साहित्यपोस्ट डट कम

म र मेरा सिर्जना : किरणका अमूर्त कलाहरू

म र मेरा सिर्जना : किरणका अमूर्त कलाहरू

गत जनवरी १७ मा तक्पा कला ग्यालरीमा किरण मानन्धरको एकल कला प्रदर्शनी शुरु भयो । यो कला प्रदर्शनी आगामी १४ फेब्रुअरी सम्म रहनेछ । यो कतिऔँ एकल कला प्रदर्शनी हो । ठम्याउन उनैलाई पनि गाह्रो होला । अर्थात सम्भवतः उनैले पनि यसलाई विस्तारमा गन्न भ्याएका छैनन् । गएको पचास वर्षमा उनले अनगिन्ती राष्ट्रिय अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरूमा भाग लिएका छन् । देश भित्र–बाहिर गरी उनका सयौँ एकल कला प्रदर्शनीहरू भइसकेका छन् ।

सानो ठूलो कागजमा, क्यानभास वा अनेकौँ माध्यममा उनका प्रायोगात्मक कलाहरू देखिन्छन् । प्रयोगात्मक रूपमा बनेका यस्ता कलाहरू कतै डेमो जस्तो भएर पनि देखा परेको छ । कतै पूरा व्यवस्थापनका साथ सिर्जना भएको पनि देखिन्छ । जेजस्ता रूपमा यी कलाहरू देखा परे पनि पात्रहरू चाहिँ उही छन् । अनि पोस्चरको रूपमा पनि खासै फरकपना देख्न सकिन्न । अझ रमाइलो कुरा त सबै महिला कै मात्र चित्रहरू देखिनु अनि एकल आँखा मात्र देखिनु पनि उनका खास विशेषता देखिन्छ ।

भारतका लोक कलाहरूमा विशेष गरेर मुगल वा राजस्थानी चित्रहरूमा एकतर्फ फर्केका महिलाहरू एकै आँखामा देखिन्छन् । यो परम्परा नेपाली लोक कलाहरूमा पनि देखिन्छ । विशेष गरेर मिथिला वा थारु लोककलामा पनि महिला वा पुरुष एकातिर मात्र फर्कँदा एउटा मात्र आँखा देखिन्छ । यसर्थ पनि कहिँ न कहिँ आफ्नो परम्परा अनि मौलिकता जगेर्ना गर्न पनि उनी लागिपरेका हुन् । वा पूर्वीय कलागत पहिचानको धोतक बन्न पनि उनले यसो गरेको हुन सक्छ । वा यो एउटा उनको आफ्नै कलागत सिग्नेचरको प्रत्याभूति पनि हुन सक्छ । वा निरन्तर बग्नुले नयाँ खोजको परिकल्पनामा इच्छा नभएर पनि हुन सक्छ । तथापि प्रयोग भएका सबैजसो कलाहरू किसिमकिसिमबाट प्रदर्शनमा चाहिँ आइसकेको देखिन्छ ।

प्रायोगवादीका रूपमा उनका कामहरू

यसरी कला कोर्न उनको यो रहर भन्दा पनि नियति बनिसकेको देखिन्छ । दैनिकीजस्तो बनेका यस्ता सिर्जनाहरू आकर्षक त हुँदै हो । अझ यसले नयाँ ढंगको सिर्जन–प्रक्रियालाई पनि जन्म दिएको मान्न पर्छ । फोटोग्राफरको फोटोहरू आफ्नो क्यानभास भरी टाँस्न लगाएर यसैमाथि आफ्नो तुलिकाघातहरू पनि उनले दौडाउन भ्याएका छन् । यो उनको संयुक्तताको कला थियो । चित्र र कविता मिसेर पनि उनका कला सिर्जना भएको छ । उनका चित्रमा कविता बनेर वा कवितामा चित्र बनेर बनेका यस्ता चित्रहरू अझ घतलाग्दा बनेका थिए । सुख्खा अजङ्गका जुटका खस्रा बोराहरूलाई पनि उनले क्यानभास बनाएका छन् । भित्तामै झुन्ड्याएर प्रदर्शनमा बसेका यस्ता चित्रहरू अनौठो पनि देखिन्थे । पहाडे कागजलाई पनि उनले क्यानभास बनाएका छन् । यस्ता चित्रहरूमा टेक्चरको भरपुर उपस्थितिले यस्ता सिर्जनाहरू अझ रमाइला देखा परेका थिए । अनि सयौँ मिटरका कपडा धरहराबाट तल जमिनसम्म लतारेर यसैमाथि पनि कला बनाइसकेका छन् । थाहा छैन, यसले बिहानदेखि बेलुका सम्म कति घण्टा समयलाई बोकेको थियो । आम मान्छेका अगाडि खुला वातावरणमा बनेको यो चित्रले पनि एउटा अलग्ग इतिहास नै बनाएको थियो । १२८ मिटर लामो यो चित्र चाहिँ सन २००८ मा बनेको थियो । यसको चर्चा आज पनि भइरहनुले यसको गरिमा अलग्गै रूपमा स्थापित भएको छ । तापनि उनी भन्छन् यी तमाम कुराहरू खोज होइन यो जीवनको निरन्तरता हो ।

निरन्तरताको उनको भोक

यसर्थ गोटागन्ती भन्दा पनि कला सिर्जना चाहिँ भइरहनु पर्छ भन्ने कुरामा उनी ज्यादा चासो लिने गर्दछन् । उनको ठम्याइमा कला सिर्जना भइरहनु गरिरहनु नै जीवन हो । यो उनको निरन्तरतामा समावेश हुने बानीले वा आफू निरन्तर काम गरिरहनुले पनि उनका कलामा स्वस्फूर्तताको भाव र सौन्दर्यताका अभिलक्षणहरू यथेष्ठ रूपमा देख्न सकिन्छ । उनी नयाँ खोजमा तल्लीन रहनु भन्दा पनि स्वाभाविक रूपमा बगिरहन मन पराउँछन् ।

उनको एउटा ज्यादै रमाइलो बानी छ । युवा कलाकारलाई भेट्ने बित्तिकै उनले सोध्ने प्रश्न भनेको – कला त बनाउँदै छौ होइन ? कस्तो सिर्जना हुँदै छ ?

यो मात्र प्रश्न होइन यो उनको स्वभाव हो । यो उनको स्वभावले युवा, नवयुवा कलाकारहरू सदैव उत्साहित हुने गर्दछन् ।

उनी भन्छन् – मेरा अभ्यासहरू (कलाहरू) आफैँमा एउटा संवाद हो । जसभित्र देखा नपरेका शक्तिका तत्वहरू अन्तर्निहित हुने गर्दछन् । अनि जसले मलाई वा मेरो कलालाई सिर्जनशील हुन मलजल गर्दछ । यो शक्ति म भित्रैबाट अनि मै वरिपरिका संसारबाट आउने गर्दछ जसले खाली क्यानभासमा यी आइडियाहरूलाई स्थापित गर्ने काम गर्दछ । उनको थप भनाइ छ – म आफैले आफूलाई कम आविष्कारक ठान्छु । ज्यादा चाहिँ निर्दिष्ट लक्ष्यतिर स्वयं बगिरहेको छु भन्ने ठान्छु । यसर्थ म अवचेतन मनका अवयवहरूलाई स्वस्फूर्त बग्न दिन्छु र ठान्छु यसले नै मलाई चिनाओस् वा मेरा कथाहरू भनिरहून् ।

उनका विचारहरूमा नितान्त अमूर्तता छ । वास्तवमा अमूर्तता उनको स्वभाव हो । यसो हुँदा पनि उनका यी अक्षरहरूले जसरी अमूर्तता बोल्ने गर्दछन् । यसैको प्रतिबिम्बको रूपमा रंगहरूले पनि यसैगरी यही भाकामा मौन बोलिरहेका हुन्छन् । जुन स्वभावतः अमूर्तता नै हुने गर्दछ । यसो हुँदा पनि उनका कलाहरू बुझ्न खोज्नु भन्दा पनि महसूस गर्नु बढी सान्दर्भिक हुन्छ । उनका चित्रमा मान्छेका आकृतिहरू देखा नपर्ने पनि होइन तथापि यही पनि अमूर्ततामै बुझ्न पर्ने हुन्छ । रेखाहरू भन्दा उनका रंगका डोबहरूले बढी बोल्ने हुँदा पनि उनका कलामा अमूर्तताको बोझ अझ बढी छ । प्रकृतिसँग ज्यादै मोह उनी राख्छन् । अनि प्रकृतिबाटै प्रभावित हुँदै गर्दा किरण आफ्नै अन्तर्आत्माको अनुभव र अनुभूति सँग जोडिन पुग्छन् । अनि अथाह रूपमा उनका भावहरू रंग र रेखाहरूका रूपमा उनका क्यानभासमा पोखिन थाल्छन् ।

यसकारण पनि उनका बलिया र चोटिला तुलिकाघातहरू क्यानभासमा उछलकुद गरिरहन्छन् । यसैमाथि आकृतिहरू पनि कुदिबस्छन् । यसर्थ यसलाई अवलोकन गर्दा दर्शकहरू अलिकता रमाइलो गर्छन् । अनि अलिकता कौतुहलताको महसूस गर्दछन् । हरेक भावकहरू उनका कलामा आ–आफ्नै ढंगले के के जाति खोजी बस्छन् । केही भेटिए जस्तो केही खोजे जस्तो पारामा भावकहरू भौतारिरहेको देखिनु पनि स्वाभाविक बन्न जान्छ । अर्थात भावकहरूले केही पाउँछन् पाउँदैन थाहा छैन । तर बुझ्दै जाने क्रममा अनुभव चाहिँ यथेष्ट मात्रामा गरिसकेका हुन्छन् । उनको कलाको यही गजबको खुबी पनि हो ।

किरण आफैँ चाहिँ

किरण मानन्धर आफैँ पनि नेपाली समसामयिक कलामा स्थापित नाम हो । झन्डै उनको पचास वर्षको कलायात्रामा कहिले पनि नथाक्ने कलाकारको रूपमा उनलाई हेर्ने गरिन्छ । वनारसबाट कलामा स्नातकोत्तर गरी नेपाल फर्केपछि उनले जुनकिरी भन्ने सानो कला समूह खोलेका थिए । वनारसबाट सँगै फर्केका सहयात्री कलाकारहरू द्वय बीरेन्द्र प्रताप सिंह अनि सुरेन्द्रराज भट्टराई पनि उतैबाट कलामा दीक्षित भएका हुन् । यी कलाकारहरूसँग मिलेर यो कला समूह खोलेका थिए । त्यसताका नेपालमा यस्तै स–साना कला समूहहरू खोलेर, मिलेर सामूहिक कला प्रदर्शनी गर्ने लहड चलेको थियो । सन् सत्तरीको शुभारम्भमा मुम्बईको जेजे स्कूल अफ आर्टमा दीक्षित भएर आएका कलाकारहरूले (शशी शाह, कृष्ण मानन्धर, इन्द्र प्रधान, वत्सगोपाल वैद्य) स्किव नामक सानो कला समूह खोली यस्ता स–साना समूह खोल्न जग हाल्ने काम गरेका थिए । सन् अस्सीको उत्तरार्धमा खोलिएको जुनकिरी यसैको निरन्तरता हो ।

मूलतः उनी नेपालको समसामयिक कलाको इतिहासमा सन् ८० को दशकको उत्तरार्धमा उदाएका कलाकार हुन् । सन् साठीतिर नेपालमा आधुनिक कलाको उदय भयो । विशेष गरेर यस बखत अमूर्त कलाले दबदबा कायम रह्यो । अनि सँगसँगै स्वैरकाल्पनिकता हुँदै गर्दा मिथकले पनि यसवेला निकै गजबले जरा गाडेको इतिहास छ । विशेष गरेर देवी देवताहरू एउटा बिम्ब बनेर नेपाली आधुनिक कलामा यसै वेला उदाएका हुन् । यस्तो बखतमा यी कलाकार अमूर्तताबाट आफ्नो कलायात्रा शुरु गरे । अनि अमूर्ततामा देवी देवतालाई अभिव्यञ्जनाका साथ पस्कँदै नयाँ कलाको धारमा प्रवेश गरेका कलाकार हुन् । यसो हुँदा पनि उनका कलामा अमूर्तता अनि थोरै मिथकको प्रवेश पनि भएको छ । राधाकृष्ण उनलाई मन परेका देवदेवी हुन् । यसपाली पनि यसै किसिमका कलाहरू देखा परेको छ ।

नेपाली कलाको विकासको क्रममा अलग्गै कलाको निकाय नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको गठन हुने बित्तिकै उनी नै पहिलो कुलपति बनेका थिए । यस अर्थमा उनी कला सिर्जनामा मात्र होइन कलाको संस्थागत विकासमा पनि अहोरात्र खट्ने कलाकारको रूपमा चिनिन्छन् । उनीसँग मेरो धेरै रमाइलो सन्दर्भहरू गाँसिएका छन् । सन् १९९१ मा बंगलादेशको ढाकामा आयोजित हरेक दुई वर्षमा हुने एसिएन आर्ट बिएनाले मा उनले अनरेबल मेन्सन (पुरस्कार) पाएका थिए । संयोग कस्तो मिल्न गयो भने यही बायोनालेमा म नेपालको प्रतिनिधित्व गर्दै त्यहाँ पुग्ने अवसर पाएको थिएँ । तत्कालीन बंगलादेशी राष्ट्रपतिबाट उनको नामको त्यो पुरस्कार ग्रहण गर्ने चाहिँ मलाई जुरेको थियो । यस्तै थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार लिन भ्याइसकेका किरणले सालोन डे क्लाइमार्ट पेरिसबाट पनि पुरस्कार पाउनाका साथै नेपाल राष्ट्रबाट शुक्रतिमय राष्ट्रदीप, प्रबल गोरखा दक्षिण बाहु आदि पनि प्राप्त गरिसकेका छन् ।

उनको त्यतिवेला देखि शुभारम्भ गरेको कला यात्राले आजसम्म विश्राम लिएको देखिँदैन । अझ भन्नै पर्दा नेपाली कलामा द्रुत गतिमा बढेका किरण आज पनि त्यही गतिमा कुद्न भ्याएका छन् । अहिले पनि त्यतिकै सक्रिय क्रियाशील भइरहने उनको स्वभावले गर्दा जहिँकही कार्यक्रममा पनि सहभागी भइहाल्ने गर्दछन् । कार्यक्रममा चित्र बनाइहाल्ने गर्दछन् ।

उनी सहज छन् । सजिलो छन् । यसकारण पनि उनी पाका कलाकारहरूदेखि नवयुवा कलाकारहरूसँग पनि सजिलो गरी उठबस गर्ने गर्दछन् । अनि सम्भवतः सबैभन्दा बढी कलाको वर्कशपहरूमा सहभागी हुने कलाकार पनि उनी नै हुन् । अनुकूल प्रतिकूल ठाउँ हुन पर्दैन जहाँ पनि जहिले पनि उनका तुलिकाहरू सहजै क्यानभासमा चलवलाइहाल्ने गर्दछ । यसो हुँदा पनि कुनै पनि कार्यक्रममा उनलाई चित्र बनाइरहेको देख्न सकिन्छ । उनी अति द्रुत गतिमा कलाको सिर्जना गर्ने गर्दछन् । अनि कलाको साहित्य वा कुनै अन्य कार्यक्रममा पनि अनुकूलता मिल्ने बित्तिकै कला बनाइहाल्ने गर्दछन् । हुनत उनी घरमै पनि कहिले खाली बस्दैनन् । आधा घण्टा समय भयो भने हत्तपत्त उनीबाट नयाँ सिर्जना बनिहाल्छ । रंगहरूसँग सधैँ खेलिरहन मन पराउने उनको बानीले सम्भवतः उनले हजारौँ कलाको सिर्जना गरिसके होलान् । यस अर्थले पनि कतै प्रदर्शनमा उनका पुराना कलाहरू सामान्यतया हुने गर्दैनन् ।

यसपल्टको कला प्रदर्शनीमा

यसपल्टको यो कला प्रदर्शनी ‘म र मेरो सिर्जनाֹ’मा चाहिँ उनको आफ्नै शैलीका अमूर्त कलाहरू छन् । तापनि यसपल्ट आकारहरूले अलि बढी मात्रामा थिचेको देखिन्छ । गएका केही वर्षहरूदेखि उनी अलि बढी नै आकारमूलक संयोजनमा देखा पर्न थालेको छ । परिवर्तन हुँदै गएको आजको कला माथिको पहुँच बढाउन पनि यसो हुन थालेको हुन सक्छ । अर्थात उनको स्वभावले पनि समसामयिक कलाको नयाँ प्रवृत्तिलाई समाउन खोजेको जस्तो पनि देखिन्छ । अमूर्तताबाट विस्तारै मूर्त हुन खोज्दाखोज्दै पनि हतारमा कुदेका रंग र रेखाहरूले पूर्ण यथार्थतामा भने समेटेको देखिँदैन ।

हुनत उनका चित्रहरू एउटै शैली र प्रवृत्तिमा देखिने गर्दछन् । तापनि नयाँ बन्ने चित्रमा केही न केही अलग्गपन भने भेट्टाउन सकिन्छ । पहिले कहीँ देखे देखे जस्तो हुनु, वा देखिसकेको जस्ता कलाहरू लागे पनि सबै चित्रहरू नयाँ छन् । अर्थात सन् २५ कै हुन् । तथापि यो कला प्रदर्शनीमा १६ सालमा बनेका कलाहरूलाई पनि राखिएको रहेछ । १६ का अनि २५ का मात्रै चित्रहरू देखिनु पनि थोरै अनौठो चाहिँ लाग्छ । यसो किन गरे होलान् । यसको रहस्य चाहिँ गर्भ भित्रै छ ।

यसपल्ट भने आकारको मोहले निक्कै नै उनलाई छोएको देखिन्छ । बढी नै भावनात्मक हुन पुगेका यी चित्रहरू दुःख अनि हैरानीको बिम्बहरूलाई नै सम्हालेर अगाडि बढेको देखिन्छ । १६ सालतिर बनाएको एउटा महिलाको चित्र छ । जहाँ नितान्त सेतो रंगको पृष्ठभूमिमा साधा स्वाभाविक रंगीविरङ्गी वस्त्रमा नेवार समुदायका महिला देखिन्छन् । बढी नै चहकिलो रंगहरूसँग खेल्ने किरण यसपल्ट भने जतनसँग यथार्थपरक हुन खोज्दा एक अलग्ग आनन्दको महसूस हुन्छ । तर रंगहरूसँग कुदिबस्न रमाउने उनी किन आफ्नो पुरानो शैलीलाई छोड्न सक्थे र । यसै साल बनेका अर्को चित्रमा उनी नितान्त अमूर्त शैलीमा ओर्लन पुगेका छन् । तथापि यसैमा पनि परोक्ष रूपमा नदेखिने गरी दर्द बोकेका महिला जोडिलाई स्पष्ट अनुभव गर्न सकिन्छ ।

अधिकांश चित्रहरू जोडीकै रूपमा देखिनु पनि गजबकै परिकल्पना छ । तर एक्लो महिला होस् वा जोडी, सबैजसो मलिन मुद्रामा देखिनु चाहिँ अनायास हो वा दुःखदर्दको प्रत्याभूति हो अलग्याउन अलि असहज नै लाग्दछ ।

एउटा चित्र छ आमा छोरीको जोडी । न्यानो माया अनुभूत गरेको छोरी साँच्चै नै मायालु देखिन्छन् । अर्को चित्रमा माया र प्रेममा जोडिएका जोडी छन् । हँसिलो देखिँदैन । अर्को चित्र निमग्न भएको अवस्थामा बसेका देखिन्छन् । खुसी देखिँदैन । संगीतको तालमा मग्न भइरहँदा, हाँसखेल भइरहको वातावरणमा पनि ती पात्रहरू रमाइरहेका देखिँदैनन् ।

अर्को चित्र छ, त्यो पनि मुखाकृति भने गम्भीर र नियास्रो देखिन्छ । सबैजसो चित्रहरू एकैजसो पोस्चरमा देखिन्छन् । अनि भावाभिव्यञ्जना पनि फरक ढंगबाट देखिएको छैन । सपाट रंगहरू खेल्न खोज्दै स्पष्ट रूपमा महिलाका जोडीलाई अलग्ग पाराले गिजोल्न पुगेको देखिन्छ ।

अर्को चित्र छ । चित्रपट भरी पहेँलो रंगले हल्का पातलो बगेको अनुभूत हुन्छ । तापनि भित्रपट्टि सानो कालो रेखाले महिलाको नग्न पोस्चरलाई कोर्न भ्याएको देखिन्छ । त्यहाँ पनि नदेखिने गरी जोडीले प्रसय पाएको देखिन्छ ।

यस्तै अर्को चित्र छ । हरियोपनको पातलो रंगले खेल्दै गर्दा एउटा महिला फूलहरूसँग विराजमान भएको देखिन्छ । उदास मनस्थितिका साथ बसेको यो आकृतिले फूलको सौन्दर्यतासँग तुलनात्मक रूपमा एउटा अनौठा वातावरणलाई प्रक्षेपण गर्दछ । यसै बेलाको अर्को चित्र चाहिँ सेतो क्यानभासमा मात्र रेखांकनबाट दुई नारीहरूलाई प्रस्तुत हुन पुगेको देखिन्छ ।

अधिकांश उनका पात्रहरू उदासीपन समेटी बस्नु चाहिँ थोरै उदेक लागे पनि समग्रमा अवस्थाको प्रतिविम्बको एहसास हुन्छ । नाङ्गो महिलाको काँधमा काग बसेको अर्को चित्र छ । हरियो पृष्ठभूमिमा कालो रेखांकनले अंकन हुन पुगेको चित्र पनि त्यसैपनि मार्मिक देखिन्छ । यस्तै यस्तै चित्रहरू हुँदै गर्दा यसपल्ट उदास र मौन आर्तनादलाई पस्कँदै गर्दा पनि भावकले मिठासको अनुभूत चाहिँ गर्छ नै ।

कलाकार, कला समीक्षक

साझा गर्नुहोस्:
मुकेश मल्ल

लेखकको बारेमा

मुकेश मल्ल

नेपालका वरिष्ठ चित्रकारका रूपमा चिनिनु हुने मुकेश मल्ल कला प्राध्यापन पनि गर्नु हुन्छ । कलासम्बन्धी उहाँका एक दर्जन पुस्तकहरू प्रकाशित छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.