काठमाडौं । ऐतिहासिक समाजशास्त्री लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल: सामाजिक परिवर्तनका आधारभूमि’ लोकार्पण गरिएको छ । नेपालयको आरशालामा आयोजित कार्यक्रममा लेखक पराजुलीले महेशराज पन्त, रक्षा बम र यादव अर्याललाई पुस्तक हस्तान्तरण गर्दै औपचारिक विमोचन गर्नुभएकाे हाे ।
लोकार्पण समारोहमा बोल्दै लेखक पराजुलीले वि.सं. २००७ सालको परिवर्तनलाई आधुनिक नेपालको निर्माणपछिको महत्वपूर्ण मोडका रूपमा उल्लेख गर्नुभयाे । उहाँले राणा शासनको अन्त्यसँगै नागरिकले अभिव्यक्ति, शिक्षा, प्रकाशन र संगठन गर्ने स्वतन्त्रता प्राप्त गरेको बताउनुभयाे । साथै सामाजिक परिवर्तनमा साहित्य, कला, मिडिया, शिक्षा र सांस्कृतिक क्षेत्रको योगदान निर्णायक रहेको उहाँले स्पष्ट पार्नुभयाे ।
लेखकका अनुसार २००४ देखि २००७ सालबीचको समयलाई ‘सन्धिकाल’का रूपमा व्याख्या गरिएको छ, जसले एक युगको अन्त्य र अर्को युगको आरम्भलाई संकेत गर्छ । उक्त अवधिमा प्रजातान्त्रिक परिवर्तनका आधारहरू निर्माण भएको पुस्तकमा विश्लेषण गरिएको छ ।
पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले पुस्तकलाई नेपालको इतिहास, समाज, राजनीति र संस्कृतिबारे गहिरो अध्ययनमा आधारित कृतिका रूपमा मूल्याङ्कन गर्नुभयाे । उहाँले ‘सन्धिकाल’ले सात सालको परिवर्तनका सामाजिक आयामलाई गहिराइमा खोतलेको बताउनुभयाे ।
नेपालयले अग्रिम दर्तामार्फत आयोजना गरेको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको जनाएको छ । पुस्तक ३०८ पृष्ठको रहेको छ भने मूल्य ६७५ रुपैयाँ निर्धारण गरिएको छ । उक्त कृति प्रमुख पुस्तक पसलहरूका साथै अनलाइन प्लेटफर्ममार्फत उपलब्ध रहेको छ ।

