काठमाडौं । लामो समयदेखि विशेष गरी गजल लेखनमा सक्रिय रहँदै आउनुभएका गजलकार लक्ष्मण भन्तना शिरीषको नयाँ अडियो गीत सार्वजनिक भएको छ।
गायक राज सिग्देलको आवाज तथा सङ्गीत रहेको “जुन दिन तिमीलाई बिर्सन्छु भनेँ, त्यही दिन तिम्रो धेरै याद आयो” बोलको गीत गायक सिग्देलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। प्रेमिल सम्बन्धको अन्त्यपछि उत्पन्न हुने भावनात्मक उतार–चढाव र सम्झनाका तरङ्गलाई गीतमा अभिव्यक्त गरिएको बताइएको छ।
हाल अडियो संस्करणमा मात्रै सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियो समयानुकूल तयार पार्ने योजना रहेको गजलकार शिरीषले जानकारी दिनुभएकाे छ ।
यसअघि शिरीषका रचनामा आधारित विभिन्न गीत सार्वजनिक भइसकेका छन्। गायक अमृत भण्डारीको आवाज र सङ्गीतमा “मीठो सरगम तिमी”, राजेश थापाको सङ्गीत तथा सिडी विजय अधिकारीको आवाजमा “खुशी मात्रै”, विष्णु अधिकारीको सङ्गीत र राजपायल रोकायको आवाजमा “खुशी हुनु तिमी दुनियाँको माझ”, साथै राज सिग्देलकै आवाज र सङ्गीतमा “ओझेल पर्यौ नजरबाट” गीत सार्वजनिक भइसकेका छन्।
गोरखामा जन्मनुभएका गजलकार शिरीष वैदेशिक रोजगारीका सिलसिलामा विगत एक वर्षदेखि जापानमा बस्दै आउनुभएकाे छ । गीत र गजलका अतिरिक्त उहाँले कविता तथा मुक्तक विधामा पनि सिर्जना गर्दै आउनुभएकाे छ ।

