काठमाडौँ । कथाकार लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ एक समारोहका बीच काठमाडौँमा लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा सम्पन्न कार्यक्रममा अग्रज कथाकार भागिरथी श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’, डा. दीनबन्धु शर्मा र स्रष्टा स्वयंले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि भागिरथी श्रेष्ठले कृतिमा समावेश कथाहरू मानवीय संवेदनाले भरिपूर्ण रहेको उल्लेख गर्दै ती कथाहरू यथार्थ घटनाजस्तै अनुभूत हुने बताउनुभयो । उहाँले कथाकारले सुन्दर प्रतीक प्रयोग गर्न सफल भएको उल्लेख गर्दै नेपाली कथासाहित्यमा महिला हस्ताक्षरका रूपमा कृतिको आगमनलाई स्वागतयोग्य भएको धारणा व्यक्त गर्नुभयो ।
कृतिमाथि चर्चा गर्दै शेषनाथ पौडेलले २०५५ सालदेखि कथा लेखनमा सक्रिय शर्माका कथाहरूमा नारी पात्रको दृष्टिकोण प्रमुख रहेको बताउनुभयो । उहाँका अनुसार कथाहरूको पृष्ठभूमि परिवार केन्द्रित रहेको छ भने पारिवारिक सम्बन्धका विविध आयामहरू कथामा समेटिएका छन्। साथै, कथाहरूमा आशावादी चेत, समास शैली, प्राकृतिक सौन्दर्यको वर्णन तथा नारी संवेदनाको प्रभावकारी प्रस्तुति रहेको उल्लेख गर्नुभयो ।
अर्का समीक्षक चूडामणि पौड्यालले कृतिका कथाहरू संस्मरणात्मक र वर्णनात्मक शैलीमा लेखिएको उल्लेख गर्दै महिलाका अनुभव र व्यथालाई मुख्य विषयवस्तु बनाइएको धारणा राख्नुभयो । उहाँले कथाकारको संवेदनशील मनोभाव कथाहरूमा स्पष्ट रूपमा अभिव्यक्त भएको बताउनुभयो ।
कथाकार डा. दीनबन्धु शर्माले कथाहरू भावनात्मक रूपमा प्रवाहमय रहेको उल्लेख गर्दै ‘हृदयबाट लेखिएका कथा’ का रूपमा मूल्याङ्कन गर्नुभयो ।
स्रष्टा लक्ष्मी शर्माले आफ्ना जीवनका भोगाइ र अनुभूतिहरूलाई कथाको रूप दिएको बताउँदै पुस्तक प्रकाशनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले स्रष्टाको जीवन र सिर्जनाबीच सामञ्जस्य आवश्यक रहने बताउँदै वर्तमान समीक्षात्मक प्रवृत्तिमा देखिएका विकृतिप्रति संकेत गर्नुभयो । उहाँले साहित्यिक कृतिको सम्मान गर्दै यसको प्रकाशनलाई उत्सवका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा कृति प्रकाशन संस्था भुँडीपुराण प्रकाशनका केशव पराजुलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका अध्यक्ष ‘रोदन’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा माधव विडारीले सञ्चालन तथा तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

