साहित्यपोस्ट डट कम

लघुनाटक: अन्वेषण

लघुनाटक: अन्वेषण

(हिमालमाथि बिहानको सुनौलो घाम बिस्तारै फैलिँदैछ । तल नदी अनवरत बगिरहेकी छिन् । चिसो हावाले देवदारका पातहरू हल्का हल्लाउँछ । टाढा हिमरेखाबाट हिउँ खसिरहेकाे हल्का दृश्य । फलैंचाकाे काठे बेञ्चमा बसेर हिमालकाे दृश्य निहाल्दै दुई विद्वान्—प्रा. डा. आर्यन र डा. माया । दुवैको हातमा चिया चिसिन थालेको छ । केहीबेर उनीहरू बोल्दैनन् । सिर्फ हिमाल बोलिरहेझैं लाग्छ । )

डा. माया:

कहिलेकाहीँ लाग्छ—

मानवलाई आफ्नै सीमाभन्दा पर हेर्ने यो बेचैनी आखिर कहाँबाट आयो होला ?

किन ऊ सधैं क्षितिजपारि केही खोजिरहन्छ ?

के उसलाई प्राप्त कुराले कहिल्यै पुग्दैन ?

प्रा. डा. आर्यन:

शायद “पुग्नु” नै मानवको स्वभाव होइन ।

मानिसले पहिलोपटक आकाशतिर हेरेको दिनदेखि नै ऊ अधुरो थियो ।

त्यही अधुरोपनले उसलाई यात्रा सिकायो ।

अन्वेषण भनेको केवल नयाँ भूगोल भेट्नु मात्र होइन,

आफ्नै अन्धकारसँग भेटिनु पनि हो ।

डा. माया:

तर प्रत्येक यात्राले उज्यालो मात्रै त ल्याएन नि ।

समुद्र पार गर्ने जहाजसँगै उपनिवेश पनि आए ।

नक्सा कोर्ने हातहरूले कतिपय सभ्यता मेटिदिए ।

आज पनि हिमाल चढिँदैछन्—

तर तिनका छातीमा प्लास्टिक र धुवाँको थकान थुप्रिँदै गएको छ ।

कहिलेकाहीँ लाग्छ,

मानवले खोजभन्दा बढी कब्जा गर्न सिक्यो ।

प्रा. डा. आर्यन:

(हल्का मुस्कुराउँदै)

हो…

ज्ञान र लोभ धेरैपटक एउटै ढोकाबाट भित्र पसेका छन् ।

अरस्तूले जिज्ञासालाई ज्ञानको आरम्भ भनेका थिए,

तर इतिहासले अर्को कुरा पनि देखायो—

जिज्ञासा विनम्रताविहीन भयो भने,

त्यो बिस्तारै कर्तव्यभन्दा अधिकारमा बदलिन्छ ।

मानिसले प्रकृतिलाई गुरुका रूपमा हेर्न छोडेर

स्रोतका रूपमा मात्र हेर्न थालेपछि

अन्वेषणको आत्मा कमजोर हुँदै गयो ।

(केही क्षण मौन !

तल नदीको आवाज अलि गहिरो सुनिन्छ ।

डा. मायाले हिमालतिर हेर्छिन् । )

डा. माया:

हिजो एउटा पुरानो डायरी पढ्दै थिएँ ।

एउटा आरोहीले लेखेको रहेछ—

“मैले शिखर त छोएँ,

तर फर्किंदा आफूलाई हराएको पाएँ ।”

त्यो पढेपछि सोचिरहेँ—

शायद सबै उचाइले मानिसलाई ठूलो बनाउँदैनन् ।

प्रा. डा. आर्यन:

साँचो उचाइ बाहिर कम, भित्र बढी नापिनुपर्छ ।

Edmund Hillary र Tenzing Norgay ले सगरमाथा चढ्दा

त्यो केवल हिमालमाथिको पाइला थिएन—

मानव साहसको पनि परीक्षा थियो ।

तर मलाई कहिलेकाहीँ लाग्छ,

तेन्जिङको मौनता हिलारीको विजयभन्दा अझ ठूलो थियो ।

किनकि हिमाल जितिएको वस्तु होइन,

सम्मान गर्नुपर्ने उपस्थिति ठान्ने संस्कार

शायद त्यही मौनताभित्र थियो ।

डा. माया:

त्यसो भए साँचो अन्वेषण के होला ?

अझ टाढा पुग्नु ?

अझ माथि चढ्नु ?

वा…

अझ गहिरो भएर फर्किनु ?

प्रा. डा. आर्यन:

( मधुर स्वरमा)

शायद—

जहाँ मानिसले नयाँ भूभागभन्दा पहिले आफ्नै अहंकार पार गर्छ ।

जो यात्राले पृथ्वीलाई थकित बनाउँदैन,

बरु चेतनालाई विनम्र बनाउँछ—

त्यही साँचो अन्वेषण हुन सक्छ ।

शेर्पाहरूले हिमाल चढ्नु अघि टाउको झुकाउँछन् ।

त्यो केवल संस्कार मात्र होइन,

मानव सीमाको स्वीकार पनि हो ।

(हावा एकाएक चिसिन्छ ।

सूर्य अब पूर्ण रूपमा हिमालमाथि उक्लिएको छ ।

दुवै केहीबेर नबोली बसिरहन्छन् । )

डा. माया:

हामीले महासागर नाप्यौं,

आकाश चिरेर ग्रहहरूमा पुग्ने सपना पनि देख्यौं…

तर शायद अझै एउटा यात्रा बाँकी छ—

मानिसले आफ्नै हृदयभित्र पुग्ने यात्रा ।

प्रा. डा. आर्यन:

र हुन सक्छ—

भविष्यको सबैभन्दा ठूलो अभियान त्यही होस् ।

जहाँ ज्ञान र करुणा एकअर्काका विरोधी होइनन् ।

जहाँ प्रगति र प्रकृतिसँगै हिँड्न सिक्छन् ।

अन्ततः जहाँ मानवले बुझ्छ—

पृथ्वी उसले जित्ने वस्तु होइन,

उसलाई बाँच्न दिइरहेकी साझा श्वास हो ।

(दुवै हिमालतर्फ हेर्छन् ।

नदी अझै बगिरहेकी छिन् ।

हिमाल अझै मौन छ ।

तर त्यो मौनताभित्र

मानव सभ्यताभन्दा पुरानो एउटा प्रश्न अझै प्रतिध्वनित भइरहेको छ —

“अन्वेषण आखिर बाहिरको यात्रा हो,

वा भित्रको ?”

अस्तु !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.