साहित्यपोस्ट डट कम

लोकरक लिएर नेपथ्य न्युजिल्यान्डतर्फ

लोकरक लिएर नेपथ्य न्युजिल्यान्डतर्फ

काठमाडौं । नेपाली लोकरक ब्यान्ड नेपथ्य न्युजिल्यान्डमा साङ्गीतिक प्रस्तुति दिन प्रस्थान गर्ने भएको छ । क्यानाडामा प्रस्तुति दिएर फर्किएको दुई सातामै ब्यान्डले अर्को अन्तर्राष्ट्रिय यात्रा तय गरेको हो ।

ब्यान्डले न्युजिल्यान्डको अकल्यान्डस्थित ‘ड्यु ड्रप इभेन्ट सेन्टर’मा आगामी मे १० (आइतबार) साँझ आफ्नो प्रस्तुति दिनेछ । यसअघि सन् २०१७ मा अकल्यान्डकै ‘स्काई सिटी थिएटर’मा प्रस्तुति दिएको नेपथ्यको यो दोस्रो न्युजिल्यान्ड भ्रमण हो ।

नेपथ्यका मुख्य गायक अमृत गुरुङले न्युजिल्यान्डसँग नेपालको ऐतिहासिक तथा भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै विशेष उत्साहका साथ प्रस्तुति दिन लागिएको बताउनुभयाे । उहाँले एडमन्ड हिलारीजस्ता व्यक्तित्वको योगदान सम्झँदै न्युजिल्यान्डप्रति नेपालीहरूको आत्मीयता गहिरो रहेको धारणा व्यक्त गर्नुभयाे ।

स्थानीय आयोजकका अनुसार अकल्यान्डको कार्यक्रममा दर्शकको उल्लेख्य चासो देखिएको छ र टिकट बुकिङ तीव्र रूपमा भइरहेको छ । न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली समुदायले माउरी परम्परागत ‘हाका’ शैलीमा ब्यान्डलाई स्वागत गर्ने तयारीसमेत गरेको जनाइएको छ ।

ब्यान्डसँगै ड्रममा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मी सहभागी हुनुहुनेछ ।

नेपथ्यले विश्वभरका नेपाली दर्शकमाझ समान स्तरको प्रस्तुति दिने लक्ष्यका साथ यसपटक पनि पूर्ण टोलीसहित यात्रा गर्न लागेको हो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.