“अति राम्रो !” आमाले आफ्ना पतिको शैलीमा भनिन् ।
आमाले केटालाई विश्वास गरिनन् र उसको कुराप्रति उनले ध्यान दिइनन् पनि । यो कुरा पावलले देख्यो । यो कुराले उसलाई कतै रिस उठायो, र आमाको ध्यान तानेरै छोड्ने उसले अठोट गर्यो ।
पावल बच्चाजसरी जुरुक्क उठेर ‘भाग्य’ को छनक खोज्न हिँड्यो । आफैमा मग्न हुँदै, अरूको वास्ता नगरीकन, नदेखिने गरी घुम्दै उसले भित्रभित्रै भाग्यलाई खोज्यो । उसले भाग्यको चाहना गर्यो, उसलाई त्यो चाहियो, उसलाई त्यो चाहियो । दुईजना केटीहरूले गुडिया खेलिरहेका बेलामा, ऊ आफ्नो ठूलो मच्चिने घोडामा बस्थ्यो र पागलसरी हावामा मच्चिन्थ्यो । उसको हावभाव देखेर ती साना केटीहरू अनौठो मान्दै उसलाई नियाल्थे । अनियन्त्रित रूपमा त्यो घोडा मच्चियो, अनि केटाको कालो कपाल हल्लियो र उसका आँखाले तिनीहरूलाई अनौठो पाराले नियाले । ती साना केटीहरूले ऊसँग बोल्ने साहस नै गरेनन् ।
पागलपूर्ण सानो यात्राको अन्त्यमा, ऊ आफ्नो मच्चिने घोडाबाट ओर्लियो र त्यसको सामु उभियो । उसले त्यस घोडाको उदास मुहारमा एकटकले नियाल्यो । त्यसको रातो मुख अलिकति खुला थियो, त्यसको ठूलो आँखा चौडा र चम्किलो थियो ।
“अब !” उसले त्यो हिनहिनाउने घोडालाई बिस्तारै आज्ञा दियो, “अब मलाई भाग्य भएको ठाउँमा लैजा । अहिले नै लैजा !”
अनि उसले सानो कोर्राले घोडाको घाँटीमा हिर्कायो जुन कोर्रा उसले ओस्कार मामासँग मागेको थियो । उसले त्यस घोडालाई वाध्य पारेमा त्यसले उसलाई भाग्य भएको ठाउँमा लैजान सक्दथ्यो भन्ने पावललाई थाहा थियो । त्यसैले ऊ फेरि त्यसमाथि चढ्यो र अन्ततः त्यहाँ पुग्ने आशा गर्दै आफ्नो जोशपूर्ण यात्रा शुरू गर्यो ।
“तिम्रो घोडा भाँच्चिनेछ है, पावल !” हेरचाह गर्ने दिदीले भनिन् ।
“ऊ सधैं त्यसरी नै चढ्छ ! यस्तो बानी छोडे त हुन्थ्यो !” उसकी दिदी होआनले भनिन् ।
तर उसले चूप लागेर तिनीहरूलाई नियाल्यो मात्र । हेरचाह गर्ने दिदीले उसलाई हेर्नै छोडिन् । उसलाई सम्झाउन सकिनन् । जे होस्, पावल उनीभन्दा ठूलो हुँदै गएको थियो ।
===
एक दिन यसरी नै पावल जोशिलो भएर घोडा चढिरहेको बेलामा उसकी आमा र ओस्कार मामा भित्र आए । ऊ तिनीहरूसँग बोलेन ।
“ए जोशिलो बाबु ! बिजेता हुन कुदेको ?” मामाले भने ।
“तिमी मच्चिने घोडा चढ्न नसुहाउने गरी ठूलो भएनौ र ? तिमी अब बच्चा होइनौ, बुझ्यौ ?” उसकी आमाले भनिन् ।
तर पावलले आफ्ना ठूला, जोडिनै लागेका आँखाले सुइरो नजरले हेर्यो मात्र । ऊ पूर्ण आवेशमा भएको बेला कसैसँग पनि बोल्दैन प्रायः । उसकी आमाले चिन्तित अनुहार पार्दै पावललाई नियालिन् ।
अन्तिममा ऊ आफ्नो घोडालाई बेस्सरी मच्चाउँदै स्वात्त ओर्लियो ।
“बल्ल म त्यहाँ पुगेँ !” उसले कडा रूपमा घोषणा गर्यो, तर उसका नीला आँखाहरू अझै दन्किरहेका थिए र उसका बलिया लामा खुट्टाहरू फट्टिरहेकै थिए ।
“तिमी कहाँ पुग्यौ र ?” उसकी आमाले सोधिन् ।
“जहाँ म जान चाहन्थेँ,” पावलले जवाफ फर्कायो ।
“त्यो ठीक हो, बाबु !” ओस्कार मामाले भने, “त्यहाँ नपुगेसम्म नरोकिनू है । त्यो घोडाको नाम के हो ?”
“त्यसको नाम छैन,” केटाले भन्यो ।
“तैपनि चढिन्छ, होइन ?” मामाले सोधे ।
“अँ, त्यसका धेरै नाम छन् । अघिल्लो हप्ता त्यसलाई सान्सोभिनो भनिएको थियो ।”
“सान्सोभिनो, होइन ? अस्कोटको च्याम्पियन ! तिमीलाई यो नाम कसरी थाहा भयो ?”
“उसले बासेटसँग सधैं घोडादौडको बारेमा कुरा गर्दछ,” होआनले भनिन् ।
===
मामाचाहिँ आफ्नो सानो भान्जालाई घोडादौडका सबै खबरहरू बताइएको थाहा पाउँदा प्रफुल्ल भए । जवान माली बासेटलाई लडाइँमा जाँदा देब्रे खुट्टामा चोट लागेको थियो । उसले ओस्कार क्रेसवेलमार्फत यो काम पाएको थियो । ऊ त ओस्कारको व्यक्तिगत चाकर भएको थियो । ऊ उक्त ‘घोडादौड’ को निपुण जानकार थियो । ऊ घोडादौडका माहोलहरूमा जियो र त्यो सानो केटा पनि ऊसँगै जियो ।
ओस्कार क्रेसवेलले त्यो सबै बासेटबाट पाए ।
“मास्टर पावल आएर मलाई सोध्नुहुन्छ । त्यसैले म उहाँलाई बताउनुभन्दा बढी केही गर्न सक्दिनँ, हजुर” बासेटले भन्यो । उसको अनुहार अत्यन्तै गम्भीर थियो, मानौं उसले धार्मिक कुरा गर्दै थियो ।
“अनि उसले आफूलाई मन पर्ने घोडामाथि कहिल्यै बाजी राख्छ ?”
“अँ — म उहाँको पोल खोल्न चाहन्नँ — उहाँ जवान खेलाडी, असल खेलाडी हुनुहुन्छ, हजुर । गाह्रो मान्नुहुन्न भने कृपया उहाँलाई नै सोध्नुहुन्छ कि ? उहाँ यसमा रमाउनुहुन्छ र शायद मैले उहाँको पोल खोलेँ भन्ने उहाँले ठान्नुहुन्छ होला, हजुर ।”
बासेट त साधुजत्तिकै गम्भीर भयो ।
…..
मामाचाहिँ आफ्ना भान्जाकहाँ फर्केर गए र उसलाई कारमा घुमाउन लगे ।
“भन त पावल साथी, के तिमीले घोडामाथि कहिल्यै बाजी राख्छौ ?” मामाले सोधे ।
केटाले ती भलादमी मानिसलाई नजिकबाट नियाल्यो ।
“किन, मैले त्यसो गर्नुहुँदैन भन्ने तपाईं ठान्नुहुन्छ ?” उसले उल्टो प्रश्न गर्यो ।
“कदापि होइन ! तिमीले त मलाई लिङ्कोल्न दौडको बारेमा जानकारी दिन्छौ कि भन्ने मैले सोचेथेँ ।”
कार हुइकिँदै गाउँमा पस्यो र तल ह्याम्पशायरमा रहेको ओस्कार मामाको जग्गामा पुग्यो ।
“साँच्चै ?” भान्जाले भन्यो ।
“साँच्चै, बाबु !” मामाले भने ।
“त्यसो भए, ड्याफोडिल ।”
“ड्याफोडिल ! हुँदैन होला, बबुरो । मिर्जा नि ?”
“म त विजेतालाई मात्र चिन्दछु,” केटाले भन्यो, “त्यो हो ड्याफोडिल ।”
“ड्याफोडिल नै हो त ?”
एकछिन मौनता छायो । ड्याफोडिल तुलनात्मक रूपमा नचिनिएको घोडा थियो ।
“मामा !”
“हजुर, भान्जा ?”
“तपाईंले यो कुरा अन्यत्र भन्नुहुनेछैन, होइन र ? मैले बासेटसँग प्रतिज्ञा गरेको थिएँ ।”
“बासेटको कुरा नगर, साथी ! योसँग उसको के मतलब ?”
“हामी साझेदारहरू हौं । हामी शुरूदेखि नै साझेदार भइआएका छौं । मामा, उसले मलाई शुरूमा पाँच शिलिङ् सापटी दिएको थियो जुन मैले हारेँ । मैले साँच्चै ऊसँग प्रतिज्ञा गरेको थिएँ, यो म र उसको बीचको मात्र कुरा थियो । तपाईंले मलाई त्यो दश शिलिङको नोट दिनुभएपछि मात्र मैले जित्न थालेँ । त्यसैले तपाईं भाग्यमानी हुनुहुन्थ्यो भनी मैले सोचेँ । तपाईंले यो कुरा अरूलाई भन्नुहुनेछैन, होइन र ?”
केटाले ती ठूला, जोशिला, नीला आँखाहरू नजिकै ल्याएर आफ्नो मामालाई नियाल्यो । मामाचाहिँ खुशी हुँदै मुस्कुराए ।
“ठीक भन्यौ, बाबु ! म तिम्रो कुरा गोप्य राख्नेछु । तिमीले उसमाथि कति बाजी राखेका छौ ?”
“बीस पाउण्डबाहेक सबै,” केटाले भन्यो । “म त्यो रकम बचतमा लुकाएर राख्छु ।”
मामाले यस कुरालाई एउटा राम्रो ठट्यौली ठाने ।
“तिमीले बीस पाउण्ड बचतमा लुकाएर राख्छौ, होइन त, जवान चञ्चले ? त्यसो भए तिमीले कति बाजी राखेका छौ त ?”
“मैले तीन सयको बाजी राखेको छु,” केटाले मक्ख पर्दै भन्यो, “तर यो तपाईं र मेरो बीचको कुरा हो, ओस्कार मामा ! साँच्चै ।”
“ल, ल, यो तिम्रो र मेरो बीचमा मात्र भयो, जवान खप्पिस,” तिनले हाँस्दै भने , “तर तिम्रो तीन सय पाउण्ड कहाँ छ त ?”
“बासेटले त्यो राखिदिन्छ । हामी सोझदारहरू हौं ।”
“ए, हो र ? अनि बासेटले ड्याफोडिलमाथि कति बाजी राखेको छ त ?”
“मैले जति त उसले बाजी लगाउनेछैन भन्ने मलाई लाग्छ । शायद उसले एक सय पचास लगाउला ।”
“के, पैसा ?” मामा हाँसे ।
“होइन, पाउण्ड,” केटाले अनौठो मानेर आफ्ना मामालाई हेर्दै भन्यो, “बासेटले चाहिँ मैले भन्दा धेरै बचतमा लुकाएर राख्छ ।”
आश्चर्य र रमाइलोको बीचमा अलमलिँदै ओस्कार मामा मौन बसे । तिनले त्यस कुरालाई अगाडि बढाएनन्, तर तिनले आफ्नो भान्जालाई आफूसँग लिङ्कोल्न दौडहरूमा लैजाने अठोट गरे ।
“अब, भान्जा,” तिनले भने, “म मिर्जामाथि बीस पाउण्ड बाजी राख्दैछु र तिम्रो लागि म तिमीले रोजेको कुनै पनि घोडामाथि पाँच पाउण्ड बाजी राखिदिनेछु । कुनलाई रोज्छौ ?”
“ड्याफोडिल, मामा ।”
“अहँ, ड्याफोडिलमाथि पाँच पाउण्ड नराखौं !”
“मेरो आफ्नै पाँच पाउण्ड भए त म राख्थेँ,” बच्चाले भन्यो ।
“ठीक छ ! राम्रो ! ठीक भन्यौ ! ड्याफोडिलमाथि मेरो पाँच पाउण्ड र तिम्रो पाँच पाउण्ड ।”
त्यो बच्चा दौडको सभामा पहिला कहिल्यै पुगेको थिएन, र उसका आँखाहरू कौतुहलताले भरिएका थिए । उसले नितान्त चूप लागेर नियाल्यो । ठीक अगाडिका एकजना फ्रान्सेली मानिसले लान्सलटमाथि बाजी राखे । जोशले पागल हुँदै तिनले तलमाथि हात हल्लाए र तिनको फ्रान्सेली लवजमा “लान्सलट !, लान्सलट !” भन्दै चिच्च्याए ।
ड्याफोडिल पहिलो, लान्सलट दोस्रो र मिर्जा तेस्रो भए । त्यो केटा अनुहार रातो र आँखा चम्किलो पार्दै अप्रत्याशित रूपमा शान्त रह्यो । उसका मामाले उसलाई चारवटा पाँच पाउण्डका नोटहरू ल्याइदिए, एकको चार ।
“मैले यसलाई के गर्ने ?” तिनी केटाका आँखाको सामु ती नोटहरू हल्लाउँदै चिच्च्याए ।
“मलाई लाग्छ, हामी बासेटसँग कुरा गर्नेछौं,” केटाले भन्यो । “मसँग अब लगभग पन्ध्र सय छ र बचतमा बीस, अनि यो बीस पाउण्ड ।”
उसका मामाले उसलाई केही क्षण अध्ययन गरे ।
“हेर, भान्जा !” तिनले भने, “तिमी बासेटको बारेमा गम्भीर छैनौ र त्यो पन्ध्र सयको बारेमा पनि, होइन र ?”
“हो, म गम्भीर छु । तर यो त तपाईं र मबीचको कुरा हो । पक्का ?”
“पक्का, बाबु ! तर मैले बासेटसँग कुरा गर्नुपर्दछ ।”
“मामा, यदि तपाईं बासेट र मसँग साझेदार हुन चाहनुहुन्छ भने हामी सबैजना साझेदारहरू हुन सक्दछौं । तर तपाईंले साँच्चै यो प्रतिज्ञा गर्नुपर्दछ कि मामा, यस समूहलाई हामी तीनजना भन्दा बढी बनाउनुहुँदैन । बासेट र म भाग्यमानी छौं र तपार्इं पनि भाग्यमानी हुनुपर्दछ, किनभने तपाईंकै दश शिलिङबाट नै मैले जित्न शुरू गरेको थिएँ …”
….
ओस्कार मामाले एक दिन दिउँसो बासेट र पावललाई रिचमण्ड पार्कमा लगे र त्यहाँ तिनीहरूले कुराकानी गरे ।
“कुरा यस्तो हो, हेर्नुहोस् हजुर,” बासेटले भन्यो, “मास्टर पावलले मलाई घोडादौडका घटनाहरूको विषयमा कथा भन्न लगाउनुहुन्छ, बुझ्नुभयो, हजुर । अनि मैले जितेँ कि हारेँ भनी जान्न उहाँ सदैव उत्सुक हुनुहुन्छ । अहिले लगभग एक वर्षजति भयो, मैले उहाँको निम्ति ब्लश अफ डनमा पाँच शिलिङ बाजी राखेँः र हामीले हार्यौं । त्यसपछि उहाँले तपाईंबाट पाउनुभएको दश शिलिङसँगै भाग्य फर्किआयोः त्यसलाई हामीले सिंहलिजमा बाजी लगायौं । अनि त्यस समयदेखि, नियमित रूपमा नै सबै कुरा राम्रो हुँदै आएको छ । कि कसो, मास्टर पावल ?”
“हामी निश्चित हुँदा ठीकै हुन्छौं,” पावलले भन्यो, “हामी त्यति निश्चित नहुँदा हामी घाटा खान्छौं ।”
“अहो, तर हामी त्यतिबेला होशियार हुन्छौं,” बासेटले भन्यो ।
“तर तिमीहरू कतिबेला निश्चित हुन्छौ त ?” ओस्कार मामा मुस्कुराए ।
“मास्टर पावलले नै निर्णय गर्नुहुन्छ, हजुर,” बासेटले गोप्य, धार्मिक आवाजमा भन्यो, “उहाँले त स्वर्गबाट नै यो कुरा पाउनुहुन्छ जस्तो लाग्छ । जस्तै अहिले लिङ्कोल्नमा ड्याफोडिलको कुरा गरौं । त्यो त पूर्ण रूपमा निश्चित थियो ।”
“तिमीले ड्याफोडिलमाथि केही बाजी थापेका थियौ ?” ओस्कार क्रेसवेलले सोधे ।
“हो, हजुर, मैले अलिकति जितेँ ।”
“अनि मेरो भान्जाले ?”
बासेट पावललाई हेर्दै टसमस नहुने गरी मौन बस्यो ।
“मैले बाह्र सय जितेँ, होइन त, बासेट ? मैले ड्याफोडिलमाथि तीन सय बाजी थाप्दैथिएँ भनी मामालाई भनेको थिएँ ।”
“हो, हो,” बासेटले मुन्टो हल्लाउँदै भन्यो ।
“तर त्यो पैसा खोइ त ?” मामाले सोधे ।
“मैले यसलाई ताला लगाएर सुरक्षित राख्छु, हजुर । मास्टर पावलले मागेको बेलामा त्यो तुरुन्त पाउन सक्नुहुन्छ ।”
“के अरे, पन्ध्र सय पाउण्ड ?”
“अनि बीस ! अनि चालीस, अर्थात्, उसले कमाएको बीससहित ।”
“कति असल कुरा !” मामाले भने ।
“यदि मास्टर पावलले तपाईंलाई साझेदार हुन मौका दिनुहुन्छ भने, हजुर, म भएको भए साझेदार हुनेथिएँ । मलाई माफ गर्नुहोला,” बासेटले भन्यो ।
ओस्कार क्रेसवेलले यसबारे विचार गरे ।
“म पैसा हेर्नेछु,” तिनले भने ।
तिनीहरू गाडीमा घर फर्किए र साँच्चै बासेट त पन्ध्र सय पाउण्डका नोटहरू लिएर बगैंचा–घरमा आयो । बचतको बीस पाउण्ड चाहिँ घोडादौड आयोगको खातामा राख्न जोय ग्लीलाई दिइएको थियो ।
“हेर्नुहोस्, मामा, म निश्चित हुँदा सबै कुरा ठीक हुन्छ ! त्यसपछि हामी बलिया हुन्छौं, किनकि हामी सबैजना योग्यका छौं, होइन त, बासेट ?”
“हो, मास्टर पावल ।”
“अनि तिमी कहिले निश्चित हुन्छौ त ?” मामाले हाँस्दै भने ।
“अहो, अँ, कहिलेकाहीँ म पूर्ण रूपमा निश्चित हुन्छु, जस्तो ड्याफोडिलको बारेमा,” केटाले भन्यो; “र कहिलेकाहीँ मसँग एउटा उपाय हुन्छ; र कहिलेकाहीँ मसँग एउटा उपाय पनि हुँदैन, होइन त, बासेट ? त्यसपछि हामी होशियार हुन्छौं, किनभने हामी प्रायः हार्छौं ।”
“ए, त्यसो पो ! अनि ड्याफोडिलको बारेमा जस्तै तिमी निश्चित हुँदा, कुन कुराले तिमीलाई निश्चित बनाउँदछ त, बबुरो ?”
“अहो, अँ, मलाई थाहा छैन,” केटाले असजिलो मान्दै भन्यो, “म निश्चित हुन्छु, बुझ्नुभयो, मामा; बस् ।”
“त्यो त उहाँले स्वर्गबाट पाउनुभएको जस्तै हुन्छ, हजुर,” बासेटले अझ जोर दियो ।
“त्यस्तै हुनुपर्दछ !” मामाले भने ।
तिनी साझेदार बने । अनि लेगर घोडादौड आइरहेको बेलामा, पावल लाइभ्ली स्पार्कको बारेमा ‘निश्चित’ भयो, जुनचाहिँ अत्यन्त साधारण घोडा थियो । केटाले त्यो घोडामाथि एक हजार पाउण्डको बाजी राख्न जोर गर्यो, बासेटले पाँच सय राख्यो र ओस्कार क्रेसवेलले दुई सय राखे । लाइभ्ली स्पार्क पहिलो भयो, र त्यसमाथिको बाजी एकको अनुपातमा दश थियो । पावलले दश हजार पाउण्ड कमायो ।
“हेर्नुहोस् त,” उसले भन्यो, “म त्यसको बारेमा पूर्ण रूपमा निश्चित थिएँ ।”
ओस्कार क्रेसवेलले समेत दुई हजार पाउण्ड जिते ।
“हेर, भान्जा,” तिनले भने, “यस्तो किसिमको कुराले मलाई अत्याउँछ ।”
“आत्तिनुपर्दैन, मामा ! शायद म लामो समयसम्म फेरि निश्चित नहोउँला ।”
“तर त्यत्रो पैसाले तिमी के गर्छौ ?” मामाले सोधे ।
“वास्तवमा,” केटाले भन्यो, “मैले यो कुरा आमाको निम्ति शुरू गरेँ । उहाँको भाग्य नै थिएन भनी उहाँले भन्नुभयो, किनभने बुबा अभागी हुनुहुन्छ । त्यसैले म भाग्यमानी भएँ भने त्यो फुसफुसाउन रोकिएला ।”
“कुन कुरा फुसफुसाउन रोकिएला ?”
“हाम्रो घर । हाम्रो घर फुसफुसाएको मलाई मन पर्दैन ।”
“त्यसले के फुसफुसाउँदछ ?”
“किन – किन” – केटा सलबलाउँदै बोल्यो, “किन, मलाई थाहा छैन । तर सधैं पैसाको अभाव हुन्छ, बुझ्नुभयो, मामा ।”
“मलाई थाहा छ, बाबु, मलाई थाहा छ ।”
“मानिसहरूले मेरी आमासँग पैसा फिर्ता माग्छन् भन्ने तपाईंलाई थाहै होला, मामा ।”
“खोइ,” मामाले भने ।
“अनि त्यसपछि त्यो घर फुसफुसाउँछ, मानिसहरूले कुरा काटेर हाँसे जसरी । यो एकदम नराम्रो हुन्छ ! मैले सोच्थेँ कि म भाग्यमानी भएको भए –”
“तिम्रो कुरा यहीँ रोक,” मामाले थपे ।
केटाले तिनलाई ठूला नीला आँखाले नियाल्यो, जसमा अशान्त चिसो आगो थियो । अनि उसले फेरि शब्द निकालेन ।
“त्यसो भए !” मामाले भने, “अब हामीले के गर्ने त ?”
“म भाग्यमानी छु भनी आमाले थाहा पाउनुहुँदैन,” केटाले भन्यो ।
“किन र, बाबु ?”
“उहाँले मलाई रोक्नुहुन्छ ।”
“मलाई त त्यस्तो लाग्दैन ।”
“अहो !” – अनि केटाले अनौठो तरिकाले शरीर मर्कायो – “म उहाँलाई थाहा दिन चाहन्नँ, मामा ।”
“ठीक छ, बाबु ! हामी उहाँलाई थाहा नै नदिई कुरा मिलाउँला नि त ।”
तिनीहरूले यसलाई अत्यन्त सजिलै मिलाए । पावलले अरूको सल्लाहअनुसार, पाँच हजार पाउण्ड आफ्ना मामालाई दियो । मामाले त्यो पारिवारिक वकिलमार्फत खातामा जम्मा गरे । अनि त्यस वकिलले पावलकी आमालाई यो जानकारी दियो कि एकजना आफन्तले उसको हातमा पाँच हजार पाउण्ड दिएका थिए जुन हरेक वर्ष एकपटक एक हजार पाउण्डको दरले आउने पाँच वर्षसम्म आमाको जन्मदिनमा झिक्न मिल्दथ्यो ।
“यसरी उहाँले अबका पाँच वर्षसम्म एक हजार पाउण्डको जन्मदिनको उपहार पाउनुहुनेछ,” ओस्कार मामाले भने, “यसले पछि उनलाई अप्ठ्यारोमा पार्नेछैन भनी म आशा गर्दछु ।”
पावलकी आमाको जन्मदिन नोभेम्बरमा आयो । त्यो घर हालसालै झन् नराम्रोसँग ‘फुसफुसाइरहेको’ थियो । पावलले भाग्यमानी भएर पनि त्यसलाई सहन सकेन । ऊ जन्मदिनको चिठीको असर हेर्न अति आतुर थियो जसले उसकी आमालाई एक हजार पाउण्डको बारेमा बताउँदथ्यो ।
पाहुना नआएका बेला, पावलले आफ्ना बुबाआमासँगै खाना खान्थ्यो, किनकि अब उसो ऊ हेरचाह गर्नुपर्ने बच्चाको समूहमा थिएन । उसकी आमा लगभग हरेक दिन बजार जान्थिन् । उनले आफूमा भुवा भएका पहिरनहरूको चित्र कोर्ने अनौठो क्षमता भएको थाहा पाएकी थिइन् । त्यसैले उनले एकजना साथीको कार्यालयमा गोप्य रूपमा काम गरिन् जो एउटा प्रमुख कपडा डिलरको मुख्य ‘कलाकार’ थिइन् । उनले भुवा भएको लुगा लगाएका महिलाहरूको र सिल्क तथा सिताराले बनेका लुगामा सजिएका महिलाहरूको चित्र कोर्थिन् । अनि तिनलाई पत्रिकामा विज्ञापन गर्न छापिन्थ्यो । यी जवान महिला कलाकारले वर्षमा कैयौं हजार पाउण्ड कमाउँथिन्, तर पावलकी आमाले केही सयमात्र कमाउँथिन्, र उनी फेरि असन्तुष्ट भइन् । उनी कुनै कुरामा पहिलो हुन अति लालसा गर्थिन् र उनी सफल भइनन्, लुगाका विज्ञापनहरू कोर्ने काममा समेत ।
उनी आफ्नो जन्मदिनको बिहान नास्ता खान ओर्लिइन् । उनले चिठीहरू पढ्दै गर्दा पावलले उनको अनुहार नियाल्यो । वकिलको चिठी उसले चिन्यो । उसकी आमाले त्यो पढ्दाखेरि, उनको अनुहार कठोर बन्यो र एकदम नीरस भयो । त्यसपछि उनको मुखमा कठोर, कडा भाव आयो । उनले त्यो चिठी अरू चाङमुनि लुकाइन्, र त्यसको बारेमा एक शब्द पनि बोलिनन् ।
“आमा, तपाईंको जन्मदिनमा चिठीमा कुनै असल कुरा पाउनुभएन ?” पावलले भन्यो ।
“अति सानो असल कुरा,” उनले भनिन् । उनको आवाज कठोर, नीरस र भावशून्य थियो ।
उनी थप केही नबोली बजारतिर गइन् ।
तर दिउँसोतिर ओस्कार मामा देखा परे । पावलकी आमले वकिलसँग लामो कुराकानी गरेकी थिइन् भनी तिनले बताए । उनी ऋणमा परेकी हुनाले पूरै पाँच हजार पाउण्ड एकैपटक दिन मिल्थ्यो कि भनेर उनले वकिललाई सोधिन् ।
“तपाईंलाई कस्तो लाग्छ, मामा ?” केटाले भन्यो ।
“म यो कुरा तिम्रै हातमा छोड्छु, बाबु ।”
“अहो, त्यसो भए उहाँलाई सबै दिऔं ! हामीले अरू घोडादौडमा थप जित्न सक्छौं,” केटाले भन्यो ।
“हातमा एउटा चरा हुनु भनेको झाडीमा दुईवटा हुनुजत्तिकै हो, बाबु !” ओस्कार मामाले भने ।
“तर ग्राण्ड नेशनल घोडादौड वा लिङ्कोल्नशायर घोडादौड वा डर्बी घोडादौडको बारेमा मलाई अवश्य थाहा हुन्छ । तीमध्ये एकको बारेमा मलाई अवश्य थाहा हुन्छ,” पावलले भन्यो ।
त्यसैले ओस्कार मामाले सम्झौतापत्रमा हस्ताक्षर गरे र पावलकी आमाले पूरै पाँच हजार पाइन् । त्यसपछि एउटा अति उत्सुकतापूर्ण घटना भयो । घरमा आउने आवाजहरू अचानक खराब भए, वर्षायामको साँझमा भ्यागुताहरूले गाएजस्तो । घरमा नयाँ सामानहरू ल्याइयो र पावलको लागि एकजना शिक्षक जुटाइयो । अर्को शरद ऋतुमा ऊ इटोनमा, आफ्ना बुबाको विद्यालयमा भर्ना हुनेथियो । हिउँदमा फूलहरू फूले र पावलकी आमालाई बानी परेको ऐय्यासी फक्रियो । तैपनि लज्जावती र बदाम फूलका झ्याङ्हरूपछाडि, र झलझल बल्ने सिरानीहरूको थुप्रोमुनिबाट घरमा रमाहटका आवाजहरू गुञ्जिएः “पैसा अझै हुनुपर्दछ ! अहो; पैसा अझै हुनुपर्दछ । अहो, अहिले नै, अहिले नै ! अहिले नै – पैसा अझै हुनुपर्दछ ! – पहिलाभन्दा धेरै ! पहिलाभन्दा धेरै !”
यसले पावललाई अत्यन्तै तर्सायो । उसले आफ्ना शिक्षकसँग ल्याटिन र ग्रीक भाषा सिक्यो । तर उसले बासेटसँग धेरै समय बितायो । ग्राण्ड नेशनल घोडादौड गइसकेको थियो र उसले ‘थाहै’ पाएन । अनि उसले एक सय पाउण्ड गुमायो । ग्रीष्म ऋतु आउनै लागेको थियो । ऊ लिङ्कोल्नको व्यग्र प्रतीक्षामा थियो । तर लिङ्कोल्नको लागि पनि उसलाई ‘थाहै’ भएन । अनि उसले पचास पाउण्ड गुमायो । ऊ ठूला आँखे र अनौठो बन्यो, उसमा कुनै कुरा विष्फोट हुन लागे झैं ।
“भैगयो, बाबु ! यसको बारेमा चिन्ता नगर !” ओस्कार मामाले हौसला दिए । तर केटाले त उसका मामाले भनेका कुरा सुन्नै सकेन जस्तो भयो ।
“मैले डर्बी घोडादौडको बारेमा त थाहा पाउनै पर्दछ ! मैले डर्बीको बारेमा त थाहा पाउनै पर्दछ !” बच्चाले रट लगायो । उसका ठूला नीला आँखा एक किसिमको पागलपनले बलिरहेका थिए ।
पावल कति व्याकुल थियो भनी उसकी आमाले देखिन् ।
“तिमी त समुद्र किनारतिर गए राम्रो हुन्छ । यहाँ बसिराख्नुभन्दा अहिले नै समुद्र किनारतिर गए हुन्न र ? तिम्रो लागि त्यही राम्रो हुन्छ,” उनले भनिन् । उनको हृदय पावलको कारणले अति भारी भएको थियो ।
तर त्यस बच्चाले आफ्ना अशान्त नीला आँखाहरू माथि उचाल्यो ।
“डर्बीको कार्यक्रमभन्दा पहिला म जान सक्दिनँ, आमा !” उसले भन्यो, “म जान सक्दिनँ !”
“किन र ?” उनले भनिन् । छोराले उनको कुरा नसुनेको हुनाले उनको आवाज कठोर बन्यो । “किन नजाने ? तिमी समुद्र किनारमा गएर पनि आफ्ना ओस्कार मामासँग डर्बीको कार्यक्रम हेर्न जान सक्छौ त, तिम्रो त्यही इच्छा छ भने । तिमीले यहाँ बसेर पर्खिराख्नु पर्दैन । अँ, तिमीले यी घोडादौडहरूको बारेमा अति धेरै वास्ता गर्दछौ । यो राम्रो लक्षण होइन । मेरो परिवार जुवा खेल्ने परिवार भइआएको छ, र यसले कति नोक्सान गर्यो भनी तिमीले ठूलो नभएसम्म बुझ्नेछैनौ । तर यसले नोक्सान पुर्याएको छ । मैले बासेटलाई निकाल्नुपर्ला र तिमीसँग घोडादौडको बारेमा कुरा नगर्न ओस्कार मामालाई अनुरोध गर्नुपर्ला । नत्र तिमीले यसको वास्ता नगर्ने प्रतिज्ञा गर्नुपर्दछ । अब समुद्र किनारमा जाऊ र यसलाई बिर्सिदेऊ । तिमीहरू सबै पागल हौ !”
“तपाईंलाई जे मन पर्छ त्यही म गर्छु, आमा, तर मलाई डर्बीको घोडादौडभन्दा पहिला टाढा नपठाउनुहोस् है,” केटाले भन्यो ।
“तिमीलाई कहाँदेखि टाढा पठाउने ? यो घरदेखि नै ?”
“हजुर,” उनलाई नियाल्दै भन्यो ।
“किन, ए चञ्चले केटा, कुन कुराले तिमीलाई अचानक यो घरको यति धेरै वास्ता गर्न लगायो ? तिमीले यसलाई माया गर्दछौ भनी मैले कहिल्यै थाहा पाइनँ त ।”
उसले केही नबोलीकन आमालाई नियाल्यो । ऊसँग गोप्यभित्रको गोप्य कुरा थियो, जुन कुरा उसले बासेटलाई वा आफ्ना ओस्कार मामालाई समेत भनेको थिएन ।
तर उसकी आमाले, केही बेर अलमल पर्दै र अलिअलि मुर्मुरिँदै उभिएपछि, भनिन्, “त्यसो भए ठीक छ ! तिमीलाई इच्छा लाग्दैन भने डर्बीको कार्यक्रम पूरा नभएसम्म समुद्र किनारमा नजाऊ । तर तिमीले घोडादौड र कार्यक्रमहरूको बारेमा धेरै सोच्नेछैनौ भनी मसँग वाचा गर !”
“अहँ,” केटाले सामान्य रूपमा भन्यो, “म तिनको बारेमा धेरै सोच्नेछैन, आमा । तपाईंले चिन्ता गर्नुपर्दैन । म तपाईंको ठाउँमा भएको भए, म त चिन्ता गर्ने नै थिइनँ ।”
“तिमी म र म तिमी भएको भए,” उसकी आमाले भनिन्, “हामीले के पो गर्नेथियौं होला !”
“तर तपाईंले चिन्ता गर्नुपर्दैन भन्ने तपाईंलाई थाहै छ नि आमा, होइन र ?” केटाले दोहोर्यायो ।
“यो कुरा थाहा पाउँदा म पुलकित भएँ,” उनले थकित हुँदै भनिन् ।
“हो नि, तपाईं खुशी हुनुपर्दछ, बुझ्नुभयो । अर्थात् तपाईंले चिन्ता गर्नुपर्दैन भनी तपाईंलाई थाहा हुनुपर्दछ,” उसले जोर दियो ।
“मैले बुझ्नुपर्दछ र ? त्यसो भए म यसबारे विचार गर्नेछु,” उनले भनिन् ।
पावलको रहस्यको पनि रहस्यचाहिँ उसको काठको घोडा थियो, त्यही जसको नाम थिएन । ऊ बालकक्षादेखि माथि उक्लिएको हुनाले, उसले आफ्नो मच्चिने घोडालाई घरको बुइँगलमा रहेको आफ्नै सुत्ने कोठामा सार्न लगाएको थियो ।
“तिमी त मच्चिने घोडा चढ्न नसुहाउने गरी ठूला भइसकेका छौ !” उसकी आमाले विरोध जनाएकी थिइन् ।
“हेर्नुहोस् आमा, मैले साँच्चैको घोडा नपाएसम्म, म आफूसँग कुनै किसिमको जनावर राख्न चाहन्छु,” भन्ने उसको शान्त जवाफ भइआएको थियो ।
“त्यो तिम्रो साथी हुन्छ जस्तो लाग्छ ?” उनी हाँसिन् ।
“हो नि ! ऊ अति असल छ, म त्यहाँ हुँदा ऊ सधैं मेरो साथी हुन्छ,” पावलले भन्यो ।
त्यसैले त्यो घोडा झुत्रै भए पनि केटाको सुत्ने कोठामा बुर्लुक्क उफ्रिएको भावमा उभियो ।
डर्बी घोडादौड नजिकिँदै थियो, र त्यो केटा झन् बढी तनावमा पर्यो । उसलाई भनिएको कुरा उसले सुन्नै छोड्यो, ऊ अति कमजोर भयो, र उसका आँखाहरू साँच्चै अशान्त भए । आमालाई उसको बारेमा अचानक ऐंठनहरू भए । कहिलेकाहीँ, आधा घण्टासम्म, उनले पावलको बारे अचानक चिन्ता महसूस गर्थिन् जुन पीडादायी हुन्थ्यो । उनी उत्तिबेला नै दगुरेर ऊकहाँ जान चाहन्थिन् र ऊ सुरक्षित भएको हेर्न चाहन्थिन् ।
डर्बीको कार्यक्रम हुनुभन्दा दुई रात अगाडि, उनी बजारको एउटा ठूलो भोजमा थिइन् । त्यति नै बेला उनलाई आफ्नो जेठो छोराको चिन्ताले छोप्यो र बोल्नै नसक्ने गरी उनको मुटुमा समात्यो । उनले त्यो तीव्र भावनासँग सङ्घर्ष गरिन् किनकि उनले सामान्य ज्ञानमा विश्वास गर्थिन् । तर त्यो भावना अति प्रबल थियो । उनी नाच छोडेर तल गइन् र गाउँमा फोन गरिन् । बच्चाको हेरचाह गर्ने दिदी राती फोन आउँदा अत्यन्त चकित र चिन्तित भइन् ।
“बच्चाहरू ठीकै छन्, मिस विल्मट ?”
“हजुर, उहाँहरू एकदम ठीक हुनुहुन्छ ।”
“मास्टर पावल नि ? ऊ ठीकै छ ?”
“उहाँ त एकदम ठीक समयमा सुत्नुभयो । म दौडिएर माथि गई उहाँलाई हेरूँ ?”
“पर्दैन,” पावलकी आमाले अनिच्छुक हुँदै भनिन्, “अहँ ! दुःख नगर्नुहोस् । ठीकै छ । निद्रा नफाल्नुहोस् । हामी चाँडै नै घर आइपुग्नेछौं ।” छोराको गोपनियता भङ्ग गरियोस् भन्ने उनले चाहिनन् ।
“हवस्, राम्रोसँग आउनुहोस्,” दिदीले भनिन् ।
पावलका आमा र बुबा गाडीमा घर पुग्दा लगभग एक बजेको थियो । सबै कुरा शान्त थियो । पावलकी आमाले आफ्नो कोठामा गएर सेतो भुवादार लबेदा फुकालिन् । उनले आफ्नी कामदारलाई प्रतीक्षा नगर्न भनेकी थिइन् । तल्लो तलामा उनका पतिले ह्विस्की र सोडा मिसाएको उनले सुनिन् ।
अनि त्यसपछि, उनको हृदयको अनौठो चिन्ताको कारण, चाल मारेर माथि तलामा आफ्नो छोराको कोठामा गइन् । बिरालोको चालमा उनी माथिल्लो बरण्डाबाट गइन् । के त्यहाँ मधुरो आवाज आइरहेको थियो ? त्यो के थियो ?
उनी जिरिङ्ग भएको शरीर लिएर उसको ढोका बाहिर उभिइन् र सुनिन् । त्यहाँ एउटा अनौठो, भारी र पनि मधुरो आवाज आइरहेको थियो । उनको मुटु नै रोकियो । त्यो शान्त आवाज थियो, र पनि छिट्छिटो र शक्तिशाली थियो ।
कुनै ठूलो कुरा, तर बेस्सरी, शान्त चालमा । त्यो के थियो ? आखिर त्यो के थियो ? उनले थाहा पाउनु नै पर्दथ्यो । उनलाई त्यो आवाज थाहा थियो भन्ने उनलाई महसूस भयो । त्यो के थियो भन्ने उनी जान्दथिन् ।
तैपनि उनले ठ्याक्कै थाहा पाइनन् । त्यो के थियो भनी उनले भन्न सकिनन् । अनि त्यो चलिरह्यो, पागलपन जसरी ।
बिस्तारै, चिन्ता र डरले कुक्रुक्क पर्दै, उनले ढोकाको अन्तराप खोलिन् ।
कोठा अँध्यारो थियो । तैपनि झ्यालनिरको खाली ठाउँमा, उनले कुनै कुरा अघि–पछि गर्दै हल्लिरहेको सुनिन् र देखिन् । उनले डर मान्दै र चकित हुँदै नियालिन् ।
अनि अचानक उनले बत्ती बालिन् र आफ्नो छोरालाई देखिन् जो हरियो पाइजामा लगाएर त्यो मच्चिने घोडामाथि पागलसरी हल्लिरहेको थियो । बत्तिको उज्यालोले अचानक उसलाई देखाइदियो र उसले त्यो काठको घोडालाई आदेश दिइरहेको थियो । अनि उनलाई पनि देखाइदियो जो फिका हरियो र चम्किने पहिरनमा सुनौलो कपाल फिजाउँदै ढोकानिर उभिएकी थिइन् ।
“पावल !” उनी चिच्च्याइन्, “तिमी के गर्दैछौ ?”
“यो मालाबार हो !” ऊ शक्तिशाली, कडा आवाजमा चिच्च्यायो । “यो मालाबार हो !”
एउटा अनौठो र भावशून्य सेकेण्डसम्म पावलका आँखाले आमालाई एकटकले हेरे र उसले आफ्नो काठको घोडालाई आदेश दिन छोड्यो । त्यसपछि ऊ गर्लम्म भुइँमा झर्यो र तड्पिएको मातृत्वले ओतपोत भएर उनी छोरालाई उठाउन दगुरिन् ।
तर ऊ बेहोश थियो, र बेहोश नै भइरह्यो, किनकि उसलाई टाउकोमा ज्वरो आएको थियो । ऊ बोल्दै छटपटायो, र उसकी आमा मरेतुल्य भई उसको छेउमा बसिन् ।
“मालाबार ! यो मालाबार हो ! बासेट, बासेट, म जान्दछु ! यो मालाबार हो !”
यसरी त्यो बच्चा उठ्ने र मच्चिने घोडालाई आदेश दिने प्रयास गर्दै चिच्च्यायो जुन घोडाले उसलाई प्रेरणा दिएको थियो ।
“मालाबार भनेर उसले के भन्न खोजेको ?” मुटु चिसिएकी आमाले सोधिन् ।
“मलाई थाहा छैन,” बुबाले पूर्ण अनभिज्ञता जनाउँदै भने ।
“मालाबार भनेर उसले के भन्न खोजेको ?” उनले आफ्नो भाइ ओस्कारलाई सोधिन् ।
“डर्बीको घोडादौडमा भाग लिने एउटा घोडा हो,” जवाफ आयो ।
अनि, अनिच्छुक हुँदै, ओस्कार क्रेसवेलले बासेटसँग कुरा गरे र आफैले मालाबारमाथि एक हजार पाउण्ड बाजी राखेः एकको अनुपातमा चौध गुणा आउने गरी ।
बिमारीको तेस्रो दिन गम्भीर भयोः तिनीहरूले सुधारको आशा गरिरहेका थिए । लामो, घुम्रिएको कपाल लिएर केटा सिरानीमाथि अविरल छटपटिइरह्यो । ऊ न निदायो न त उसको होश नै आयो । अनि उसका आँखा नीला ढुङ्गाहरूजस्तै भए । उसकी आमा, मुटु नै रोकिए झैं गरी ढुङ्गा नै बनिन् ।
साँझमा ओस्कार क्रेसवेल आएनन्, तर बासेटले एउटा सन्देश पठायोः ऊ एकै छिनको निम्ति, केवल एकै छिनको निम्ति माथि आउन सक्दथ्यो कि भनेर सोध्दै । कोही आउने कुरा सुनेर पावलकी आमा झडङ्ग रिसाइन्, तर फेरि उनले सहमति जनाइन् । केटा उस्तै थियो । शायद बासेटले उसलाई होशमा ल्याउन सक्दथ्यो ।
छोटो खैरो दाह्री र साना तीखा खैरो आँखा भएको होचो कदको माली बिस्तारै कोठाभित्र आयो, निहुरिएर पावलकी आमालाई अभिवादन चढायो, र चाल मारेर केटाको विस्तारानिर गयो । अनि चम्किला, चिम्सा आँखाले छटपटिरहेको, मर्नै लागेको बच्चालाई नियाल्यो ।
“मास्टर पावल !” उसले सासैसासले भन्यो, “मास्टर पावल ! मालाबार नै प्रथम भयो, स्पष्ट रूपमा । तपाईंले भने झैं मैले गरेँ । तपाईंले सत्तरी हजार पाउण्डभन्दा बढी जित्नुभयो । अब तपाईंसँग असी हजारभन्दा बढी छ । मालाबार नै पहिलो भयो, मास्टर पावल ।”
“मालाबार ! मालाबार ! मैले मालाबार भनेको थिएँ, आमा ? मैले मालाबार भनेको थिएँ ? के तपाईं मलाई भाग्यमानी ठान्नुहुन्छ, आमा ? मलाई मालाबारले जित्छ भन्ने थाहा थियो, होइन त ? असी हजार पाउण्डभन्दा बढी ! म त्यसलाई भाग्यमानी भन्छु, तपाईं नि, आमा ? असी हजार पाउण्डभन्दा बढी ! मलाई थाहा थियो, मलाई साँच्चै थाहा थिएन त ? मालाबार साँच्चै प्रथम भयो । म निश्चित नभएसम्म मैले मेरो घोडा चढेँ भने म तपाईंलाई भन्नेछु, बासेट, तपाईंले जति पनि बाजी राख्न सक्नुहुन्छ । के तपाईंले आफूसँग भएजति सबै बाजीमा राख्नुभयो, बासेट ?”
“मैले यसमा एक हजार बाजी राखेको थिएँ, मास्टर पावल ।”
“मैले तपाईंलाई कहिल्यै पनि भनिनँ, आमा, कि मैले मेरो घोडा चढेर त्यहाँ पुग्न सकेँ भने म पूर्ण रूपमा निश्चित हुन्छु – अहो, पूर्ण रूपमा ! आमा, के मैले कहिल्यै तपाईंलाई बताएँ ? म भाग्यमानी छु !”
“अहँ, तिमीले कहिल्यै बताएनौ,” आमाले भनिन् ।
तर केटा त्यही रात बित्यो ।
अनि ऊ मरेर पस्रिरहँदा, उसकी आमाले उनको भाइको यसो भन्ने आवाज सुनिन्, “हे मालिक, हेस्टर, तिमी असी हजार पाउण्डभन्दा बढीका मालिक त भयौ, तर आफ्नै जीवन गुमायौ । विचरा तिमी, विचरा, तिमी यस जीवनबाट राम्रैसँग गयौ जहाँ तिमीले विजेता पत्ता लगाउने आफ्नो मच्चिने घोडा चढ्थ्यौ ।”

