साहित्यपोस्ट डट कम

लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ सार्वजनिक

लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ सार्वजनिक

विराटनगर । छन्द वाटिका नेपाल विराटनगरको आयोजनामा कवि लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ सार्वजनिक गरिएको छ । वरगाछी बहुउद्देश्यीय सहकारी संस्थाको सभाकक्षमा आयोजित भव्य समारोहमा उक्त कृति लोकार्पण गरिएको हो ।

हरि कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि विवश पोखरेल तथा विशिष्ट अतिथिहरू गङ्गा सुवेदी, खेम नेपाली र बलराम पोखरेलले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएकाे थियाे ।

कृतिमाथि समीक्षक बाबुराम पोखरेलले समीक्षा गर्दै ‘भोगाइ’ प्रेम र राष्ट्रवादमा केन्द्रित खण्डकाव्य भएको बताउनुभयाे । समालोचक कविराज पोखरेलले काव्यले समाजको यथार्थ बोल्ने प्रयास गरेको उल्लेख गर्नुभयाे भने प्राज्ञ खेम नेपालीले सुकुम्बासी जीवनको पीडालाई संवेदनशील रूपमा प्रस्तुत गरिएको धारणा राख्नुभयाे ।

अध्यक्ष हरि कट्टेलले कृतिलाई आकारमा लघु भए पनि प्रस्तुतीकरणका हिसाबले पूर्ण खण्डकाव्य भएको बताउनुभयाे । “यो सामाजिक विषयवस्तुमा आधारित स्वैरकाल्पनिक खण्डकाव्य हो,” उहाँले भन्नुभयाे ।

प्रमुख अतिथि विवश पोखरेलले लेखक रिजाल कथा लेखनसँगै कवितामा पनि सशक्त रूपमा स्थापित हुँदै गएको टिप्पणी गर्नुभयाे । कार्यक्रममा केशु विरही लगायतले सर्जकलाई शुभकामना दिनुभएकाे थियाे ।

कार्यक्रममा सुनसरी र मोरङका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । ‘भोगाइ’ कवि रिजालको छैटौँ कृति हो, जसलाई छन्द वाटिका नेपालले प्रकाशनमा ल्याएको हो । कार्यक्रममा निर्मला कोइरालाले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने सञ्चालन चिरञ्जीवी काफ्लेले गर्नुभएकाे थियाे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.