साहित्यपोस्ट डट कम

‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई

‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई

गणेश वाम्बुले राई

काठमाडौं । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०८२ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि ऋषिबहादुर राई र कमल किरातीलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ ।

यो पुरस्कार वाम्बुले राई भाषाको त्रैमासिक पत्रिका ‘लिब्जु–भुम्जु’मा वर्षभरि प्रकाशित उत्कृष्ट कवितालाई प्रदान गरिँदै आएको छ । कोशकार अविनाथ राईको संयोजकत्वमा गठित छनोट समितिले उक्त निर्णय गरेको हो ।

पुरस्कारका लागि ‘लिब्जु–भुम्जु’ त्रैमासिकको पूर्णाङ्क २८ (१०१औँ शृंखला, २०८२ वैशाख–असार) मा प्रकाशित ऋषिको ‘लाम’ (बाटो) र पूर्णाङ्क ३१ (१०४औँ शृंखला, २०८२ माघ–चैत) मा प्रकाशित कमलको ‘कवि कावा’ (कवि साथी) शीर्षक कविता चयन गरिएको छ ।

उदयपुर कटारी–३ च्याँगाका ‘अज्ञात ऋषि’ नामले परिचित ऋषिबहादुर राईले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकाे छ । मातृभाषा वाम्बुले र नेपाली भाषामा कविता, निबन्ध र कथामा सक्रिय उहाँ ‘पोयट आइडल सिजन–२’ का उत्कृष्ट दशमध्ये एक हुनुहुन्छ । हाल राष्ट्रिय समाचार समिति (रासस) का कटारी संवाददाता तथा नेपाल पत्रकार महासंघ उदयपुरका निवर्तमान सहसचिवसमेत हुनुहुन्छ ।

उहाँको ‘लाम’ कविताले गाउँबाट विदेशिने क्रम बढ्दै जाँदा उजाडिँदै गएको गाउँ र पुस्ताबीचको दूरीलाई मार्मिक रूपमा चित्रण गर्छ । परदेश पुगेका सन्तान नफर्किने अवस्थाले गाउँ शून्य बन्दै गएको पीडा कवितामा व्यक्त गरिएको छ ।

ओखलढुंगा मानेभन्ज्याङ–३ सिम्काकुमा जन्मिनुभएकाे कमलकुमार राई (कमल किराती) ले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता अध्ययन गर्नुभएकाे छ । साहित्यका विभिन्न विधामा सक्रिय उहाँ हाल गाउँमै रहेर कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुनुहुन्छ ।

उहाँको ‘कवि कावा’ कविताले सहरमुखी चेतनाका कारण गाउँ बिर्सिँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कवितामा गाउँको उपस्थितिलाई अनिवार्य बनाउने आग्रह गर्दछ ।

नेपाल टेलिभिजनमा कार्यरत पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पा राईले २०५५ सालमा स्थापना गर्नुभएकाे यो पुरस्कारबाट हालसम्म २५ जना कवि सम्मानित भइसक्नुभएकाे छ । पुरस्कारको राशि जनही पाँच हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

उक्त पुरस्कार आगामी २०८३ मंसिर २० गते ओखलढुंगाको मानेभन्ज्याङ–२ वाक्सा गाउँमा आयोजना हुने २७औँ वाम्बुले राई भाषा कविता गोष्ठीमा प्रदान गरिने जनाइएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.