इमानबहादुर होइन त्यो !
पटक्कै होइन,
पछाडिबाट गएर नजिकै हेर
काननेर मुखुन्डोको उभिन्डो
देखिन्छ !
काँध अलिक भुकेझै टेढो छ
केश बाक्लो जर्खट्टे र ठाडो छ
पटक्कै होइन त्यो इमानबहादुर,
इमानबहादुर हुँदै होइन आँट गरेर
मुखुण्डो खोली देऊ त्यसको
इमानबहादुरको नाममा
सलाम खाइरहेछ त्यसले !
चाबी बनेर
सबै कालो कर्तुतको ताला खोलिदेऊ त्यसको !
इमानबहदुर हुँदै होइन,
ए हजुर ! हुँदै होइन
दौरा, सुरुवाल, टोपी र कोटमा सजिएको
मेरो चोखो मन भन्छ
त्यो इमानबहादुर होइन ।
त्यसको अनुहारबाट,
त्यो सुन्दर देखिने मुखुन्डो
खोलिदियौँ भने-
वास्तविक अनुहार,
जीउ जिरिङ्ग हुने,
खुङ्खार देखिने छ !
छोरीचेलीको व्यापार गर्ने
सरदार भेटिने छ !
मुटु लुछ्ने देश बेच्ने
भारदार भेटिने छ !
सम्पूर्ण दुःखको कारण
त्यहीँ पाखण्डी हो,
फुटाइदेऊ मुखुन्डो
फुटाइदेऊ !
म ठोकेर भन्छु,
कसम खाएर भन्छु,
इमानबहादुर होइन त्यो,
हे प्रभु !!
साँच्ची नै इमान बहादुर होइन त्यो !!

