चलचित्रको नाम ‘लालीबजार’ किन राखिएको होला भन्ने कुरामा मलाई सिनेमा हेर्नु भन्दा अगाडि जिज्ञासा नबढेको होइन । तर सिनेमा हेरिसकेपछि थाहा हुन्छ – यस प्रश्नको उत्तर पनि सिनेमाभित्र नै मिल्छ । जुन लालीहरूको बजार अर्थात् लाली किन्न आउनेहरूको बजार अझै भन्नुपर्दा लाली बेच्ने बजार । मैले आफ्नै ढङ्गले परिभाषित गरेँ । जुन लालीसँग सम्बन्धित केही किस्साहरू यसमा राखिएका छन् । जसले गर्दा चलचित्रको नामले न्याय पाएको छ ।
म सानो छँदा हजुरआमाहरूको बातचित सुन्ने गर्थें । “फलानाकी स्वास्नी, छोरीले रातै लाली लगाएर हिँड्छे धेरै सङ्गत नगर है केटी हो । घरकाले थाहा पाए भने मार्लान् फेरि ।” त्यो बेला त केही बुझ्दिनथेँ । अक्क न बक्क पर्थें । सोच्ने गर्थें – राम्री भएर हिँडेको त राम्रै हो नि । लिपिस्टिक लाउन पाए त म पनि राम्री हुन्थेँ ।
अझै पनि कति कार्यालयहरूमा रातो लिपिस्टिक लगाएर कार्यालय जान रोक लगाइएको छ,भने कति महिलाका झुण्डहरू छन् जो आफू पनि लगाउँदैनन् र लगाउनेहरूलाई पनि घृणा गर्छन् ।
लालीबजार हेरिरहँदा यी कुराहरू मन मष्तिष्कमा नाचिरहे । श्रृङ्गारका साधनहरू किन रोक लगाइए भन्ने कुरामा कहिल्यै पनि ध्यान गएन । तर लिपिस्टिक ! अझ रातो लिपिस्टिकको गहिराइ धेरै गहिरो रहेछ भन्ने कुरा चलचित्र हेरिरहँदा थाहा पाएँ । त्यसोभए के रातो लिपिस्टिक अर्थात श्रृङ्गारका सामानहरू वादी महिलाहरूका लागि नै बनाइएको हो त ! शरीर बेच्न मात्र रातो लिपिस्टिक लगाउनुपर्छ भन्ने हो त ! यी सबै भ्रमात्मक कुरा हुन् । जुन प्राकृतिक रूपमा नभएर मानिसहरू आफैँले भ्रम फैलाए । आफूलाई जस्तो विचार आउँछ त्यस्तै परिभाषित गरिदिए । बाहिरी आवरणबाट कसैको चरित्र कस्तो छ भनेर बुझ्न सकिँदैन र बाहिरी आवरणकै भरमा कसैको चरित्र माथि औँला उठाउन पनि पाइँदैन । महिलाहरूलाई हेर्ने दृष्टिकोण किन यति धेरै तल गिरेको होला । जुन आज पनि नेपाली समाज यस्ता कुराहरूबाट ग्रसित छ ।
पुरुषहरू खुलेआम लालीबजार छिर्छन् तर बदनाम नारी भइदिनुपर्ने ! अरे वाह ! अचम्म छ । अझै दङ्ग पर्नुपर्ने कुरा त के छ भने, लालीबजार पसेका पुरुषहरू घर पुगेपछि सुन पानीले चोख्खिन्छन् । तर महिला तिनै पुरुषले लगाइदिएको दाग बोकेर जिन्दगीभर समाजको तिरस्कार सहेर बाँच्नुपर्ने ।
गाउँको मुखिया, जमीनदार भनौँ अर्थात गाउँको सबैभन्दा धनाढ्य व्यक्तिले पूरै गाउँ मात्र आफ्नो भन्दैन । त्यस गाउँभित्र रहेका सम्पूर्ण महिलाहरू नै आफ्नो भन्ठान्छ । यतिसम्म कि भर्खरै साना बालिकाहरू पनि उसले किनिदिन्छ । मुख्यतया: मुखियाको भरौटेहरू नै त्यस समुदायको धमिरा रहेछन् । जसले आफ्नै गाउँका छोरीहरूलाई चेलीबेटी सम्झँदैनन् । पूरै गाउँलाई नै लगाम लगाएर राख्न मुखियालाई सहयोग गर्छन् । जन्मिँदै आमाहरूले मुखियालाई छोरी बेचिदिन्छन् र छोरीलाई कमाइ खाने भाँडोको रूपमा प्रयोग गर्छन् । यस चलचित्रमा पात्रहरू धेरै देखाइए पनि मुख्यतया, पात्रहरूको रूपमा ‘मधुवाला’, नारन, महारानी र मुखिया रहेका छन् । ‘मधुवाला’ वादीकी छोरी हुन्छिन् । जसले आफ्नो आमाले जस्तै शरीर बेचेर घरखर्च चलाएकी हुन्छिन् । ‘नारन’ बाहुनको छोरो हुन्छन् । जसले हुलाकिको काम गरेर आफ्नो घर चलाएका हुन्छन् । यी दुईबीच भावनाको नाता स्थापित हुन जान्छ र दुवै जना प्रेममा पर्छन् । वादी समुदायको छुट्टै वस्ती हुन्छ । जुन ‘लालीबजार’को नामले प्रख्यात हुन्छ । मधुवाला र नारनको प्रेम निकै गहिरो हुन्छ । उनीहरू एक अर्कालाई चोखो माया गर्छन् । वादीकी छोरी भएर जन्मिएपछि उनीहरूलाई सपना देख्न बन्देज लगाइएको हुन्छ । आफ्नो इच्छा आकाङ्क्षालाई लुकाएर आफ्नो शरीर प्रसाद स्वरूप मालिकलाई चढाउनुपर्छ ।
पहिलोपटक मलिकले शरीर भोग गरेपछि उनीहरूको जीविकोपार्जनको बाटो खुल्छ । बिचरा ती निर्दोष छोरीहरूलाई के थाहा आफू हिँडेको बाटो गलत छ भनेर । शुरू गर्दा उनीहरू नाबालिका नै हुन्छन् । जब बुझ्ने हुन्छन् तब धेरै ढिलाइ भइसकेको हुन्छ । यसरी नै यस समुदायका महिलाहरू नरकीय जीवन जिउन बाध्य छन् । उनीहरूलाई भावनामा बहकिन हुँदैन भनेर सिकाइए पनि मधुवाला नारनको प्रेममा पागल हुन्छे । अरूले जस्तै मधुवालाले पनि मीठो सपना देख्छे । त्यस किसिमको नरकीय जीवनबाट छुटकारा पाउने झिनो आशमा नारनसँग विवाह गर्छे ।
नारनले पनि मधुवालालाई चोखो प्रेम गरेको हुन्छ । नारनले मधुवालालाई लालीबजारबाट भगाएर अर्को गाउँ लैजान्छ । तर नारन नभएको मौका पारी त्यस समाजका महिलाहरूले मधुवालालाई धन्दा चलाउन हाम्रो गाउँ छिरी भनेर नराम्रो आरोप लगाउँछन् र मधुवालालाई कपडा खोलेर अर्धनग्न बनाएर त्यहाँबाट लखेट्छन् । सभ्य, संस्कारी भलाद्मीहरूको समाज यतिसम्म क्रूर र अपराधी छ ! अहो ! मैले त कत्ति पनि सोचेकी थिइनँ । त्यतिबेला मानिसहरूको त्यो झुण्डलाई मानिसको रूपमा देखिनँ । त्यहाँ त मैले राक्षसहरूको एउटा झुण्ड देखेँ । त्यस दृश्यले मलाई धेरै बेरसम्म नराम्रोसँग चिमोटिरह्यो । जुन समाजमा हामी बसिरहेका छौँ त्यस समाज सम्झिएर मलाई आत्मग्लानि भयो । मानिस सामाजिक प्राणी हो । समाजविना कुनै पनि मानिस बाँच्न सक्दैन । तर समाजले मानिसलाई बाँच्न दिँदैन, हाँस्न दिँदैन भन्ने कुरा ‘लालीबजार’ले प्रष्ट पारिदिएको छ ।
आज पनि जात, धर्मको आधारमा दुई प्रेमीहरूलाई समाजले बाँच्न दिँदैन, साथमा हुन दिँदैन । प्रेम भनेको मनले मनलाई गर्ने हो । यसको कुनै धर्म, जात, लिङ्ग हुँदैन । मन मिल्ने हो भने जात, धर्म नमिले पनि जीवन हाँसी–हाँसी कट्छ । तर सबै मिलेर पनि मन मिलेन भने दुवैको जीवन नर्क बन्छ । यो कुरा हाम्रो समाजले कहिले बुझ्छ थाहा छैन । मधुवाला रुँदै, कराउँदै आफ्नै बस्ती फर्किन्छे । सबैजनाले उसलाई सपना देखेको नतिजा थाहा पाइस् भनेर गिज्याउँछन् र भन्छन्, “हामीलाई त सपना देख्न पनि छुट छैन ।”
त्यसपछि मधुवाला आफ्नो नित्यकर्ममा फर्किन्छे । यी सबै कुरा थाहा पाएको नारन फेरि उनलाई भेट्न आउँछ र “यहाँबाट कसैले नदेख्ने ठाउँमा गएर घर बसौँ” भन्छ ।
तर एकपटक विश्वास टुटिसकेको मधुवालाले भन्छे, “तिम्रो समाज त निकै भयानक र खतरनाक रहेछ । मलाई मेरै समाज ठिक छ ।”
नारन त्यहाँबाट फर्किन्छ । बिस्तारै थाहा हुन्छ मधुवाला नारनको बच्चाको आमा बन्दै छ भनेर । तर मधुवालालाई यो कुराको कुनै खुशी हुँदैन । बरु गर्भवती भएपछि घरखर्च कसरी चलाउने भन्ने चिन्ताले उनलाई थिच्छ । मधुवाला नजिकैको मेडिकलमा गर्भपतन गर्न भनेर पुग्छे तर धेरै महिना भइसकेकाले गर्भपतन गर्न नसकिने कुरा थाहा हुन्छ । मधुवाला गर्भवती भएको नारनले पनि थाहा पाउँछ र खुशी हुन्छ ।
केही महिनामै मधुवालाले छोरीको रूपमा शिशुलाई जन्म दिन्छे । छोरीलाई जन्म दिई भन्ने कुरा गाउँभरि थाहा हुन्छ र पूरै गाउँ नै खुशी हुन्छ । अचम्म के छ भने, छोरी जन्मिँदा नाक खुम्च्याउने समाज पनि हाम्रै देशमा छ र अर्कोतर्फ छोरी जन्मिँदा खुशी हुने समाज पनि हाम्रै देशभित्र छ । जन्मिएकै दिनबाट त्यस छोरीमाथि गिद्धे आँखाहरू पर्न थाल्छन् ।
नारनले पनि छोरी जन्मिएको कुरा थाहा पाउँछ र मधुवालालाई भन्छ, “हामीले हाम्रो छोरीलाई धेरै पढाएर ठूलो मान्छे बनाउनुपर्छ । पढेपछि नै सही–गलत थाहा हुन्छ ।”
तर मधुवाला रिसाएर भन्छे, “यस छोरीमाथि तिम्रो कुनै अधिकार छैन । मेरो छोरीको छेउ पनि नपर ।”
नारन दुःखी भएर त्यहाँबाट जान्छ । गाउँको एक उत्सवबीच आफ्नो छोरी मालिकलाई चढाउँछे । मालिकले मधुवालाकी छोरी महारानीलाई नत्थी लगाइदिन्छ र उसको उमेर पुगेपछि मालिक आफैँले तोड्ने सर्त हुन्छ । यो सबै देखिरहेको नारन रिसले मुरमुरिन्छ । मालिक र तिनका भरौटेहरू मिलेर नारनलाई पिटेर बाँधिदिन्छन् । नारन रिसाएर भन्छ, “तँ जस्तो नि आमा हुन्छ ! आमाले त आफ्नो सन्तानलाई बाघको मुखबाट खोसेर ल्याउँछन् । तैँले त जानीजानी आफ्नो सन्तानलाई बाघको मुखमा दिँदै छेस् ।”
नारनको कुरा मधुवालाको मनमा गहिरो भएर बस्छ । एकदिन नारनले छोरीलाई फकाएर लालीबजारबाट लैजान्छ । मालिकको नत्थी भएका कारण महारानीमाथि मालिकको निगरानी हुन्छ । महारानीलाई नारनले लैजाँदै गर्दा मालिकले बीच बाटोमै नारन र महारानीलाई फेला पार्छ र नारनलाई मारिदिन्छन् ।
छोरीले लुकीलुकी पढेको मधुवालाले देख्छे र खुशी हुन्छे । मधुवालाले छोरी मालिकलाई सुम्पिएर गलत काम गरेको महसूस गर्छे । छोरीलाई स्कूल भर्ना गर्न पुग्छे तर गाउँ नै मालिकको अधीनमा भएका कारण अनेक बहाना पारेर स्कूलले महारानीलाई भर्ना लिँदैन । भर्ना गर्न बुवाको नाम चाहिन्छ भनेर प्रधानाध्यापकले दुःख दिन्छ । जति कोशिश गरे पनि मधुवालाले बुवाको नाम दिन सक्दिन । जबकि, सन्तानको सम्पूर्ण जिम्मेवारी एउटी आमाले उठाउँछिन्, त्यस सन्तानलाई पढाउन, बढाउन तथा सरकारी कामकाजमा चाहिँ बुवाको नाम किन चाहियो ? बुवाको नामबिना एउटा नागरिकलाई जिन्दगीभर अपाङ्ग बनाइदिने ! यो कहाँको न्याय हो ! कि देशका आम महिलाहरू देशका नागरिक होइनन् भनेर सरकारले देश निकाला गर्नुपर्छ । होइन भने महिलालाई पनि मानिसको दर्जा दिइनुपर्छ र एउटा नागरिकको हकमा उनले पाउने सबै किसिमका हक–अधिकारको अपमान होइन, सम्मान हुनुपर्छ ।
आज पनि हाम्रो देशका धेरै ठाउँमा यस्ता समस्याहरू छन् । यसमा सम्बन्धित निकायको ध्यान जाओस् । बाबुको नामबिना आमा र सन्तानले झेल्नुपरेको पीडा यस चलचित्रमा सजिलै देख्न सकिन्छ । यसमा दिदी–भाइबीचको एउटा संवादले मुटु नै भक्कानिन्छ । मधुवालाको धेरै जिद्दीपछि महारानीले स्कूलमा पढ्न पाउँछे तर साथीहरूबाट छुट्टिएर चिसो भुइँमा बसेर पढ्नुपर्ने हुन्छ । छोरीलाई पढाउन मधुवालाले शरीर बेच्न छोडेर गिटी कुट्न थाल्छे । हेर्दाहेर्दै छोरी पनि हर्लक्क बढ्छे । आमा–छोरी साथी जस्ता हुन्छन् । चिसो भुइँमा बसेर पढेकी महारानी पढाइमा सबैभन्दा अगाडि आउँछे । माओवादी युद्धका कारण गाउँ छोडेका मालिक गाउँ फर्किन्छन् । मालिक गाउँ फर्किएको थाहा पाएर मधुवालाले छोरीको नत्थी फिर्ता गर्न पुग्छे । तर मालिक रिसले आगो हुन्छ । आजै यसको छोरीलाई श्रृङ्गारी बोलाएर ल्याउन आदेश दिन्छ । त्यसपछि उनी हस्याङ्फस्याङ्ग गर्दै घर पुग्छे र एस.एल.सी. परीक्षाको तयारी गरिरहेकी छोरीलाई त्यहाँबाट लिएर भाग्छे । भाग्दाभाग्दै आधा बाटोमा मालिकले भेट्टाउँछ र दुवै आमा–छोरीलाई हवेली पुर्याउँछन् ।
श्रृङ्गारिएकी छोरीलाई मालिकबाट बचाउन मधुवालाले आफूले सकेको कोशिश गर्छे । ज्यानको बाजी राखेर तिनीहरूसँग लड्छे । आफ्नो बलले भ्याएसम्म छोरीको रक्षाका लागि ती राक्षसरूपी मालिकहरूको ज्यान लिन्छे र कानुनसमक्ष आफूलाई आत्मसमर्पण गर्छे । यो दृश्य हेरिरहँदा गर्वले छाती फुल्छ र आमा त आमा हो भन्ने लाग्छ । नारनले भनेझैँ मधुवालाले छोरीलाई बाघको मुखबाट खोसेर ल्याउँछे ।
चलचित्रमा साँचो प्रेमलाई पनि सुन्दर ढङ्गले प्रस्तुत गरेको छ । जुन प्रेमको कोपिलालाई समाजले फक्रिन दिएन त्यही प्रेमको सच्चा भक्तिले समाजको काँचुली फेरिदिएको छ ।
हाम्रो समाजमा धर्म, परम्परा, संस्कारको नाउँमा विभिन्न किसिमका प्रथाहरूले जरा गाडेर बसेका छन् । जस्तो – देउकी, घुम्टो, छाउपडी, सतीप्रथा र बिहे गरेर गएकी नयाँ बेहुलीले घर भित्र्याइएपछि त्यस घरमा भएका आफ्नो श्रीमान्का जति पनि दाजुभाइबीच बाँडिनुपर्ने अर्थात् सबैलाई श्रीमान् मान्नुपर्ने । केही प्रथाहरू हटेर गए पनि अझै केही प्रथाहरू बाँकी छन् । जुन हामी सुन्न पनि सक्दैनौँ तर उनीहरूलाई भोग्न कति गाह्रो भएको होला ।
धर्म, संस्कार सबै महिलाले मात्र धानिदिनुपर्ने ! महिलाले मात्र बचाइदिनुपर्ने ! यो समाज, देश महिला र पुरुष दुवैको हो । जसरी पुरुष खुलेआम निर्धक्क भएर कसैको दबाबविना खुशीखुशी बाँच्छ र बाँच्न पाउँछ उसैगरी महिला पनि बाँच्न पाउनुपर्छ । किनकि महिला कुनै पशु होइन, महिला पनि मानव नै हो । महिला पनि सृष्टिकर्ताको एउटा रचना हो । महिलामाथि विभिन्न प्रथाहरू लादेर स्वच्छ समाज निर्माण हुन सक्दैन । महिलामाथि गरिएका यी घिनलाग्दा प्रथा, व्यवहारले समाज दूषित र दुर्घटित हुन्छ । यस विषयमा यहाँभन्दा अगाडि पनि किताबहरू नलेखिएका होइनन्, नाटकहरू नदेखाइएका होइनन्, सिनेमाहरू नबनेका होइनन् । जसले लेखे, जसले बनाए उनीहरूले नाम, दाम दुवै कमाए तर समस्या जहीँको तहीँ । कुवाको भ्यागुता जति उफ्रे पनि कुवामै भने जस्तै भयो ।
‘लालीबजार’ एउटा चलचित्र मात्र नभएर यो एउटा समाजको ऐना पनि हो । ऐनाले जस्तो छ त्यस्तै देखाउँछ । समाजमा भएका बेथिति, कुरीति जबसम्म बाहिर ल्याइँदैन तबसम्म त्यस्ता कुरीतिहरू परम्पराका नाउँमा दुबोसरी मौलाइरहन्छन् । र समाजलाई नै जटिल बनाउन सहयोग गर्छन् । ती जटिलताबीच महिलाहरू बाँच्न विवश हुन्छन् । यसकारण यस्ता कुरीति संस्कृतिहरू विभिन्न माध्यमबाट अगाडि ल्याउन जरूरी छ र यस्ता समस्याहरूको अध्ययन–विश्लेषण गरी यस्ता समस्या, कुरीति, प्रथालाई जराबाट नै उखेल्नका लागि सरकारी तवरबाट नै कदमहरू चालिनुपर्दछ । जसले गर्दा नेपाली महिलाहरू पनि आत्मसम्मानका साथ जुनसुकै कुनामा पनि शिर झुकाएर होइन, शिर उठाएर बाँच्न सकून् ।
यस चलचित्रमा नेपालको पश्चिमी भूभागमा बसोवास गर्ने वादी समुदायको दुःख, पीडा, सपना र सङ्घर्ष देखाइएको छ । मन नलागी–नलागी पनि यस्ता पेसाहरू अँगाल्नुपर्ने बाध्यता देखाइएको छ भने अर्कातर्फ देशको नागरिकको हकमा उनीहरूले पाउनुपर्ने हक, अधिकारबाट कसरी वञ्चित भएका छन् भन्ने कुरालाई पनि लालबजारले प्रष्ट पारेको छ । नेपाली समाजमा यस्ता समस्याहरू आज पनि विद्यमान छन् है भन्ने कुरा देखाउनु जरूरी छ तर देखाइसकेपछि राहत के त ! कसैको कथा, आँसु बेचेर नाम, दाम कमाउनु भन्दा पनि कानूनी उपचार के हुन सक्छ ! यस्ता समस्यालाई कसरी निर्मूल गर्न सकिन्छ ! यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ, कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने तिर पनि सम्बन्धित निकाय तथा सरकारको ध्यान जाओस् भन्न चाहन्छु । सबै कलाकारहरूले धेरै मिहिनेत गरेर आ–आफ्नो पात्रलाई जीवन्त तुल्याउनुभएको छ । सबैजनाले पात्रलाई न्याय दिनुभएको छ । यसका लागि सम्पूर्ण टिमलाई धेरै–धेरै धन्यवाद तथा हार्दिक शुभकामना छ ।
मलाई कता–कता बिझाएको अर्को कुरा भने यस्ता यौनजन्य चलचित्रहरूमा साना बच्चाहरूलाई प्रयोग नगरियोस् भन्ने लाग्छ । चलचित्रमा बच्चालाई देखेर आफ्ना साना–साना नानीबाबु लिएर सिनेमाघरसम्म पुग्नेको जमात पनि ठुलै छ । सिनेमा हेरिसकेपछि बच्चा लिएर किन आएछु भन्ने पश्चात्ताप अभिभावकलाई नहोस् । जुन धेरैजनाको मुखबाट यो कुरा मैले सुनेकी छु र म आफैँले पनि महसूस गरेको कुरा हो । सिनेमाघरमा पनि यस्ता कुराहरू ख्याल गरियोस् । हरेक कोणलाई व्यापारिक दृष्टिले मात्र नहेरियोस् । यसकारण कुन चलचित्र बच्चाहरूले हेर्न हुने, नहुने र कुन उमेरसमूहका बच्चालाई सिनेमाघरभित्र छिर्न दिने–नदिने कुराको पनि एकआपसमा बहस गरेर सरकारी निकायबाट नै व्यवस्थित गरियोस् भन्न चाहन्छु । यो मेरो आफ्नो व्यक्तिगत धारणा मात्र हो । यसलाई के–कति गर्न मिल्छ बुझेर छलफल गरियोस् ।
‘लालबजार’ हाम्रै समाजको मधुवालाहरूको कथा हो । महारानीहरूको कथा हो । हामीले हाम्रो समाजलाई कतातिर लैजाने, अर्थात् अँध्यारोमा बाँचिरहेको समाजलाई कसरी उज्यालतर्फ लैजाने भन्नका लागि पनि हामी सबैले यो चलचित्र हेर्न आवश्यक छ । समाजमा बस्ने भएकाले हाम्रो समाज कसरी राम्रो बनाउने, कसरी स्वच्छ र स्वस्थ राख्ने भन्ने कुरातर्फ सोच्नु आवश्यक छ किनकि हामी यस देशका नागरिकको हैसियतले यो हाम्रो दायित्व हो ।
धन्यवाद ।
दियालो रोड, नारायणगढ–१, चितवन

