नेपाली साहित्यको प्रवृतिगत विकासक्रम हेर्दा यसको प्राथमिक काल भक्तिधाराले बढी प्रभावित पाइन्छ । खास गरी काव्य साहित्यमा सुवानन्ददासका १–२ जना कविलाई छाडिदिने हो भने इन्दिरस, विद्यारण्य केशरी, वसन्त शर्मा, रघुनाथ पोख्रेल आदि धेरै कविहरू आफ्नो कलमबाट भक्तिरसको सरिता बहाउन जम्जमाएका देखिन्छन् । पौराणिक आख्यान उपाख्यानको पृष्ठभूमिमा अध्यात्मिक अर्ती उपदेश दिएर लोकमा भक्तिभावनाको सञ्चार गर्नु नै प्रतिभाको सदुपयोग गर्नु हो भन्ने त्यसकालका प्रतिभाशालीहरूको विश्वास हुँदो हो । शिक्षाको कमि र धार्मिक विश्वासको प्राबल्यले तत्कालीन जनमानस पनि यस्तै रुचाउँथ्यो । संस्कृतको थोरबहुत शिक्षा पाएका कविहरू अन्तको साहित्यक प्रगति के कस्तो छ भन्ने चासो एक त राख्दै राख्दैनथे, राखिहाले पनि बुझ्ने माध्यम वा उपाय सजिलो थिएन । तिनताक विदेशी प्रभाव पर्ने कुरा त्यति सम्भव थिएन । नगीचको नाताले ब्रजभाषाका केही स्तुतिपद्य अथवा भनूँ कवीरका भजन, विद्यापतिका स्तवन र तुलसी दासका रामायणका प्रभाव केहि मात्रामा परेको हुँदो हो, नत्र रामायण, महाभारत, भागवात आदि धर्मग्रन्थ र छिट पुट अरू संस्कृत काव्य कविताकै प्रभाव नेपाली कविहरूमा थियो । त्यसैले भक्तिकालका कविहरू रामायण र महाभारतको सेरोफेरोमानै प्रायः लटपटिएका देखिन्छन् । रामचन्द्र र कृष्ण नै भक्तिकालका अधिकाशं कविहरूको आराध्य चरित्रहरू भए । बाल्मीकि र व्यासले खडा गरेका यी दुई पात्रको जीवन र आर्दशमा बखान गरेर गरिनसक्ना पाटाहरू भएकाले नेपालका भक्तिकालीन कविहरूले पनि अन्ततिर ध्यान दिनु त्यति आवश्यक ठानेनन् । बरु भक्तिधारालाई पनि दुई भाग लगाएर हेर्न सकिन्छ, जसमा एकथरि कवि आफूभित्रको रसिकता समेतको अभिव्यक्ति दिन कृष्णलाई समाउँछन् र अर्काथरि उत्कृष्ट सात्विक आदर्शहरूको लागि रामलाई अघि सार्छन् । इन्दिरस, विद्यारण्य केशरी, वसन्त शर्मा, रघुनाथ पोख्रेल इत्यादि विविध कविहरूका कृतितिर चिहाउँदा कविताको परम्परा झिनै रुपमा भए पनि भक्ति भावनाको परम्परा निकै लामो भएर फिजिएको देखिन्छ र यही परम्परा झांगिएको एउटा विशाल कल्पवृक्षको रुपमा हामी भानुभक्तलाई पाउँछौं ।
भानुभक्त लोकरुचिको सम्मानपूर्वक आफ्ना सामाजिक एवं राष्ट्रिय दायित्व प्रति सचेत थिए भन्ने कुराको ज्युँदो उदाहारण उनले प्रयोग गरेको भाषा शैली हो । आफ्नो भाषा प्रतिको हीनताभास भानुभक्तका पालासम्म अहम्मन्य नेपालीहरूमा हटिसकेको थिएन । नेपाली भाषा आशिक्षित समाजको एउटा बोली र शिक्षित समाजको एउटा बोली र शिक्षितहरूले यसमा लेख्न, पढ्न हुँदैन सङ्कीर्ण धारणाले धेरै पछिसम्मको भद्र समाजलाई सताइरहेको थियो । यद्यपि नेपाली भाषामा भानुभक्तभन्दा अघि कसैले कविता लेखेनन् भन्ने होइन, तर सुवानन्द दासका, गुनामीका, इन्दिरसका, विद्यापतिका कविताहरूका नेपालीलाई कवितामा नेपाली भाषा छिराउने सह्राहनीय प्रयासभन्दा बढि जसदिन सकिदैँन । अरू त के, उही रामायण (सुन्दर काण्ड) उल्था गर्ने रघुनाथ पोख्रेल जस्ता प्रतिभाशालीले समेत अनेकौँ क्लिष्ट प्रयोग गरेर नेपाली भाषाको मौलिक स्वच्छन्दता कायम राख्न सकेका छैनन् भन्ने समालोचकहरूको भनाई छ । यस्तो बेला जनताले बोल्ने विशुद्ध नेपालीलाई आफ्नो कविताको माध्यम बनाएर भानुभक्तले एकातिर मातृभाषा प्रतिको आफ्नो दायित्व पूरा गरेका छन् भने अर्कोतिर सबै भेगका नेपाली भाषी जनताको लागि एउटा गहकिलो पाठ्य दिएर सेवा गरेका छन् त्यसैले साहित्य केहि सम्भ्रान्त वर्गको लागि मात्र होइन, अधिकांश जनताको लागि हो र उनीहरूले यो बुझ्न सक्ने हुनुपर्छ भन्ने भानुको भावना यसबाट देखिन्छ । यो झन् उनको लोकभक्तिको अर्को नमुना हो ।
हो, भानुभक्त भक्तियुगका थिए र उनी अध्यात्मवादी थिए भन्ने कुरामा विवाद छैन तर पनि समाज निरपेक्ष भक्त थिएन भन्ने कुरा उनका कतिपय फुटकर कविताहरूले दिन्छन् । प्रशासनिक ढिलासुस्ती, जेलका यतना, समाजका उच्छृखलताहरूलाई उनले बेलाबेलामा व्यङ्ग्यबाण हानेका छन् । "अलकापुरी कान्तिपुरी" जस्ता कविता लेखेर आफूमा रामभक्ति मात्र होइन, राष्ट्रभक्ति पनि छ भन्ने कुराको सङ्केत दिएका छन् । ज्यूँदै मर्याको भनी नाम कस्को ? भन्ने प्रश्नमा भानुभक्त "उद्योग विना बित्तछ काल जस्को" भनी उत्तर जोड्ने उद्योगाकाङ्क्षी कविलाई लोकहिताकाङ्क्षी कवि कसरी नभन्ने ?
भानुभक्तले धेरै लेखेनन् तर भक्ति युगका कविहरूमा सबैको भन्दा बढी लेखे, जति लेखे आफ्ना पूर्वजहरूको भन्दा कलात्मक लेखे, भावपूर्ण लेखे । सायद यसैले उनलाई हामी अहिलेसम्म आदिकवि भन्दै छौँ । तर प्रष्ट रुपमा ९/१० जना कविहरूका पछि जन्मेका भानुभक्तलाई आदिकत्विप्रति प्रश्नचिह्नहरू पनि खडा भएका छन् । तर आदिकवि नभन्दैमा भानुको सम्मान नघट्ने भएकाले भन्नै पर्छ भन्ने दाबा किन ? उनी एक ठूला कवि थिए, नेपाली साहित्यको विकासमा भानुभक्तको देन भानुको जस्तै तेजोमय छ भने पुग्दैन र ?
(सुस्केरा वर्ष १ अङ्क २, भानुविशेषाङ्क कार्तिक २०२७)


