काठमाडौँ । नेपालभाषा चिबाखं साहित्यले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरू गरेको छ । कार्यक्रमअन्तर्गत पहिलो दिन ‘लघुकथाको सैद्धान्तिक अवधारणा’ विषयक गोष्ठी सम्पन्न भएको छ ।
डिजिटल माध्यम जुममार्फत आयोजित गोष्ठीमा कथाकार ध्रुव मधिकर्मीले लघुकथालाई कथाको सारसंक्षेपमा सीमित हुन नदिन स्रष्टाहरू आयाम र विषयको केन्द्रीय पक्षप्रति सचेत हुनुपर्ने बताउनुभयो ।
कथाकार केदार सितुले पाश्चात्य साहित्यमा लघुकथाले अपेक्षाकृत कम स्थान पाएको उल्लेख गर्दै शब्दसंख्याभन्दा प्रस्तुतिको प्रभावकारितामा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
लुँध्वाखा त्रैमासिकका सम्पादक विमल ताम्राकारले पत्रिकामा प्राप्त हुने अधिकांश लघुकथा अनावश्यक रूपमा लामो हुने गरेको उल्लेख गर्दै व्याख्या र वर्णनको अनावश्यक विस्तारबाट लघुकथालाई मुक्त गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका संयोजक तथा लघुकथाकार नरेश अमात्यले लघुकथाकारहरूको लेखनलाई अझ सशक्त बनाउन सैद्धान्तिक छलफल आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा चिबाखं साहित्यकी सदस्य रीता महर्जन ‘ऋतु’ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कथाकार केशरमान ताम्राकारले सहजीकरण गर्नुभएको थियो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत केही वर्षदेखि सक्रिय रहेको नेपालभाषा चिबाखं साहित्यले आठौँ वार्षिकोत्सवका अवसरमा हप्ताभरि विविध साहित्यिक कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

.jpg)