हिउँदको महिना भएकाले झ्यालबाट छिर्ने हल्का उज्यालोले बैठक कोठा आधा उज्यालो र आधा छाया देखिन्थ्यो । सोफामा घुँडा जोडेर लेखिकाका श्रीमान् बसिरहेका थिए । झ्यालबाहिरको रूख पात झरेर नाङ्गो र खालि डाँठ मात्र बाँकी थियो । स्वेटरको बाहुला अलि माथि सारिएका चिसा हातले समाइएको आइफोनको स्क्रिनमा अनलाइन पोर्टल खुलिसकेको थियो । लेखिकाको लेख “Trending” मा थियो । परैबाटै देखिने कालो अक्षरको निक्कै साहसी शीर्षकमुनि नेपाली नारीको जीवन, विवाहभित्रको यौनिकता, नारीको मौनता र सम्मानको राजनीतिको आलोचना विषयको ।
त्यो कुनै कागजी पत्रिका थिएन । एक क्लिकले जति सजिलै लेख खुल्छ त्यति सजिलै आफ्ना मान्यता खुल्दैनन् । उनको औँला स्क्रिनमा स्थिर थियो तर मन भने निक्कै अस्थिर ।
उनी शिक्षित मध्यमवर्गीय लेखिकाका श्रीमान् एक प्रतिष्ठित आइएनजिओमा कार्यरत थिए । सेमिनार, पावरपोइन्ट, “जेंडर इक्विटी” का भाषण उनका परिचित क्षेत्र । समाचार, बहस, विश्लेषणमा रमाउने । सार्वजनिक रूपमा उनी निकै प्रगतिशील । तर आजको बहस उनको घरभित्र छिरेको थियो ।
लेखिकाको लेखमा उल्लेखित “सम्मान” शब्दले उनलाई चिमोटिरहेको थियो । समाजले दिने सम्मान ? कि श्रीमानको मौनले दिने ?
लेखको अन्तिममा रहेको कमेंट सेक्सनमा आगो बलिरहेको थियो, “साहसी लेख !” घर बिगार्ने सोच !” “यस्ता कुरा सार्वजनिक गर्नुपर्छ ?”
उनी लेख पढ्दै गए । प्रत्येक टिप्पणीले उनको आत्मचित्र अलिकति चिरिन्थ्यो । लेखिकाले नाम नलिए पनि कथाभित्रको पुरुष पात्र अस्वाभाविक रूपमा चिर परिचित लाग्यो । प्रश्न सीधा थियो, “ के त्यो म नै हो ? कि आफूजस्तै हजारौँ उदारवादी देखिने तर घरभित्र परम्परागत सत्ता सम्हालेर बस्ने पुरुष ?”
लेखिकालाई थाहा थियो, यो केवल एउटा लेख होइन । यो घरको डाइनिङ टेबलमा, सुत्ने कोठामा, चियाको कपसँगै उठ्ने प्रश्न हो । विवाहभित्रको यौनिकता जसलाई “व्यक्तिगत” भनेर सुरक्षित राख्न खोजिन्थ्यो, आज सार्वजनिक बहसको विषय बनेको थियो ।
भान्सामा कफी अझै बनेको थिएन । घर शान्त थियो । उनले घाँटी सुक्खा भएको महसुस गरे तर किचनमा जाने हिम्मत गरेनन् ।
“घरको कुरा…”अनायासै उनले स्क्रिन लक गरे । भान्साबाट मगको सानो टकटक आवाज सुनियो । उनी उठे, किचनको ढोकासम्म पुगे र रोकिए । लेखिका चुल्होअगाडि उभिएकी थिइन् । कपाल पछाडि बाँधिएको र अनुहार शान्त । उनले फर्केर सामान्य स्वरमा सोधिन्, “कफीमा चिनी कति ?” साधारण प्रश्न तर त्यो बिहान कुनै प्रश्न साधारण थिएन । उनी केही क्षण चुप रहे । “हिजो जस्तै,” उनले भने । आवाज आफ्नै कानमा अपरिचित लाग्यो ।
मेसिनबाट कफीको बाफ माथि उठ्दै गयो । बाफजस्तै केही कुरा घरभित्र फैलिँदै थियो । लेखिका दुई कप कफी लिएर किचनबाट निस्किन् । टेबलमा राख्दा कपको हल्का आवाज आयो । उनले आफ्नो कप समाते । कफी निकै तातो थियो । बाहिर हिउँदको चिसो थियो तर असली चिसोपन उनीभित्र फैलिएको थियो । फेरि फोन अन गरे । लेख अझै “Trending” मा थियो । Trending डिजिटल सफलताको सूचक हो तर उनका लागि यो दर्पण थियो । जसले सोधिरहेको थियो । व्यक्तिगत साँच्चै व्यक्तिगत हो ? कि सत्ता असमान हुँदा व्यक्तिगत पनि राजनीतिक बन्छ ? घरभित्रको सत्तासम्बन्ध अस्थिर भइसकेको थियो । उनी केही बोल्न चाहन्थे । लेखिकालाई समर्थन गर्ने वा आलोचना ? तर अन्ततः उनले रोजेको भाषा मौन थियो ।
पितृसत्तात्मक संरचनामा पढेलेखेका पुरुष सधैं उच्च स्वरमा बोल्नुपर्दैन । उसको मौनता नै पर्याप्त हुन्छ । समर्थन पनि सर्तसहित आउँछ । “लेख तर त्यहाँसम्म नजाऊ ।” “अनुभव लेख तर घरको कथा होइन ।” यसरी अभिव्यक्ति सीमित अभ्यासमा रूपान्तरित हुन्छ । कलम लेखिकाको हातमा भए पनि दिशानिर्देशन अदृश्य रूपमा बाहिरबाट हुन्छ । ‘सल्लाह’ र ‘सम्पादन’ को नाममा गरिने सेन्सरसिप कुनै वाक्य हटाइने, कुनै अनुभव नराख्न भनिने । उनी आफूलाई निकै प्रगतिशील ठान्छन् । यही आत्मछवि सबैभन्दा जटिल पक्ष हो । नियन्त्रण हिंसाको रूपमा होइन, चिन्ताको भाषामा प्रकट हुन्छ । “समाजले के भन्ला ?” भन्ने प्रश्न प्रेमको आवरण ओढेर आउँछ । असहजता व्यक्तिगत ईर्ष्या मात्र होइन सामाजिक पहिचान अस्थिर हुने भय हो ।
लेखिकाको कलम यहाँ साहित्यिक उपकरण मात्र होइन यो विवाहको संरचना र पुरुष पहिचानमाथि उठेको प्रश्न हो । कफी पिउँदै गर्दा लेखिकाले सोधिन्, “मेरो लेख छापिएछ ? कस्तो रहेछ हँ ? तिमीले पढेऊ ?” उनी बिस्तारै बोले, “तिमीले लेख्दा… कुनै सीमा नाघेको महसुस गर्दैछु भनेर लाग्दैन ? म बस… uncomfortable भएँ । किनकि मैले आफैंलाई त्यो लेखभित्र कतै भेटेँ ।” लेखिकाको अनुहार नरम भयो । “त्यो नराम्रो कुरा होइन,” शान्त स्वरमा भनिन् । “साहित्य कहिलेकाहीँ दर्पण हुन्छ ।” श्रीमान् हल्का मुस्कुराए तर आत्मविश्वास प्रष्ट थिएन ।” दर्पणमा आफूलाई हेर्न सबै तयार हुँदैनन् । “मलाई लाग्छ तिमी… कहिलेकाहीँ अलि धेरै नै आफूलाई expose गर्छौ,” उनले थपे । “मान्छेहरूले पढ्छन्, अनुमान गर्छन् । त्यो राम्रो देखिँदैन ।”
“कसका लागि राम्रो देखिँदैन ?” लेखिकाले सोधिन् । उनले तुरुन्त उत्तर दिएनन् ।
“मलाई । हाम्रो परिवारलाई । हाम्रो इमेजलाई ।” त्यहाँ मूल कुरा इमेजको थियो ।
लेखिकाले शान्त स्वरमा भनिन् “इमेज जोगाउन सत्य दबाउनुपर्छ भने त्यो इमेज कति मजबुत हुन्छ ?”
“सबै कुरा बोल्नैपर्छ भन्ने पनि त छैन ।” उनले भने । यो वाक्यमा आग्रह थिएन र आदेश पनि थिएन तर एउटा अदृश्य सीमा कोरिएको थियो ।
लेखिका उठिन् । “सबै कुरा होइन,” उनले भनिन् । “तर जरुरी कुरा हो ।” ढोकातिर हिँड्दै गर्दा उनले अन्तिम कुरा भने, “म तिम्रो शत्रु होइन तर कहिलेकाहीँ तिम्रो लेख पढ्दा…आफू आरोपित जस्तो महसुस गर्छु ।” लेखिकाले हल्का सास फेरिन् । “यदि अनुभव साँचो छैन भने लेख झूटो हुन्छ र यदि साँचो छ भने त्यो व्यक्तिगत भएर पनि सामाजिक हुन्छ ।”
श्रीमान् अलि कडा स्वरमा बोले, “तर सबै साँचो सार्वजनिक गर्नुपर्छ भन्ने पनि छैन ।” यो वाक्यमा चिन्ता थियो र नियन्त्रण पनि । लेखिकाले केही क्षण उनलाई नियालिन् ।
“तिमीलाई लाग्छ म हाम्रो घरको कुरा बेच्दैछु ?”
यसपालि झट्टै प्रतिक्रिया आयो, “त्यस्तो भनेको होइन तर महसुस त्यस्तै भयो !”
बसिरहेको कुर्सी धकेलेर श्रीमान् उठेर हिँडे । स्वरमा तर्कभन्दा थकान बढी थियो ।
“म आज मिटिङमा जानुपर्छ । ब्रेकफास्ट खान्न ।”
“तिमीले नखाएर हिंड्यौ भने ग्याष्ट्रिक हुन्छ,” लेखिकाले सहजतामा फर्किन खोजिन् ।
“लेट भइसकेको छ,” छोटो जवाफ दिएर लुगा लगाएर उनी निस्किए ।
टेबलमा कफी आधा बाँकी थियो । ढोका बन्द हुँदा हल्का आवाज आयो । बहस पनि अधुरै रह्यो । लेखिका केही क्षण स्थिर उभिइन् । घर फेरि शान्त । तर त्यो शान्तिमा पनि श्रीमानले भनेका वाक्यहरू घुमिरहेका थिए । उनले हतार हतार गरेर अलिकति खाना खाइन् । तर स्वाद पनि थाहा पाइनन् । मोबाइलमा नोटिफिकेसन आइरहेको थियो, एडिटरको मेसेज, सेमिनार रिमाइन्डर, नयाँ कमेन्टहरू । ब्याग समातिन् । ढोका लक गरिन् र बाहिर निस्किइन् ।
अफिस पुगेपछि संसार फेरि सार्वजनिक भयो । पहिलो काम रिपोर्टिङ गर्न जानु थियो । फोन इन्टरभ्यूमा उनी प्रश्न सोधिरहेकी थिइन् तर भित्र कतै आफैंलाई पनि सोधिरहेकी थिइन् । दिउँसो “Gender, Power and Private Spaces” सेमिनार थियो । मञ्चमा उभिँदा उनले बिहानको किचन, कफीको बाफ र “सबै कुरा बोल्नैपर्छ भन्ने छैन” भन्ने वाक्य सम्झिइन् । माइक समाएर उनले भनिन्, “हामी घरका चार भित्ताभित्रको अन्याय सहन्छौँ र त्यही अन्यायलाई ‘निजी’ भनेर लुकाउँछौँ तर यदि त्यही घरभित्र कसैको आवाज दबाइन्छ भने त्यो सम्बन्ध मात्र होइन त्यो पुरुष सत्ता हो । घरघरमा यदि निर्णय गर्ने अधिकार एकजनासँग मात्रै छ र शान्तिको नाममा श्रीमतीको आवाज सधैँ दबाइन्छ भने त्यो निजी मामला होइन, त्यो पुरुष शक्ति हो र जहाँ शक्ति असमान छ, त्यहाँ राजनीति पनि हुन्छ ।”
हलमा ताली बज्यो । उनी मुस्कुराइन् व्यावसायिक, सन्तुलित मुस्कान तर भित्र मन पुरै अशान्त थियो । घरभित्रको बहस अझै खुला थियो । उता, लेखिकाका श्रीमान् मिटिङ रूममा बसेका थिए । PowerPoint स्लाइडमा लेखिएको थियो, “Gender Mainstreaming Strategy”
उनले बोल्दा आफ्नै शब्द सुने, “Inclusion begins at home” वाक्य उच्चारण गर्दा एक सेकेन्ड स्वर अड्कियो । सहकर्मीहरूले केही ध्यान दिएनन् । तर उनलाई थाहा थियो आज बिहान घरबाट नखाइ मात्र होइन, आफ्नै श्रीमतीसँग अधूरो संवाद गरेर निस्किएका थिए । दुवै आ-आफ्नो भूमिकामा सफल देखिन्थे । तर घर भने अझै एउटा खुला अध्ययन केन्द्र थियो । साँझ फर्किंदा, त्यो अध्याय फेरि खुल्ने नै थियो ।
शक्ति, संवाद, विश्वास, व्यक्तिगत र सामाजिक असमानता । यी सबै घरभित्र, चुपचाप तर प्रकट भएर नयाँ तरिकाले फेरि सामेल भइरहेका थिए ।
यस अर्थमा, लेखिकाका श्रीमान् कुनै घरको एक व्यक्ति मात्र होइनन् । उनी एउटा संरचनागत पात्र हुन् । समाज, संस्कार र पितृसत्ताको संयुक्त आवाज कहिलेकाहीँ एकै व्यक्तिको स्वरमा बोल्छ । त्यो स्वर प्रेमजस्तो सुनिन्छ, मर्यादाजस्तो देखिन्छ, “घर बचाउनुपर्छ” भन्ने नैतिक आग्रहजस्तो लाग्छ तर त्यसको भित्री तहमा नियन्त्रणको सूक्ष्म र स्थायी कम्पन रहिरहन्छ । पुरुष लेखक प्रायः बाहिरी आलोचनासँग जुध्छन् । लेखिका भने भित्रको मौनसँग । लेखिका केवल श्रीमानसँग जुधिरहेकी छैनन्, उनी त्यो लामो परम्परासँग जुधिरहेकी छिन्, जसले स्त्रीलाई “समझदार” हुन त सिकायो तर निर्भीक हुन सिकाएन जसले लेख्न त दियो तर सीमाभित्र रहेर ।
यो घरभित्रको द्वन्द्व हो सडकको नाराजुलुस होइन । हेर्दा साधारण तर त्यही साधारणताभित्र असाधारण शक्ति सन्तुलन लुकेको । सार्वजनिक रूपमा प्रगतिशील देखिने पुरुष जब घरभित्र आफ्नै असुरक्षासँग मौन बस्छन्, त्यहीँ दूरी विचार र व्यवहारबीचमा प्रकट हुन्छ । अब प्रश्न लेख छापियो कि छैन भन्ने होइन । प्रश्न यो हो, अर्को लेख लेख्नुअघि उनले आफूलाई कति पटक सम्पादन गर्नुपर्नेछ ? कति शब्द काट्नुपर्नेछ ताकि घरको शान्ति भंग नहोस् । कति सत्य नरम पार्नुपर्नेछ ताकि सम्बन्धको अहं असुरक्षित नहोस् । “यो लेखे घरमा के हुन्छ ?” “यो सत्यले सम्बन्धमा कस्तो तरंग ल्याउँछ ?” “यो शब्द धेरै कडा त भएन ?” लेखिका शब्द लेख्नु अघि सम्बन्धको तापक्रम नाप्छिन् । सत्य बोल्नुअघि ढोकाको चुकुल कति बलियो छ भन्ने सोच्न बाध्य हुन्छिन् ।
लेखिकाले अर्को लेख लेख्नुअघि आफूलाई कति पटक सम्पादन गर्नुपर्नेछ भन्ने प्रश्न व्यक्तिगत कमजोरी होइन । यो संरचनागत प्रश्न हो । जबसम्म घरभित्रको शक्ति र सत्ता सन्तुलन परिवर्तन हुँदैन लेखिका केवल लेखक रहँदिनन् उनी घरभित्रै एउटा सानो क्रान्ति गर्ने व्यक्ति बन्छिन् । उनका शब्दहरू कागजमा मात्र होइन, सम्बन्धमा पनि लेखिन्छन् ।
एकदिन उनले आफूलाई सम्पादन गर्न छोडिदिनु, घरभित्रको मौनलाई नै विषय बनाइदिनु र सार्वजनिक प्रगतिशीलताको मुखौटोलाई निजी ऐनामा उभ्याइदिनु नै शायद सबैभन्दा ठूलो विद्रोह हो ।
लेखिकाको लक्ष्य पुरुषलाई महिला बनाउनु होइन, दुवैलाई समान उचाइमा उभ्याउनु हो । जब सत्ता गल्न थाल्छ, पुरुष आफ्नै भावनासँग लजाउन छोड्छ, असुरक्षालाई अधिकारको आवरणले छोप्नु पर्दैन र मौनतालाई नियन्त्रणको साधन बनाइराख्नु पर्दैन । त्यो दिन पुरुष महिला जस्तै होइन मानव जस्तै बन्छन् । घरभित्रको संवाद आदेशबाट सहकार्यमा रूपान्तरित हुन्छ, प्रेम नियन्त्रणबाट साझेदारीमा बदलिन्छ र “घर बचाउनुपर्छ” भन्ने वाक्य “हामी दुवैले घर बनाउँछौँ” मा फेरिन्छ । त्यसपछि लेख कागजमा मात्र सीमित रहँदैन व्यवहारमा पनि देखिन थाल्छ र शायद त्यही क्षण सत्ता होइन, सम्बन्ध जन्मिन्छ ।

