साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

‘उत्तरण’मा जीवन र जगतको मूल्यबोध

‘उत्तरण’मा जीवन र जगतको मूल्यबोध

आख्यानकार इन्दिरा गौतम असमेली नेपाली साहित्यमा साधनारत स्रष्टा हुन् । उनको जन्म सन् १९७२ अप्रिल १ मा पिता तोयाप्रसाद र घृतमायादेवी पोख्रेलकी सुपुत्रीका रूपमा शिलङ्खुट्टी, ओदालगुडी, असममा जन्म भएको थियो । नेपाली आख्यानको क्षेत्रमा उनको योगदान उल्लेख्य रहेको छ भने ‘उत्तरण’ गौतमको पहिलो लघुकथासङ्ग्रह हो । यसमा ७० वटा लघुकथा रहेका छन् ।

नेपाली साहित्यमा अन्य रचना सरह सशक्त गद्य रचनाभित्र पर्ने लघुकथा आकारका रूपमा सानो र सूक्ष्म देखिए पनि यसबाट प्राप्त आस्वादन कुनै पनि कथाबाट प्राप्त हुने स्वादभन्दा कम हुँदैन ।

साहित्यका कुनै पनि विधाको एउटा निश्चित संरचनात्मक स्वरूप हुन्छ, तिनै तत्त्व वा स्वरूपका आधारमा त्यो विधाको मापन गर्न सकिन्छ । विशृङ्खलित घटनालाई शृङ्खलाबद्ध संयोजन गरी आरम्भ, उत्कर्ष र निष्कर्षको रैखिक ढाँचामा कथावस्तुको गति तीव्र अघि बढाउनु नै लघुकथाको मूल उद्देश्य हो । खासगरी लघुकथामा कथानकको अत्यन्त सीमितता रहन्छ । जसको विन्यासमा सङ्क्षिप्तता हुन्छ । गौतमका लघुकथामा पनि विन्यासगत सङ्क्षिप्तता पाइन्छ ।

निरुद्देश्य कुनै पनि साहित्यिक कृतिको सिर्जना हुँदैन । प्रत्येक साहित्यिक विधाले कुनै न कुनै सामाजिक, मानवीय वा वैचारिक उद्देश्य बोकेको हुन्छ, र लघुकथा पनि त्यसबाट अलग छैन । सीमित आयतनमा गहन जीवनदृष्टि प्रस्तुत गर्ने लघुकथाको प्रमुख उद्देश्य वर्तमान समाजका यथार्थ पक्षलाई प्रभावकारी ढङ्गले अभिव्यक्त गर्नु, पाठकलाई सोच्न बाध्य पार्नु तथा जीवनका विविध पक्षप्रति सचेत गराउनु हो । यस विधाले समाजमा विद्यमान विकृति, विसङ्गति, अन्याय, शोषण, असमानता तथा मानवीय संवेदनासँग सम्बन्धित विषयहरूलाई सूक्ष्म तर सशक्त रूपमा प्रस्तुत गर्दै सत्यको उद्घाटन गर्ने प्रयत्न गर्दछ ।

यसै सन्दर्भमा लघुकथाकार गौतमका लघुकथाहरूको विषयवस्तु विश्लेषण गर्दा उनका रचनाहरू केवल मनोरञ्जनमा सीमित नरही जीवन र जगतको यथार्थ बोध गराउने उद्देश्यबाट प्रेरित भएको देखिन्छ । उनका लघुकथाहरूमा समसामयिक सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक परिवेशका विविध आयामहरू प्रभावकारी रूपमा चित्रण गरिएका छन् । साथै समाजमा व्याप्त विकृति, विसङ्गति, भ्रष्टाचार, बेथिति, अन्धविश्वास तथा नैतिक पतनजस्ता समस्याप्रति तीक्ष्ण व्यङ्ग्य प्रहार गर्दै सत्य, न्याय र मानवीय मूल्यको पक्षमा सशक्त आवाज उठाइएको पाइन्छ । यस दृष्टिले हेर्दा गौतमका लघुकथाहरूको मूल उद्देश्य समाजलाई यथार्थसँग साक्षात्कार गराउनु, जीवन मूल्यप्रति सचेत बनाउनु तथा सकारात्मक सामाजिक चेतनाको विकासमा योगदान पुर्‍याउनु रहेको स्पष्ट हुन्छ ।

लघुकथा निर्माणको एक सबल पक्ष हो – भाषाशैली । यसले पाठकलाई प्रभावित तुल्याउन, सन्देश स्पष्ट हुने गरी सरल र सहज भाषाशैलीको प्रयोग गर्नुपर्छ । त्यसैगरी गौतमले आफ्ना लघुकथामा सरल, सुबोध्य, सङ्क्षिप्त र स्पष्ट भाषामा प्रतीकात्मक, आलङ्कारिक, कसिलो, तीव्र, व्यञ्जनात्मक तथा व्यङ्ग्यात्मक शैलीको अवलम्बन गरेकी छन् ।

यति हुँदाहुँदै पनि इन्दिरा गौतमको यस सङ्ग्रहभित्र रहेका कताकतै बिग्रेका हिज्जेले भने दाँतमा ढुङ्गा नै लाग्दछ । ‘आधा राती दुध चिउरा खाउन ल ?’ (चारदिने छुट्टी, पृ. ३२) वाक्यको तात्पर्य हेर्दा राति हुनुपर्नेमा अर्कै आशयको शब्द प्रयोग गरिएको छ । यी वाक्यमा अर्थ दोष रहेको देखिन्छ ।

अर्को कुरा समय बुझाउन कतै घन्टा त कतै घण्टा शब्दको प्रयोग गरिएको छ ।

त्यसैगरी कन्डक्टर ( जिपे, पृ.२९) त कतै कन्डाक्टर (असंशय, पृ. ३०) शब्द प्रयोग गरिएको छ ।

सामग्री बाहेक (लौरा, पृ. १९), दिन देखि, उहाँहरू प्रति (शुभेच्छा, पृ. २०), जसै तसै, माइतिघर तिर (मुक्ति, पृ. २३) कानुन बमोजिम, रूप देखि (सन्तान, पृ. २७), परिवार प्रति (मुल्याङ्कन, पृ. २८), अघिनै (असंशय, पृ. ३०), आधाघण्टा सम्म (ऐँचोपैँचो, पृ. ३४), मन्दिर तर्फ (साइनबोर्ड, पृ. ७९), विरोलो सँगै विहान देखि, (सँगत, पृष्ठ ८४), हिजो देखि (बाध्यता, पृ.८५), कोठा भन्दा, प्लेट भरि (ठेगाना, पृ.८७) जस्ता पदयोग र वियोगमा निकै त्रुटि रहेका छन् ।

त्यसै गरी पुरा (पृ. १८), बेलिबिस्तार, भयेको, तँ छाड् मँ छाड् (पृ. २०), निरिक्षण (मुक्ति, पृ. २३) थिो, बोडिङ्ग, तत्व, शौखिन, जिज्ञाशा, अचाकालि, भनाई (पृ. २६), मुल्याङ्कन (पृ. २८), विस्वास (पृ. ३१), हुण्डरी (पृ. ३२), अफ्ठ्यारो, बिबाह (पृ. ३४), प्रसस्त, फर्नीचर, बढी, कोशिश (ठेगाना, पृ.८७) लगायतका हिज्जे लेखनका पनि समस्या रहेका छन् ।

गौतमले समाजमा देखेका सन्दर्भलाई जस्ताको त्यस्तै आफ्ना कथामा उतारेकी छन् । सोही कारण उनलाई सामाजिक यथार्थवादी कथाकार हुन् भन्न सकिन्छ । उनले समाजमा देखिएका आर्थिक, राजनैतिक, सामाजिक, प्रशासनिक, शैक्षिकलगायत मानव जीवनका विविध सामाजिक यथार्थलाई लिएर लघुकथा लेखेकीले उनका कथामा मानव जीवनका विविध पाटालाई जस्ताको तस्तै देख्न र मानवतावादी स्वर, अभाव र गरीबीको चित्रण पनि भेट्न सकिन्छ । गौतम सामाजिक अराजकताप्रति विद्रोह र व्यङ्ग्य व्यक्त गर्ने व्यङ्ग्यवादी कथाकार हुन् । यसर्थ उनलाई विद्रोह र व्यङ्ग्यवादी कथाकारमा रूपमा लिन सकिन्छ । संस्कार, संस्कृति र सांस्कृतिक पक्षलाई लिएर लघुकथा लेखनमा क्रियाशील रहेकी गौतमले कथामा राष्ट्रप्रेम, प्रकृति प्रेम, मातृत्व प्रेम, प्रेम तथा प्रणय पक्ष व्यक्त गरिएकी छन् । 

लघुकथाकार इन्दिरा गौतमले उत्तरण लघुकथासङ्ग्रहका माध्यमबाट असमेली नेपाली लघुकथाका क्षेत्रमा दर्बिलो बिम थप्ने काम गरेकी छन् ।

 

साझा गर्नुहोस्:
दीपक सुवेदी

लेखकको बारेमा

दीपक सुवेदी

थप रचनाहरू पढ्नुहोस् →

दीपक सुवेदी चर्चित लेखक तथा समीक्षक हुनुहुन्छ । उहाँले 'सजिलो नेपाली वर्णविन्यास' जस्ता पुस्तकहरू लेख्नुभएको छ । उहाँ साहित्यपोस्ट तथा समकालीन साहित्य लगायतका साहित्यिक पोर्टलहरूमा नियमित रूपमा विविध लेख, समालोचना र निबन्धहरू लेख्दै आउनुभएको छ ।

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.