स्याङ्जा । नेपाली साहित्य र पत्रकारितामा सक्रिय योगदान पुर्याउँदै आउनुभएकाे पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगी ‘रजस्थल युवा प्रतिभा सम्मान–२०८३’बाट सम्मानित हुनुभएकाे छ ।
स्याङ्जा साहित्य प्रतिष्ठानले प्रजातन्त्र सेनानी शिवकुमार अधिकारीको नाममा प्रदान गर्दै आएको उक्त सम्मान यस वर्ष वियोगीलाई समर्पण गरिएको हो ।
वालिङ नगरपालिका–३ निवासी वियोगीको ‘सत्यम्’ कथासङ्ग्रह गत वर्ष सार्वजनिक भएको थियो । साहित्यिक त्रैमासिक पत्रिका ‘रजस्थल’को प्रकाशन र प्रवर्द्धनमा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
सम्मान पत्रमा नेपाली पत्रकारिता र साहित्यको उत्थानमा वियोगीको निरन्तर समर्पण उल्लेख गरिएको छ । समारोहमा प्रतिष्ठानका अध्यक्ष बुद्धिबहादुर राना, शिवकुमार अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष सुबोध कुमार अधिकारी तथा प्रमुख अतिथि साहित्यकार सरुभक्तको उपस्थिति रहेको थियो ।
आयोजकले वियोगीको सु–स्वास्थ्य तथा आगामी दिनमा साहित्यिक क्षेत्रमा थप सक्रिय र उर्जाशील यात्राको कामना गर्नुभएकाे छ ।

